Thursday, March 2, 2023

प्रेत लेखक र प्रेत प्राज्ञ - खगेन्द्र संग्राैला




धनाढ्य मालिक अग्लो आसनमा उपरखुट्टी लगाएर गजधम्म बस्छ । याचक लेखनदास बस्छ आत्महीन मुद्रामा तल भुईंमा पिरामा टुक्रुक्क । मालिकको अनुहारमा अहंकारको दाग छ, लेखनदासको अनुहारमा छ आत्महीनताको छाप । बरा मालिकलाई नामको दुःख छ, बिचरा लेखनदासलाई दुःख छ दामको । मालिक आफ्नै दम्भको रथमा सवार भई ङार्रङुर्र गर्दै केके भन्छ, लेखनदास हनुमान मुद्रामा एकाग्र चित्तले मालिकवाणी सुन्छ । लेखनदास चाप्लुसीको रङरोगन भरेर कृपाकारी मालिकको सानदार गौरवगाथा लेखिदिन्छ र मालिक त्यसैत्यसै मक्ख पर्दै लेखनदासलाई बकसस्वरुप केही रकम हुत्त फालिदिन्छ । अनि लेख्ने नाथे लुसुक्क कतै दुलामा लुक्छ, नलेख्ने नाथे लुकुवाले लेखिदिएको लिखत छापेर चटके पाराले बतासे लेखक बन्छ । बस्, हाल चलनचल्तीमा रहेको काइते लेखनको रचनागर्भको यथार्थ कथा हो यो । बकसका लागि मालिकको झुटो प्रशंसा लेखिदिने र बकस थापेर लुत्त भूमिगत हुने पात्रलाई कान्तिपुरी नगरीमा अचेल प्रेत लेखक भनिन्छ । प्रेत लेखक घोडा हो, जसको ढाडमा उसको अलेखक मालिक लेखक बनेर सानले सवार हुन्छ । अनि आफूले दानापानी ख्वाएको घोडालाई कोर्राले सुम्ठ्याउँदै मालिक बडो सानले छच्‌छच्–छच्‌छच् गर्छ ।

जो आलोचनाशील र सिर्जनशील लेखक हो, र जसमा स्वाभिमान र इमानको लेस मात्र पनि चेतना छ, प्रेत लेखकले उसको चित्तमा दिगमिगको भावना जगाइदिन्छ । प्रेत लेखकले पुस्तक संसारमा बौद्धिक र नैतिक प्रदूषण पैदा गर्छ, अन्वेषणशील र वागी लेखक अत्यास मान्दै नाक अँठ्याएर हिँड्न विवश हुन्छ । 

प्रसङ्गवश, पश्चिमी पुँजीवादमा प्रेत लेखनको तैबिसेक इज्जतदार स्थान छ, र यसको कारण छ । उता प्रेत लेखनमा ढाँटिँदैन । उता ‘फलानाले भनेबमोजिम’ लेखिएको भनी लेखाउने धनाढ्यको र लेख्ने प्रेत लेखकको नाम खुलाइन्छ । यसरी प्रेत लेखनमा जसको जे कर्म र स्थान हो, त्यो लोकलाई नढाँटी लेखिमाग्नेले लेखिनु र लेखिदिनेले ज्याला थाप्नुमा लोकलाई कुनै नोक्सानी छैन । फर्माबद्ध लेखनमा दिनदिनै तमसुक लेखेर ज्याला थाप्ने काम त मालअड्डाको लेखनदासले पनि गरेकै छ त । प्रेत लेखन पनि यसरी पारदर्शी हुनु पो राम्रो हो । तर, हाम्रोमा लेखाउने धनाढ्यले पनि लोकलाई ढाँटिरहेछ, लेख्ने आत्महीनले पनि लोकलाई ढाँटिरहेछ । 

छनलाई हामीकहाँ प्रेत लेखन अघिअघि पनि कताकति पक्कै हुँदो हो । तर, त्यसको उतिविधि चर्चा सुनिदैनथ्यो । संग्रामी मार्गहुँदै जब गणतन्त्र आयो, बिडम्बनावश कुहिगन्धे प्रेत लेखनको बाढी उर्लियो । ज्यालादारी मनुवाबाट सम्पन्न हुने प्रेत लेखनमा आफ्नो खोटो अनुहार टाँसेर भुुईंफुट्टा लेखक बन्ने मालिकहरूको पृष्ठभूमि र प्रवृत्ति यसो चियाएर हेर्दा आङ त्यसैत्यसै सिरिङ्ग हुन्छ । यीमध्ये धेरैजसो छन्, हिजोको निरङ्कुश शासनका दमनकारी औजारहरू । यिनमा कोही निजामती फाँटका उच्च ओहदाका हाकिम भइखाएका मैमत्त जीवहरू छन्, कोही छन् जङ्गी फाँटका फुलीधारी सनकसिंहरू । निरङ्कुश राजशाहीको जगजगी हुँदा यी जीवात्‌हरू त्यो आततायी शासनका परम् सेवक थिए । मालिकले अह्राएको लुरुक्क पर्दै खुरुखुरु मान्ने र निजले दिएको जुठोपुरो बडो स्वाद मान्दै कुपुकुपु खाने । जब यी सत्ताका खुनी पदमा थिए, स्वामीभक्ति, जनदमन र अवैध धनसञ्चय यिनको नित्य धन्दा थियो । सम्यक् दृष्टिले यिनका ओठ हेर्नु, त्यहाँभित्र कताकता अझै रगतका टाटा देखिन्छन् । त्यो जनजनका स्वतन्त्रता, समानता र सुखका सपनाहरूको बध गर्दा लागेको रगतको शेषांश हो । चाकरी, भक्ति र पाउलागी गर्ने यिनका प्रातःस्मरणीय प्रभु अहिले सिंहासनमा छैनन् । नाथ विराजमान हुने सिंहासन रित्तो हुँदा यी हुनुसम्म अनाथ र उदास भएका छन् । गरिखाने जनताका शिरमा गिर खेलेर र तिनलाई निर्ममतासाथ निचोरेर यिनले अकुत दौलत थुपारेका छन् । तर दुर्भाग्य, न सिंहासनमा यिनको नाथ छ, न जगत्सामु देखाउन लायकको यिनको नाक छ । त्यसैले त यिनलाई रातारात नाम चाहिएको छ, चर्चा चाहिएको छ, ख्याति चाहिएको छ, र चाहिएको छ यिनलाई स्वाँगे अमरत्व । र नै यी आफ्नो रक्तरञ्जित दामले नाम, ख्याति र अमरत्व खरिद गर्न विचारको डबलीमा नाङ्गानाङ्गै निस्केका छन् । 

लाग्छ, भूमिगत प्रेत लेखकहरूमा विवेक, तर्कशक्ति र लज्जाबोध लेस मात्र पनि हुँदैन । अन्नदाता मालिक आफ्नो अतीतबारे जेजे भन्छ, ती त्यही सुरुसुरु पत्याउँछन् र भटाभट लेखिदिन्छन् । ती ‘ख्वामित्, यो कुरा साँचो हो र ?’ भनी प्रश्न गर्न आँट गर्दैनन् । तिनले ‘अन्नदाताश्री, लोकले यो कुरो कसरी पो पत्याऊला र ?’ भनी सोधनी गर्ने हुती प्रदर्शन गर्दैनन् । र, जसोजसो मालिकवाणी उसैउसै लेखनदासको लेखनी भएर यो कुत्तु कथा तुरिन्छ ।  नायकविहीन प्रेत लेखनको बदनाम खलनायक आफूलाई यसरी प्रस्तुत गर्छ, मानौँ लोकतन्त्रको पहरेदार उही हो । नैतिकताको निष्ठावान् रक्षक उही हो । न्यायको अथक उपासक उही हो । मानवमङ्गलको निरन्तर अभियन्ता उही हो । सच्चरित्रता, सच्चाइ र सत्यनिष्ठाको सानदार प्रतिमूर्ति उही हो । र, ऊ सदैव र सर्वाङ्ग चोखो, ऊ हरदम निष्पाप र निष्कलङ्क, ऊ अखण्ड उदार र परोपकारी, ऊ नित्य दूधले धोइएको र लोकका सारा मानिसहरूमध्ये उही अत्युत्तम, उही अनुपम, उही विरलाकोटी । यो आडम्बरी जीवात् अस्ति मात्र निरङ्कुशतन्त्रको रक्तकुण्डबाट बाहिर निस्केको हो । तैपनि ऊ भन्छ, 'हेर, म कति सुन्दर ! म कति कञ्चन ! म कति पवित्र !' धत् काजी ! यो त केजाति गर्नेलाई भन्दा त्यसो गरेको देख्नेलाई लाज भनेजस्तो भो ।

प्रेत लेखक र उसको लेखनमा महिमा मण्डन गरिने स्वामी त यसै पनि पाखण्ड र झुटका रक्षक, पोषक र प्रवर्द्धक भइनै हाले । यस्तो लेखनलाई काँध थाप्ने र यो वैचारिक एवं नैतिक प्रदूषणका जरामा मलजल हाल्ने मनुवा र माध्यमहरू अरु पनि छन् । गणतन्त्रका  राष्ट्रपतिहरूका पटाङ्गिनीको द्वार बडो उदार छ । त्यो द्वार यी हिजोका निजामती र जङ्गी उपरवालेहरूका लागि हरदम खुला रहन्छ । त्यहाँको भव्य मण्डपमा प्रेतग्रन्थहरूको राष्ट्रपतिका बाहुलीबाट तामझाम, धुमधाम र रामरमितासाथ विमोचन हुन्छ । राष्ट्रपतिको पदमा प्रतिष्ठा र गरिमाको चहक त यसै पनि हुने नै भयो । त्यो प्रतिष्ठा र गरिमा जब प्रेतकथाका कुनै खलनायकप्रति समर्पित हुन्छ, तँछाडमछाड गर्दै तीन शहरका भिडियो क्यामेराहरूको त्यहाँ ओइरो लाग्छ । र, तिनले खिच्ने दृश्य र तिनले टिप्ने वाणीको प्रचार–प्रसारसँगै बौद्धिक र नैतिक प्रदूषणको प्रचार–प्रसार हुन्छ । राष्ट्रपति महोदयहरू सोझा छन्, यस कुराको तिनलाई हेक्का हुँदैन । प्रेत लेखनको खलपात्रले अघि नै आफ्नो स्वार्थ पट्याइसकेको हुन्छ ।

प्रेत लेखनको प्रसङ्गमा ठूलो मिडिया मूल्यजन्य मानक र संहिताको अनिकालले कहालीलाग्दो गरी टाक्सिएको छ । यो शक्तिपूजक छ । यो भक्तिमुखी छ । सनसनीसामु यो लत्रिन्छ । भूपू जर्साहेबका कुमका लस्करै फुलीहरूको जङ्गी शक्तिबाट यो सहजै सम्मोहित र वशीभूत हुन्छ । र, त्यो फुलीवाल प्रेत लेखनको खलनायकीमा प्रकट हुँदा पहिलो पातादेखि नै उसको प्रचार सुरु हुन्छ, मानौँ छाप्नलाई यस मुलुकमा शालीन, सौम्य र सुन्दर चीज केही नै छैन । बुद्धिजीवी भनिने एउटा अभिजात झुण्डको मति पनि खासै प्रीतिकर छैन । त्यो फुलीवाल जङ्गीको हाइहाइ गर्छ । त्यो उसका झुटहरूलाई कपटकलाले ढाकछोप गर्न लिट्टी कसेर लागिपर्छ । र, यस्ताहरूको कर्कश होहल्लाबीच प्रेतपुस्तक कथित् बेस्ट सेलरमा दर्ता हुन्छ । र, पाठकगणका चित्तमा पुस्तकमा के के न होला भन्ने कुतुहल जगाएर तिनलाई पुस्तक किन्न बाध्य तुल्याइन्छ र तिनलाई ठगिन्छ । लक्षण हेर्दा लाग्छ, प्रेत लेखनको पिराहा प्रेतले यो मुलुकलाई तर्साउन छाड्ने दिन अझै निकै टाढा छन् । तसर्थ यो प्रेतकर्ममाथि दह्रो धावा बोल्दै जानुपर्ने पो हो कि !

मेरोअगाडि टेबुलमा प्रेतपथका अनेक पुस्तक छन् । म देख्छु, तीमध्ये एउटा पुस्तक मलाई हेर्दै आँ गरिरहेको छ । त्यो 'आँ'मा के होला भनी म अक्षरहरूको लहरमा यसो आँखा दौडाउँछु । मेरा आँखामा पारिजातको नाम पर्छ र प्रेत लेखकले पारिजातबारे के लेखेको होला भन्ने उत्सुकताले मलाई कुतकुत्याउँछ । म पढ्छु । प्रसङ्गमा २०४६ सालको आन्दोलन छ ।

बिर्सिदिऊँ भन्यो, कमलादीको प्रेत प्रतिष्ठान तर्साउन मछेउ आइरहन्छ । मलाई त्यसैत्यसै दिगमिग लागेर आउँछ । आँखा फारेर हेर्छु, प्रेत प्राज्ञहरूका शिरमुनिको टोलीमा केही राम्रै कवि–लेखक छन् । बिडम्बनावश तिनले आफ्ना शिरमाथि प्रेत प्राज्ञहरूलाई बोकेका छन् । तिनले बरु भोकै मर्छु, आफ्नो विवेक र स्वाभिमानको मानमर्दन गर्दिनँ भन्न सकेनन् ।

आन्दोलनमा शाही सत्ताका अत्याचारहरूको पोल खोल्न लेखक–कलाकारहरू त्रिचन्द्र कलेजको सरस्वती सदनमा जुट्छन् । त्यहाँ हाम्रो सम्झनामा श्रद्धाको पन्तुरोमा मात्र जीवित रहेका युद्धप्रसाद मिश्र छन्, मोहन कोइराला छन्, वासु शशी छन्, कृष्णचन्द्रसिंह प्रधान छन् र पारिजात छिन् । एक कुनामा बसेर त्यहाँको गतिविधि रिट्ठो नबिराई हेर्ने साक्षी म पनि छु ।

प्रेतपथको पुस्तकमा प्रेत कथानकको मूल चरित्र भन्छ– त्यहाँ यादव खरेल पनि हाजिर थिए । यो भयो पहिलो झुट । मिस्टर खरेल त वास्तवमा त्यो विरोधकै विरोधमा पो थिए । प्रेत लेखनको मूल चरित्र प्रहरीले पारिजातसमेतलाई ट्रकमा राखेर बग्गीखाना लग्यो भन्छ । यो भयो दोस्रो झुट । खासमा भएको त्यसो होइन । महिला प्रहरी थिएनन् । पारिजातले ‘लौ त मलाई छोइ मात्र हेर’ भनेर थर्काएपछि पुरुष प्रहरीहरूले उनलाई छुन आँट गरेनन् । हामी सबै पक्राउ पर्‍यौँ । पारिजात अड्डी लिँदै सरस्वती सदनमै बसिरहिन् । र, उनले एक्लै धर्ना दिएर हाम्रो निर्धारित समय अर्थात् दुई घण्टा बिताइन् । बस्, भएको खसोखास यसो हो । तर प्रेत कथानकको मूल चरित्र लाजै नमानी त्यसो भन्छ । भोगी जान्ने र देखी जान्ने लगभग सवा सय लेखक–कलाकार अझै जिउँदै छन् । तर, आत्मकेन्द्रित अहंकारवश आफू मात्रै जिउँदो छु भनेझैँ गरी त्यसो भन्छ र यो नाथे हामीलाई सरासर ढाँट्छ । यो निर्लज्ज ढँटाइ प्रेतपथको लेखनको खास्साको उदाहरण हो । 

प्रेत लेखनको चर्चालाई यहीँ थान्को लगाएर म अब प्रेत प्राज्ञतिर लाग्छु । चाबहिलबाट डिल्लीबजारको ओरालो झरेर यस्सो दाहिने मोडिँदै अलि परबाट कुइँक्क घण्टाघरतिर लाग्दा दायाँतिर फराकिलो परिसरको बीचमा एउटा ढ्याके भवन झ्वास्स आँखामा पर्छ । भवनको रुपाकृति खासै सुन्दर छैन । तर, त्यसको निधारमा ठोकिएको छ ‘नेपाल प्रज्ञा प्रतिष्ठान’ भन्ने सुन्दर छाप । शाही सत्ता अस्तित्वमा छउञ्जेल यो प्रतिष्ठानको नाम राजाको धाकधक्कु ध्वनित हुने ‘राजकीय’बाट सुरु हुन्थ्यो । राजतन्त्रको अवसानसँगै यो ‘राजकीय’ मेटियो । ‘राजकीय’ त मेटियो तर हुकुमप्रमाङ्गीको प्रेतले भने हामीलाई सताउन छाडेन । पहिले हुकुमप्रमाङ्गीको स्वेच्छाचारी अधिकार राजाका हातमा थियो, अहिले त्यो अधिकार राजनीतिक दलका बोसहरूका हातमा सरेको छ । परिवर्तनका नाममा केवल ओल्लो घरका नरे पल्लो घर सरे भनेजस्तो भएको छ । त्यसैले राजकीय सामन्ती संस्कारबाट आक्रान्त प्रज्ञा प्रतिष्ठानमा यस घडीमा प्रेत प्राज्ञहरूको उपस्थिति बाक्लै देखिन्छ । 

प्रज्ञा प्रतिष्ठानको भाषा–साहित्य फाँटको अल्लिअघिको कार्यकालको कुरा हो यो । प्रज्ञा प्रतिष्ठानमा अनेकमध्ये एक जना विचित्रका प्रेत प्राज्ञ थिए । तिनका आफ्नै मौलिक विशिष्टता थिए । पार्टीका बोसहरूका अनुकम्पाले प्राज्ञ पद त प्राप्त भयो, तर तिनको अनुहारमा प्राज्ञको आभा भने एक पित्को पनि थिएन । भाइ, अब परेन कि फसाद ! कत्रा दुःखले प्राज्ञ भइया छ, आफूलाई कसैले चिन्ने, गन्ने र मान्ने होइन । दुःखमोचन गर्न र लोकका दृष्टिमा देखिन तिनले दुइटा चतुर जुक्ति अपनाए । तिनले दिनदिनै सनातनी राष्ट्रवाद झल्किने दौरा–सुरुवालका फेर फ्यारफ्यार हल्लाए । र, कतै केहीमा सही गर्नुपर्दा तिनले आफ्नै हातले सहीमुनि ‘प्राज्ञ हगनप्रताप’ लेखे । उल्का भयो ! हगनप्रताप प्राज्ञ हो भनेर चिन्न हामीले उनैले लेखेको ‘प्राज्ञ हगनप्रताप’ हेर्नुपर्ने भयो ।  

आयो कुरा अब प्रज्ञा प्रतिष्ठानको भाषा–साहित्य फाँटको, उही कार्यकालका प्राज्ञ परिषद् प्रमुखको । यसो हेर्छु, मेरी बास्सै ! परिषद्को शिरमा लोकले चिन्दै नचिनेको रहस्यमय पात्र ढसमस्स विराजमान छ । नाम छ कति राम्रो ‘प्रज्ञा प्रतिष्ठान’, त्यो पनि गाउँ तहको होइन, राष्ट्रिय तहको । तर, प्रतिष्ठानको शिरमा एक अपरिचित मूर्ति रहस्यमय ढङ्गले हाजिर छ । सिर्जनशील लेखक आफ्नो लेखनीको प्रकाशले चम्किन्छ । त्यो चमक वर्ण, वर्ग, जात र क्षेत्रहरूका सीमा नाघेर फराकिलो क्षितिजमा फैलिन्छ । त्यो चमक यत्रतत्र देखिन्छ र त्यसबाट लेखक उसको विशिष्टतासहित चिनिन्छ । तर, प्रज्ञा प्रतिष्ठानको शिरमा यो को आयो ? यो जो आयो ऊ कुन जुक्तिले, कसको निगाहले, कुन बाटो गरी, कसरी आयो ? सोचेर ल्याउँदा म छक्क पर्छु ।

आफ्नो दृष्टि र चेतको सद्दे तथा स्वस्थपनाप्रति मलाई कसोकसो शंका लागेर आउँछ । मुलुकमा नयाँनयाँ लेखकहरू भटाभट उदाइरहेका छन् । पुस्तकको संसार तीव्र गतिमा विविध र व्यापक हुँदैछ । मेरो पठनको वृत्त साँघुरो छ । उमेर ओराली लाग्दै जाँदा स्मरणशक्ति क्षय हुँदो छ । के थाहा, मेरो दृष्टि र चेतले पत्तै नपाई रातारात मुलुकमा एउटा अद्भुत प्रतिभाको जन्म पो भयो कि ! शंकामुक्त हुन म जगत्का जान्नेहरूलाई सोध्न थाल्छु । पाको पुस्ता, माझको पुस्ता र नयाँ पुस्ताका अनेक लेखक र पाठकलाई म निवेदन गर्छु– मित्र, प्रज्ञा प्रतिष्ठानको शिरमा विराजमान मनुवाको लेखकीय चिनारीमाथि लौ न अलिकता प्रकाश पारिपाऊँ । उत्तर कसैसँग छैन । सबै मैझैँ रनभुल्लमा छन् । ती प्रज्ञा प्रतिष्ठानतिर हेर्छन् र आश्चर्य मान्दै जिब्रो टोक्छन् । धन्य कैलाशपति जटाधारी बाबा, मेरो दृष्टि र चेतको स्वास्थ्य ठीकै रहेछ भनी म ढुक्क हुन्छु ।

तैपनि प्रश्नहरूको ताँतीले मलाई लखेट्न छाड्दैन । हैन, प्रज्ञा प्रतिष्ठानमा चमत्कारी चटके पाराले यो को आयो ? अनि कुन जुक्तिले ? अनि केको प्रभावले ? अनि कसको निगाहले ? अनि ? अनि ? भरअभरमा जीवनका रहस्य र गुत्थीका गाँठाहरू फुकाउन मलाई सघाउने मेरो एउटा असल मित्र छ, लम्बोदर । उसको बुद्धि तीखो छ, ज्ञानको क्षितिज फराकिलो छ र अन्तरदृष्टि छ बडो अन्वेषणकारी । म लम्बोदरलाई सम्झिन्छु र ऊ तत्क्षण मेरोसामु प्रकट हुन्छ । म सविनय सोध्छु, ‘मित्र लम्बोदर, मालिकको मिथ्या प्रशंसा लेखेर कोही प्रेत लेखक बन्छ । यो कुरो त बुझियो । कोही कसरी प्रेत प्राज्ञ बन्छ, यसो जान्न पाए हुँदी.....।’ यस्तो नाथे प्रश्न भनेझैँ गरी लम्बोदर फिस्स हाँस्छ । र, फुर्तीसाथ भन्छ, ‘कुरो यसो हो यार् । पार्टी मुख्यालय प्रेत प्राज्ञ उत्पादन गर्ने उर्वर कारखाना हो । जसलाई प्रेत प्राज्ञ बन्नु छ, उसले त्यो कारखानामा गम्भीर साधना गर्छ । उसले पार्टी मुख्यालयका भगवान्‌तुल्य बोसहरूको दिनदिनै भजन गाउँछ । उसले तिनका पाउमा भेटी चढाउँछ । चाप्लुसीका सहस्र कलाहरूद्वारा उसले आफ्ना प्रभुहरूलाई प्रसन्न तुल्याउँछ । र, ख्वामित्‌हरूको निगाहबाट उसलाई प्रेत प्राज्ञको लाभदायक पद प्राप्त हुन्छ ।’ 

‘बस्, बस्, पुग्यो । कुरो खुल्यो ।’ 

बिर्सिदिऊँ भन्यो, कमलादीको प्रेत प्रतिष्ठान तर्साउन मछेउ आइरहन्छ । मलाई त्यसैत्यसै दिगमिग लागेर आउँछ । आँखा फारेर हेर्छु, प्रेत प्राज्ञहरूका शिरमुनिको टोलीमा केही राम्रै कवि–लेखक छन् र कवि–लेखक टाइपका केही छन् । बिडम्बनावश तिनले आफ्ना शिरमाथि प्रेत प्राज्ञहरूलाई बोकेका छन् । तिनले बरु भोकै मर्छु, आफ्नो विवेक र स्वाभिमानको मानमर्दन गर्दै प्रेत प्राज्ञहरूलाई शिरमाथि बोक्दिनँ भन्न सकेनन् । ती लोभिए, ती लत्रिए र तिनले आफ्नै हातले आफ्नै अनुहारमा मोसो दले । कुरो बुझ्दा प्रेत प्रतिष्ठानको यो पक्ष कम कुरुप छैन ।

अँ, प्रसङ्गवश मलाई यस्तै खालको अर्को घटनाको याद आयो । हिजोसम्म ‘आतंककारी’ भनिएको माओवादी क्रान्तिको आँधीबेहरीबाट निस्केर हलचल मच्चाउँदै सत्तासीन भयो । र, उसले आफ्नो पार्टीवृत्तका स–साना लेखकीय कद भएका र प्रायः आफूले मात्र चिनेका मनुवाहरूलाई टपक्क टिपेर प्रज्ञा प्रतिष्ठानमा भर्ती गर्‍यो । संस्थाको प्रकृति र प्रयोजनका हिसाबले प्रज्ञा प्रतिष्ठान बहुवर्गीय र बहुवैचारिक प्राज्ञिक थलो हो । माओवादीले यी ‘बहु’हरूको एकरति पर्वाह गरेन । ‘जङ्गे जे गर्छ ठीक गर्छ’को तामसी मनोदशामा प्रज्ञा प्रतिष्ठानलाई उसले आफ्नो जेबी संगठन बनाउने अर्घेल्याइँ गर्‍यो । प्रतिपक्षी वृत्तमा विरोधको आगो बल्यो र एकांगी चरित्रको प्राज्ञ परिषद् तत्काल गोपीक्याँच भयो । 

अलिपछिको प्रज्ञा प्रतिष्ठानको शिरमा प्रेत प्राज्ञहरूको नियुक्तिमा उस्तै घटनाको पुनरावृत्ति भयो । प्रेत प्राज्ञहरूको यो चयनको प्रतिवाद गर्न माओवादीसँग आफैँले बनाएको काइदाको नजिर थियो । उसको प्रतिवादद्वारा एउटा सार्थक विमर्श सुरु हुन सक्दो हो । तर, माओवादीले मौन व्रतधारण गर्‍यो । अहिले कागत र जिब्रोमा लोकतन्त्र छ, गणतन्त्र छ । तर देश भने पार्टीका बोसहरूको मौजातुल्य छ । गणितीय आकार हेरी मौजावालको रोल तोकिन्छ । माओवादी सानो मौजावालको हैसियतमा छ । प्रेत प्रतिष्ठानमा ठूलाले ठूलो भाग हडप्यो, मझौलाले मझौला भाग । र, सानो भाग माओवादीलाई पर्‍यो । क्रान्तिका सपना र आदर्शहरू बिर्सिंदै गएको माओवादी लोभियो र एक–दुई थान जुठोपुरो खान उसले प्रेत प्रतिष्ठानमा आफ्ना केटा पठायो । यो लाजमर्नु दृश्य देखेर आदर्श र मूल्यको महत्ताबोध गर्ने लोकले मुख छोप्यो । आजको होइन, हिजोको प्रज्ञा परिषद्को कुरा हो यो । 

कुरो तुर्नुअघि नभनी नहुने एउटा कुरो छ । प्रेतमार्गी प्रज्ञा प्रतिष्ठानमा प्राज्ञिक आदर्श र निष्ठाको बिउसम्म पनि दृष्टिगोचर हुँदैन । तैतै मौजावाल मालिकहरूले यसको नाम पाउलागी प्रतिष्ठान राखिदिए कति राम्रो हुन्थ्यो ! त्यसो गरे कमसेकम प्रज्ञा, विवेक र आदर्शको चीरहरण हुने त थिएन कि !

बोल् लम्बोदर, शाही चरित्रको प्रज्ञा प्रतिष्ठानको आजको खबर के छ ?

www.shilapatra.com बाट साभार 

No comments:

Post a Comment