Sunday, March 13, 2016

पहिचान र मार्क्सवादलाई सँगसँगै लानुको विकल्प छैन : राजन मुकारुङ

लाहुरेलाई होइन, ‘लाहुरे संस्कृति’लाई गाली गरेको हुँ 


‘सृजनशील अराजकता’ नामक साहित्यिक आन्दोलन छेडेर नेपाली साहित्यलाई खबरदारी गरिरहने साहित्यिक योद्धा हुन्, राजन मुकारुङ । उनले भुइँमा पिल्स्याइएका मान्छेहरुको झर्रा भाषामा शासकहरुलाई ‘थ्रिटेन’ दिइरहे । सुरुमा काव्यिक बन्दुक पड्काएका मुकारुङले पछिल्लो समय आख्यानको सेल शासकका किल्लामा खसाइरहेका छन् । शासकहरुलाई घाँसे मैदानका नागरिकका भाषा, पीडा र संघर्ष यति खतरनाक सावित भयो कि त्यसले देशको सिंगो व्यवस्था परिवर्तन गरिदियो । डेढ दशकको साहित्यिक यात्रामा मुकारुङले त्यही भाषा लेखे र उनी खरो लेखक सावित छन् ।
उनको कृति ‘दमिनी भीर’लाई २०६९ सालका लागि मदन पुरस्कार प्रदान गरियो । पहिचानको पक्षपोषणमा लेखिएको उनको निबन्ध कृति ‘फेरिँदो सौन्दर्य’लाई पहिचान पुरस्कार हालै प्रदान गरियो । सोही पहिचान पुरस्कार र पहिचानको आन्दोलनमा केन्द्रित रहेर गणेशकुमार राईले मुकारुङसँग गरेको वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत छ ।

दाई ! तपाईंको निबन्ध कृति ‘फेरिँदो सौन्दर्य’ पहिचान पुरस्कार २०१५/१६ द्वारा पुरस्कृत भएको छ । यो पुरस्कारको औचित्य के हो ?
पुरस्कारको सन्दर्भमा क्लियर दृष्टिकोण हुन्छ । एउटा पुरस्कारले विचारधारालाई र अर्को पुरस्कारले त्यो विचारधारा बोकेर लेखिएको कृतिका कृतिकारलाई ऊर्जा, हौसलाका लागि पुरस्कृत गरिन्छ । पहिचान पुरस्कारको सन्दर्भ यहाँको पहिचान आन्दोलनसँग जोडिएको छ । पछिल्लो संविधानसभाको निर्वाचन, त्यसको परिणामले पहिचानवादीहरुको कम उपस्थितिमा बनेको संविधान निःसन्देह पहिचानको पक्षमा छैन । संविधानमा पहिचानको मुद्दा जे–जसरी सम्बोधन हुने आशा गरिएको थियो, त्यो भएन । तर, पनि यो आन्दोलन निरन्तर चलिरहन्छ र त्यो आन्दोलनमा ‘फेरिँदो सौन्दर्य’जस्तो कृति अझ शक्तिशाली ढङ्गले लेखिनुपर्छ भन्ने आशय हो, पहिचान पुरस्कार ।
Rajan-Mukarung-book
‘फेरिँदो सौन्दर्य’लाई यो पुरस्कार प्रदान गरिने घोषणा भएपछि विवाद किन भयो ?
कुनै पनि कुरालाई लिएर दुईथरी कुरा आई नै हाल्छन् । समर्थन र विरोध । जेजसरी सामाजिक सञ्जालमा विवाद देखिए, त्यो कृति र कृतिकारलाई लिएर भन्दा पनि पुरस्कार स्थापना गर्ने संस्थापकहरुसँग केही व्यक्तिको मनमुटाव, रिसईबीको कारणले भएको देखिन्छ । र, केहीचाहिँ कृतिभित्रको निबन्ध ‘होलटाइमरको बयान’ले व्यक्त गरेको कुरासँग असहमति जनाउँदै व्यक्त गरिएको छ । मिहिन ढङ्गले त्यो निबन्ध पढिएको छैन । अरुले कसरी व्याख्या गर्‍यो, त्यसको पछि–पछि लागेर मात्रै त्यसको व्याख्या गरिएको छ । त्यो ढङ्गले विवाद भएको हो ।
पछिल्लो तीन कृति ‘हेत्छाकुप्पा’, ‘दमिनी भीर’ र ‘फेरिँदो सौन्दर्य’ दुई लाखको दरमा पुरस्कृत हुँदै आएका छन् । आफ्नो मुद्दालाई ‘क्यास’ गर्न तपाईं खुब माहिर हुनुहुन्छ, हगी ?
यो त गर्नैपर्छ । मुद्दालाई ‘क्यास’ नगर्ने हो भने किन मुद्दा उठाउने ? ‘क्यास’ भनेको नगदसँग मात्रै हुँदैन । म यो मुद्दा उठाएरै स्थापित हुन्छु भन्ने महत्वाकांक्षा प्रत्येकसँग हुन्छ । संसारमा ठूलठूला मानिसहरुले पनि मुक्तिका लागि म यो विचारधारा अँठ्याएर आफू स्थापित हुन्छु भनेर यात्रा सुरु गरेका छन् । सपनाविहीन मान्छे त कहाँ पुग्छ, मलाई थाहा छैन । सपना देख्नुपर्छ । सपना देख्नु हो, क्यास गर्ने भन्ने कुरा ।  
मार्क्सलाई कवितामा विम्ब बनाउँदैमा मान्छे मार्क्सवादी हुँदैन ।
र, समाजमा जे कुराहरु लेखिएका वा भनिएका छैनन्, ती कुरालाई भन्ने, लेख्ने मेरो ध्येय रहन्छ । त्यही कुरा बजारमा गएर बिक्छ, क्यास कमाउँछ भने माहिरै भन्दा हुन्छ ।
तपाईं लाहुरेहरुलाई धेरै गाली गर्नुहुन्छ । तर, उनीहरुकै म्यागेजिनको सम्पादक बन्नुभयो । अहिले आएर त लाहुरेहरुकै अगुवाइमा स्थापित पुरस्कार पनि लिनुभयो नि ?
लाहुरेहरुलाई भन्दा पनि ‘लाहुरे संस्कृति’लाई गाली गर्ने हो । त्यो संस्कृतिले हामीलाई कमजोर बनायो । आर्थिक रुपमा केही बलियो बनाए पनि सामाजिक, सांस्कृतिक र राजनीतिक चेतनाको हकमा कमजोर बनायो भन्ने मेरो बुझाइ हो । यो प्रथा नभइदिएको भए लाहुरे संस्कृति बोकेर यहाँसम्म आइपुगेको जातिहरु हामी जति छौं, हाम्रो सपनाको बाटो अर्कै हुन्थ्यो । लाहुरे प्रथाको बाटोले गर्दा हाम्रा धेरै युवाको सपना त्यता निर्देशित छन् । त्यसो हुनाले हाम्रो सामाजिक, संस्कृतिक र राजनीतिक जीवनमा हामी प्रगतिशील छैनौं । हामीलाई यो संस्कृतिले कहीँ न कहीँ अल्झाएको छ ।
यथार्थ कुरा के हो भने एउटा लाहुरेको सन्तानले आफू उत्पीडनमा परेको महसुस गर्दैन । त्यसको अर्थ के हो भने ऊ आर्थिक रुपमा सम्पन्न छ र उसको सामाजिक जीवनमा सोच्ने तरिका वा चेतना अर्कै छ । त्यसले नेपाली राजनीतिलाई पर बसेर गाली गर्न बाहेक केही जान्दैन । नेपालमा ढिलो गतिमा भइरहेको विकास देख्दैन । उसले रातारात युरोपको जस्तो विकास चाहन्छ । त्यसले हाम्रो चेतनालाई सम्बोधन गर्दैन । र, ऊ समाजको सबभन्दा पिँधमा पारिएका मानिसहरुका चेतना, अभाव र दुःखसँग नजिकिएको छैन । हाम्रा सामाजिक यथार्थ के हो ? हाम्रो चेतनाको स्तर कहाँनिर छ भनेर बुझ्न तल्लो तहमा झर्नुपर्छ । त्यो झर्ने मनसाय उनीहरुमा भेटिँदैन र त्यो गर्दैनन् पनि । त्यो संस्कृतिलाई मात्र आलोचना गरेको हुँ । उनीहरुका उन्नत आर्थिक जीवन र अवस्थालाई इर्ष्या र डाह गरेर होइन ।
आदिवासी जनजातिको विषय र वैज्ञानिक साम्यवादी विचारले ओतप्रोत कृतिलाई मदन पुरस्कार दिइन्न भन्ने मान्यता मौलाइरहेको सन्दर्भमा ‘दमिनी भीर’ले उक्त पुरस्कार पायो । ‘दमिनी भीर’मा त्यस्तो के थियो, जसले मदन पुरस्कार प्राप्त गर्‍यो ?
त्यो त उनीहरुले जान्ने कुरा हो, के थियो र दियो । मैले लेख्ने भनेको त सीमान्तमा, उत्पीडनमा पारिएका भुइँका मान्छेहरुको जीवनलाई हो । र उनीहरुले जगतलाई जसरी अध्ययन गर्छन् वा बुझ्छन्, त्यही मनोविज्ञान, चरित्र, कथालाई लेख्ने प्रयत्न हो, मेरो । मदन पुरस्कार गुठीका आफ्नै ‘क्राइटेरिया’ र बुझाइ होला । म के मात्रै भन्छु भने मैले ‘दमिनी भीर’ भुइँका मान्छेहरुको पक्षमा लेखें । मदन पुरस्कार पाउने हक त्यही विषय हो । 
Rajan-Mukarung-book2
मदन पुरस्कार पाइसकेपछि तपाईं पहिचानको मुद्दामा पछि हट्नुभएको हो ?
पछि हट्यो भन्ने पहिचानवादीहरु मैले भेटेको छैन । म खाँट्टी पहिचानवादीहरु सँगसँगै छु । जसलाई बेलाबेला पछि हट्न मन लाग्छ, तिनीहरुले पछि हट्यो भनिरहेका होलान् । कुरा के मात्रै हो भने मदन पुरस्कार पाइसकेपछि राजन मुकारुङ पहिचानको मुद्दामा पछि हट्यो भन्ने हो भने ‘फेरिँदो सौन्दर्य’ कसरी लेखियो भनेर पनि सोध्नुपर्छ । यो पहिचानको पक्ष र आन्दोलनलाई अझ बल पुगोस् भनेर नै लेखिएको हो । पहिचानको पक्षमा ‘दमिनी भीर’भन्दा दश गुणा बढी आक्रामक भएर लेखिएको कृति हो, ‘फेरिँदो सौन्दर्य ।’
पछि हट्यो भन्ने सन्दर्भ होइन । तर, त्योभन्दा अगाडिको समयमा ‘एक्टिभिस्ट’ भएर सामाजिक संस्था, राजनीतिक संगठनमार्फत पहिचानका मोर्चाहरुमा जसरी म अग्रपंक्तिमा उभिन्थें, त्यो समय प्राप्त गर्न नसकेको जरुर हो । त्यसैलाई लिएर पहिचानको मुद्दामा पछि हट्यो भन्ने हो भने त्यो आलोकाँचो बुझाइ हो ।
मैले लेख्ने भनेको त सीमान्तमा, उत्पीडनमा पारिएका भुइँका मान्छेहरुको जीवनलाई हो । मैले ‘दमिनी भीर’ भुइँका मान्छेहरुको पक्षमा लेखें ।
एउटै समय र मुद्दामा लेख्ने तपाईंका सहपाठीहरु हाङयुग अज्ञात र उपेन्द्र सुब्बाभन्दा बढी चर्चा तपाईंकै हुने गर्छ । यो खाडल किन ?
उपेन्द्रजी मृदुभाषी हुनुहुन्छ । थोरै बोल्नुहुन्छ । सरल जीवनको दुनियाँबाट बोल्नुहुन्छ, कसैलाई त्यति सारो नभनौं, गाली नगरौं भन्ने ढङ्गले । धिमा र मलिन स्वरमा बोल्नेलाई प्रतिक्रिया र प्रतिवाद कम आउँछ । मिडियाका कुरा गर्ने हो भने उपेन्द्रजी र मलाई उत्तिकै पछ्याइरहेको देख्छु । यद्यपि, उहाँ मिडियासँग अलि पछि रहन चाहनुहुन्छ । मचाहिँ प्रवृत्ति र स्वभावको हिसाबले चर्को र आक्रामक भएको हुनाले मैले बोलेको कुरालाई मिडियाले छिटो ‘हाइलाइट’ गरिदिन्छन् र क्रिया–प्रतिक्रिया भइहाल्छ । विवाद हुँदै गएपछि अर्कोले पनि विवादितलाई ल्याउनुपर्छ भनेर दोहोर्‍याइदिन्छन् । खाडल त्यहीँनिर देखिएको होला ।

हाङयुगजी त काम र पेसाले विदेशमा हुनुहुन्छ । यहाँ सहज रुपमा उपलब्ध नहुँदा पत्रकार साथीहरुले आनीबानी थाहा नपाईकन लेख्न गाह्रो मान्ने कुरा स्वाभाविक हो । त्यसकारण उहाँ पछाडि पर्नुभएको हो । तर, के बुझ्नु जरुरी छ भने राजन मुकारुङले मात्रै पहिचानको मुद्दा उठाएको, हाङयुग र उपेन्द्रले नउठाएको भन्ने होइन ।
पारिवारिक पृष्ठभूमि हेर्ने हो भने तपाईं सामन्ती वर्गको मान्छे । तर, उत्पीडितहरुको पक्षमा पहिचानको मुद्दा लेख्ने निर्णय कसरी गर्नुभयो ?
माथिबाट वंशवृक्ष हेर्दै ल्याउने हो भने कुनै समय मेरा पुर्खाहरु सामन्त छन् । तर, समयको क्रमले के भत्काइदिएको छ भने अहिले आइपुग्दा त्यो सामन्तको हिङ बाँधेको टालो पनि छैन । यद्यपि, लामो वृक्ष भएर गइसकेपछि केही वृक्षमा, हाम्रै दाजुभाइको जीवनपद्धतिमा त्यो सामन्तवादी चिन्तन, आदत, प्रवृत्ति देखा पर्छ । त्यसैलाई लिएर यो पनि सामन्तका छोरा, नाति–पनाति हो भन्ने बुझाइ रहेको पाइन्छ ।
जसरी मानिस–मानिसबीच विभेद हुनु हुँदैन भन्ने साम्यवादी सिद्धान्त हामी मार्क्सवादमा भेट्छौं, त्यही मान्यता मुन्दुममा पनि भेट्छौं ।
तर, यहाँ आइपुग्दा मेरै आमाले सौता प्राप्त गर्नु । मेरो आमालाई छोडेर बुवा अर्कैसँग बस्नु । मेरो आमाले एक्लो जीवनबाट हामी तीन भाइछोरालाई, हुर्काउनु, पढाउनु यी सबै दुःख हेर्दा हामी उत्पीडनमा छौं भन्ने चेतना जतिखेर पलायो, त्यहिबेलादेखि नै अनुभूत गरेको कुरा हो । त्यही अनुभूतिले हामीलाई उत्पीडन र अन्यायविरुद्ध लड्नुपर्छ भन्ने चेतना प्राप्त भयो । मेरो आमामाथि कसले, कुन व्यवस्था, कुन प्रवृत्ति र चिन्तनले अन्याय गर्‍यो भन्ने चिन्तनको विकासको स्वरुप नै हो, अहिलेको लेखन, मेरो प्रवृत्ति । rajan-mukarung
‘सृजनशील अराजकता’ नामक साहित्यिक आन्दोलन हाँकेर पहिचानको मुद्दामा लेखिरहनुभयो । तर, अगाडिको पुस्तालाई सम्झनुभएन भन्ने छ नि ?
सम्झने भनेको त अग्रज पुस्ताले हामीलाई हो । हामीले त अग्रज पुस्तालाई सम्मान गर्ने हो । मैले बारबार भन्ने गरेको छु, वैरागी काइँलाको ‘सावतको वैला उत्सव’, ‘मातेको मान्छेको भाषण मध्यरातको सडकसित’जस्ता कविता पढेर प्रभावित भई म साहित्यमा लागेको हुँ । उहाँहरुको ‘तेस्रो आयाम’ आफैमा (यसको विचार एक ठाउँमा होला) नेपाली साहित्यमा नवीन चिन्तनको थालनी गरौं है भनेर चालिएको अभियान थियो । त्यसले हामीलाई पनि केही गर्ने चेतना र उत्प्रेरणा दियो । त्यही हरहिसाबबाट त्यो आन्दोलन थाल्यौं ।
हो, हामीभन्दा अग्रज कवि लेखकहरु थुप्रै थिए । भूपाल राई, श्रवण मुकारुङ, वर्तमान, वीरेन्द्र राईहरु । उहाँहरुले गरेको काममा कहीँ न कहीँ हाम्रा सांस्कृतिक विम्बहरुको प्रयोग, हाम्रा जातीय संस्कृति, सभ्यता, इतिहासका कुरा लेखिएका छन् । तर, तिनलाई संस्थागत र सामूहिकीकरण गर्ने अभियानमा उहाँहरु लाग्नुभएन । व्यक्तिगत ढङ्गले उहाँहरु लागिराख्नुभयो । त्यसले समाजमा ठूलो धक्का दिनुपथ्र्यो, त्यो सकेन ।
नेपालमा जातीय उत्पीडन र विभेदका कुरा पनि महत्वपूर्ण रहेछ भन्ने बोध गर्‍यो । त्यो बोध गर्नु मार्क्सवादी सत्य र चिन्तन हो ।
तिनलाई सामूहिकीकरण गरेर जाऔं भन्ने अभियानमात्रै हो, हाम्रो । यो अभियानमा हाम्रा जोजो अग्रजले हामीसँग दुःखेसो गर्नुभएको छ, उहाँहरुलाई हाम्रा हरेक कार्यक्रममा अतिथि बनाएकै हौं, बोल्न लगाएकै हौं । भरिसक्के हामी सँगै हिँडौं पनि भनेका हौं । तर, उहाँहरुमा अग्रज हुनुको मनोविज्ञान छ । सुरुका दिनमा उहाँहरुले हामीलाई नपत्याइदिएको साँचो हो । तर, कुरा कहाँनिर हो भने हामीले त्यसलाई सामूहिकीकरण गरेर प्रभावकारी ढङ्गले समाजमा एक खालको धक्का दियो, त्यसपछि उहाँहरु झस्किनुभएको हो । अलि हामी अघि गइसकेपछि उहाँहरुले हामीलाई पुछ्दैपुछेन भन्ने बुझाइ पाल्नुभएको छ भने त्यो बुझाइ नगर्नुस् भन्छु । हामीले सम्मान गरिरहेकै छौं, सम्झिरहेकै छौं । कहीँकतै त्यो कमी भएको छ भने क्षमायाचना गर्दछु ।
तपाईंजस्तो सचेत लेखकले खेलाएको विम्ब ‘कोलम्बस’माथि आलोचना हुँदै आएको छ । यो विम्बलाई के आधारमा खेलाउनुभएको हो, जसले गर्दा आलोचित हुनु परेको छ ?
आलोचना गर्ने साथीहरुले त्यो विम्ब कहाँनिर, कुन सर्त वा अर्थमा प्रयोग गरिएको छ भन्ने बुझ्न जरुरी छ । मार्क्सलाई कवितामा विम्ब बनाउँदैमा मान्छे मार्क्सवादी हुँदैन । किनभने साहित्यमा विम्बलाई कुन रुपमा कसरी प्रयोग गरिएको छ भन्ने महत्वपूर्ण कुरा हो । नामै लिँदा अछुतो हुनुपर्छ भन्ने लाग्दैन । मैले जुनबेला, चेतनाको जुन हैसियतबाट प्रयोग गरें, त्यो अवस्थाको चेतनाको हिसाबबाट मैले कवितामा प्रयोग गरेको ‘कोलम्बस’ अहिले पनि ठिक छ । किनभने हामीले त्यतिबेलासम्म जानेको कोलम्बस अमेरिका पत्ता लगाउनेसम्म मात्रै हो । हामीलाई त्यसरी पढाइएको थियो । मैले त्यो बेला के बोध गरेको थिएँ भने ‘वाह ! अमेरिका पत्ता लगाउने कोलम्बस ।’
पछि न थाहा भयो, उनले अमेरिका पत्ता लगाउँदा त्यहाँका थुप्रो आदिवासी जनजातिमाथि दमन, उत्पीडन गरे । पहिले अहिलेको विश्वको शक्तिसम्पन्न राष्ट्र अमेरिका पत्ता लगाउने भनेपछि एउटा भयानक विम्बको रुपमा हामीमा आइपुग्यो । कुनै पनि विम्बलाई प्रयोग गर्दा कुन चेतनाको हैसियतबाट प्रयोग गरेका हुन्छौं भनेर नै त्यसलाई विश्लेषण गरिनुपर्छ ।
पहिचानको मुद्दा केही जनजाति बुद्धिजीवीले मार्क्सवादी कित्ताबाट पूरै उछिट्याएर यो छुट्टै आन्दोलन हो भन्ने व्याख्या गरे । त्यसैले पछिल्लो समय पहिचानको मुद्दा भ्रष्टीकरण भएर गयो ।
मैले सबै सही नै गरेको छु र यसको आलोचना गरिनु हुँदैन भन्दिनँ । तर, आलोचना गर्ने साथीहरुले एक पटक एकदमै चखिलो, खुल्ला र पारदर्शी भएर त्यो कवितालाई पढ्ने हो भने उहाँहरुले भनेजस्तो पनि त्यो कविता छैन । मलाई पश्चाताप छैन ।
कोलम्बसलाई हामीले दमनकारी भनेर मात्रै हेर्नु हुँदैन । कोलम्बसलाई खोजीको विम्बको रुपमा पनि त हेर्छौं, हामी । खोजी गर्नु त राम्रो कुरा हो । त्यही सुन्दर कुरालाई मात्र पनि त हेर्न सकिन्छ नि । फेरि उनले गरेको दमनलाई लिएर भयानक विम्बको रुपमा लेखुँला ।
तपाईं मार्क्सवाद र मुन्दुम एकै हो भन्नुहुन्छ । यसलाई जोड्ने कडी के हो ?
मुन्दुम हामी किरातीहरुको जीवन प्रक्रिया र पद्धति हो । जीवन प्रक्रिया र पद्धति भएकैले त्यो संस्कृति पनि हो, त्यसमा दर्शन नजिकका केही पाटा छन् । र लामो समयदेखि किरातीहरुले एउटा जीवन प्रक्रिया र पद्धति बाँच्दै आए, बाँचिरहेका छन्, त्यसलाई आधार मान्दा यो दर्शनशास्त्र हो । जीवन बाँच्ने, भोग्ने, त्यसलाई दृष्टिकोण दिने, अध्ययन गर्ने एउटा ठाउँ हो, मुन्दुम ।
कहाँनिर मात्रै मार्क्सवाद र मुन्दुम नजिक वा सँगै छ भन्न खोजेको हो भने मार्क्सवादले समानतावादी दृष्टिकोण अगाडि सार्छ, त्यही दृष्टिकोण मुन्दुममा पनि छ भन्नको लागि यसो भनिएको हो । किनभने जसरी मानिस–मानिसबीच विभेद हुनु हुँदैन भन्ने साम्यवादी सिद्धान्त हामी मार्क्सवादमा भेट्छौं, त्यही मान्यता मुन्दुममा पनि भेट्छौं । तर, मार्क्सवाद पढेर हाम्रा नाक्छुङहरुले मुन्दुम भनेका त होइनन् । जोसँग आफ्नो किसिमको ‘स्पिरिचुअल पावर’ छ, उनीहरु त्यो शक्तिबाट मुन्दुम भन्छन्, मार्क्सवाद पढेर होइन । त्यहाँबाट मात्रै मैले हामीले त्यति नजिकको सम्बन्ध राख्छौं भनेको हुँ ।
तर, समयान्तरमा शासक वर्गसँगको उठबसमा हाम्रा केही टाठाबाठा पुर्खाले शासकहरुका आदत, बानी सिकेर मुन्दुमलाई बङ्ग्याए । उनीहरुले समाजमा आफू पनि सामन्त हुने, शासक हुने प्रवृत्ति अनुशरण गरे, त्यो गलत छ । त्यसकारण ‘यसलाई सही ढङ्गले बुझ’ भन्न मार्क्सवाद र मुन्दुम नजिक वा सँगसँगै छ भनेको हुँ ।
पहिचान र मार्क्सवाद अलग–अलग हुन् वा एकअर्कामा अन्योन्याश्रित ?
सँगसँगै छन् भनौं भने नेपालमा कम्युनिस्टहरुले आन्दोलन थालेको लामो समय भइसक्यो । २०५२ मा आइसकेपछि वर्गीय मुक्तिको लागि माओवादीले अहिलेसम्मको अन्तिम जेहाद छेड्यो । माओवादीले पनि सुरुमा जातीय सवाललाई केन्द्रमा राखेन । तर, २०५७/५८ सालमा आइसकेपछि माओवादीले जातीय मोर्चाहरु निर्माण गर्‍यो । नेपालमा जातीय उत्पीडन र विभेदका कुरा पनि महत्वपूर्ण रहेछ भन्ने बोध गर्‍यो । त्यो बोध गर्नु मार्क्सवादी सत्य र चिन्तन हो । सधैँभरि वर्गीय विभेदको मात्रै कुरा गर्दा जातीय विभेदमा पारिएकाहरु बिर्सिइए । मानिसको एउटा जाति छ, परम्परा छ, संस्कृति छ, त्यही अनुरुपको व्यवहार गर्न सकियो भने मात्रै मुक्तिकामी आन्दोलनमा हिँडाउन सकिन्छ भन्ने बोध माओवादीले गरेपश्चात माओवादी आन्दोलन अझ बलियो भएर आयो ।
पहिचानवादीहरुभित्रै पनि एकथरीले यो जातिको मात्रै कुरा हो भन्ने व्याख्या गरिहेका छन्, अर्कोथरीले यो वर्गीय आन्दोलनसँग पनि जोडिएको छ भनेर व्याख्या गरिरहेका छन् । अतिवादी रुपमा अघि बढियो भने यसले साम्प्रदायिक विखण्डन निम्त्याउँछ ।
यो अनुभवलाई हेर्दा पहिचान र मार्क्सवाद सँगसँगै छन् । तर, पहिचानको मुद्दा केही जनजाति बुद्धिजीवीले मार्क्सवादी कित्ताबाट पूरै उछिट्याएर यो छुट्टै आन्दोलन हो भन्ने व्याख्या गरे । त्यसैकारण पछिल्लो समय पहिचानको मुद्दा भ्रष्टीकरण भएर गयो । स्वाभाविक हो, नेपाली समाजमा विभिन्न जातिहरु छन् । तिनका आ–आफ्नै संस्कृति सभ्यता छन् । इतिहास र बोध छन् । जीवन र जगतलाई हेर्ने दृष्टिकोण त्यही संस्कृति र सभ्यताअनुरुप नै सिक्दै र व्याख्या गर्दै आएका छन् । त्यसकारण मार्क्सवादसँग केही मेल, केही बेमेल होला । तर, पहिचानको मुद्दा वा मार्क्सवादले भन्ने कुरा एउटै हो । पहिचानवादीहरुले भन्ने ‘हामीलाई जातीय रुपमा विभेद भयो, हाम्रो पहिचान स्थापित गर । हाम्रो भाषा, धर्म, संस्कृति नामेट गरियो, हाम्रो इतिहासको उत्खनन् गर्न चाहन्छौं ।’ मार्क्सवादीहरुले पनि ‘तिमी अन्यायमा छौ, उत्पीडनमा छौ, त्यसका विरुद्ध लड’ भन्ने हो । नेपाली आन्दोलन, राजनीति र समाजमा यी एक–अर्कासँग नजिक छन्, यसलाई सँगसँगै लानुको विकल्प छैन ।
नेपालमा उठिरहेको पहिचानको मुद्दा अनियन्त्रित हुन पुग्यो भने स्वतः साम्प्रदायिक दंगा मच्चिन जान्छ । यहाँ वर्गीय र जातीय समस्या टड्कारो छ । यसलाई कसरी संयोजन गर्न सकिएला ?
स्वाभाविक रुपमा त्यो खतरा छ । तर, राजनीतिको केन्द्रमा पहिचान नै छ, पक्षमा होस् या विपक्षमा । पहिचानको आन्दोलन अन्तद्र्वन्द्वबाट पनि गुज्रिरहेको छ । पहिचानवादीहरुभित्रै पनि एकथरीले यो जातिको मात्रै कुरा हो भन्ने व्याख्या गरिहेका छन्, अर्कोथरीले यो मार्क्सवादी आन्दोलन, वर्गीय आन्दोलनसँग पनि जोडिएको छ भनेर व्याख्या गरिरहेका छन् । अतिवादी रुपमा अघि बढियो भने यसले साम्प्रदायिक विखण्डन निम्त्याउँछ नै । त्यसलाई रोक्न पहिचानको मुद्दालाई वस्तुगत ढङ्गले अध्ययन गर्दै समाजमा पहिचानको मुद्दा उठाउनेहरु को हुन् ? तिनले किन र कुन स्वार्थका लागि उठाए ? भनेर चिन्न जरुरी छ ।
पछिल्लो समय पहिचानको नेतृत्व जसले लिइरहेको छ, त्यो अपरिपक्व छ । त्यसले समाजको तल्लो तहलाई बुझ्न सक्या छैन । अमेरिका, स्विट्जरल्याण्ड, युरोपमा पढेर आएर पहिचानको मुद्दाको व्याख्या गर्न थालेपछि गाह्रो भएको छ ।
पछिल्लो समय पहिचानको नेतृत्व जसले लिइरहेको छ, त्यो अपरिपक्व छ । त्यसले समाजको तल्लो तहलाई बुझ्न सक्या छैन । अमेरिका, स्विट्जरल्याण्ड, युरोपमा पढेर आएर पहिचानको मुद्दाको व्याख्या गर्न थालेपछि गाह्रो भएको छ । अहिले तिनको हातमा छ, पहिचानको मुद्दा । यसो हुँदा पहिचानको मुद्दा शंकाको घेरामा छ ।
पछिल्लो समय पहिचानको मुद्दा असफल हुँदै गएको हो ?
असफल होइन, पछिल्लो समय पहिचानको पक्षमा लेखिएको साहित्य अलि थाकेको जस्तो चाहिँ देखिन्छ । किनभने एकचोटि भयंकर ऊर्जा थियो । राजनीतिक सफलताहरु पनि प्राप्त हुँदै गएका थिए । त्यतिबेला लेख्नेहरुले ऊर्जाशील भएरै लेखे । तर, अहिले राजनीतिक परिणाम कमजोर आइदिएपछि राजनीतिक नेताहरु पनि थाकेजस्तो देखिए । त्यसको प्रभाव स्वतः स्रष्टाहरुमा पनि पर्‍यो । कतिपयचाहिँ त्योभन्दा पनि अझ बढी व्यक्त हुने क्रममा कलालाई कमजोर बनाएर विचारलाई मात्रै व्यक्त गरिँदा हाम्रा रचना नाराजस्ता पनि भए । त्यसरी कमजोर भयो भन्नु एउटा कुरा हो । तर, जसरी एउटा ठूलो शक्तिको आगमन भइरहेको छ, यसले कमजोर होइन अझ बलियो बनाउँछ ।
पहिचानको आगामी मार्ग के हो ?
मार्ग त सबैलाई समान अधिकार, पहिचान प्राप्त गर्नेतिर हुन्छ । यो मानवअधिकारसँग जोडिएको कुरा पनि हो । कत्तिन्जेल शासकहरुले झेल गर्ने, यो समयको कुरा मात्रै हो । तर, मलाई लाग्छ, पहिचानको मुद्दाले स्थान प्राप्त गर्न त्यत्ति टाढा छैन र हामीले सोचेजस्तो सजिलो पनि छैन । किनभने हामी पहिचानवादीहरु अनेकौं भँगालामा बाँडिएका छौं । एकै ठाउँ शक्तिशाली भएर रहन सकेका छैनौं । तर, समयले धेरैलाई निफन्दै लान्छ । जो प्रतिबद्ध छन् आन्दोलनप्रति, तिनले नेतृत्व गरेको दिन पहिचान स्थापित हुन्छ ।
पहिचानमा केन्द्रित रहेर लेखिरहेको युवापुस्ताप्रति तपाईंलाई कत्तिको भरोसा छ ?
मलाई त पूर्ण भरोसा छ । किनभने पछिल्लो पुस्ताले आफ्नो आत्मबोध मात्रै प्रस्तुत गरिरहको छैन । पहिचानको मुद्दामा पछिल्लो पुस्ता जो देखा परेको छ, त्यो पुस्ता अत्यन्तै अध्ययनशील, चिन्तनशील, तार्किक भएर आएको छ । यसले एउटा ठूलो बौद्धिक आन्दोलनको हिस्सा बोकेर आएको छ । हामी आउँदा त्यति ठूलो चिन्तन, ज्ञानहरु बटुलेर आएको होइन । हामी आत्मबुझाइ, आत्मानुभूति साँचेर मात्रै आएका थियौं । तर, अहिलेको पुस्ता ज्ञान, अध्ययन, चिन्तन त्यही विषयमा गरेर आएको छ । त्यसैको लागि आफ्नो ऊर्जाशील समय खर्च गरिरहेको छ ।

http://esamata.com बाट साभार 

No comments:

Post a Comment