Thursday, September 24, 2026

धर्म, ईश्वर, प्रारब्ध र नियति - वीपी कोइराला

मलाई देवताले केही अनुकम्पा गर्लान् भन्ने त्यस्तो केही लाग्दैन। म देख्छु– कति साना बच्चाहरू मरिरहेका छन्, आमाहरूले कति कल्पेर देवताहरूको प्रार्थना गरे होलान्, कतिका दुलाहा मरिरहेका होलान्, घर बर्बाद कतिको भयो होला। ती सबै कुराहरू देख्ता भने मलाई ईश्वरको विशेष अनुकम्पा हुन्छ भन्ने पत्यार लाग्दैन।

अस्ति चन्द्रशेखर यहाँ आएका थिए। उनले पशुपतिनाथ जान्छु भने र मेरा डाक्टरलाई लिएर गए। त्यहाँबाट दुई बोहता प्रसाद लिएर आए, एउटा सुशीलालाई दिए र अर्को अरू कसैलाई दिए। उनले ल्याएर मलाई टीका लगाइदिए, भनेँ– उनले प्रसाद लिँदा केही भने होलान् नि पशुपतिनाथलाई ! उनको भावना जो छ, त्यसलाई म कदर गर्दछु। एक जनाले साइबाबाको विभूति मेरी जहानलाई दिएको रहेछ यो लगाइदिनोस् भनेर। मलाई विभूति दिने व्यक्तिको वा त्यस विभूतिलाई पवित्र ठान्ने मेरी पत्नीको भावनालाई म असाध्य कदर गर्छु। यो पनि मलाई थाहा छ– मानिसको आत्मबलमा छ। सानो एउटा संकट छ, कतिलाई छटपटाएर मारिदिन्छ। कोही मान्छे त्यो संकटमाथि विजय प्राप्त गर्दछ। त्यो पनि मलाई थाहा छ दैवी शक्ति भन्ने कुरा त्यसबाट निःसृत हुन्छ।
यसपालि म बम्बईको एउटा क्यान्सर हस्पिटलमा थिएँ। क्यान्सर हस्पिटलको वातावरण बडो निन्याउरो किसिमको छ, किनभने क्यान्सर भयो भन्नेबित्तिकै त त्यस व्यक्तिलाई मृत्युदण्ड दिएजस्तो नै भयो। एउटा मान्छेलाई मृत्युदण्ड हुन्छ, त्यसको अपिल इत्यादि गर्दागर्दा पाँच–छ वर्षमा त्यो कार्यान्वित हुन्छ। त्यस्तै हो क्यान्सर भनेको पनि। जसलाई क्यान्सर भयो भनेको छ, त्यो आधा त्यसै मरिसकेको जस्तो हुन्छ।
त, म टहलिइरहेको थिएँ बम्बईको क्यान्सर हस्पिटलको छतमा। सानो छत छ। अरूभन्दा पहिले गएर म टहलूँ भनेर गएको थिएँ। अरू कोही बिरामी जाँदैनन् त्यहाँ। त्यहाँ मैले देखेँ एउटी स्वास्नीमान्छे सूर्योदयको प्रतीक्षामा उभिरहेकी थिई। उसले देखी मलाई। म पनि एउटा कुनामा टहलिइरहेको थिएँ। उसले आफ्नो चप्पल फुकाली र बडो आर्तरोदन र करुणाको बरमा प्रार्थना गरी त्यो सूर्यलाई। मलाई लाग्दछ– त्यसको छोरा अथवा दुलाहा मजस्तै रोगी होला। अनि मलाई लाग्यो– सबैको परिवारलाई त त्यहाँ चोट परिरहेको छ, जस्तो उसलाई पर्यो होला, त्यस्तै मेरो परिवारलाई र अरू परिवारलाई पनि पर्यो होला चोट।
अब देवताले क–कसलाई बचाइहिँड्ने ? अब एउटी स्वास्नीमानिस जसको तमाम आधार नै डुब्न थालेको छ, केही आधार नभएर उदाउन लागेको सूर्यलाई अर्घ दिएर प्रार्थना गर्न लागेकी छ, रोएर बलिन्द्र आँसु झारेकी छ। मन्दिरमा भएको भए त अर्कै कुरा हुन्थ्यो होला तर अस्पतालको यस छतमा त्यस हस्पिटलकै कुनै रोगीका निम्ति त्यसले पुकारा गरी होली। अधबैंसे थिई, त्यसै हुनाले आफ्ना दुलाहाका लागि होला वा छोरा वा छोरीका लागि होला, ऊ प्रार्थना गरिरहेकी थिई। अब देवताले त्यसलाई सुन्ने ? कतिलाई सुन्ने ?
मेरो समस्या के छ भने मैले कसैलाई बुझ्न खोँजे भने त्यही ठाउँमा बसिदिन्छु। मैले देवतालाई बुझ्न खोजेँ भने म के सोच्तछु भने म देवता भएको भए के गर्थें ? मैले या त क्यान्सर रोग हुँदै नहुने पार्नुपर्यो। क्यान्सर भएपछि त कति मान्छे मर्छन्, कति मान्छे मर्दैनन्। देवताले कसलाई बचाउने ? कसलाई नबचाउने ? त्यसको मापदण्ड के ?
अस्ति एउटा जोगी आए मकहाँ। ती पाखण्डी जोगी होइनन्, भित्रैदेखि लागेर जोगी भएका। पहिले हाम्रै पार्टीमा थिए, पछि के–के विरक्त लागेर उनी जोगी भए। उनी आएर भने– मेरो गुरुले थाहा पाए तपाईं बिरामी हुनुहुन्छ।
उनका गुरु हृषीकेशभन्दा माथि बस्ता रहेछन्। गुरुले भने त्यसो हुनाले केही न केही त गर्नुपर्यो। म पनि गर्छु, तिमी पनि गर भनेर मलाई पठाएको हुनाले म आएको हुँ भने। उनले भने– तपाईंका निम्ति जे गर्नुपर्छ, कुनै अनुष्ठान वा यज्ञ, त्यो म कुनै पवित्र स्थलमा गएर गर्छु।
अनि मैले प्रश्न गरेँ, "यतिका मान्छेहरू मरिरहेका छन्, देवताका अगाडि कति लडाइँ र नरसंहारहरू भइरहेका छन्। त्यस लडाइँमा कति बालकहरू मारिए होलान। मेराबारेमा मात्र देवतालाई किन फिकिर हुने ?”
उनले भने, "मेरा गुरुले भनेका छन् कि साधारण लाखौं मानिस महत्वका हुँदैनन्, तर असाधारण एउटा व्यक्ति पनि बडो महत्त्वको हुन्छ देवताको नजरमा। त्यसलाई बचाउने वा रक्षा गर्ने खाँचो देवतालाई पनि पर्छ। त्यस ठाउँमा राम्रो उद्योग भएको छ र देवतालाई पनि खाँचो परेको छ भने देवताले बचाउँछन्।" उनले त्यो एउटा तर्क दिए।
भनाइको मतलब के हो भने अहिले हामी त हिन्दुशास्त्रको मुताबिक र आजकालको विज्ञानको मुताबिक पनि विकासमान स्थितिमा छौं। हामीहरू मानव सबैभन्दा ठूला र सबैभन्दा परिष्कृत जीव हौं अरूका तुलनामा। यो कसरी भयो ? भन्दा विकासवादीहरू भन्दछन्– तलबाट विकास हुँदाहुँदै यस रूपमा आयो। अध्यात्मवादीहरू पनि त्यस्तै कुरा भन्दछन् र हामीहरूमा अझ पनि अगाडि बढ्ने क्षमता छ भन्दछन्। हामीले त्यस क्षमतालाई बुझेर काम गर्यौं भने मानवबाट अतिमानवमा पुग्न सक्तछौं, र हुन सक्छ भोलिको मानव समाज अतिमानव समाज भएर जाओस्। त्यस दृष्टिबाट एउटा अतिमानव दस वटा साधारण मानिसभन्दा, एउटा साधारण मानिस लाख वटा फट्यांग्राभन्दा महत्त्वपूर्ण हो भन्ने कुरा मान्ने हो भने त अलिकति बुद्धिले भ्याउँछ।
अर्को कुरा के छ भने मैले जहिले पनि भन्ने गरेको छु, हामीहरूको तर्क मानव तर्क हो र हामीहरूको दृष्टि मानवदृष्टि हो। जस्तो भ्यागुतोले हेरेको छ भने उसको देखाइमा पर्ने उसको रेटिनामा पर्ने रूप अर्कै हुन्छ। मानव चक्षुले त्यही कुरा हेर्दा अर्को रूप देखिन्छ। त्यस्तै, देवताको आँखामा पर्ने रूप विश्वको अर्कै हुन्छ, उसको तर्क पनि अर्कै छ। त्यसो हुनाले त्यो त बुद्धिले तर्कमा गर्न सक्ने कुरा उसको दृष्टिले हेर्न सक्तैनौं। देवताको कानले सुनेको कुरालाई बुझ्न सक्तैनौं। त्यसो हुनाले भन्छन् ती हाम्रा अध्यात्मवादीहरू– त्यो त असभ्य छ, केही लाग्दैन। जब तर्कले भेट्टाउँदैन, तिनले पनि अन्त्यमा भनिदिएका छन्– मायाबाट प्रवाहित भएर जानुपर्दछ, यथार्थमा बाटो हिँड्दाहिँड्दै एउटा खाल्डो पर्दछ, त्यस खाल्डोलाई श्रद्धा र भक्तिकै आधारमा पार गर्नुपर्दछ।
केही व्यक्तिले मानोस्–नमानोस्, तर यत्रो विश्वास जब मेरा मानिसहरूले गर्दछन्– कसैले प्रसाद ल्याइदिएको छ, कसैले के–के ल्यादिएको छ, के–के गरेको छ, अनुष्ठान र यज्ञ गरेको छ मेरा लागि, त्यसले त मलाई अभिभूत नै गर्दछ।
हिन्दुस्थानमा अहिले मेरा मित्रहरू धेरैले धेरै कुरा मेरा लागि गरिरहेका छन्। कसैले जप गराएका छन्, कसैले बाबालाई भेटेका छन्। एउटा मेरा बंगाली मित्र छन् कलकत्तामा, उनले बारम्बार सुशिलालाई खबर गरेका छन्– तिमी आऊ एकपटक भनेर। पहिले पनि मलाई पनि लिएर आउनु भनेका थिए, तर म नआए पनि सुशीलालाई आऊ भनेर खबर पठाइरहेका छन्। एउटा त्यता कतै गजबकी देवी छन्, तिनका पुजारीले यिनलाई केही पूजा गर्न बताएको रहेछ। अब मैले सुशीलालाई जाऊ भन्ने कि नभन्ने ? मेरो मात्रै कुरा भएको भए किन जानुपर्यो बरु भन्थेँ। तर मेरो मात्रै विश्वासको कुरा त भएन। यहाँ त विश्वास मेरा मित्रमण्डलीको विश्वास, मेरी पत्नीको विश्वास, मेरा परिवारको र परिवारका व्यक्तिहरूको विश्वासको कुरा छ। त्यसो हुनाले यत्रो ठूलो विश्वासका साथ मलाई जुन मानिसहरूले आ–आफ्नो तरिकाबाट ईश्वरको अनुकम्पा दिलाउन चाहन्छन्, म त छक्क पर्छु कहिलेकाहीँ। कहिलेकाहीँ मलाई आएको चिठ्ठीहरूको खाम जब म उघार्छु, त्यसमा दुई–चारवटा फूलका पातहरु पाउँदछु, त्यसमा सिन्दुर, चन्दन इत्यादि भएको। हिजो एउटा खाम खोल्दाखेरि एक जनाले मनकामनादेवीको पूजा गरेर खाममा केही फूलका पात र सिन्दुर पठाएको थियो। अब त्यत्रो ठूलो श्रद्धालाई म अस्वीकार गर्छु त भन्न सक्तिनँ।
धर्म भनेको मेरो दृष्टिमा के छ भने, दुई लोकमा मानिसहरू विचरण गर्दछन्। एउटा भौतिक लोक। यो धर्तीबाट उत्पन्न हुन्छ– गुलाफ, चमेली। त्यसमा कुनै पौष्टिक तत्व हुँदैन। मानवलाई एउटा भौतिक पदार्थ, भोजन इत्यादि चाहिन्छ। सूर्य उदयले, गुलाफ फक्रेको कुराले पनि तपाईंलाई रिझाउन सकेन भने तपाईंको जीवनको एउटा पक्ष त सुकेको रहेछ। मरेतुल्य भएको रहेछ, तपाईंले सूर्योदयलाई राम्रो भन्न सक्नुभएन र रोमान्चित हुनुभएन भने। हो, त्यो रोमान्चकता जसले उत्पन्न गर्दछ, त्यही ठाउँमा धर्म पनि बसेको हुन्छ।
मेरो एकपटक बहस चलेको थियो जयप्रकाश नारायणसँग। त्यहाँ अरू पनि थिए। केही वैज्ञानिकहरू आएका थिए। तब यही सब तर्कहरू दिइरहिएको थियो। धर्म र ईश्वरका कुरामा, धर्मको कस्तो आवश्यकता छ। साँच्चि भनौं भने ठूला–ठूला धार्मिक मानिसहरू त त्यस कर्मकाण्डपट्टि जाँदै जाँदैनन्। हिन्दु धर्मशास्त्रकै कुरा गरौं भने पनि कर्मकाण्डलाई नमानीकन, मुसलमानले अर्को, क्रिस्चियनले फेरि अर्कोलाई धर्म मानेका छन्। तर सबै तल त्यही भावजगतबाट उम्रेका तत्वहरू हुन्, जो आध्यात्मिक भनौं वा आधिभौतिक भनौं, भौतिकताभन्दा बाहिरका कुरा हुन्। हामी कविता पढ्दछौं। अलि रमाइलो गरी भनौं भने तपाईंहरू आफ्नी प्रेयसीलाई गुलाफसँग तुलना गर्नुहुन्छ होला वा चन्द्रमासँग। यो तुलना के हो ? साँच्चि कुरा हो ? तपाईंले कसैलाई माया गर्नुभयो भने त्यसको अनुहार चन्द्रमाजस्तो छ भन्नुहुन्छ। तपाईंलाई धोका हुन्छ चन्द्रमा हो कि भनेर। यो धोका पर्नु साँचो कुरा हो ? एउटी केटीलाई गुलाफजस्ती सुन्दरी हेर्नुभयो भने झूटो कुरा हो त्यो ? मैले जयप्रकाश नारायणसँग के भनेँ भने चन्द्रमाजस्ती उज्याली छ, गुलाफजस्ती छ भन्ने भ्रम भएन भने तपाईंले त्यसलाई माया नै गर्नुभएन। होइन, त्यो त लडकी हो, सामान्य स्वास्नीमानिस हो, रगत मासु र हाडबाट बनेको शरीर हो मात्र तपाईंले भन्नुभयो भने तपाईंले त यथेष्ट किसिमबाट माया नै गर्नुभएन, तपाईंलाई अनुभव नै भएन मायाको।
जस्तोः कालिदासले भनेका छन् कैलाशको वर्णन गर्दाखेरि, कस्तो लाग्दछ त्यो धर्म त्र्यम्बक त्र्यम्बक भनेको शिव न बस्तछन् कैलाशमा त्र्यम्बकले हाँस्दाखेरि जो उज्यालो हुन्छ, त्यसैको राशिकृति जमेर बनेको कैलाश हो। त्र्यम्बकस्य अट्टहास भनेका छन्, अर्थात त्र्यम्बकले खुला दिलले अट्टहास गर्दाखेरि जो निस्क्यो होला, त्यो चमक सधै थपिँदा थपिँदा यो कैलाश बनेको हो। अब यो झूटो होइन ? तर झूटोलाई तपाईंले अनुभव गरेर खुसी हुनुहुन्छ कि हुनुहुन्न ? या भनौं के फजुलको कुरा भनेको, यो त यथार्थ कुरा हो, झूटो कुरा हो भन्नुभयो भने तपाईंको व्यक्तित्वको एउटा असक्त सुकेको रहेछ, त्यसमा रसै रहेनछ भन्नुपर्छ। धर्म भनेको त्यस क्षेत्रको कुरा हो। यसमा कविले भन्दछ कि शंकर बस्ने कैलाश भनेको उनको हाँसो जमेको हो।
त्यसो हुनाले धर्मका विरुद्धमा त म छँदै छैन, पटक्कै छैन। तर सबैलाई थाहा छ, म धर्मको अभ्यास गर्दिनँ।
म कहिलेकाहीँ पशुपतिनाथको मन्दिरमा जान्छु। बनारसमा विश्वनाथको मन्दिरमा जान्छु। त्यहाँ मैले के देखेको छु भने हजारौं लाखौं मानिस ती देवताका अगाडि, त्यो पत्थरको मूर्तिका अगाडि, नबोल्ने मानौं त्यसको हृदय छ कि छैन, त्यसले सुन्छ कि सुन्दैन, त्यो पनि मलाई थाहा छ आर्तनाद गरेका छन् त्यसका अगाडि। त्यो मैले सुनेको छु। त्यसका अगाडि लाज नमानी रोएका छन्। जो अरूका अगाडि आँखाको आँसु देखाउन चाहदैनन्, त्यहाँ खुलेआम र सबैका अगाडि देवताका सम्मुखमा बसेर बच्चालाई लिएर रुन्छन्। बच्चालाई नकरा भनेर थप्पड पनि लगाइरहेका छन्, त्यो पनि भइरहेको छ। त, मलाई त्यहाँ विश्वको एउटा रूप देखिन्छ। समाजको मात्रै हो कि अति करुणामय हाम्रो जीवन छ, कति संवेदना खोजिरहेको छ हाम्रो जीवनमा। हामीहरूले त त्यो गर्दैनौं, तर त्यहाँ गएर त्यो थाहा पाइन्छ। त्यही स्वास्नीमान्छे, जसले क्यान्सर अस्पतालमा त्यसरी रोई, त्यसको मलाई छाप परेको छ, मैले केही गर्न सक्ने भए त्यसको लागि म केही गर्ने थिएँ भन्ने लागेको छ।
म नास्तिक हुँ कि होइन भन्दा मलाई बताउनुपर्छ– यो कुरा मान्छौं कि मान्दैनौ। शिवपुराणमा वर्णन भएको शिवका सम्बन्धमा त्यो सच्चा ऐतिहासिक घटना हो भनेर मसँग सोधे भने म भन्छु– म मान्दिन, म यसमा नास्तिक। यो गरुडपुराणमा मान्छे मरेपछि के–के हुन्छ भनेको कुरा म मान्दिन, म नास्तिक भएँ। तर त्यसलाई कुनै प्रतीकात्मक रूपबाट भन्ने हो भने त्यसमा भएका धेरै कुरा म मान्दछु। त्यसो हुनाले मलाई बताइदिनुपर्छ– कुनै खास कुराको सम्बन्धमा मेरो आस्था छ कि छैन भनेर।
धेरै कुराबारे म जान्दिन। त्यसो हुनाले म भनिदिन्छु– अंग्रेजीमा एउटा शब्द छ, जो नास्तिक पनि होइन, आस्तिक पनि होइन, त्यसलाई "एडनोस्टिक" भन्दछन्। त्यसले प्रश्नचिह्न राख्छ आफ्नो मनमा। यो झूटो पनि भन्दैन, साँचो पनि भन्दैन, मेरो मस्तिष्क खुला छ भन्दछ।
अब पुनर्जन्मको कुरा गर्दछन्। म यस विषयमा पण्डित होइन। मेरा आफ्ना धारणा छन्। बुद्धको मात्र होइन, हिन्दुकै विचार यो छ कि– मान्छे वासना या वाञ्छाको अनुकूल रहेसम्म त्यसले त्यो भोग गर्नलाई जन्म लिइरहनुपर्छ। त्यसो हुनाले ती भन्दछन्– ज्यादाभन्दा ज्यादा कोसिस तिम्रो हुनुपर्दछ मोक्षको लक्ष्य प्राप्त गर्नु। जन्मेपछि त दुःख पाउनुपर्छ। यो जीवनमुक्तिको आवागमनबाट मुक्ति पाउनु नै मोक्ष हो। जबसम्म मुक्ति पाइँदैन, यो चक्करमा त परेको छ, परेको छ।
यद्यपि जन्मेर मर्नु त्यस्तो दुःख को कुरा मलाई लाग्दैन। धर्मका प्रवर्तकहरूले किन त्यसलाई दुःख मान्दछन्, म त मान्दिन। हामी जन्मनुभन्दा पहिल्यैदेखि संस्कारलाई लिएर आएका हुन्छौं। हाम्रा बुबाआमाको, हाम्रो समाजको, हाम्रो जातिको एउटा संस्कारमा हामी आएका छौं। जस्तो तपाईं अमेरिकन समाजमा जन्मनुभएन, तपाईंको भाग्य हो। तपाईंले आफ्ना बाबुआमा जस्तो पाउनुभयो, त्यो पनि तपाईंको नियति हो। तपाईंले आफ्ना बाबुआमा जस्तो पाउनुभयो, त्यो पनि तपाईंको नियति वा भाग्य हो। भन्दछन् नि– मेरो यस्तो भाग्य रहेछ। पुर्पुरोमा लेखिएको हुन्छ भनेको होइन।
जुन समाजमा तपाईं जन्मनुहुन्छ, त्यो तपाईंको हातभन्दा बाहिरको कुरा हो। जुन रङरोगन तपाईंले पाउनुहुन्छ, जस्तो आँखा तपाईंले पाउनुहुन्छ। यी सारा तपाईंको हातभन्दा बाहिरका कुरा हुन्। त्यही हो भाग्य। र, तपाईंसँग स्वतन्त्र निर्णय लिने सानो क्षेत्रमात्र छ। अरू त सबै कुरा पहिलेदेखि नै निर्धारित छ।
त्यसलाई मान्ने हो भने तपाईंको नियति त पहिलेदेखि नै तय भएर आएको छ। त्यसलाई तपाईं भाग्य भन्नोस् या नियति भन्नोस्, त्यो त पहिले नै तय भइसकेको कुरा छ। तपाईं यहाँ नेपालमा जन्मनु नै तपाईंको विशेष किसिमको भोगको प्रारम्भ हो। अमेरिकामा जन्मेको भए तपाईंको प्रारब्ध अर्कै किसिमको हुने थियो। त्यस दृष्टिबाट म प्रारब्धलाई मान्दछु। मैले आफ्ना बाबुआमा आफैं चुन्न पाइनँ, पहिले नै चुनिए। मैले आफ्नो बुद्धिको क्षमता चुन्न पाइनँ, मैले आफ्नो छाला गोरो, कालो कस्तो हो त्यो चुन्न पाइनँ। यी धेरै महत्त्वपूर्ण कुरा पहिले नै कसैले चुनेर मलाई दिए। त्यही हो प्रारब्ध, त्यही हो नियति, त्यही हो भाग्य।
अनि अलिकति, एउटा सानो क्षेत्रमा हामीलाई स्वतन्त्रता छ। त्यसैलाई धर्मका मान्छेहरू के भन्छन् भने त्यस स्वतन्त्रतामा तिमीले अब प्रयत्न के गर भने तिम्रो नियतिले झन्झन् तिमीलाई बाँधेर नजाओस् तिमी त्यसबाट मुक्त हुन निम्ति प्रयत्न गर।
सबैले भन्दछन् कि वाञ्छा, अतिरिक्त कामनाले गर्दा नै भाग्य गर्न जोगी भएर हठयोगद्वारा विजय पाउने कुरा कसैले भनेको छ, कतिले भनेका छन् भोगद्वारा त्यसलाई सिध्याऊ भनेर। जस्तो अंग्रेजीमा एउटाले भनेको छ– कुनै लालच छ भने त्यसबाट कसरी मुक्ति हुने ? भन्दा दुई वटा तरिका छन्– एउटा तरिका छ त्यसतर्फ पिठ्युँ फर्काईदेऊ। तर पिठ्युँ फर्काएर त मानिसको लालसा जस्ताको तस्तै बनिरहन्छ। त्यो लालसा सिद्धिदैन। त्यो नसिद्धिएको लालसा तिमीले आएर भोग गर्छौ।
मेरोअगाडि जो रुन सक्तैन, जसले मलाई आफ्नो आँसु देखाउन चाहँदैन, त्यहाँ मैले त्यसको आँसु देखेको छु।
ममाथि धर्मको ठूलो असर परेको छ। तर कसैले सोधोस्– बिहान नुहाउँछस् कि नुहाउँदैनस् ? जनै लगाउँछस् कि लगाउँदैनस्। टुप्पी छ कि छैन ? आस्तिक हो कि नास्तिक हो ? मलाईं यो निरर्थक लाग्छ। मैले भनिहालेँ म देवताकहाँ प्रार्थना कहिल्यै पनि गर्दिनँ। किनभने मैले देखेको छु– मेरोभन्दा बढी आवश्यकता परेका मानिसहरूको प्रार्थना देवताले सुन्न सकेका छैनन् भने म त्यत्रो दम्भी कि मेरो कुरा पुग्छ भनेर म प्रार्थना गरौं ? त्यो दम्भ मलाई छैन। त्यसो हुनाले मैले देवताकहाँ कहिल्यै पनि प्रार्थना गरिनँ।
ooo

Tuesday, July 30, 2024

नेपाली साहित्यको वर्गीयता - डा. बिन्दु शर्मा

 












कलम प्रतिबन्धको ‘प्रिज्म’ - राजेन्द्र महर्जन

 शासक र नेताहरूका पोल खोलिएको एउटा पुस्तक । त्यस पुस्तकलाई आपत्तिजनक ठान्यो– टंकप्रसाद आचार्य सरकारले । र, प्रेसमा छापा मारी सबै प्रति जफत गर्‍यो डा. केआई सिंह सरकारले । कलममाथि प्रतिबन्ध र किताब जफतको त्यो प्रकरण इतिहासको गल्लीमा किन गायब पारियो ?

सांगठनिक प्रयासको विस्फोट भएको २००७ देखि २०१७ सालको कालखण्ड बाह्यमुखीको दशक थियो । तर, त्यसै बखत अभिव्यक्ति स्वतन्त्रतामाथि तोप दागिएको थियो ।



गोधूलिमा हिँड्ने एउटा जिउँदो मान्छे
संसारलाई फेर्छु भन्थ्यो आफैं फेरिएछ
अँध्यारोको अँगालोमा आफैं बेरिएछ
संसारलाई फेर्छु भन्थ्यो आफैं फेरिएछ
  –आभास
सडकमा हुँदा एउटा बोली, सरकारमा हुँदा अर्कै । प्रतिपक्षमा हुँदा एउटा अनुहार, सत्तापक्षमा हुँदा भिन्नै । सडकदेखि सरकारसम्मको सिँढी चढ्दाचढ्दै फेरिन्छ बोलीचाली । प्रतिपक्षबाट सत्तापक्षमा फेरिँदा–नफेरिँदै राजनीतिक नेतृत्वको कायापलट हुन्छ । यही रूपान्तरण देखेर इतिहासले भन्नुपर्ने हो, ‘लौ है राजनीतिक नेतृत्वको कायापलट भो, बोलीचाली पनि फेरियो !’

इतिहास त हायन्स क्रिस्चियन एन्डर्सनको कथा ‘बादशाहको लुगा’ का बच्चाजस्तै हुनुपर्ने हो र इतिहासकारहरूले तिनै बच्चाले झैं भन्न सक्नुपर्ने हो– बादशाह त नाङ्गै छन् !!! इतिहास र इतिहासकारहरूको जतिसुकै जयजयकार गरिए पनि बादशाहलाई नाङ्गै देख्ने र नाङ्गो सत्य लेख्ने क्रम बलियो छैन । यसैको उदाहरण हो, प्रजातन्त्रका लागि लडेका नेताहरू सत्तासीन हुँदा प्रजा र प्रजातान्त्रिक अधिकारमाथि दमनतन्त्र लाद्न उद्यत भएका घटनामा पनि इतिहास मौन रहेको पक्ष । प्रजाहरूको अभिव्यक्ति स्वतन्त्रताका लागि संघर्षको अगुवाइ गरेका नेताहरू नै प्रेसमाथि प्रतिबन्ध लगाउने र किताब नै जफत गर्ने उद्यममा लाग्दा पनि इतिहासकारहरूको बेवास्ता टीठलाग्दो छ ।

१९७७ सालमा नेपाली भाषामा ‘मकैको खेती’ किताब लेखेबापत ९ वर्षको जेल सजाय पाएका र कैदी जीवनमै मृत्युको मुखमा पुगेका सुब्बा कृष्णलाल अधिकारीबारे केही इतिहास लेखियो । तर, नेपालभाषामा रचना गरेकै आधारमा जरिवाना, धम्की, जेल–नेल, सर्वस्व हरण र ज्यान अर्पणसँगै देश निकालाको सिकार भएका बग्रेल्ती लेखकबारे कमै लेखियो । बोल्ने, लेख्ने, छाप्ने र अभिव्यक्त गर्ने अधिकारका लागि लडेका नेताहरूले प्रजातन्त्र स्थापनापछि पनि राणा शासनकै अप्रजातान्त्रिक विधि र प्रक्रिया अँगाले । र, इतिहास लेखन सत्ता–शक्तिकै गल्लीमा घुमिरह्यो । लेखन, अभिव्यक्ति र प्रकाशनको हकमाथि भएका दमनको एउटा उदाहरण मात्रै हेरियो भने पनि राजनीतिक नेतृत्वको निरंकुश शासकतिरको कायापलट र त्यसप्रति अधिकांश इतिहासकारको बेसरोकारको झलक देखिन्छ ।

यहाँ त्यस्ता व्यक्तिको किताबमाथि लागेका प्रतिबन्धको ‘प्रिज्म’ बाट नेपाली इतिहास, इतिहासका नायक र इतिहास लेखनको झझल्को हेर्ने कोसिस गर्नेछौं, जसले वर्षौं वर्षको जेल–नेलको सजाय भोग्नेदेखि मन्त्री र राष्ट्रिय पञ्चायतका सदस्यको पदसम्म पाए । हो, उनै लेखक, अभियन्ता र अगुवाको नाम हो– धर्मरत्न ‘यमि’, जसले कुनै डिग्रीबिना पनि ‘राहुल सांकृत्यायनको शिक्षाबाट शिक्षित र डा. अम्बेडकरको दीक्षाबाट दीक्षित’ भएर नेपालभाषासँगै नेपाली, हिन्दी र अंग्रेजीमा दुई दर्जनभन्दा बेसी किताब लेखे । २०१४ वैशाख पूर्णिमाको सेरोफेरोमा प्रकाशित, प्रतिबन्धित र जफत भएको यमिको किताबको नाम हो : ‘नेपालका कुरा’ (समीक्षात्मक इतिहास) । यही तथ्य प्रतिबन्ध लगाउने र जफत गर्ने प्रधानमन्त्रीहरूका इतिहास, जीवनी र स्मृतिग्रन्थमा पाइँदैन ।

जिउँदा सहिदको तर्क

पत्याउनै गाह्रो तथ्य : लेखन र अभिव्यक्ति स्वतन्त्रतामाथि दमन पनि कसबाट भयो ? प्रजातन्त्रका लागि सँगसँगै लडेका, राणाकालीन जेलमा वर्षौं वर्षसम्म सँगसँगै बसेका ‘जिउँदा सहिद’ को हातबाट । सात सालमा प्रजातन्त्र आएपछि राजाबाट गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्ममा नियुक्त भएका टंकप्रसाद आचार्यले कार्यकालको अन्तिमतिर आफ्नै मित्रको लेखनमाथि प्रतिबन्ध लगाए, राणाकालीन प्रवृत्ति दोहोर्‍याउँदै । त्यस प्रतिबन्धको औचित्य स्थापित गर्न आचार्यले २०४६ साउन ३ गते भएको भेटवार्ताका क्रममा ‘मोरो बाहुनहरू मिलेर शक्ति खोस्ने भए’ भन्ने प्रचार गरेको आरोपमा प्रतिबन्ध लगाइएको सकारेका छन् ।

‘तपाईंलाई ‘नेपालको कुरा’ भन्ने स्वर्गीय यमिजीको पुस्तक प्रकाशनमा प्रतिबन्धित (दबल) गरेकोमा कस्तो लाग्यो ?’ यमि–पुत्री तिमिला यमि थापाको प्रश्नको उत्तरमा पूर्वप्रम आचार्यको उत्तर थियो : ‘त्यो ‘नेपालको कुरा’ नामक पुस्तक मैले हेरेको पनि छैन । त्यो केही कुरा पनि होइन । ‘नेपालको कुरा’ बाहुनहरू मिलेर (उयधभच) शक्ति खोस्ने भए, उता विश्वेश्वर (नेपाली कांग्रेसको अध्यक्ष), यता म (प्रजापरिषद्को अध्यक्ष), उत्ता मनमोहन अधिकारी (अध्यक्ष नेपाल कम्युनिस्ट पार्टी) र डिल्लीरमण रेग्मी (अध्यक्ष, राष्ट्रिय नेपाली कांग्रेस) । यी मोरो बाहुनहरूको खिलाफमा प्रचार गर्नु भनेर राई, गुरुङ र मगरहरूलाई उचाल्न लगाएका हुन् । त्यस्को (‘नेपालको कुरा’ भन्ने पुस्तक) केही महत्त्व छैन । कसैले महत्त्व ल्याएको पनि छैन । कसैले महत्त्व देखाएको पनि छैन । त्यो बेला पनि महत्त्व भएन । यत्तो सानो देश छ । त्यस्मा पनि अनेक थरी फुट्न लाग्यो भने के हुन्छ ! (धर्मरत्न यमि स्मृति ग्रन्थ : धयस्मृग्र, यमि थापा २०४६: १२४–१२५) ।’

यो पत्याउनै गाह्रो हुने भनाइ हो, नेपालमा प्रजातन्त्रका आन्दोलनको अगुवाइ गरेका पूर्वप्रधानमन्त्रीको । आफ्ना तीन–तीन जना सदस्यलाई बलि दिएको नेपाल प्रजापरिषद्का अध्यक्ष टंकप्रसाद आचार्यले प्रधानमन्त्री हुँदा आफ्नै सहयात्री धर्मरत्न ‘यमि’ को पुस्तकमाथि अनेक तर्क गर्दै प्रतिबन्ध लगाएको कुरा विश्वास गर्न सहज छैन । कटु इतिहास के हो भने राजा महेन्द्रबाट १३ माघ २०१२ देखि ३१ असार २०१४ मा प्रधानमन्त्रीको पद बक्सिस पाउँदा उनै प्रजा परिषद्का अध्यक्ष टंकप्रसादले प्रजामाथि तन्त्रको हथौडा चलाएका थिए । देश टक््रयाउने गरी बाहुनहरूको खिलाफमा प्रचारबाजी गरिएकाले ‘नेपालका कुरा’ माथि प्रतिबन्ध लगाएको टंकप्रसाद आचार्यको दाबीमा सत्यको अंश कम छ, बरु ब्राह्मणवादविरुद्ध जेहाद नै छेडिएकोमा भने शंका छैन । सात सालमा प्रजातन्त्र स्थापना भएपछि बाहुनहरू क्षत्रियहरूको तुलनामा शक्तिशाली हुँदै गएकोमा पनि सन्देह छैन, यमिले खासमा आफ्नो किताबमा नेपालमा स्थापित भएको ‘ब्राह्मणीय पुरोहितवाद पोषक राज्य र त्यसका नयाँ शासकहरू’ को दोहोलो काढेका छन् । ब्राह्मण धर्मनिष्ठ भक्ष्याभक्ष्य र पाप–पुण्यको विचार थोपर्ने लिच्छवि शासकहरूको व्यवहारको आलोचना गर्ने यमिले मूलत: बौद्धमार्गी नेवा: समुदायलाई चार वर्ण छत्तीस जातमा विभाजित गर्दर् ैभक्ष्याभक्ष्य र छुवाछूत लाद्ने राजा स्थिति मल्लको ‘भाडुवा नीति’ देखि तत्कालीन प्रम टंकप्रसादको ‘राजनीतिक बहुरूप’ विरुद्ध खरो टिप्पणी गरेकोमा मतभेद छैन । ‘सुख–दुःखका साथी’ टंकप्रसादको बहुरूपबारे उनी लेख्छन् :

‘टंकप्रसाद आचार्यसँग परिचय १९९७ सालदेखि हुँदै आएको हो । हिन्दु राज्य नेपालमा पशुमा गाई, मान्छेमा बाहुन नकाटिने जात हुनाले प्रजापरिषद्का जवान साथीहरूले टंकप्रसाद बाहुन नकाटिने भएकाले मात्र अध्यक्ष छानेका थिए । सन्तान्नब्बे सालको पर्वमा उनले राणाहरूसित केही कुरामा टेक लिएर हामीलाई चकित पनि पारेका थिए । तर जेलमा मुडेर ल्याउँदा आफूलाई अछूत ठानेर मात्र नपुगी राणा–सामन्तशिरोमणि जुद्धशमशेरलाई बिन्तीपत्र लेखी एक मोहर आठ पैसा तिरी ४०/– (चालीस रुपैयाँ) बिहे खर्च तिर्नुपर्ने मतवाला जातसम्ममा मिलाइपाउँदा आफूलाई छुत भएको ठानी आफ्नो अहोभाग्य ठाने । पछि ७ सालको नेपाली कांग्रेसको नेतृत्वमा संघर्षपछि जेलबाट छुटेर आई दिल्लीसम्म धाएर मन्त्रीपद नभेट्टाएकाले उनी राजा मान्ने नवीन समाजवादी बने । पछि फेरि राजासित कुराकानीमा केही नमिल्न जाँदा राजा र नेहरूको विरोधी भई माओचेतुङलाई सूर्य देख्ने मार्क्सवादी भए । त्यताबाट पनि के नभएर हो कुन्नि स्टालिनवादी भई कम्युनिस्ट पार्टीसित संयुक्त हुन गए । फेरि नेपाली कांग्रेसमा आपसी झैझगडाले कमजोरी आएर सरकारबाट नेपाली कांग्रेस खस्कन लागेको देखेर नेहरूलाई सूर्य देख्ने प्रजातन्त्रवादी भए । नेपाली कांग्रेस सरकारबाट खस्केपछि मातृका बाबु नै अर्को रूपमा सरकारमा गएको देखी संयुक्त प्रजातान्त्रिक लिगवादी भए । पछि फेरि आफूलाई राज्य व्यवस्था नै नभए पनि गृहविभाग भेट्टाएकाले राष्ट्र खतरामा छ भनी राष्ट्रवादी भएर मन्त्री हुन पुगे । फेरि मातृका–सरकार खतम हुने छाँट देखेपछि एकै रातमा आफ्नो धन र कुटो भएको लालझन्डा र अध्यक्षपद बेचेर त्रिरङ्गा झन्डावाल भए । यो हो टंकप्रसाद आचार्यको राजनीतिक बहुरूपिताको विवरण (नेपालका कुरा, यमि २०१४: ४४३–४४४) ।’

जवान महाराजाधिराज महेन्द्र र उनले च्याम्पटीजस्तै घुमाएका प्रधानमन्त्री टंकप्रसादबारे सटीक टिप्पणी गरेका थिए, ‘मैले त मान्छे चिन्ने विलक्षण बुद्धि पनि महाराजाधिराजमा रहेछ भन्ठानेको थिएँ, तर नेताहरूमध्ये सबभन्दा राजनीतिक मासी नभएका राजनीतिक बहुरूपी टंकप्रसाद आचार्यलाई छानी प्रधानमन्त्री पद दिएको देख्दा महाराजाधिराज राजनीतिक टेकी मान्छेसित डराउँदा रहेछन् भन्ने कुरा प्रकट भयो (यमि २०१४: ४४३) ।’ यस्तै खरो टिप्पणीका कारण पनि ‘नेपालका कुरा’ प्रतिबन्धित भएको हुन सक्छ, राजा र उनका प्रधानमन्त्रीको कोपभाजनको सिकार भएको हुन सक्छ । जबकि ‘यमि’ राजा त्रिभुवनद्वारा २००८ सालमा खाद्य/वन उपमन्त्री नियुक्त भएका राजा महेन्द्रले २०११ सालमा चलाएको प्रत्यक्ष शासनप्रति आशावादी रहेका र २०१७ सालमा थोपरेको पञ्चायती व्यवस्थामा राष्ट्रिय पञ्चायत सदस्यमा नियुक्त पाएका व्यक्ति हुन् । उनकै ‘मुक्तिदाता स्व. श्री ५ त्रिभुवनप्रति सादर समर्पित’ किताब पनि प्रतिबन्ध र जफतबाट बच्न सकेन ।

‘यमि’ का काकाका छोरा तथा नेपालभाषाका लेखक सुगतदास तुलाधरका अनुसार, ‘नेपालका कुरा’ र ‘हाम्रो राष्ट्रियता’ ले धूम मच्चाएका थिए । किन र कसरी धूम मच्चाए त ? यमिका सहकर्मी केदारमान व्यथित लेख्छन्, ‘उनका सबैभन्दा प्रसिद्ध इतिहाससम्बन्धी किताब ‘नेपालका कुरा’ हो । नेपालका लागि त्यो एउटा उल्लेखनीय पुस्तक हो । राजनीतिक, सामाजिक र सांस्कृतिक गतिविधिको ऐना हो भन्दा पनि हुन्छ उक्त किताब । तर, आफ्नो आलोचना गरिएको कारणले तत्कालीन सरकारले त्यो किताब जफत गर्‍यो (धयस्मृग्र, व्यथित २०४६ : ९) ।’

‘प्रचण्ड गोरखा’ को अगुवाइ गर्दै १९८८ सालदेखि बीस वर्षसम्म जेलमा परेकामध्ये व्यक्ति हुन्– खड्गमान सिंह । १९९७ सालमा प्रजापरिषद् काण्डमा परेपछि यमि पनि उनको जेलजीवनका सहयात्री भएका थिए । २००९ सालमा राजा त्रिभुवनको प्रत्यक्ष शासनमा सल्लाहकार बनेका सिंहले पनि प्रतिबन्धको कारण खोतलेका छन्, ‘नेपाली भाषामा धर्मरत्नजीले एउटा अर्को गजबको पुस्तक लेखेका थिए, ‘नेपालको कुरा’ । त्यस बेला श्री टंकप्रसाद आचार्य प्रधानमन्त्री थिए । ‘नेपालको कुरा’ मा धेरै व्यक्ति महानुभावहरूको पोल खोलिनुका साथै प्रम टंकप्रसाद बाहुन भएकाले ब्राह्मणवादको सँगसँगै सरकार चलाउन अयोग्य भनी तीव्र आलोचना गरेको थियो (धयस्मृग्र, सिंह २०४६ : १९) ।’

हिन्दु राज्यको वैचारिकी विरुद्ध

‘नेपालको कुरा’ मा अत्यधिक आलोचित विचार हो– राज्यबाट सयौं वर्षदेखि प्रवर्द्धन, संरक्षण र क्रियान्वयन गरिएको ब्राह्मणवाद र त्यस वादका व्याख्याता थिए, मनुदेखि राममणि आ.दी.सम्म । २०१० सालमा प्रकाशित आ.दी.को पुस्तक ‘नीतिको पेटारो वा भलो कुराको नमुना’ मा जात, वर्ण र वर्गको भेदको वकालत गरिएको छ, मनुस्मृति शैलीमा । कतिसम्म भने ‘पक्षपात जगाउने प्रजातन्त्र’ को विपक्षमा, आर्य श्रेष्ठताको हित साधन गर्ने तन्त्रको पक्षमा उभिँदै ‘जात–पात बिग्रन नदिन रक्त शुद्धीकरण’ (ब्लड पिउरीफिकेसन) सम्मको जिकिर गरिएको छ । यिनै वैचारिकीमा आधारित हिन्दु राज्य र त्यसका पुराना नयाँ शासकबारे यमिले बहिष्कृत समुदायको कोणबाट चिरफार गरेका छन्,

नाब्रह्म क्षत्रं ऋध्नोति नाक्षत्रं ब्रह्म वर्धते ।

ब्रह्म क्षत्रं च सम्पृक्तमिह चामुत्र वर्धते ।। ९.३२२।।

ब्राह्मणबिना क्षत्री, क्षत्रीबिना ब्राह्मण कुनै पनि बढ्न सक्तैन । दुवै मिलेर नै परस्परको उन्नति हुन्छ । यसबाट मालिक, ईश्वर, सामन्त, राजा, महाराजा, धिराजा, सम्राट्, गुरु, मन्त्री, पुरोहित भन्ने ठूलठूला दर्जा त ब्राह्मण र क्षत्रिय सिवाय अरू कसैले पाउने भएन । यसले यो सनातन धर्म मुताबिक त अर्थात्हिन्दुको देशमा बाहुन र क्षत्रीको मनपरी थिचोमिचोमा अरू सबै जाति–उपजातिले बस्नुपर्ने भयो । सरदार राममणि बाजेको राणाशाहीको कानुनले त ‘मन्त्रीमण्डल जोर्दा ब्राह्मण र क्षत्रिय लिएर जोरनू, त्यसमा पनि उच्च कोटिका हुनू’ भनिएकाले ब्राह्मण–क्षेत्रीमा पनि गरिब छ भन्ने बाहुन–क्षेत्री भएर पनि मन्त्री आदि ठूला दर्जामा पुर्‍याउन नहुने भो । नेपालमा किंवा हिन्दु राज्यमा उच्च कोटिका ब्राह्मण–क्षेत्री जाति सिवाय अरू सबै मानव हकबाट पनि वञ्चित कमारो भनी सिद्ध हुन्छ । देशको स्वतन्त्रताको माने कुनै विदेशीले राज्य नगर्नु मात्र होइन, स्वदेशीले नै राज्य गरेको भए तापनि देशवासी सारा जनताले ठूला–साना अधिकारहरू समान रूपले पाउनुको माने स्वतन्त्रता हो । नेपालका प्रजाहरूलाई म्लेच्छमाथि शूद्र, शूद्रमाथि वैश्य, वैश्यमाथि क्षत्री, क्षत्रीमाथि बाहुन, यी सबैमाथि फेरि धूर्त दाज्यु–काका मारा, झेल्याहा, अत्याचारी सामन्त राणाहरूले थिचोमिचो गरेर हाम्रो शरीर मात्र होइन, बुद्धि पनि कमारो बनाइसकेका छन् (यमि २०१४: ३२५–३२६) ।’

यस किताबको गुदी नै हिन्दु–ब्राह्मण धर्म, त्यसमा आधारित राज्य र धार्मिक राज्यबाट पोषित वर्ग–वर्ण–जातको प्रभुत्वको शल्यक्रिया भएकाले यमिले राममणि आ.दी.का पुरातन विचारलाई घरीघरी उधिनेका छन् । यस्तो खोतलखातल प्रभुत्वशाली वर्ग–वर्णका लागि सह्य नभएको झलक राममणिका नाति एवं लेखक कमल दीक्षितको स्मरणमा देख्न पाइन्छ :

‘यमिजीको नाम त्यसो त अलि नमिठै पाराले मेरो कान आँखामा परेको हो । ‘जथवा तथवा–बोलेको’ आरोप लाग्न सक्ने उहाँको...किताब ‘नेपालको कुरा’ पढेर नै मैले उहाँलाई चिनें भनौं । त्यसमा अरू छाडी मेरै बाजे, आफू बा, सरदार राममणि आ.दी.ले साम्प्रदायिकताको झटारो खानुपरेको (पृ. ४२१) पनि मैले पढ्नु पर्‍यो ।

आफूले ठीक ठानेको कुरा, आफूलाई विश्वास भएको कुराले कोही रिसाउला कि भनी नडराई नलुकाई बोल्नुभएको छ उहाँले । त्यस किताबमा उहाँले भनेका कुरा ठीक होइनन्, सत्य होइनन् कुराहरू लुकाइएका बंग्याइएका छन् भन्ने गुनासो किताबमा नाम पर्नेहरूको छ । तर त्यस्ता गुनासाहरू कोठामा गफका रूपमा मात्र भए । लिखितमा प्रकाशनमा कसैले आजसम्म ती कुराहरूको प्रतिवाद या खण्डन गरेनन् । आफूले बेठीक ठानेका कुराको खण्डनसम्म गर्न नसक्नेहरूलाई देखेर नै मैले धर्मरत्नजीलाई बहादुर भनेको हूँ । (धयस्मृग्र, दीक्षित २०४६ : ६३) ।

विचारलाई विचारले नै खण्डन–मण्डन गर्ने प्रजातान्त्रिक विधि र अभ्यासको सट्टामा प्रजातन्त्रकालमा पनि किताबको दहन गर्ने राणाशाहीकै शैलीमा यस पुस्तकमाथि दमन गरिँदा प्रतिवादको स्वर सुनिएन । राजा महेन्द्रले कहिले ‘प्रत्यक्ष शासन’ त कहिले दलका नेताहरूबाट ‘अप्रत्यक्ष शासन’ चलाइरहेको दशकमा मुक्तिनाथ (शर्मा तिमिल्सिना) को उपन्यास ‘को अछूत ?’ जस्तै यमिको किताब पनि दमनतन्त्रको सिकार हुँदा प्रतिरोध सडकमा पोखिएन । प्रजातान्त्रिकदेखि राष्ट्रवादीसम्म छवि बनाएका नेता र शासकहरू आफ्नो वैचारिकी र व्यवहारको आलोचना हुँदा कति अप्रजातान्त्रिक भए, त्यसलाई पनि लिपिबद्ध गरिएन । ‘नेपालका कुरा’ प्रतिबन्धित मात्रै होइन, जफत नै हुँदा पनि लेखकहरूका आँसुसमेत झरेको पाइएन, कविताकै रूपमा सही ! विडम्बनाको कुरा, जफत गर्ने काम महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षा, स्वायत्तशासन मन्त्रीका रूपमा संलग्न डा. के.आई. सिंहको सरकारले गरेको थियो । लेखक भिक्षु सुदर्शनसँग कुराकानीको क्रममा यमिले भनेका थिए– नेपालका कुरा’ साढे चार सय वटा किताब डा. के.आई. सिंहको सरकारले जफत गर्‍यो (धयस्मृग्र, यमि २०४६ : १३) ।’

प्रतिबन्ध लगाएपछि आचार्य सरकारले २०१४ असार १९ गते एकमना सरकारको माग गर्दै राजीनामा दिनुपरेको थियो र राजा महेन्द्रले नेताहरूको नाडी छाम्दै असार ३१ गते मात्रै आफ्नो इच्छाअनुसार चल्न तयार सिंहको सरकार बनाए (नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, राजेश गौतम २०६६ : २५०) । नेपालमा सरकारसमेत रहेको–नरहेको अन्योल यही समयमै यमिले सम्भवतः ५० प्रति किताब उँबहाल, नबहिलस्थित हिमालय प्रेसबाट रातारात ल्याएको र धुस्वां सायमि लगायतलाई प्रेसबाटै दिएको हुन सक्छ (धयस्मृग्र, सायमि २०४६ : ७१, चन्द्रशेखर रघुबंशी २०४६ : ४२) । ‘पुस्तक तयार भएपछि यमिजीले ५–१० प्रति नमुनाका रूपमा प्रेसबाट ल्याएका थिए । त्यस पुस्तकलाई आपत्तिजनक ठानेर सरकारले प्रेसमा छापा मारी ‘नेपालको कुरा’ का सबै प्रति जफत गरेर लग्यो (धयस्मृग्र, सिंह २०४६ : १९) ।’

कमलप्रकाश मल्लका लागि विभिन्न विचार, गतिविधि र सांगठनिक प्रयासको विस्फोट भएको २००७ सालदेखि २०१७ सालको कालखण्ड अभिव्यक्ति र बाह्यमुखीको दशक थियो (नेपाली समाजमा बुद्धिजीवी, मल्ल २०७३ : १४५) । त्यसै दशकमा किताबमाथि मात्रै होइन, पत्रपत्रिकामाथि पनि व्यापक कारबाही गर्दै श्री ५ र श्री ५ का सरकारहरूले अभिव्यक्ति स्वतन्त्रतामाथि तोप दागेका थिए ।

प्रधानमन्त्री आचार्यले त साढे १७ महिनाको शासनभित्र ३४ वटा पत्रपत्रिकालाई कारबाही गर्दै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पारेका थिए, जुन त्यस दशककै सर्वाधिक संख्या हो । शासन अवधि र कारबाहीबीच तुलना गर्दा डा. सिंह नेतृत्वको सरकारको पालामा औसतमा सबैभन्दा धेरै पत्रिकालाई कारबाही गरिएको थियो । ३ महिना १८ दिनको सिंह शासनमा ११ वटा पत्रिकामाथि दमन गरिएको थियो

(फैलँदो नेपाली प्रेस र खुम्चँदो प्रेस स्वतन्त्रता : वि.सं.२००७–१७ को अभ्यास, मिडिया अध्ययन–८, रमेश पराजुली २०७० : १३) । आलोचनात्मक किताब र पत्रपत्रिकामाथि भएको दमनको ऐनामा हेर्दा प्रजातान्त्रिक र राष्ट्रवादी भनिएका नेता र राजाहरूका अनुहार निरंकुश शासकमा फेरिएको कुरूप दृश्य देखिएको थियो, जुन क्रम अझै रोकिएको छैन ।

(धन्यवाद : डा. राजेश गौतम, प्रो. तिमिला यमि थापा, डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय)

https://ekantipur.com

Thursday, March 2, 2023

प्रेत लेखक र प्रेत प्राज्ञ - खगेन्द्र संग्राैला




धनाढ्य मालिक अग्लो आसनमा उपरखुट्टी लगाएर गजधम्म बस्छ । याचक लेखनदास बस्छ आत्महीन मुद्रामा तल भुईंमा पिरामा टुक्रुक्क । मालिकको अनुहारमा अहंकारको दाग छ, लेखनदासको अनुहारमा छ आत्महीनताको छाप । बरा मालिकलाई नामको दुःख छ, बिचरा लेखनदासलाई दुःख छ दामको । मालिक आफ्नै दम्भको रथमा सवार भई ङार्रङुर्र गर्दै केके भन्छ, लेखनदास हनुमान मुद्रामा एकाग्र चित्तले मालिकवाणी सुन्छ । लेखनदास चाप्लुसीको रङरोगन भरेर कृपाकारी मालिकको सानदार गौरवगाथा लेखिदिन्छ र मालिक त्यसैत्यसै मक्ख पर्दै लेखनदासलाई बकसस्वरुप केही रकम हुत्त फालिदिन्छ । अनि लेख्ने नाथे लुसुक्क कतै दुलामा लुक्छ, नलेख्ने नाथे लुकुवाले लेखिदिएको लिखत छापेर चटके पाराले बतासे लेखक बन्छ । बस्, हाल चलनचल्तीमा रहेको काइते लेखनको रचनागर्भको यथार्थ कथा हो यो । बकसका लागि मालिकको झुटो प्रशंसा लेखिदिने र बकस थापेर लुत्त भूमिगत हुने पात्रलाई कान्तिपुरी नगरीमा अचेल प्रेत लेखक भनिन्छ । प्रेत लेखक घोडा हो, जसको ढाडमा उसको अलेखक मालिक लेखक बनेर सानले सवार हुन्छ । अनि आफूले दानापानी ख्वाएको घोडालाई कोर्राले सुम्ठ्याउँदै मालिक बडो सानले छच्‌छच्–छच्‌छच् गर्छ ।

जो आलोचनाशील र सिर्जनशील लेखक हो, र जसमा स्वाभिमान र इमानको लेस मात्र पनि चेतना छ, प्रेत लेखकले उसको चित्तमा दिगमिगको भावना जगाइदिन्छ । प्रेत लेखकले पुस्तक संसारमा बौद्धिक र नैतिक प्रदूषण पैदा गर्छ, अन्वेषणशील र वागी लेखक अत्यास मान्दै नाक अँठ्याएर हिँड्न विवश हुन्छ । 

प्रसङ्गवश, पश्चिमी पुँजीवादमा प्रेत लेखनको तैबिसेक इज्जतदार स्थान छ, र यसको कारण छ । उता प्रेत लेखनमा ढाँटिँदैन । उता ‘फलानाले भनेबमोजिम’ लेखिएको भनी लेखाउने धनाढ्यको र लेख्ने प्रेत लेखकको नाम खुलाइन्छ । यसरी प्रेत लेखनमा जसको जे कर्म र स्थान हो, त्यो लोकलाई नढाँटी लेखिमाग्नेले लेखिनु र लेखिदिनेले ज्याला थाप्नुमा लोकलाई कुनै नोक्सानी छैन । फर्माबद्ध लेखनमा दिनदिनै तमसुक लेखेर ज्याला थाप्ने काम त मालअड्डाको लेखनदासले पनि गरेकै छ त । प्रेत लेखन पनि यसरी पारदर्शी हुनु पो राम्रो हो । तर, हाम्रोमा लेखाउने धनाढ्यले पनि लोकलाई ढाँटिरहेछ, लेख्ने आत्महीनले पनि लोकलाई ढाँटिरहेछ । 

छनलाई हामीकहाँ प्रेत लेखन अघिअघि पनि कताकति पक्कै हुँदो हो । तर, त्यसको उतिविधि चर्चा सुनिदैनथ्यो । संग्रामी मार्गहुँदै जब गणतन्त्र आयो, बिडम्बनावश कुहिगन्धे प्रेत लेखनको बाढी उर्लियो । ज्यालादारी मनुवाबाट सम्पन्न हुने प्रेत लेखनमा आफ्नो खोटो अनुहार टाँसेर भुुईंफुट्टा लेखक बन्ने मालिकहरूको पृष्ठभूमि र प्रवृत्ति यसो चियाएर हेर्दा आङ त्यसैत्यसै सिरिङ्ग हुन्छ । यीमध्ये धेरैजसो छन्, हिजोको निरङ्कुश शासनका दमनकारी औजारहरू । यिनमा कोही निजामती फाँटका उच्च ओहदाका हाकिम भइखाएका मैमत्त जीवहरू छन्, कोही छन् जङ्गी फाँटका फुलीधारी सनकसिंहरू । निरङ्कुश राजशाहीको जगजगी हुँदा यी जीवात्‌हरू त्यो आततायी शासनका परम् सेवक थिए । मालिकले अह्राएको लुरुक्क पर्दै खुरुखुरु मान्ने र निजले दिएको जुठोपुरो बडो स्वाद मान्दै कुपुकुपु खाने । जब यी सत्ताका खुनी पदमा थिए, स्वामीभक्ति, जनदमन र अवैध धनसञ्चय यिनको नित्य धन्दा थियो । सम्यक् दृष्टिले यिनका ओठ हेर्नु, त्यहाँभित्र कताकता अझै रगतका टाटा देखिन्छन् । त्यो जनजनका स्वतन्त्रता, समानता र सुखका सपनाहरूको बध गर्दा लागेको रगतको शेषांश हो । चाकरी, भक्ति र पाउलागी गर्ने यिनका प्रातःस्मरणीय प्रभु अहिले सिंहासनमा छैनन् । नाथ विराजमान हुने सिंहासन रित्तो हुँदा यी हुनुसम्म अनाथ र उदास भएका छन् । गरिखाने जनताका शिरमा गिर खेलेर र तिनलाई निर्ममतासाथ निचोरेर यिनले अकुत दौलत थुपारेका छन् । तर दुर्भाग्य, न सिंहासनमा यिनको नाथ छ, न जगत्सामु देखाउन लायकको यिनको नाक छ । त्यसैले त यिनलाई रातारात नाम चाहिएको छ, चर्चा चाहिएको छ, ख्याति चाहिएको छ, र चाहिएको छ यिनलाई स्वाँगे अमरत्व । र नै यी आफ्नो रक्तरञ्जित दामले नाम, ख्याति र अमरत्व खरिद गर्न विचारको डबलीमा नाङ्गानाङ्गै निस्केका छन् । 

लाग्छ, भूमिगत प्रेत लेखकहरूमा विवेक, तर्कशक्ति र लज्जाबोध लेस मात्र पनि हुँदैन । अन्नदाता मालिक आफ्नो अतीतबारे जेजे भन्छ, ती त्यही सुरुसुरु पत्याउँछन् र भटाभट लेखिदिन्छन् । ती ‘ख्वामित्, यो कुरा साँचो हो र ?’ भनी प्रश्न गर्न आँट गर्दैनन् । तिनले ‘अन्नदाताश्री, लोकले यो कुरो कसरी पो पत्याऊला र ?’ भनी सोधनी गर्ने हुती प्रदर्शन गर्दैनन् । र, जसोजसो मालिकवाणी उसैउसै लेखनदासको लेखनी भएर यो कुत्तु कथा तुरिन्छ ।  नायकविहीन प्रेत लेखनको बदनाम खलनायक आफूलाई यसरी प्रस्तुत गर्छ, मानौँ लोकतन्त्रको पहरेदार उही हो । नैतिकताको निष्ठावान् रक्षक उही हो । न्यायको अथक उपासक उही हो । मानवमङ्गलको निरन्तर अभियन्ता उही हो । सच्चरित्रता, सच्चाइ र सत्यनिष्ठाको सानदार प्रतिमूर्ति उही हो । र, ऊ सदैव र सर्वाङ्ग चोखो, ऊ हरदम निष्पाप र निष्कलङ्क, ऊ अखण्ड उदार र परोपकारी, ऊ नित्य दूधले धोइएको र लोकका सारा मानिसहरूमध्ये उही अत्युत्तम, उही अनुपम, उही विरलाकोटी । यो आडम्बरी जीवात् अस्ति मात्र निरङ्कुशतन्त्रको रक्तकुण्डबाट बाहिर निस्केको हो । तैपनि ऊ भन्छ, 'हेर, म कति सुन्दर ! म कति कञ्चन ! म कति पवित्र !' धत् काजी ! यो त केजाति गर्नेलाई भन्दा त्यसो गरेको देख्नेलाई लाज भनेजस्तो भो ।

प्रेत लेखक र उसको लेखनमा महिमा मण्डन गरिने स्वामी त यसै पनि पाखण्ड र झुटका रक्षक, पोषक र प्रवर्द्धक भइनै हाले । यस्तो लेखनलाई काँध थाप्ने र यो वैचारिक एवं नैतिक प्रदूषणका जरामा मलजल हाल्ने मनुवा र माध्यमहरू अरु पनि छन् । गणतन्त्रका  राष्ट्रपतिहरूका पटाङ्गिनीको द्वार बडो उदार छ । त्यो द्वार यी हिजोका निजामती र जङ्गी उपरवालेहरूका लागि हरदम खुला रहन्छ । त्यहाँको भव्य मण्डपमा प्रेतग्रन्थहरूको राष्ट्रपतिका बाहुलीबाट तामझाम, धुमधाम र रामरमितासाथ विमोचन हुन्छ । राष्ट्रपतिको पदमा प्रतिष्ठा र गरिमाको चहक त यसै पनि हुने नै भयो । त्यो प्रतिष्ठा र गरिमा जब प्रेतकथाका कुनै खलनायकप्रति समर्पित हुन्छ, तँछाडमछाड गर्दै तीन शहरका भिडियो क्यामेराहरूको त्यहाँ ओइरो लाग्छ । र, तिनले खिच्ने दृश्य र तिनले टिप्ने वाणीको प्रचार–प्रसारसँगै बौद्धिक र नैतिक प्रदूषणको प्रचार–प्रसार हुन्छ । राष्ट्रपति महोदयहरू सोझा छन्, यस कुराको तिनलाई हेक्का हुँदैन । प्रेत लेखनको खलपात्रले अघि नै आफ्नो स्वार्थ पट्याइसकेको हुन्छ ।

प्रेत लेखनको प्रसङ्गमा ठूलो मिडिया मूल्यजन्य मानक र संहिताको अनिकालले कहालीलाग्दो गरी टाक्सिएको छ । यो शक्तिपूजक छ । यो भक्तिमुखी छ । सनसनीसामु यो लत्रिन्छ । भूपू जर्साहेबका कुमका लस्करै फुलीहरूको जङ्गी शक्तिबाट यो सहजै सम्मोहित र वशीभूत हुन्छ । र, त्यो फुलीवाल प्रेत लेखनको खलनायकीमा प्रकट हुँदा पहिलो पातादेखि नै उसको प्रचार सुरु हुन्छ, मानौँ छाप्नलाई यस मुलुकमा शालीन, सौम्य र सुन्दर चीज केही नै छैन । बुद्धिजीवी भनिने एउटा अभिजात झुण्डको मति पनि खासै प्रीतिकर छैन । त्यो फुलीवाल जङ्गीको हाइहाइ गर्छ । त्यो उसका झुटहरूलाई कपटकलाले ढाकछोप गर्न लिट्टी कसेर लागिपर्छ । र, यस्ताहरूको कर्कश होहल्लाबीच प्रेतपुस्तक कथित् बेस्ट सेलरमा दर्ता हुन्छ । र, पाठकगणका चित्तमा पुस्तकमा के के न होला भन्ने कुतुहल जगाएर तिनलाई पुस्तक किन्न बाध्य तुल्याइन्छ र तिनलाई ठगिन्छ । लक्षण हेर्दा लाग्छ, प्रेत लेखनको पिराहा प्रेतले यो मुलुकलाई तर्साउन छाड्ने दिन अझै निकै टाढा छन् । तसर्थ यो प्रेतकर्ममाथि दह्रो धावा बोल्दै जानुपर्ने पो हो कि !

मेरोअगाडि टेबुलमा प्रेतपथका अनेक पुस्तक छन् । म देख्छु, तीमध्ये एउटा पुस्तक मलाई हेर्दै आँ गरिरहेको छ । त्यो 'आँ'मा के होला भनी म अक्षरहरूको लहरमा यसो आँखा दौडाउँछु । मेरा आँखामा पारिजातको नाम पर्छ र प्रेत लेखकले पारिजातबारे के लेखेको होला भन्ने उत्सुकताले मलाई कुतकुत्याउँछ । म पढ्छु । प्रसङ्गमा २०४६ सालको आन्दोलन छ ।

बिर्सिदिऊँ भन्यो, कमलादीको प्रेत प्रतिष्ठान तर्साउन मछेउ आइरहन्छ । मलाई त्यसैत्यसै दिगमिग लागेर आउँछ । आँखा फारेर हेर्छु, प्रेत प्राज्ञहरूका शिरमुनिको टोलीमा केही राम्रै कवि–लेखक छन् । बिडम्बनावश तिनले आफ्ना शिरमाथि प्रेत प्राज्ञहरूलाई बोकेका छन् । तिनले बरु भोकै मर्छु, आफ्नो विवेक र स्वाभिमानको मानमर्दन गर्दिनँ भन्न सकेनन् ।

आन्दोलनमा शाही सत्ताका अत्याचारहरूको पोल खोल्न लेखक–कलाकारहरू त्रिचन्द्र कलेजको सरस्वती सदनमा जुट्छन् । त्यहाँ हाम्रो सम्झनामा श्रद्धाको पन्तुरोमा मात्र जीवित रहेका युद्धप्रसाद मिश्र छन्, मोहन कोइराला छन्, वासु शशी छन्, कृष्णचन्द्रसिंह प्रधान छन् र पारिजात छिन् । एक कुनामा बसेर त्यहाँको गतिविधि रिट्ठो नबिराई हेर्ने साक्षी म पनि छु ।

प्रेतपथको पुस्तकमा प्रेत कथानकको मूल चरित्र भन्छ– त्यहाँ यादव खरेल पनि हाजिर थिए । यो भयो पहिलो झुट । मिस्टर खरेल त वास्तवमा त्यो विरोधकै विरोधमा पो थिए । प्रेत लेखनको मूल चरित्र प्रहरीले पारिजातसमेतलाई ट्रकमा राखेर बग्गीखाना लग्यो भन्छ । यो भयो दोस्रो झुट । खासमा भएको त्यसो होइन । महिला प्रहरी थिएनन् । पारिजातले ‘लौ त मलाई छोइ मात्र हेर’ भनेर थर्काएपछि पुरुष प्रहरीहरूले उनलाई छुन आँट गरेनन् । हामी सबै पक्राउ पर्‍यौँ । पारिजात अड्डी लिँदै सरस्वती सदनमै बसिरहिन् । र, उनले एक्लै धर्ना दिएर हाम्रो निर्धारित समय अर्थात् दुई घण्टा बिताइन् । बस्, भएको खसोखास यसो हो । तर प्रेत कथानकको मूल चरित्र लाजै नमानी त्यसो भन्छ । भोगी जान्ने र देखी जान्ने लगभग सवा सय लेखक–कलाकार अझै जिउँदै छन् । तर, आत्मकेन्द्रित अहंकारवश आफू मात्रै जिउँदो छु भनेझैँ गरी त्यसो भन्छ र यो नाथे हामीलाई सरासर ढाँट्छ । यो निर्लज्ज ढँटाइ प्रेतपथको लेखनको खास्साको उदाहरण हो । 

प्रेत लेखनको चर्चालाई यहीँ थान्को लगाएर म अब प्रेत प्राज्ञतिर लाग्छु । चाबहिलबाट डिल्लीबजारको ओरालो झरेर यस्सो दाहिने मोडिँदै अलि परबाट कुइँक्क घण्टाघरतिर लाग्दा दायाँतिर फराकिलो परिसरको बीचमा एउटा ढ्याके भवन झ्वास्स आँखामा पर्छ । भवनको रुपाकृति खासै सुन्दर छैन । तर, त्यसको निधारमा ठोकिएको छ ‘नेपाल प्रज्ञा प्रतिष्ठान’ भन्ने सुन्दर छाप । शाही सत्ता अस्तित्वमा छउञ्जेल यो प्रतिष्ठानको नाम राजाको धाकधक्कु ध्वनित हुने ‘राजकीय’बाट सुरु हुन्थ्यो । राजतन्त्रको अवसानसँगै यो ‘राजकीय’ मेटियो । ‘राजकीय’ त मेटियो तर हुकुमप्रमाङ्गीको प्रेतले भने हामीलाई सताउन छाडेन । पहिले हुकुमप्रमाङ्गीको स्वेच्छाचारी अधिकार राजाका हातमा थियो, अहिले त्यो अधिकार राजनीतिक दलका बोसहरूका हातमा सरेको छ । परिवर्तनका नाममा केवल ओल्लो घरका नरे पल्लो घर सरे भनेजस्तो भएको छ । त्यसैले राजकीय सामन्ती संस्कारबाट आक्रान्त प्रज्ञा प्रतिष्ठानमा यस घडीमा प्रेत प्राज्ञहरूको उपस्थिति बाक्लै देखिन्छ । 

प्रज्ञा प्रतिष्ठानको भाषा–साहित्य फाँटको अल्लिअघिको कार्यकालको कुरा हो यो । प्रज्ञा प्रतिष्ठानमा अनेकमध्ये एक जना विचित्रका प्रेत प्राज्ञ थिए । तिनका आफ्नै मौलिक विशिष्टता थिए । पार्टीका बोसहरूका अनुकम्पाले प्राज्ञ पद त प्राप्त भयो, तर तिनको अनुहारमा प्राज्ञको आभा भने एक पित्को पनि थिएन । भाइ, अब परेन कि फसाद ! कत्रा दुःखले प्राज्ञ भइया छ, आफूलाई कसैले चिन्ने, गन्ने र मान्ने होइन । दुःखमोचन गर्न र लोकका दृष्टिमा देखिन तिनले दुइटा चतुर जुक्ति अपनाए । तिनले दिनदिनै सनातनी राष्ट्रवाद झल्किने दौरा–सुरुवालका फेर फ्यारफ्यार हल्लाए । र, कतै केहीमा सही गर्नुपर्दा तिनले आफ्नै हातले सहीमुनि ‘प्राज्ञ हगनप्रताप’ लेखे । उल्का भयो ! हगनप्रताप प्राज्ञ हो भनेर चिन्न हामीले उनैले लेखेको ‘प्राज्ञ हगनप्रताप’ हेर्नुपर्ने भयो ।  

आयो कुरा अब प्रज्ञा प्रतिष्ठानको भाषा–साहित्य फाँटको, उही कार्यकालका प्राज्ञ परिषद् प्रमुखको । यसो हेर्छु, मेरी बास्सै ! परिषद्को शिरमा लोकले चिन्दै नचिनेको रहस्यमय पात्र ढसमस्स विराजमान छ । नाम छ कति राम्रो ‘प्रज्ञा प्रतिष्ठान’, त्यो पनि गाउँ तहको होइन, राष्ट्रिय तहको । तर, प्रतिष्ठानको शिरमा एक अपरिचित मूर्ति रहस्यमय ढङ्गले हाजिर छ । सिर्जनशील लेखक आफ्नो लेखनीको प्रकाशले चम्किन्छ । त्यो चमक वर्ण, वर्ग, जात र क्षेत्रहरूका सीमा नाघेर फराकिलो क्षितिजमा फैलिन्छ । त्यो चमक यत्रतत्र देखिन्छ र त्यसबाट लेखक उसको विशिष्टतासहित चिनिन्छ । तर, प्रज्ञा प्रतिष्ठानको शिरमा यो को आयो ? यो जो आयो ऊ कुन जुक्तिले, कसको निगाहले, कुन बाटो गरी, कसरी आयो ? सोचेर ल्याउँदा म छक्क पर्छु ।

आफ्नो दृष्टि र चेतको सद्दे तथा स्वस्थपनाप्रति मलाई कसोकसो शंका लागेर आउँछ । मुलुकमा नयाँनयाँ लेखकहरू भटाभट उदाइरहेका छन् । पुस्तकको संसार तीव्र गतिमा विविध र व्यापक हुँदैछ । मेरो पठनको वृत्त साँघुरो छ । उमेर ओराली लाग्दै जाँदा स्मरणशक्ति क्षय हुँदो छ । के थाहा, मेरो दृष्टि र चेतले पत्तै नपाई रातारात मुलुकमा एउटा अद्भुत प्रतिभाको जन्म पो भयो कि ! शंकामुक्त हुन म जगत्का जान्नेहरूलाई सोध्न थाल्छु । पाको पुस्ता, माझको पुस्ता र नयाँ पुस्ताका अनेक लेखक र पाठकलाई म निवेदन गर्छु– मित्र, प्रज्ञा प्रतिष्ठानको शिरमा विराजमान मनुवाको लेखकीय चिनारीमाथि लौ न अलिकता प्रकाश पारिपाऊँ । उत्तर कसैसँग छैन । सबै मैझैँ रनभुल्लमा छन् । ती प्रज्ञा प्रतिष्ठानतिर हेर्छन् र आश्चर्य मान्दै जिब्रो टोक्छन् । धन्य कैलाशपति जटाधारी बाबा, मेरो दृष्टि र चेतको स्वास्थ्य ठीकै रहेछ भनी म ढुक्क हुन्छु ।

तैपनि प्रश्नहरूको ताँतीले मलाई लखेट्न छाड्दैन । हैन, प्रज्ञा प्रतिष्ठानमा चमत्कारी चटके पाराले यो को आयो ? अनि कुन जुक्तिले ? अनि केको प्रभावले ? अनि कसको निगाहले ? अनि ? अनि ? भरअभरमा जीवनका रहस्य र गुत्थीका गाँठाहरू फुकाउन मलाई सघाउने मेरो एउटा असल मित्र छ, लम्बोदर । उसको बुद्धि तीखो छ, ज्ञानको क्षितिज फराकिलो छ र अन्तरदृष्टि छ बडो अन्वेषणकारी । म लम्बोदरलाई सम्झिन्छु र ऊ तत्क्षण मेरोसामु प्रकट हुन्छ । म सविनय सोध्छु, ‘मित्र लम्बोदर, मालिकको मिथ्या प्रशंसा लेखेर कोही प्रेत लेखक बन्छ । यो कुरो त बुझियो । कोही कसरी प्रेत प्राज्ञ बन्छ, यसो जान्न पाए हुँदी.....।’ यस्तो नाथे प्रश्न भनेझैँ गरी लम्बोदर फिस्स हाँस्छ । र, फुर्तीसाथ भन्छ, ‘कुरो यसो हो यार् । पार्टी मुख्यालय प्रेत प्राज्ञ उत्पादन गर्ने उर्वर कारखाना हो । जसलाई प्रेत प्राज्ञ बन्नु छ, उसले त्यो कारखानामा गम्भीर साधना गर्छ । उसले पार्टी मुख्यालयका भगवान्‌तुल्य बोसहरूको दिनदिनै भजन गाउँछ । उसले तिनका पाउमा भेटी चढाउँछ । चाप्लुसीका सहस्र कलाहरूद्वारा उसले आफ्ना प्रभुहरूलाई प्रसन्न तुल्याउँछ । र, ख्वामित्‌हरूको निगाहबाट उसलाई प्रेत प्राज्ञको लाभदायक पद प्राप्त हुन्छ ।’ 

‘बस्, बस्, पुग्यो । कुरो खुल्यो ।’ 

बिर्सिदिऊँ भन्यो, कमलादीको प्रेत प्रतिष्ठान तर्साउन मछेउ आइरहन्छ । मलाई त्यसैत्यसै दिगमिग लागेर आउँछ । आँखा फारेर हेर्छु, प्रेत प्राज्ञहरूका शिरमुनिको टोलीमा केही राम्रै कवि–लेखक छन् र कवि–लेखक टाइपका केही छन् । बिडम्बनावश तिनले आफ्ना शिरमाथि प्रेत प्राज्ञहरूलाई बोकेका छन् । तिनले बरु भोकै मर्छु, आफ्नो विवेक र स्वाभिमानको मानमर्दन गर्दै प्रेत प्राज्ञहरूलाई शिरमाथि बोक्दिनँ भन्न सकेनन् । ती लोभिए, ती लत्रिए र तिनले आफ्नै हातले आफ्नै अनुहारमा मोसो दले । कुरो बुझ्दा प्रेत प्रतिष्ठानको यो पक्ष कम कुरुप छैन ।

अँ, प्रसङ्गवश मलाई यस्तै खालको अर्को घटनाको याद आयो । हिजोसम्म ‘आतंककारी’ भनिएको माओवादी क्रान्तिको आँधीबेहरीबाट निस्केर हलचल मच्चाउँदै सत्तासीन भयो । र, उसले आफ्नो पार्टीवृत्तका स–साना लेखकीय कद भएका र प्रायः आफूले मात्र चिनेका मनुवाहरूलाई टपक्क टिपेर प्रज्ञा प्रतिष्ठानमा भर्ती गर्‍यो । संस्थाको प्रकृति र प्रयोजनका हिसाबले प्रज्ञा प्रतिष्ठान बहुवर्गीय र बहुवैचारिक प्राज्ञिक थलो हो । माओवादीले यी ‘बहु’हरूको एकरति पर्वाह गरेन । ‘जङ्गे जे गर्छ ठीक गर्छ’को तामसी मनोदशामा प्रज्ञा प्रतिष्ठानलाई उसले आफ्नो जेबी संगठन बनाउने अर्घेल्याइँ गर्‍यो । प्रतिपक्षी वृत्तमा विरोधको आगो बल्यो र एकांगी चरित्रको प्राज्ञ परिषद् तत्काल गोपीक्याँच भयो । 

अलिपछिको प्रज्ञा प्रतिष्ठानको शिरमा प्रेत प्राज्ञहरूको नियुक्तिमा उस्तै घटनाको पुनरावृत्ति भयो । प्रेत प्राज्ञहरूको यो चयनको प्रतिवाद गर्न माओवादीसँग आफैँले बनाएको काइदाको नजिर थियो । उसको प्रतिवादद्वारा एउटा सार्थक विमर्श सुरु हुन सक्दो हो । तर, माओवादीले मौन व्रतधारण गर्‍यो । अहिले कागत र जिब्रोमा लोकतन्त्र छ, गणतन्त्र छ । तर देश भने पार्टीका बोसहरूको मौजातुल्य छ । गणितीय आकार हेरी मौजावालको रोल तोकिन्छ । माओवादी सानो मौजावालको हैसियतमा छ । प्रेत प्रतिष्ठानमा ठूलाले ठूलो भाग हडप्यो, मझौलाले मझौला भाग । र, सानो भाग माओवादीलाई पर्‍यो । क्रान्तिका सपना र आदर्शहरू बिर्सिंदै गएको माओवादी लोभियो र एक–दुई थान जुठोपुरो खान उसले प्रेत प्रतिष्ठानमा आफ्ना केटा पठायो । यो लाजमर्नु दृश्य देखेर आदर्श र मूल्यको महत्ताबोध गर्ने लोकले मुख छोप्यो । आजको होइन, हिजोको प्रज्ञा परिषद्को कुरा हो यो । 

कुरो तुर्नुअघि नभनी नहुने एउटा कुरो छ । प्रेतमार्गी प्रज्ञा प्रतिष्ठानमा प्राज्ञिक आदर्श र निष्ठाको बिउसम्म पनि दृष्टिगोचर हुँदैन । तैतै मौजावाल मालिकहरूले यसको नाम पाउलागी प्रतिष्ठान राखिदिए कति राम्रो हुन्थ्यो ! त्यसो गरे कमसेकम प्रज्ञा, विवेक र आदर्शको चीरहरण हुने त थिएन कि !

बोल् लम्बोदर, शाही चरित्रको प्रज्ञा प्रतिष्ठानको आजको खबर के छ ?

www.shilapatra.com बाट साभार 

Saturday, January 28, 2023

नेपाल प्रज्ञा प्रतिष्ठान : ‘उप’ ताक्नेको लर्को !

 लोकसंवाद संवाददाता

 माघ ९, २०७९




काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठान पुस १ गतेदेखि रिक्त छ अर्थात् पदाधिकारीविहीन छ । असोज २१ गते कुलपति गंगाप्रसाद उप्रेती र सदस्य सचिव जगत्प्रसाद उपाध्यायको चार वर्षे कार्यकाल सकिएलगत्तै पुस १ गतेदेखि उपकुलपति डा. जगमान गुरुङसहित प्राज्ञ परिषद् सदस्यहरू प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. उषा ठाकुर, प्रा.डा. हेमनाथ पौडेल, प्रा. दिनेशराज पन्त, डा. देवी नेपाल, प्रा.डा. गोपीन्द्र पौडेल, माया ठकुरी र लक्ष्मी मालीलगायत २४ जना प्राज्ञ सभा सदस्यहरूसमेतको चार वर्षे कार्यकाल सकिएपछि प्रज्ञाप्रतिष्ठान रिक्त बनेको हो ।

यसरी रिक्त रहेको प्रज्ञाप्रतिष्ठानमा नियुक्ति खानका लागि नेताहरूको घरदैलोमा आकांक्षीको लर्को लाग्ने गरेको छ । यसमा सबैभन्दा लामो लर्को चाहिँ ‘उप’ अर्थात् उपकुलपति पदका आकांक्षीको रहेको छ । यस लर्कोमा एक कार्यकाल र दुई कार्यकालसमेत परिषद् सदस्यमा नियुक्ति खान भ्याइ सकेकाहरू सबैभन्दा अगाडि रहेको बताइन्छ ।

यस अगाडिको परिषद्मा सदस्य रहिसकेका सुलोचना मानन्धर, नर्मदेश्वरी सत्याल, विष्णु प्रभात, निर्वतमान परिषद्का सदस्यहरू प्रा. दिनेशराज पन्त, गोपीन्द्र पौडेल, लक्ष्मी माली लगायत रहेका छन् । पन्तले दुई कार्यकाल खाइसकेका छन् । उनी फेरि तेस्रो पटक पनि नियुक्ति खानका लागि परेका छन् ।  निवर्तमान परिषद्मा रहेका अधिकांश दोहोरिन चाहन्छन् । उपकुलपति डा. जगमान गुरुङ कुलपतिमा आउन चाहन्छन् । 

यसै गरी परिषद् सदस्यका लागि नयाँ आकांक्षीमा घरदैलो अभियानलाई तीब्र बनाउनेमा पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्ष स्नेह सायमीले सबैलाई पछि पारेको बताइन्छ  । सायमी केही वर्ष अगाडि एमाले प्रवेश गरेको बताइए पनि अहिले आफू माओवादीमै रहेको भन्दै माओवादी नेताहरूकोमा घरदैलो अभियान चलाइरहेका छन् । उनी आफ्नी श्रीमतीसमेत रहेकी लक्ष्मी मालीलाई उपकुलपति बनाउनु पर्ने त्यसो नभए आफूलाई सदस्य सचिव वा त्यो पनि नभए परिषद् सदस्यमा नियुक्ति दिएर काव्य विभागको जिम्मेवारी दिलाउनु पर्ने भन्दै अनुनय विनय गरिरहेको बताइन्छ ।

उनले केही समयअघिदेखि पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिसलाई रिझाएर ओलीको प्रशस्तिमा कविता लेखेर सुनाउने गरेका छन् । अहिले एमाले नेता कहाँ जाँदा आफू एमालेमा लागेकाले माओवादीले सताउने गरेको भन्छन् भने माओवादी नेताकोमा पुग्दा आफूलाई बिना आधार एमाले गएको भनी आरोप लगाएको तर आफू सदाबहार माओवादीमै रहेको स्पष्टीकरण दिने गरेका छन् । 

यसरी नै माओवादी कोटाबाट प्राज्ञ परिषद्मा नियुक्ति पाएका प्रा.डा. गोपीन्द्र पौडेलले पनि पदमा रहँदा आफूनिकट केही व्यक्तिलाई मात्रै परियोजना दिने गरेको प्रज्ञाप्रतिष्ठानका कर्मचारीहरू बताउँछन् । उता नेपाली लेखक संघमा आवद्धहरू पनि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कारण आफूहरूले पनि प्रज्ञाप्रतिष्ठानमा भाग पाउनुपर्ने भन्दै लबिङ गरिरहेको बताइन्छ ।

उनी हालै एमाले पार्टी कार्यालयमा आयोजित कमरेड पुष्पलालका साथी स्व. कवि हर्ष स्याङ्बो स्मृति कार्यक्रममा वक्ता बनाइएका थिए । जानकारहरूका अनुसार उक्त कार्यक्रम उनै सायमीलाई मञ्च दिनका लागि आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली थिए । कार्यक्रममा सायमीले स्याङ्बोको भन्दा ओलीको गुण गानमा अधिकांश समय खर्चिएका थिए । 

सायमी निर्वतमान प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा साहित्य विभाग प्रमुख लक्ष्मी मालीका पति हुन् । उनले मालीको विभागबाट समकालीन नेपाल भाषाका कविता संकलन तथा सम्पादनको परियोजना लिएका थिए । नेवारी भाषाबाट नेपालीमा अनुवाद गर्ने उक्त कार्यका लागि मालीले पति सायमीलाई ९० हजार निकासा दिलाएकी थिइन् । जबकी यस्तो परियोजनामा प्रज्ञाप्रतिष्ठानले ५० हजारभन्दा माथि दिएको पाइँदैन ।

यस्तै मालीले एक पटक मातृभाषा साहित्य गोष्ठीमा कार्यपत्र लेख्नका लागि आफ्नी छोरी अस्मिता मालीलाई लगाएकी थिइन् भने समीक्षकमा श्रीमान् सायमीलाई राखेकी थिइन् । उनले उनको विभागका अधिकांश काम माओवादी निकटलाई मात्रै दिएकी थिइन् भने विभागको सहकार्यमा राजधानी बाहिर हुने कार्यक्रममा पति सायमीलाई साथमै लगेर स्थानीय आयोजकलाई हैरानी दिने गरेकी थिइन् । उनले आफ्नो घरमा सहयोगी काम गर्ने एक जना युवालाई आफू करारमा कर्मचारी छनोट समितिमा हुँदा कार्यालय सहयोगीको जागिर लगाइदिएकी थिइन् । उनले पति सायमीलाई संस्कृति मन्त्रालयको पुरस्कार दिलाउन र प्रज्ञाप्रतिष्ठानको कविता महोत्सवमा निर्णायक सदस्यमा राख्न भूमिका खेलेकी थिइन् । अहिले उनले प्रज्ञाका कर्मचारीहरूलाई फोन गरेर आफू फेरि प्राज्ञ भएर आउँदैछु, मेरा केही सामानहरू छन्, सुरक्षित राखिदिनु भनेकी प्रज्ञा प्रतिष्ठान ए  कर्मचारीले जानकारी दिएका छन् ।  

यसरी नै माओवादी कोटाबाट प्राज्ञ परिषद्मा नियुक्ति पाएका प्रा.डा. गोपीन्द्र पौडेलले पनि पदमा रहँदा आफूनिकट केही व्यक्तिलाई मात्रै परियोजना दिने गरेको प्रज्ञाप्रतिष्ठानका कर्मचारीहरू बताउँछन् । उता नेपाली लेखक संघमा आवद्धहरू पनि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कारण आफूहरूले पनि प्रज्ञाप्रतिष्ठानमा भाग पाउनुपर्ने भन्दै लबिङ गरिरहेको बताइन्छ ।  यसै गरी निवर्तमान प्राज्ञ सभाका अधिकांश सदस्यहरू पनि परिषद्मा जान इच्छुक देखिएका छन् । 'हातोलाई भन्दा जाँतोलाई सकसक'  भने झेँ अहिले संस्कृति मन्त्रीलाई भन्दा बढी प्रज्ञा तिरको रौनक साहित्यकारहरूलाई लागेको छ । उता सङ्गीत तथा नाट्य र ललितकलातिर पनि उत्तिकै सर गर्मी बढेको देखिँदैछ ।  


www.loksambad.com  बाट