नेपाली साहित्यको इतिहास लेखनमा अत्यन्त हास्यास्पद खेतीका रूपमा फस्टाएको अर्काे मनोमानी प्रकाशितै नभएका पुस्तकको सगर्व विश्लेषण गर्नु पनि हो । -
नेपाली साहित्यमा देखिएका त्रुटि एवं कमीकमजोरीलाई मैले निकै अगाडिदेखि नै सङ्केत गरेकै हुँ । नेपाली साहित्यलाई माया गर्ने विद्यार्थी भएकाले आफूले देखेका भाँडभैलोका बारेमा पाठकलाई जानकारी दिनु कर्तव्य सम्झेर तीन साताअघि ‘कोसेली’ प्रकाशित लेखको दोस्रो संस्करण लेखेको हुँ । डा. दयाराम श्रेष्ठले ‘नेपाली साहित्यको संक्षिप्त इतिहास’ नामक पुस्तकको ‘नेपाली निबन्ध’ शीर्षकमा ललितत्रिपुरसुन्दरीबाट अनुवाद गरिएको ‘महाभारत शान्तिपर्व’ को आख्यानात्मक कृति ‘राजधर्म’लाई आख्यानेतर गद्य अर्थात् निबन्धका रूपमा चर्चा गर्दै सोही लेखको उही अनुच्छेदमा ‘महत्त्वपूर्ण गद्यकवि’ का रूपमा उल्लेख गरेका छन् । अर्काेतिर श्रेष्ठले नै ‘नेपाली भाषा र साहित्यको विकासमा शाह वंशको देन’ (२०४४) नामक पुस्तकमा लेखेका छन्, ‘राजमहिषीहरूबाट पनि नेपाली वाङ्मयमा महत्त्वपूर्ण योगदान हुन थालेको श्री ५ रणबहादुर शाहको राज्यकालदेखि नै हो । मौसुफकी कान्छी महारानी ललितत्रिपुरसुन्दरीद्वारा महाभारत शान्तिपर्वको नेपाली अनुवाद ‘राजधर्म’ लेखिबक्स्यो । तत्कालीन राजनीतिक परिस्थितिका निम्ति आवश्यक महसुस गरिएको विषय यसमा छ । नेपाली वाङ्मयको यो एउटा ऐतिहासिक उपहार हो ।’ ‘महाभारत शान्तिपर्व’को अनुवाद भन्नासाथ कृति निबन्धात्मक नभई आख्यानात्मक हुन्छ भन्ने कुरा सामान्य पाठकले पनि भन्न सक्छ । कृति कुन विधाको हो र यसमा के विषयवस्तु छ भन्नेसमेत जानकारी नराखी यस्ता कपोलकल्पित एवं हावादारी विश्लेषण गर्नुमा तत्कालीन सत्तालाई रिझाएर लाभ लिने अभीष्ट देखिन्छ । सङ्कीर्ण स्वार्थबाट प्रेरित भई कृति कुन विधाको हो र यसमा कस्तो प्रकारको विषयवस्तु छ भन्ने पनि थाहा नपाई व्याख्या गर्ने प्रवृत्तिले पनि नेपाली समालोचनाको इतिहास प्रदूषित देखिन्छ । अझ नेपाली ‘साहित्यको संक्षिप्त इतिहास’का अनेकौँ संस्करण आइसक्दा पनि यसखाले भद्रगोलपूर्ण सन्दर्भलाई नसच्च्याएर जस्ताको तस्तै राखिनु हामी ठूला मान्छे हौँ, हामीले जे गरे पनि हुन्छ भन्ने दम्भले काम गरेको हुनुपर्छ । लक्ष्मण गौतम र ज्ञानु अधिकारीद्वारा लिखित ‘नेपाली कथाको इतिहास’ नामक पुस्तकमा भएका हावादारी सन्दर्भको चर्चा यसअघि पनि गरिएकै हो । संस्मरण वा आत्मकथालाई कथा बनाइदिने भाइरसले यस पुस्तकलाई आक्रमण गरेको हो कि भन्ने अनुमान गर्न सकिन्छ । शशि भण्डारी र गङ्गा उपाध्यायका संस्मरणात्मक कृतिलाई कथा भनेर चर्चा गरेको कुरा सर्वविदितै छ । यसमा राममणि आदीको ‘पुराना सम्झना’ शीर्षक संस्मरणात्मक कृतिलाई कथासङ्ग्रह भनेर ‘पुराना सम्झना (२०२९) कथासङ्ग्रहका कथाकार राममणि आचार्य दीक्षित सामाजिक यथार्थ र वैयक्तिक अनुभूतिलाई आदर्शीकरण गरेर प्रस्तुत गर्ने कथाकारका रूपमा देखिन्छन्’ भनी विश्लेषण गरिएको छ । यसै पुस्तकमा इन्द्र सुन्दासले ‘सङ्क्षिप्त आत्मकथा’ शीर्षक दिएर नेपालीमा अनुवाद गरेको मोहनदास कर्मचन्द गान्धीको आत्मकथालाई पनि कथाकै रूपमा चर्चा गरिएको छ । यही कृतिमा शेरमान थापालाई नेपालभित्रकै कथाकारका रूपमा उल्लेख गर्दै ‘गुरुप्रसाद मैनालीपछि यथार्थवादी (सामाजिक यथार्थवादी, मनोवैज्ञानिक यथार्थवादी र समाजवादी यथार्थवादी) मूलप्रवृत्तिभित्र रहेर कथा लेख्ने कथाकारहरूमा मुख्यत: शेरमान थापा देखा पर्छन् । उनको ‘लहर’ (१९९५) कथासङ्ग्रहभित्रका कथाहरू शैलीका दृष्टिले कमजोर भए पनि विषयका दृष्टिले मैनालीकै प्रभावबाट सिर्जिएका देखिन्छन्’ भनिएको छ । १९९५ मा प्रकाशित भन्ने सुनेकै भरमा शेरमान थापालाई मैनालीकै हाराहारीको ठानेर प्रवृत्ति पनि मैनालीकै भनिदिए फरक नपर्ने अनुमान गरी यसखाले हावादारी विश्लेषण गरिएको हुनुपर्छ । शेरमान थापाको जन्म नै विसं १९९७ फागुन महिनामा असमको सिन्रीमा भएको हो । असमिया र नेपाली भाषामा थुप्रै कृतिहरू लेखेका थापाको दोस्रो कथासङ्ग्रहका रूपमा प्रकाशित ‘लहर’ (सन् १९९५) मा समाविष्ट अधिकांश कथा मनोविज्ञानमा आधारित छन् । यही पुस्तकमा ‘राधाकृष्ण शर्मा पनि कथाको यसै धारलाई समातेर अघि बढेका कथाकार हुन् । राधाकृष्ण शर्माका ‘समाधानहीन पाइलाहरू’ (सन् १९८७), ‘नयाँ सुइटर’ (सन् १९९६) शीर्षकका कथासङ्ग्रह प्रकाशित छ’ भनी उल्लेख गरिएको पाइन्छ । सत्रवटा कथा समाविष्ट ‘समाधानहीन पाइलाहरू’ (सन् १९९८) शीर्षक कथासङ्ग्रहका कथाकार राधाकृष्ण शर्मा नभई सिक्किम निवासी सुधा राई हुन् । सम्बन्धित लेखकले यसलाई कतै देखेको भए जानकारी दिनु नै हुनेछ । नेपाली साहित्यको इतिहास लेखनमा अत्यन्त हास्यास्पद खेतीका रूपमा फस्टाएको अर्काे मनोमानी प्रकाशितै नभएका पुस्तकको सगर्व विश्लेषण गर्नु पनि हो । ‘यसैगरी शान्ति पराजुलीको प्रभा (२०४८) भित्रका धेरैजसो कथाले नारी पीडालाई मूल विषयवस्तु बनाएका छन् । सामाजिक यथार्थका परिवृत्तमा रहेर लेखिएका यिनका कथाहरू वर्णनात्मक शैलीका देखिन्छन्’ भनी प्रकाशितै नभएको कथासङ्ग्रहको विश्लेषण रजनी ढकाल, गीता त्रिपाठी र ज्ञानु अधिकारीद्वारा लिखित ‘नेपाली साहित्य परम्परा र प्रवृत्ति’ नामक कृतिमा गरिएको पाइन्छ । शान्ति पराजुलीको ‘सुमा’ शीर्षक एउटा उपन्यासबाहेक अन्य कुनै पनि कृति प्रकाशित भएको छैन । प्रकाशितै नभएका पुस्तकको यसरी विश्लेषण गर्नु हावादारी विश्लेषणको पराकाष्ठा हो । ‘नेपाली साहित्य परम्परा र प्रवृत्ति’ शीर्षक कृतिमै ‘प्रभाववादी चिन्तनमा आधारित समालोचना लेखन, समालोचनाका क्रममा गुणदर्शन परम्परालाई नै निरन्तरता दिँदै विषयवस्तुको स्थूल रूपमा विश्लेषण आदि यिनका समालोचनामा पाइने विशेषता हुन्’ भन्दै सुशीला भट्टको ‘गुरुप्रसाद मैनाली : व्यक्तित्व र कृतित्व’ (२०५९) कृतिको चर्चा गरिएको छ । सर्वप्रथम सुशीला भट्टको कृतिको शीर्षक ‘गुरुप्रसाद मैनाली : व्यक्तित्व र कृतित्व’ नभएर ‘गुरुप्रसाद मैनाली : व्यक्ति र कृति’ हो भने यसको प्रकाशन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट २०६० मा भएको हो, २०५९ मा होइन । यसरी पुस्तकको शीर्षक तथा प्रकाशन वर्षसमेत जानकारी नराखी विश्लेषण गर्नुलाई के भन्ने होला खै ? सम्बन्धित विद्वान्हरू कृति नै नदेखी विश्लेषण गर्ने क्षमता राख्छन् भन्ने कुरा ‘नेपाली कथाको इतिहास’मा अभिव्यक्त यस अनुच्छेदले पनि प्रस्ट पारेको छ : ‘अर्जुन सिग्देलको ‘मृत्युपत्रमा हस्ताक्षर’ गीता मञ्जुश्रीको ‘फोरिएको पर्खाल’, ज्योतिप्रभा विष्टको ‘उज्यालो रोएपछि’, राधिका दाहालको ‘पागल आमाहरू’, सीता कोइरालाको जीवन लास : अभाव कात्रोमा र सुन्दर (पुस्तकमा लामै लिस्ट दिइएको छ) आदि शीर्षकका कथाकृतिहरू र सम्बद्ध कथाकारका बारेमा केही विशेष जानकारी प्राप्त नभए पनि नवचेतनावादी कथाधाराको पछिल्लो समयका र उत्तरवर्ती चरण वा समसामयिक धाराका उपर्युक्त कथाकार र तिनका कथाकृतिले पनि नेपाली कथाको विकासमा उल्लेखनीय योगदान पुर्याएका छन् । अत: यी कथाकार र तिनका कथाकृतिको योगदानलाई पनि बिर्सनु हुँदैन ।’ यिनै नामबाट महिला जति नाम छानी अनुच्छेदको थोरै अंश काटेर ‘नेपाली साहित्य परम्परा र प्रवृत्ति’ शीर्षक पुस्तकमा जस्ताको तस्तै उल्लेख गरेको पाइए पनि पादटिप्पणीचाहिँ दिइएको छैन । यसरी कथाकार को हो, उसको लेखाइ कस्तो छ अनि ती कथाकृतिहरू कस्ता छन् भन्नेसमेत जानकारी नभएको आपैंmले उल्लेख गरी तिनै कथाकृतिले नेपाली कथाको विकासमा उल्लेखनीय योगदान पुर्याएका छन् भन्नुले सम्बन्धित विद्वान्हरूको अध्ययन प्रक्रियालाई छर्लङ्ग पारेको छ । रजनी ढकालले ‘जुही’ (३९/२, २०६९) पत्रिकामा भारती खरेलको ‘कुमारी आमा’ लगायत अन्य थुप्रैका ‘उपन्यासमा महिलाका प्रजनन अधिकार र मातृत्वका विषयमा सशक्त आवाज उठाइएको’ उल्लेख गरेकी छन् । सोही लेखमा ‘नारीका साहस, आत्मविश्वास, आत्मनिर्णय गर्ने क्षमता, कमाउन र सङ्घर्ष गर्न सक्ने खुबी, अन्यायका विरुद्ध उठने र जुझारु हुने स्वभाव’ भएका पात्रका नाम लिने क्रममा पारिजातको ‘अन्तर्मुखी’ उपन्यासकी प्रमुख सहभागी सरलालाई विद्रोही चरित्रका रूपमा चित्रण गरेको पाइन्छ । यही लेख ‘दोभान’ पत्रिकामा पुन: प्रकाशन गर्दा उल्लिखित वाक्यहरू जस्ताको तस्तै राखिएको छ । जबकि, भारती खरेलको ‘कुमारी आमा’ (२०५१) उपन्यासमा उल्लिखित व्याख्या विश्लेषणअनुरूपका सन्दर्भ पटक्कै छैनन् । यसै उपन्यासको भूमिकामा रमा शर्माद्वारा लिखित अंशले यसको पुष्टि गर्छ : ‘शीर्षकले पाठकलाई एकथोक सोच्न लगाउँछ तर कृति पढेपछि अर्कै परिवेशमा पुर्याउँछ । हाम्रो सामाजिक रीतिथितिअनुसार ‘कुमारी आमा’ ती व्यक्ति हुन् जसले सामाजिक विकृतिको सिकार बनेर अविवाहित अवस्थामा नै आमा बन्न हुनुपर्ने हुन्छ । भारतीजीको कुमारी आमा भने यस्ती नारी हुन् जो पुरुषद्वारा सिन्दूर हालिएर पनि जीवनभर कुमारीकै रूपमा बस्न बाध्य छन् ।’ विष्णुराज आत्रेयद्वारा ‘नेपाली साहित्यकी प्रतिभा भारती खरेल’ (२०६०) कृतिमा ‘हिजोआजजस्तो बिहे गर्नुभन्दा पहिले नै पेट बोकेर अनीप्सित आमा बन्न पुगेका समाजका विकृतिको प्रतिनिधित्व गर्ने चेलीको जस्तो परिचय दिन्नन् यस उपन्यासकी कुमारी आमाले ।... ’ भन्ने भनाइले पनि यस उपन्यास उक्त पुस्तकमा चर्चा गरेजस्तो नभएको पुष्टि हुन्छ । त्यस्तै पारिजातको ‘अन्तर्मुखी’ उपन्यासकी सरला ढकालले चर्चा गरेजस्तो ‘नारीका साहस, आत्मविश्वास, आत्मनिर्णय गर्ने क्षमता, कमाउन र सङ्घर्ष गर्न सक्ने खुबी, अन्यायका विरुद्ध उठने र जुझारु हुने स्वभाव’ भएकी सहभागी होइन । ‘गोरखापत्र’मा प्रकाशित ‘उत्साहप्रद बन्न सकेन साहित्य’ (२०७२ चैत २७) शीर्षक लेखमा ज्ञानु अधिकारीले प्रोल्लास सिन्धुलीयको ‘टाउको नभएको तस्बिर’, प्रमोद प्रधानको ‘उदास शनिवार’लाई २०७२ सालको उल्लेखनीय कवितासङ्ग्रहका रूपमा उल्लेख गर्दै हरिमाया भेटवालको ‘बाटो खोज्दै बाटोमा’ शीर्षक कवितासङ्ग्रहलाई कथा सङ्ग्रहका रूपमा तथा निरूपा प्रसूनको ‘तिम्रो लोग्ने र म’ शीर्षक कथासङ्ग्रहलाई २०७२ सालका उल्लेखनीय कथासङ्ग्रहका भनी चर्चा गरेको पनि पाइन्छ । प्रोल्लास सिन्धुलीयको ‘टाउको नभएको तस्बिर’ कवितासङ्ग्रह नभएर लघुकथासङ्ग्रह हो भने प्रमोद प्रधानको कवितासङ्ग्रहको शीर्षक ‘उदास शनिबार’ नभएर ‘एक उदास साँझ’ हो । अनि हरिमाया भेटवालको ‘बाटो खोज्दै बाटोमा’ कथासङ्ग्रह नभएर कवितासङ्ग्रह हो भने निरूपा प्रसूनको ‘तिम्रो लोग्ने र म’ २०७२ सालमा नभई २०७१ सालमा छापिएको हो । अधिकारीद्वारा उल्लिखित मिथ्याङ्कहरू सर्सती हेर्दा सामान्य त्रुटिजस्ता देखिए पनि ‘उल्लेखनीय’ शब्दले हावादारी चर्चा गरेको स्पष्टै हुन्छ । त्यस वर्षभरि प्रकाशित सम्पूर्ण कृति पढेर एकअर्कामा तुलना गरिसकेपछि मात्र उक्त कृतिलाई ‘उल्लेखनीय’, ‘उत्कृष्ट’, ‘विशिष्ट’जस्ता अनेक विशेषण दिन सकिन्छ । कृतिको शीर्षक नै ठीक नलेखी, कृति कुन विधाको हो भन्नेसमेत थाहा नपाई चर्चा गर्नु पनि हावादारी विश्लेषण नै हो । एक वर्षकै सेरोफेरोमा प्रकाशन भई अनेक व्यक्ति मार्फत सामाजिक सञ्जालको भित्तामा घुमिरहेका कृतिको समेत यसखाले हावादारी विश्लेषण गरेपछि त सक्किगो नि !
श्रावण २९, २०७३
http://kantipur.ekantipur.com बाट साभार
No comments:
Post a Comment