Thursday, November 17, 2016

‘साहित्य सेवा गर्नेलाई व्यापारी भन्न मिल्छ ?’ — नरेन्द्रराज प्रसाईं

पदक–पुरस्कार पसल

लाइन लगाएर पगरी बाँड्ने नइ जोडी



घरमै खटनपटन मिलाउँदै छन्, त्रिमूर्ति निकेतनका सदस्य–सचिव नरेन्द्रराज प्रसाईं । फोनमा बधाई दिएका छन्, फोनमै धन्यवाद लिएका छन् । उनको हातेफोनले पटक्कै आराम पाएको छैन । यसपटक झन्डै तीन सय जनालाई कार्यक्रममा निम्ता पठाउने उनको तयारी छ । सबैका नाम प्रिन्ट आउट भइसकेका छन् । उनी बन्दोबस्ती मिलाउँदै छन्, “कुपन नछुटोस्, डबल नपरोस् ।”

यसरी हूल बाँधेर पदक, पुरस्कार र पगरी दिलाउनमा नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईं (नइ) दम्पती कहलिइसकेको छ । यसअघि नइकै नेतृत्वमा १३ असार ०७१ मा ७ सय ४० जनाले यसै गरी भानुभक्त द्विशतवार्षिकी पुरस्कार पाएका थिए भने १५ कात्तिक ०६७ मा ४ सय ५० जनाले देवकोटा शताब्दी पदक । हरेक कार्यक्रममा आधादेखि एक दर्जन पुस्तक विमोचन भएका थिए ।

जम्बो टोलीलाई पुरस्कार दिने नइले लेखक पुष्कर लोहनीलाई भने भानुभक्त पुरस्कारको खबर पनि दिएन, कार्यक्रममा पनि बोलाएन । बरू, खुसुक्क प्रमाणपत्र ‘होम डेलिभरी’ गरिदियो । “एक महिलाले झोलामा राखेर ल्याइछन् । प्रमाणपत्र हेरेर म त छक्क परेँ,” उनी हाँस्छन्, “फिर्ता लैजाऊ भनेर फोन गरेको थिएँ । हुन्छ, हुन्छ भने, अहिलेसम्म आएर लगेका छैनन् ।” रमाइलो प्रसंग के भने भानुभक्त पुरस्कार पाउने लोहनी भानुभक्तलाई आदिकवि नै मान्दैनन् । 

बाहिर हेर्दा ‘पुरस्कार’ देखिए पनि त्यसलाई नइ दम्पतीको ‘व्यापार’ मात्र मान्छन् लोहनी । “आफैँले उचालेर राष्ट्रकवि बनाएका माधव घिमिरेलाई खसाल्न शताब्दी पुरुषको नाटक मञ्चन गरिएको छ,” उनको आक्रोश छ, “अहिलेको जमानामा आलुको भाउमा तक्मा बाँड्नु राजा–महाराजाकै नक्कल हो ।”
त्यतिबेला भानुभक्त प्रज्ञा पुरस्कार १६, भानुभक्त पुरस्कार १ सय ७६, भानुभक्त स्वर्ण पदक ५ सय ५, भानुभक्त काव्य पुरस्कार २४, भानुभक्त निबन्ध पुरस्कार १० र भानुभक्त चित्रकला पुरस्कार ९ जनाले पाएका रहेछन् । पुरस्कार छनोट कसरी भयो ?

नारायणी अञ्चल संयोजक रहेका कवि भूपिन व्याकुलले नै चाल पाएनन् । स्मरणीय के छ भने नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्यो कार्यक्रमका लागि एक करोड रुपियाँ छुट्याएको थियो । ७० वर्ष नाघेका १ सय ८० साहित्यकारलाई जनही १० हजार रुपियाँको भानुभक्त पुरस्कार दिएको आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समितिका कार्यकारी रहेका नरेन्द्रको दाबी छ ।

अध्ययन/अनुसन्धानमा खर्चनुपर्ने जनताको करको रकम सबैको प्यारो बन्ने धुनमा पदक बाँडेर सकेको भनी त्यतिबेला नइको आलोचना पनि भयो । तर, सरकारले मागेजति पैसा दिने भएकाले नइ जोडीले पदक बाँड्न छाडेको छैन । नरेन्द्रकै अनुसार सरकारले विश्व नारी नेपाली साहित्य सम्मेलनका लागि २० लाख रुपियाँ दिएको थियो भने देवकोटा शताब्दी पदकका निम्ति भने माधवकुमार नेपालको सरकारले १६ लाख २५ हजार र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारले १० लाख रुपियाँ दिएको थियो ।

“सत्यमोहन शताब्दी पदकका निम्ति भने सरकारी सहयोग छैन,” उनी भन्छन्, “त्यसका लागि नइ प्रकाशन र त्रिमूर्ति निकेतनको आन्तरिक कोषबाटै १० लाख रुपियाँ छुट् याएका छौँ ।” 

नइले दिने पगरी पनि अनौठा नै छन् । १६ र १७ जेठ ०७१ मा विश्व नारी नेपाली साहित्य सम्मेलनताका वानीरा गिरीलाई पाँच लाख नगदसहित ‘विश्व नारी नेपाली साहित्य रत्न’ दिएको थियो । त्यस पदक पाएयता वानीरा गिरी सार्वजनिक जीवनमा देखिएकी छैनन् । 

निजी संस्था भए पनि नेपाली साहित्यमा यस्ता ‘बिग बजेट’का कार्यक्रम ल्याइरहन्छन् नरेन्द्र–इन्दिरा । चाँडै प्रेमराजेश्वरी, गोमा र पारिजातको त्रिनारीरत्न स्मारक बनाउने अनि नेपाली साहित्य पढाउने नेपालका १ सय ५ र भारतका ७० वटा कलेजका प्राध्यापक सम्मेलन गर्न लागेको उनीहरूको दाबी छ । 
नइ जोडी बाँधिएको दुई दशकयता नइ प्रकाशन (०५२) र त्रिमूर्ति निकेतन (०६१) मार्फत आएका पदक, पुरस्कार, पगरी र पुस्तकको कुनै लेखाजोखा छैन । अहिलेसम्म नइले पाँच करोड रुपियाँ बाँडिसकेको छ भने दुई हजार जना पुरस्कृत भइसकेका छन् ।

विभिन्न नाममा पाँच हजारदेखि पाँच लाख राशिसम्मका २८ वटा पुरस्कार छन् । ती पुरस्कारका सबभन्दा ठूला दाता खनुपरुदे (रामबाबु) प्रसाईंले ९५ लाख ६१ हजार रुपियाँ दिएका छन् भने कीर्तिनिधि विष्ट, रामप्रसाद उप्रेती, रानु बराललगायत ११ जनाले त्यसमा लाखौँ थपिदिएका छन् । यी सबै पुरस्कारका अध्यक्ष पत्नी इन्दिरा र सदस्य–सचिव नरेन्द्र छन् । “त्रिमूर्ति र नइबाहेकमा नबस्ने भनेर राजीनामा दिएका हौँ,” इन्दिरा भन्छिन्, “तर, पुरस्कारदाताले जे गरे पनि आफैँले गरिदिनु भनेपछि अलपत्र पारिदिनु भएन ।” 

नेपाल प्रज्ञा–प्रतिष्ठानको अस्तित्व स्वीकार गर्दैन नइ । बरू त्यहाँका तलबी प्राज्ञ र विश्वविद्यालयका प्राध्यापकहरू नइ अन्तर्गत काम गरिरहेका देखिन्छन् । वासुदेव त्रिपाठी, मोदनाथ प्रश्रित, महादेव अवस्थी, राजेन्द्र सुवेदी, चूडामणि बन्धु, केशव सुवेदी आदि हस्ती यसका उदाहरण हुन् । देवकोटा शताब्दी महोत्सवका संयोजक रहेका प्रश्रित निजी भईकन पनि नेपाल प्रज्ञा–प्रतिष्ठानजस्तै काम गरेर विश्वसनीय साहित्यिक संस्थाको गरिमा राखेको भनी नइको मुक्तकण्ठले प्रशंसा गर्छन् । “नइको अरू खेतीपाती केही छैन । साहित्य र संस्कृतिलाई नै खेतीपाती बनाएका छन्,” उनको मूल्यांकन छ, “मलाई पनि कहिलेकाहीँ सल्लाहकारका रूपमा बोलाउँछन्, कार्यक्रममा बोलाउँदा आतिथ्य या सभापतित्व गरिदिन्छु, पुस्तकमा भूमिका पनि लेखिदिन्छु ।”

प्रश्रितको प्रशंसा पाए पनि नइका पुरस्कार मानक भने बन्न सकेका छैनन् । संस्थाको विश्वसनीयता, गरिमा र सामाजिक स्वीकार्यता पनि देखिँदैन । राम्रो लेखेर भन्दा पनि रद्दी भए पनि आफ्नो मान्छे बनाउन पुरस्कार दिइएका देखिन्छन् । “सबैले मानेका माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी, इन्द्रबहादुर राई, लीलबहादुर क्षत्री आदि भलादमी पनि चुकेका छन्,” एक साहित्यकार भन्छन्, “भानुभक्त, देवकोटा, लेखनाथ बाँचेका भए नइको पासोमा पर्थे नै ।” 

एकपटक घटराज भट्टराईले नइको पुरस्कार पाएछन् । तारानाथ शर्माले बधाई दिएछन् । उनले ‘आधा बधाई मात्र दिनूस्’ भनेछन् । त्यसको अर्थ खाममा आधा मात्र रकम रहेछ । तैपनि, कवि–लेखकहरू पुरस्कार लिनकै लागि पछि लागेका छन् । तिनै झुन्डलाई नइ भूपाल अर्चना लेखाउन सफल भएका थिए ०५१ मा । त्यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका पिता भूपालमानसिंह कार्कीका बारेमा दर्जनौँ कविता लेखिएको छ । 

नइकै भनाइमा २५ मुलुकमा सशक्त सञ्जाल छ, १४ अञ्चल र ७५ जिल्लामा संगठन । वर्षमा २५ थान किताब छापिएको छ । “हाम्रो अक्षयकोषमा तीन करोड छ । तर, त्यो मेरो पैसा होइन, अर्काले दिएका हुन्,” नरेन्द्र भन्छन्, “बर्सेनि १० लाखदेखि २० लाखसम्म पुरस्कारका रूपमा खर्च गरेका छौँ ।” 

विडम्बना † पुरस्कार भनेपछि मरिहत्ते हाल्ने कवि–लेखकहरू न नैतिकताको प्रवर्तक बन्न सकेका छन्, न लेखकीय स्वाभिमान र गरिमा उँचो पारेका छन् । पुरस्कार या पदकको प्रयोजन, चयन विधिमा ख्याल राख्न सकेको पनि देखिँदैन । “कतिपय संस्थाले साहित्यलाई अतिरञ्जित महत्त्व दिएका छन् । तर, गतिलो साहित्य लेखिएको छैन । पुस्तक पढ्न थाल्यो भने पाँच पाना मेलो सर्दैन,” लेखक खगेन्द्र संग्रौला भन्छन्, “सबै नेपालीले रोजगारी पाउने हो भने ९९ प्रतिशत कवि/लेखक घट्छन् । जंगलमाराहरूलाई कवि/लेखक मान्नुपर्ने छैन ।”

जबरजस्ती प्रभाव देखाउने, आफूप्रति अनुगृहीत गराउने या आफ्नो कोटरी बढाउने हिसाबले मात्र पदक, पुरस्कार र पगरी दिइन थालेको टिप्पणी गर्छन्, मानवशास्त्री सुरेश ढकाल । “केही अपवाद छाडेर अधिकांश पदक, पुरस्कार र सम्मानको उद्देश्य लोयल्टी बाइ गर्नु देखिन्छ,” उनी भन्छन्, “फलानो पुरस्कार पाएको मान्छे भनेर समाजले सम्मान गरेको देखिँदैन । पुरस्कार त फगत आफ्नो घरको भित्तामा सम्मानपत्र टाँस्ने र परिवारमा धाक लगाउने आत्मरति मात्र भएको छ ।” 



दुई लेखिका र एक पुरुष सहयोगी खाममा नाम टाँस्न व्यस्त छन् । त्यसमा खामिएको छ– निमन्त्रणापत्र, झोलासहित आठ पुस्तक उपहार र विशेष जलपानका कुपन । सन्दर्भ हो, १ मंसिरमा अम्रपाली ब्याङ्केट, भाटभटेनीमा हुने १२औँ त्रिमूर्ति दिवस । कार्यक्रममा भागीरथी श्रेष्ठले नेपाली साहित्य नारीरत्न, मुकुन्द शर्माले लेखनाथ काव्य पुरस्कार, अशेष मल्लले बालकृष्ण सम पुरस्कार र मञ्जुलले देवकोटा काव्य पुरस्कार पाउनेछन् । त्यसका अतिरिक्त आकर्षण पनि छ, २ सय ५ जनालाई सत्यमोहन जोशी शताब्दी पदक । पदक पाउने लामो सूचीमा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमदेखि बालिका गिरी, ब्रह्मप्रिय प्रेमस्वरूप हुँदै सुरबहादुर श्रेष्ठसम्म छन् ।


=======================================

यति धेरै कवि/लेखकलाई हूल बाँधेर पदक/पुरस्कार दिनुपर्ने कारण के छ ?
एकपटकमा एक जनालाई मात्रै पदक दिने हो भने २ सय ५ दिन लाग्छ । हामीसँग त्यति समय पनि छैन, त्यसो गर्न पनि सक्दैनौँ । बरु, धेरै कवि/लेखक/कलाकार एकै मञ्चमा भेला हुँदा पर्व आएजस्तै हुन्छ । एकले पदक पाएको अर्काेले थाहा पाउँछन् । बधाई साटासाट गर्छन् । रमाइलो गर्छन् । उनीहरु गौरवान्वित पनि हुन्छन् । भानुभक्तको कार्यक्रममा ७ सय ४० जनालाई यसै गरी बाँडेका हौँ । संसारमा यस्ता काम विरलै हुन्छन् ।

सत्यमोहन शताब्दी पदक पाउने वामदेव गौतमको साहित्यिक योगदान के हो ?
वामदेवले सत्यमोहन जोशीलाई मन्त्रिपरिषद्बाट शताब्दी पुरुष घोषणा गर्ने प्रयास गरे । वयोधा अस्पतालमा औषधोपचार गराउँदा १२ लाख छुट् याइदिए । मन्त्री छँदा प्रकाशमान सिंह र नरहरि आचार्यले पनि सहयोग गरेकै हुन् । तर, हाम्रो प्राथमिकतामा वामदेव परेका मात्र हुन् ।  

पदक, पुरस्कार हेर्दा तपाईंको संस्था संस्कृति मन्त्रालय र प्रज्ञा–प्रतिष्ठानभन्दा ठूलो देखिन्छ । यसको बजेट र सांगठनिक संरचना के छ ?
अहिलेसम्म हामीले पुगनपुग तीन करोडको अक्षयकोष जम्मा गरेका छौँ । आफ्नै घरमा अफिस छ । भाडा लिएका छैनौँ । हामीले पनि पारिश्रमिक लिएका छैनौँ, अप्ठ्यारो पर्दा बरु गोजीबाटै झिकेका छौँ । तलबी कर्मचारी कोही छैन । 

यति राम्ररी संस्था चलाउने मान्छे प्रज्ञा–प्रतिष्ठान किन नगएको ?
प्रज्ञा–प्रतिष्ठानमा मजस्तो एडिक्टेड मानिसको काम छैन । त्यहाँका मानिसलाई कुर्सीमोह छ, साहित्यमोह छैन । म त किङमेकर हुँ । नइकै सिफारिसमा माधव घिमिरेले राष्ट्रकवि पगरी पाए । गोरखा दक्षिणबाहु पहिलो पाए । पाँच लाखको सार्कस्तरीय पुरस्कार पाए । सत्यमोहन जोशीले पृथ्वी प्रज्ञा पुरस्कार पाए । सरकारले मात्र एकपटक १० करोडको अक्षयकोष राखिदिने हो भने संस्कृति मन्त्रालयको काम हामी गरिदिन्छौँ । एकेडेमी त खारेज गरिदिए पनि हुन्छ । 

शताब्दी पुरुष त सत्यमोहनभन्दा जेठा माधव घिमिरे हुनुपर्ने होइन ?
माधव घिमिरे जेठा भए पनि सत्यमोहनको बहुआयामिक व्यक्तित्व छ । भारतमा महात्मा गान्धी र जवाहरलाल नेहरूलाई मृत्युपश्चात् शताब्दी पुरुष भनियो । हामीले निरन्तरता र योगदानका हिसाबले जीवित अवस्थामै सार्वजनिक जीवनका जेठा व्यक्तित्वको सम्मान गरेका हौँ । 

एकैथरी मान्छेलाई तेहेराएर पुरस्कार किन ? 
उपरीमाथि थुपरी हामी कहिल्यै गर्दैनौँ । भानुभक्त, देवकोटा र सत्यमोहन पदकको सन्दर्भ बेग्लै हो । पारिजातको जीवनकथा निकालेपछि वानीरा गिरीसित मेरो बोलचालै थिएन । उनले विश्व नारीरत्न पाइन् । मैले ०४८ सालमा मोती पुरस्कार पाउँदा हुटिङ अनि चरित्रहत्या गर्नेले पनि पाएका छन् । म राजावादी भए पनि गणतन्त्रवादीलाई दिएको छु । 

पुरस्कारका लागि लेखकहरु कत्तिको धाउँछन् ?
कतिपय ‘मर्नुअघि पुरस्कार पाए हुन्थ्यो’ भनेर आउँछन् । कतिपय ‘पैसा तँ खा, पुरस्कार मलाई दे’ भन्छन् । कतिपय ‘पैसा मै हाल्छु, सम्मान दे’ पनि भन्छन् । तिनलाई हामी मान्यता दिँदैनौँ । त्यसैले त कसैले औँला ठड्याउन सकेका छैनन् । 

पुरस्कारका नाममा व्यापार गरिरहेको आरोप पनि छ नि ?
साहित्य सेवा गर्नेलाई व्यापारी भन्न मिल्छ ? हामी त नाफा नलिईकन काम गरिरहेका छौँ । १ सय ७५ वटा किताब नि:शुल्क बाँडिरहेका छौँ । यो पेसा होइन, प्रेम हो ।
 


http://nepal.ekantipur.com बाट साभार 
प्रकाशित: कार्तिक ३०, २०७३


No comments:

Post a Comment