Tuesday, July 30, 2024

कलम प्रतिबन्धको ‘प्रिज्म’ - राजेन्द्र महर्जन

 शासक र नेताहरूका पोल खोलिएको एउटा पुस्तक । त्यस पुस्तकलाई आपत्तिजनक ठान्यो– टंकप्रसाद आचार्य सरकारले । र, प्रेसमा छापा मारी सबै प्रति जफत गर्‍यो डा. केआई सिंह सरकारले । कलममाथि प्रतिबन्ध र किताब जफतको त्यो प्रकरण इतिहासको गल्लीमा किन गायब पारियो ?

सांगठनिक प्रयासको विस्फोट भएको २००७ देखि २०१७ सालको कालखण्ड बाह्यमुखीको दशक थियो । तर, त्यसै बखत अभिव्यक्ति स्वतन्त्रतामाथि तोप दागिएको थियो ।



गोधूलिमा हिँड्ने एउटा जिउँदो मान्छे
संसारलाई फेर्छु भन्थ्यो आफैं फेरिएछ
अँध्यारोको अँगालोमा आफैं बेरिएछ
संसारलाई फेर्छु भन्थ्यो आफैं फेरिएछ
  –आभास
सडकमा हुँदा एउटा बोली, सरकारमा हुँदा अर्कै । प्रतिपक्षमा हुँदा एउटा अनुहार, सत्तापक्षमा हुँदा भिन्नै । सडकदेखि सरकारसम्मको सिँढी चढ्दाचढ्दै फेरिन्छ बोलीचाली । प्रतिपक्षबाट सत्तापक्षमा फेरिँदा–नफेरिँदै राजनीतिक नेतृत्वको कायापलट हुन्छ । यही रूपान्तरण देखेर इतिहासले भन्नुपर्ने हो, ‘लौ है राजनीतिक नेतृत्वको कायापलट भो, बोलीचाली पनि फेरियो !’

इतिहास त हायन्स क्रिस्चियन एन्डर्सनको कथा ‘बादशाहको लुगा’ का बच्चाजस्तै हुनुपर्ने हो र इतिहासकारहरूले तिनै बच्चाले झैं भन्न सक्नुपर्ने हो– बादशाह त नाङ्गै छन् !!! इतिहास र इतिहासकारहरूको जतिसुकै जयजयकार गरिए पनि बादशाहलाई नाङ्गै देख्ने र नाङ्गो सत्य लेख्ने क्रम बलियो छैन । यसैको उदाहरण हो, प्रजातन्त्रका लागि लडेका नेताहरू सत्तासीन हुँदा प्रजा र प्रजातान्त्रिक अधिकारमाथि दमनतन्त्र लाद्न उद्यत भएका घटनामा पनि इतिहास मौन रहेको पक्ष । प्रजाहरूको अभिव्यक्ति स्वतन्त्रताका लागि संघर्षको अगुवाइ गरेका नेताहरू नै प्रेसमाथि प्रतिबन्ध लगाउने र किताब नै जफत गर्ने उद्यममा लाग्दा पनि इतिहासकारहरूको बेवास्ता टीठलाग्दो छ ।

१९७७ सालमा नेपाली भाषामा ‘मकैको खेती’ किताब लेखेबापत ९ वर्षको जेल सजाय पाएका र कैदी जीवनमै मृत्युको मुखमा पुगेका सुब्बा कृष्णलाल अधिकारीबारे केही इतिहास लेखियो । तर, नेपालभाषामा रचना गरेकै आधारमा जरिवाना, धम्की, जेल–नेल, सर्वस्व हरण र ज्यान अर्पणसँगै देश निकालाको सिकार भएका बग्रेल्ती लेखकबारे कमै लेखियो । बोल्ने, लेख्ने, छाप्ने र अभिव्यक्त गर्ने अधिकारका लागि लडेका नेताहरूले प्रजातन्त्र स्थापनापछि पनि राणा शासनकै अप्रजातान्त्रिक विधि र प्रक्रिया अँगाले । र, इतिहास लेखन सत्ता–शक्तिकै गल्लीमा घुमिरह्यो । लेखन, अभिव्यक्ति र प्रकाशनको हकमाथि भएका दमनको एउटा उदाहरण मात्रै हेरियो भने पनि राजनीतिक नेतृत्वको निरंकुश शासकतिरको कायापलट र त्यसप्रति अधिकांश इतिहासकारको बेसरोकारको झलक देखिन्छ ।

यहाँ त्यस्ता व्यक्तिको किताबमाथि लागेका प्रतिबन्धको ‘प्रिज्म’ बाट नेपाली इतिहास, इतिहासका नायक र इतिहास लेखनको झझल्को हेर्ने कोसिस गर्नेछौं, जसले वर्षौं वर्षको जेल–नेलको सजाय भोग्नेदेखि मन्त्री र राष्ट्रिय पञ्चायतका सदस्यको पदसम्म पाए । हो, उनै लेखक, अभियन्ता र अगुवाको नाम हो– धर्मरत्न ‘यमि’, जसले कुनै डिग्रीबिना पनि ‘राहुल सांकृत्यायनको शिक्षाबाट शिक्षित र डा. अम्बेडकरको दीक्षाबाट दीक्षित’ भएर नेपालभाषासँगै नेपाली, हिन्दी र अंग्रेजीमा दुई दर्जनभन्दा बेसी किताब लेखे । २०१४ वैशाख पूर्णिमाको सेरोफेरोमा प्रकाशित, प्रतिबन्धित र जफत भएको यमिको किताबको नाम हो : ‘नेपालका कुरा’ (समीक्षात्मक इतिहास) । यही तथ्य प्रतिबन्ध लगाउने र जफत गर्ने प्रधानमन्त्रीहरूका इतिहास, जीवनी र स्मृतिग्रन्थमा पाइँदैन ।

जिउँदा सहिदको तर्क

पत्याउनै गाह्रो तथ्य : लेखन र अभिव्यक्ति स्वतन्त्रतामाथि दमन पनि कसबाट भयो ? प्रजातन्त्रका लागि सँगसँगै लडेका, राणाकालीन जेलमा वर्षौं वर्षसम्म सँगसँगै बसेका ‘जिउँदा सहिद’ को हातबाट । सात सालमा प्रजातन्त्र आएपछि राजाबाट गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्ममा नियुक्त भएका टंकप्रसाद आचार्यले कार्यकालको अन्तिमतिर आफ्नै मित्रको लेखनमाथि प्रतिबन्ध लगाए, राणाकालीन प्रवृत्ति दोहोर्‍याउँदै । त्यस प्रतिबन्धको औचित्य स्थापित गर्न आचार्यले २०४६ साउन ३ गते भएको भेटवार्ताका क्रममा ‘मोरो बाहुनहरू मिलेर शक्ति खोस्ने भए’ भन्ने प्रचार गरेको आरोपमा प्रतिबन्ध लगाइएको सकारेका छन् ।

‘तपाईंलाई ‘नेपालको कुरा’ भन्ने स्वर्गीय यमिजीको पुस्तक प्रकाशनमा प्रतिबन्धित (दबल) गरेकोमा कस्तो लाग्यो ?’ यमि–पुत्री तिमिला यमि थापाको प्रश्नको उत्तरमा पूर्वप्रम आचार्यको उत्तर थियो : ‘त्यो ‘नेपालको कुरा’ नामक पुस्तक मैले हेरेको पनि छैन । त्यो केही कुरा पनि होइन । ‘नेपालको कुरा’ बाहुनहरू मिलेर (उयधभच) शक्ति खोस्ने भए, उता विश्वेश्वर (नेपाली कांग्रेसको अध्यक्ष), यता म (प्रजापरिषद्को अध्यक्ष), उत्ता मनमोहन अधिकारी (अध्यक्ष नेपाल कम्युनिस्ट पार्टी) र डिल्लीरमण रेग्मी (अध्यक्ष, राष्ट्रिय नेपाली कांग्रेस) । यी मोरो बाहुनहरूको खिलाफमा प्रचार गर्नु भनेर राई, गुरुङ र मगरहरूलाई उचाल्न लगाएका हुन् । त्यस्को (‘नेपालको कुरा’ भन्ने पुस्तक) केही महत्त्व छैन । कसैले महत्त्व ल्याएको पनि छैन । कसैले महत्त्व देखाएको पनि छैन । त्यो बेला पनि महत्त्व भएन । यत्तो सानो देश छ । त्यस्मा पनि अनेक थरी फुट्न लाग्यो भने के हुन्छ ! (धर्मरत्न यमि स्मृति ग्रन्थ : धयस्मृग्र, यमि थापा २०४६: १२४–१२५) ।’

यो पत्याउनै गाह्रो हुने भनाइ हो, नेपालमा प्रजातन्त्रका आन्दोलनको अगुवाइ गरेका पूर्वप्रधानमन्त्रीको । आफ्ना तीन–तीन जना सदस्यलाई बलि दिएको नेपाल प्रजापरिषद्का अध्यक्ष टंकप्रसाद आचार्यले प्रधानमन्त्री हुँदा आफ्नै सहयात्री धर्मरत्न ‘यमि’ को पुस्तकमाथि अनेक तर्क गर्दै प्रतिबन्ध लगाएको कुरा विश्वास गर्न सहज छैन । कटु इतिहास के हो भने राजा महेन्द्रबाट १३ माघ २०१२ देखि ३१ असार २०१४ मा प्रधानमन्त्रीको पद बक्सिस पाउँदा उनै प्रजा परिषद्का अध्यक्ष टंकप्रसादले प्रजामाथि तन्त्रको हथौडा चलाएका थिए । देश टक््रयाउने गरी बाहुनहरूको खिलाफमा प्रचारबाजी गरिएकाले ‘नेपालका कुरा’ माथि प्रतिबन्ध लगाएको टंकप्रसाद आचार्यको दाबीमा सत्यको अंश कम छ, बरु ब्राह्मणवादविरुद्ध जेहाद नै छेडिएकोमा भने शंका छैन । सात सालमा प्रजातन्त्र स्थापना भएपछि बाहुनहरू क्षत्रियहरूको तुलनामा शक्तिशाली हुँदै गएकोमा पनि सन्देह छैन, यमिले खासमा आफ्नो किताबमा नेपालमा स्थापित भएको ‘ब्राह्मणीय पुरोहितवाद पोषक राज्य र त्यसका नयाँ शासकहरू’ को दोहोलो काढेका छन् । ब्राह्मण धर्मनिष्ठ भक्ष्याभक्ष्य र पाप–पुण्यको विचार थोपर्ने लिच्छवि शासकहरूको व्यवहारको आलोचना गर्ने यमिले मूलत: बौद्धमार्गी नेवा: समुदायलाई चार वर्ण छत्तीस जातमा विभाजित गर्दर् ैभक्ष्याभक्ष्य र छुवाछूत लाद्ने राजा स्थिति मल्लको ‘भाडुवा नीति’ देखि तत्कालीन प्रम टंकप्रसादको ‘राजनीतिक बहुरूप’ विरुद्ध खरो टिप्पणी गरेकोमा मतभेद छैन । ‘सुख–दुःखका साथी’ टंकप्रसादको बहुरूपबारे उनी लेख्छन् :

‘टंकप्रसाद आचार्यसँग परिचय १९९७ सालदेखि हुँदै आएको हो । हिन्दु राज्य नेपालमा पशुमा गाई, मान्छेमा बाहुन नकाटिने जात हुनाले प्रजापरिषद्का जवान साथीहरूले टंकप्रसाद बाहुन नकाटिने भएकाले मात्र अध्यक्ष छानेका थिए । सन्तान्नब्बे सालको पर्वमा उनले राणाहरूसित केही कुरामा टेक लिएर हामीलाई चकित पनि पारेका थिए । तर जेलमा मुडेर ल्याउँदा आफूलाई अछूत ठानेर मात्र नपुगी राणा–सामन्तशिरोमणि जुद्धशमशेरलाई बिन्तीपत्र लेखी एक मोहर आठ पैसा तिरी ४०/– (चालीस रुपैयाँ) बिहे खर्च तिर्नुपर्ने मतवाला जातसम्ममा मिलाइपाउँदा आफूलाई छुत भएको ठानी आफ्नो अहोभाग्य ठाने । पछि ७ सालको नेपाली कांग्रेसको नेतृत्वमा संघर्षपछि जेलबाट छुटेर आई दिल्लीसम्म धाएर मन्त्रीपद नभेट्टाएकाले उनी राजा मान्ने नवीन समाजवादी बने । पछि फेरि राजासित कुराकानीमा केही नमिल्न जाँदा राजा र नेहरूको विरोधी भई माओचेतुङलाई सूर्य देख्ने मार्क्सवादी भए । त्यताबाट पनि के नभएर हो कुन्नि स्टालिनवादी भई कम्युनिस्ट पार्टीसित संयुक्त हुन गए । फेरि नेपाली कांग्रेसमा आपसी झैझगडाले कमजोरी आएर सरकारबाट नेपाली कांग्रेस खस्कन लागेको देखेर नेहरूलाई सूर्य देख्ने प्रजातन्त्रवादी भए । नेपाली कांग्रेस सरकारबाट खस्केपछि मातृका बाबु नै अर्को रूपमा सरकारमा गएको देखी संयुक्त प्रजातान्त्रिक लिगवादी भए । पछि फेरि आफूलाई राज्य व्यवस्था नै नभए पनि गृहविभाग भेट्टाएकाले राष्ट्र खतरामा छ भनी राष्ट्रवादी भएर मन्त्री हुन पुगे । फेरि मातृका–सरकार खतम हुने छाँट देखेपछि एकै रातमा आफ्नो धन र कुटो भएको लालझन्डा र अध्यक्षपद बेचेर त्रिरङ्गा झन्डावाल भए । यो हो टंकप्रसाद आचार्यको राजनीतिक बहुरूपिताको विवरण (नेपालका कुरा, यमि २०१४: ४४३–४४४) ।’

जवान महाराजाधिराज महेन्द्र र उनले च्याम्पटीजस्तै घुमाएका प्रधानमन्त्री टंकप्रसादबारे सटीक टिप्पणी गरेका थिए, ‘मैले त मान्छे चिन्ने विलक्षण बुद्धि पनि महाराजाधिराजमा रहेछ भन्ठानेको थिएँ, तर नेताहरूमध्ये सबभन्दा राजनीतिक मासी नभएका राजनीतिक बहुरूपी टंकप्रसाद आचार्यलाई छानी प्रधानमन्त्री पद दिएको देख्दा महाराजाधिराज राजनीतिक टेकी मान्छेसित डराउँदा रहेछन् भन्ने कुरा प्रकट भयो (यमि २०१४: ४४३) ।’ यस्तै खरो टिप्पणीका कारण पनि ‘नेपालका कुरा’ प्रतिबन्धित भएको हुन सक्छ, राजा र उनका प्रधानमन्त्रीको कोपभाजनको सिकार भएको हुन सक्छ । जबकि ‘यमि’ राजा त्रिभुवनद्वारा २००८ सालमा खाद्य/वन उपमन्त्री नियुक्त भएका राजा महेन्द्रले २०११ सालमा चलाएको प्रत्यक्ष शासनप्रति आशावादी रहेका र २०१७ सालमा थोपरेको पञ्चायती व्यवस्थामा राष्ट्रिय पञ्चायत सदस्यमा नियुक्त पाएका व्यक्ति हुन् । उनकै ‘मुक्तिदाता स्व. श्री ५ त्रिभुवनप्रति सादर समर्पित’ किताब पनि प्रतिबन्ध र जफतबाट बच्न सकेन ।

‘यमि’ का काकाका छोरा तथा नेपालभाषाका लेखक सुगतदास तुलाधरका अनुसार, ‘नेपालका कुरा’ र ‘हाम्रो राष्ट्रियता’ ले धूम मच्चाएका थिए । किन र कसरी धूम मच्चाए त ? यमिका सहकर्मी केदारमान व्यथित लेख्छन्, ‘उनका सबैभन्दा प्रसिद्ध इतिहाससम्बन्धी किताब ‘नेपालका कुरा’ हो । नेपालका लागि त्यो एउटा उल्लेखनीय पुस्तक हो । राजनीतिक, सामाजिक र सांस्कृतिक गतिविधिको ऐना हो भन्दा पनि हुन्छ उक्त किताब । तर, आफ्नो आलोचना गरिएको कारणले तत्कालीन सरकारले त्यो किताब जफत गर्‍यो (धयस्मृग्र, व्यथित २०४६ : ९) ।’

‘प्रचण्ड गोरखा’ को अगुवाइ गर्दै १९८८ सालदेखि बीस वर्षसम्म जेलमा परेकामध्ये व्यक्ति हुन्– खड्गमान सिंह । १९९७ सालमा प्रजापरिषद् काण्डमा परेपछि यमि पनि उनको जेलजीवनका सहयात्री भएका थिए । २००९ सालमा राजा त्रिभुवनको प्रत्यक्ष शासनमा सल्लाहकार बनेका सिंहले पनि प्रतिबन्धको कारण खोतलेका छन्, ‘नेपाली भाषामा धर्मरत्नजीले एउटा अर्को गजबको पुस्तक लेखेका थिए, ‘नेपालको कुरा’ । त्यस बेला श्री टंकप्रसाद आचार्य प्रधानमन्त्री थिए । ‘नेपालको कुरा’ मा धेरै व्यक्ति महानुभावहरूको पोल खोलिनुका साथै प्रम टंकप्रसाद बाहुन भएकाले ब्राह्मणवादको सँगसँगै सरकार चलाउन अयोग्य भनी तीव्र आलोचना गरेको थियो (धयस्मृग्र, सिंह २०४६ : १९) ।’

हिन्दु राज्यको वैचारिकी विरुद्ध

‘नेपालको कुरा’ मा अत्यधिक आलोचित विचार हो– राज्यबाट सयौं वर्षदेखि प्रवर्द्धन, संरक्षण र क्रियान्वयन गरिएको ब्राह्मणवाद र त्यस वादका व्याख्याता थिए, मनुदेखि राममणि आ.दी.सम्म । २०१० सालमा प्रकाशित आ.दी.को पुस्तक ‘नीतिको पेटारो वा भलो कुराको नमुना’ मा जात, वर्ण र वर्गको भेदको वकालत गरिएको छ, मनुस्मृति शैलीमा । कतिसम्म भने ‘पक्षपात जगाउने प्रजातन्त्र’ को विपक्षमा, आर्य श्रेष्ठताको हित साधन गर्ने तन्त्रको पक्षमा उभिँदै ‘जात–पात बिग्रन नदिन रक्त शुद्धीकरण’ (ब्लड पिउरीफिकेसन) सम्मको जिकिर गरिएको छ । यिनै वैचारिकीमा आधारित हिन्दु राज्य र त्यसका पुराना नयाँ शासकबारे यमिले बहिष्कृत समुदायको कोणबाट चिरफार गरेका छन्,

नाब्रह्म क्षत्रं ऋध्नोति नाक्षत्रं ब्रह्म वर्धते ।

ब्रह्म क्षत्रं च सम्पृक्तमिह चामुत्र वर्धते ।। ९.३२२।।

ब्राह्मणबिना क्षत्री, क्षत्रीबिना ब्राह्मण कुनै पनि बढ्न सक्तैन । दुवै मिलेर नै परस्परको उन्नति हुन्छ । यसबाट मालिक, ईश्वर, सामन्त, राजा, महाराजा, धिराजा, सम्राट्, गुरु, मन्त्री, पुरोहित भन्ने ठूलठूला दर्जा त ब्राह्मण र क्षत्रिय सिवाय अरू कसैले पाउने भएन । यसले यो सनातन धर्म मुताबिक त अर्थात्हिन्दुको देशमा बाहुन र क्षत्रीको मनपरी थिचोमिचोमा अरू सबै जाति–उपजातिले बस्नुपर्ने भयो । सरदार राममणि बाजेको राणाशाहीको कानुनले त ‘मन्त्रीमण्डल जोर्दा ब्राह्मण र क्षत्रिय लिएर जोरनू, त्यसमा पनि उच्च कोटिका हुनू’ भनिएकाले ब्राह्मण–क्षेत्रीमा पनि गरिब छ भन्ने बाहुन–क्षेत्री भएर पनि मन्त्री आदि ठूला दर्जामा पुर्‍याउन नहुने भो । नेपालमा किंवा हिन्दु राज्यमा उच्च कोटिका ब्राह्मण–क्षेत्री जाति सिवाय अरू सबै मानव हकबाट पनि वञ्चित कमारो भनी सिद्ध हुन्छ । देशको स्वतन्त्रताको माने कुनै विदेशीले राज्य नगर्नु मात्र होइन, स्वदेशीले नै राज्य गरेको भए तापनि देशवासी सारा जनताले ठूला–साना अधिकारहरू समान रूपले पाउनुको माने स्वतन्त्रता हो । नेपालका प्रजाहरूलाई म्लेच्छमाथि शूद्र, शूद्रमाथि वैश्य, वैश्यमाथि क्षत्री, क्षत्रीमाथि बाहुन, यी सबैमाथि फेरि धूर्त दाज्यु–काका मारा, झेल्याहा, अत्याचारी सामन्त राणाहरूले थिचोमिचो गरेर हाम्रो शरीर मात्र होइन, बुद्धि पनि कमारो बनाइसकेका छन् (यमि २०१४: ३२५–३२६) ।’

यस किताबको गुदी नै हिन्दु–ब्राह्मण धर्म, त्यसमा आधारित राज्य र धार्मिक राज्यबाट पोषित वर्ग–वर्ण–जातको प्रभुत्वको शल्यक्रिया भएकाले यमिले राममणि आ.दी.का पुरातन विचारलाई घरीघरी उधिनेका छन् । यस्तो खोतलखातल प्रभुत्वशाली वर्ग–वर्णका लागि सह्य नभएको झलक राममणिका नाति एवं लेखक कमल दीक्षितको स्मरणमा देख्न पाइन्छ :

‘यमिजीको नाम त्यसो त अलि नमिठै पाराले मेरो कान आँखामा परेको हो । ‘जथवा तथवा–बोलेको’ आरोप लाग्न सक्ने उहाँको...किताब ‘नेपालको कुरा’ पढेर नै मैले उहाँलाई चिनें भनौं । त्यसमा अरू छाडी मेरै बाजे, आफू बा, सरदार राममणि आ.दी.ले साम्प्रदायिकताको झटारो खानुपरेको (पृ. ४२१) पनि मैले पढ्नु पर्‍यो ।

आफूले ठीक ठानेको कुरा, आफूलाई विश्वास भएको कुराले कोही रिसाउला कि भनी नडराई नलुकाई बोल्नुभएको छ उहाँले । त्यस किताबमा उहाँले भनेका कुरा ठीक होइनन्, सत्य होइनन् कुराहरू लुकाइएका बंग्याइएका छन् भन्ने गुनासो किताबमा नाम पर्नेहरूको छ । तर त्यस्ता गुनासाहरू कोठामा गफका रूपमा मात्र भए । लिखितमा प्रकाशनमा कसैले आजसम्म ती कुराहरूको प्रतिवाद या खण्डन गरेनन् । आफूले बेठीक ठानेका कुराको खण्डनसम्म गर्न नसक्नेहरूलाई देखेर नै मैले धर्मरत्नजीलाई बहादुर भनेको हूँ । (धयस्मृग्र, दीक्षित २०४६ : ६३) ।

विचारलाई विचारले नै खण्डन–मण्डन गर्ने प्रजातान्त्रिक विधि र अभ्यासको सट्टामा प्रजातन्त्रकालमा पनि किताबको दहन गर्ने राणाशाहीकै शैलीमा यस पुस्तकमाथि दमन गरिँदा प्रतिवादको स्वर सुनिएन । राजा महेन्द्रले कहिले ‘प्रत्यक्ष शासन’ त कहिले दलका नेताहरूबाट ‘अप्रत्यक्ष शासन’ चलाइरहेको दशकमा मुक्तिनाथ (शर्मा तिमिल्सिना) को उपन्यास ‘को अछूत ?’ जस्तै यमिको किताब पनि दमनतन्त्रको सिकार हुँदा प्रतिरोध सडकमा पोखिएन । प्रजातान्त्रिकदेखि राष्ट्रवादीसम्म छवि बनाएका नेता र शासकहरू आफ्नो वैचारिकी र व्यवहारको आलोचना हुँदा कति अप्रजातान्त्रिक भए, त्यसलाई पनि लिपिबद्ध गरिएन । ‘नेपालका कुरा’ प्रतिबन्धित मात्रै होइन, जफत नै हुँदा पनि लेखकहरूका आँसुसमेत झरेको पाइएन, कविताकै रूपमा सही ! विडम्बनाको कुरा, जफत गर्ने काम महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षा, स्वायत्तशासन मन्त्रीका रूपमा संलग्न डा. के.आई. सिंहको सरकारले गरेको थियो । लेखक भिक्षु सुदर्शनसँग कुराकानीको क्रममा यमिले भनेका थिए– नेपालका कुरा’ साढे चार सय वटा किताब डा. के.आई. सिंहको सरकारले जफत गर्‍यो (धयस्मृग्र, यमि २०४६ : १३) ।’

प्रतिबन्ध लगाएपछि आचार्य सरकारले २०१४ असार १९ गते एकमना सरकारको माग गर्दै राजीनामा दिनुपरेको थियो र राजा महेन्द्रले नेताहरूको नाडी छाम्दै असार ३१ गते मात्रै आफ्नो इच्छाअनुसार चल्न तयार सिंहको सरकार बनाए (नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, राजेश गौतम २०६६ : २५०) । नेपालमा सरकारसमेत रहेको–नरहेको अन्योल यही समयमै यमिले सम्भवतः ५० प्रति किताब उँबहाल, नबहिलस्थित हिमालय प्रेसबाट रातारात ल्याएको र धुस्वां सायमि लगायतलाई प्रेसबाटै दिएको हुन सक्छ (धयस्मृग्र, सायमि २०४६ : ७१, चन्द्रशेखर रघुबंशी २०४६ : ४२) । ‘पुस्तक तयार भएपछि यमिजीले ५–१० प्रति नमुनाका रूपमा प्रेसबाट ल्याएका थिए । त्यस पुस्तकलाई आपत्तिजनक ठानेर सरकारले प्रेसमा छापा मारी ‘नेपालको कुरा’ का सबै प्रति जफत गरेर लग्यो (धयस्मृग्र, सिंह २०४६ : १९) ।’

कमलप्रकाश मल्लका लागि विभिन्न विचार, गतिविधि र सांगठनिक प्रयासको विस्फोट भएको २००७ सालदेखि २०१७ सालको कालखण्ड अभिव्यक्ति र बाह्यमुखीको दशक थियो (नेपाली समाजमा बुद्धिजीवी, मल्ल २०७३ : १४५) । त्यसै दशकमा किताबमाथि मात्रै होइन, पत्रपत्रिकामाथि पनि व्यापक कारबाही गर्दै श्री ५ र श्री ५ का सरकारहरूले अभिव्यक्ति स्वतन्त्रतामाथि तोप दागेका थिए ।

प्रधानमन्त्री आचार्यले त साढे १७ महिनाको शासनभित्र ३४ वटा पत्रपत्रिकालाई कारबाही गर्दै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पारेका थिए, जुन त्यस दशककै सर्वाधिक संख्या हो । शासन अवधि र कारबाहीबीच तुलना गर्दा डा. सिंह नेतृत्वको सरकारको पालामा औसतमा सबैभन्दा धेरै पत्रिकालाई कारबाही गरिएको थियो । ३ महिना १८ दिनको सिंह शासनमा ११ वटा पत्रिकामाथि दमन गरिएको थियो

(फैलँदो नेपाली प्रेस र खुम्चँदो प्रेस स्वतन्त्रता : वि.सं.२००७–१७ को अभ्यास, मिडिया अध्ययन–८, रमेश पराजुली २०७० : १३) । आलोचनात्मक किताब र पत्रपत्रिकामाथि भएको दमनको ऐनामा हेर्दा प्रजातान्त्रिक र राष्ट्रवादी भनिएका नेता र राजाहरूका अनुहार निरंकुश शासकमा फेरिएको कुरूप दृश्य देखिएको थियो, जुन क्रम अझै रोकिएको छैन ।

(धन्यवाद : डा. राजेश गौतम, प्रो. तिमिला यमि थापा, डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय)

https://ekantipur.com

No comments:

Post a Comment