Tuesday, January 24, 2017

साहित्यिक डकैतीको डरलाग्दो उदाहरण - डा .ऋषिराज बराल

प्रकाशनका विविध माध्यमहरूमा बेलाबेलामा अमुकले अमुकको कथा चोर्यो, अमुकले अमुकको उपन्यास चोर्यो, अमुकले अमुकको कविता जस्ताको तस्तै अनुवाद गरेर आफनो भनेर छपायो जस्ता टीकाटिप्पणीहरू पडढ्न र सुन्न पाइन्छ । यस सन्दर्भमा सिकारु र मौसमी लेखकको कुरै छाडौँ मैनाली, विपी कोइराला, रमेश विकल, धुव्रचन्द्र गौतमसमेतको नाम जोडिएको छ । 

जुनसुकै भूगोल र परिवेश अथवा जतासुकैको मान्छे किन नहोस्, मान्छेले भोगेका सुखदुख, पीडाहर्ष, भावावेग र आक्रोसको अनुभूति एकैएकै खालको हुन्छ । घटनासन्दर्भ फरक भए पनि राजनीतिक, आर्थिक र सांस्कृतिक पीडाबोध र विद्रोहको भावचेतना उस्तैउस्तै खालको हुनेगर्छ । यस्तो बैला कुनै रचना पढ्दा अमेरिका, रूस, चीन, भारतकै घटनासन्दर्भ भए पनि आफ्नै समाजको आफ्नै वरिपरिको घटनाजस्तो, आफूले भोगेको सन्दर्भझैँ लाग्छ । रचनामा व्यक्त विषय, त्यसमा उठाइएका पीडा, आक्रोस र उत्साहले मनमुटुलाई छुन्छ र स्रष्टाले त्यसलाई आफ्नो समाजसित जोडेर कलारूप दिन्छ । त्यहाँ साधारणीकरण र प्रारूपीकरणको प्रक्रियाले मूर्त रूप लिन्छ । अनि त्यो सिर्जना त्यस समयको यथार्थको प्रतिबिम्बन हुन्छ । 

कुनै रचनामा भएको ठाउँ र पात्रको नाम फेरेर अरू कुरा हुबहु राखेर आफ्नो बनाउने कुरामा प्रश्न उठाउन सकिए पनि प्रभाव ग्रहण गर्नु र अनुभूतिलाई सामन्यीकरण गर्नुलाई त्यति आपत्तिको विषय मान्नु हुँदैन । कतिपय भोगाइ र अनुभूतिहरू समान हुन्छन्, ती सार्वकालिक र सार्वभौम प्रकृतिका हुन्छन् । अनुभूतिको सामान्यीकरण, प्रभाव र चोरी र डकैतीलाई एउटै आँखाले हेर्नु उचित हुँदैन । जस्ताको तस्तै अनुवाद भयो भने चाहिँ टिप्पणी उठ्नु/उठाउनु स्वाभाविक हुन्छ ।

कथा, कविता भनौँ सिर्जन विधामा प्रभावको कुरालाई स्वाभाविक र सामान्य भन्न सकिए पनि लेख-समालोनामा चाहिँ यो कुरा मेल खाँदैन । यो फरक पक्ष हो । जब समालोचना र लेखका नाममा अरूको लेख र समालोचनाको अनुच्छेदका अनुच्छेद, पन्नाका पन्ना सारेर अनि अनुवाद गरेर सन्दर्भ र सङ्केतसम्म उल्लेख नगरी ‘कपी एन्ड पेस्ट’ गरिन्छ र लेखकका रूपमा आफनो नाम जोडिन्छ, यो चाहिँ आपत्तिजनक नै हुन्छ ।

खासगरेर कसैले कसैको लेखनबाट अनुच्छेदका अनुच्छेद लिन्छ, पन्नाका पन्ना नै लिन्छ र अमुकको लेख पनि भन्दैन, उद्धरण चिन्ह पनि दिँदैन र सङ्केतसम्म नगरी ‘कपी एन्ड पेस्ट’ गरेर आफ्नो लेख बनाउँछ, त्यस्तै कुनै विदेशी समालोचकको रचनाबाट पन्नाका पन्ना अनुवाद गरेर उल्लेख नगरी आफनो नाममा बनाउँछ, उद्धरण चिन्ह पनि राख्दैन, फुट नोट, इन्ड नोट, केही पनि देखाउँदैन, त्यतिबेला चाहिँ उसको नियतमाथि प्रश्न उठ्नु/उठाउनु स्वाभाविक हुन्छ । यो एकदमै बेइमानीपूर्ण कार्य हो । एक हिसाबले यो चोरी मात्र होइन, डकैती नै हो ।

आफूले रचनामा प्रस्तुत गरेको तर्क र विश्लेषणलाई पुष्टि गर्न उद्धरणहरू राखिन्छ, विश्लेषणमूलक र शोधमूलक रचनामा त झन् यसको आवश्यकता पर्छ । आवश्यक पर्दा लामालामा उद्धरणहरू पनि राख्ने गरिन्छ/गरिएको छ, यो एउटा पद्धति र प्रचलन नै हो । यसरी प्रस्तुत गर्ने पनि तरिका छन्, लामा र छोटा उद्धरणहरू मिलान गर्ने शोध विधिका आफ्नै तौरतरिका छन् । उद्धरण लिनु, कसैको भनाइ राख्नु, टिप्पणीको विषय होइन । सो उद्धरण कसको रचनाबाट लिइएको हो—लेखक, रचना, पुस्तक, प्रकाशन संस्था, मिति र पन्न्नासमेत प्रस्ट जानकारी हुने गरी इमानदारीका साथ खुलाउनुपर्छ, अङ्क र सन्दर्भद्वारा सङ्केत गर्नुपर्छ । पाठकका लागि सबैभन्दा सहज तरिका फुटनोट हो तापनि लामा उद्धरण राख्नुपर्दा इन्डनोट राख्नु उचित हुन्छ । आजभोलि ‘पेटे पद्धति’ प्रयोग गर्ने गरिएको छ, यो त्यति वैज्ञानिक पद्धति होइन । जुनसुकै पद्धति अँगाले पनि लेखकले प्रयोग गरेका सामग्रीहरू, अनुच्छेद र हरफहरू प्रस्ट हुने गरी देखाउनु पर्छ । ‘सन्दर्भ ग्रन्थ’ को सूची उल्लेख गर्ने र सबै अनुवाद गरेर आफूले लेखेको हो भनिन्छ भने त्यसलाई अनुवाद भन्नु नै उचित हुन्छ । 

आजभोलि पैसा दिएर स्नातकोत्तर र एम्.फिलका थेसिसहरूदेखि लिएर पियच्.डी.का थेसिसहरू लेख्ने/लेखाउने दुई नम्बरी धन्धा चलेझैँ, समालोचना, कार्यपत्र आदिमा पनि यो दुई नम्बरी धन्धा—‘कपि एन्ड पेस्ट’ को व्यापार निकै फस्टाएको देखिन्छ । 

मार्क्सवादीहरू इमानदार हन्छन्, नैतिकवान हुन्छन् भनिन्छ र हुनुपर्छ, त्यसैले त मार्क्सवादी हुनुको अर्थ छ । तर आफूलाई खाँटी क्रान्तिकारी र मार्क्सवादी भन्नेहरू नै अरूको रचना ‘कपि एन्ड पेस्ट’ गरेर र अनुवाद गरेर जसरी आफ्नो लेखन भनेर पत्रपत्रिकामा छपाइरहेका छन्, पुस्तक प्रकाशित गरिरहेका छन्, यो बडो उदेकलाग्दो अवस्था हो । निनु चापागाईँ र ईश्वरचन्द्र ज्ञवालीले यस्तै उदेकलाग्दो काम गरेका छन् । 

१. निनु चापागाईं, सन्दर्भ, ‘सबाल्टर्न अध्ययन : एक विवेचना’


निनु चापागाईँ नेकपा (माओवादी केन्द) का पोलिटब्युरो सदस्य र मार्क्सवादी समालोचक भनेर परिचित छन् । मार्क्सवादी लेखनमा अन्तर्वस्तु र रूपको चर्चाका सन्दर्भमा उनले कसरी रूसी समालोचक आब्नेर जिसको पुस्तक ‘फाउन्डेसन अफ मर्क्सिस्ट एस्थेटिक्स’ बाट जस्ताको तस्तै अनुवाद गरेर आफ्नो भनाइका रूपमा राखे भन्ने कुरा पहिले नै मार्क्सवादी चिन्तक चैतन्यले ‘मार्क्सवादी कलादृष्टि र समीक्षा (२०५४ ) मा उल्लेख गर्नुभएको छ । उहाँले मूल लेखकको अङ्ग्रेजी पाठ पस्तुत गरेर अमुक लेखकको अमुक पुस्तकबाट अनुच्छेद अनुवाद गरेर निनुले यसरी आफ्नो मौलिक भनाइका रूपमा राखेका छन् भनेर प्रस्ट पार्नुभएको छ । उहाँले लेख्नुभएको छ : “निनुले ए.जिसको भनाइलाई उद्धरणका रूपमा राखेको भए कुरा अर्कै हुन्थो । परन्तु, उनले त्यहाँ त्यो भनाइलाई पूरै सारेर आफ्नै भनाइका रूपमा पेश गरेका छन् । यसबाट सबैभन्दा पहिलो कुरा त आफूलाई वामपन्थी, प्रगतिवादी मौलिक चिन्तक ठानने निनु कति यान्त्रिक र लेखकीय नैतिकता र इमानदारीका विरुद्ध जाँदा रहेछन् भन्ने कुराको सहजै पुष्टि हुन्छ ।” (मार्क्सवादी कलादृष्टि र समीक्षा, २०५४),पृ. ४९/५० ।

यो त आजभन्दा करिब २४ वर्ष अगाडिको कुरा थियो, तर वर्तमान यो भन्दा पनि रोचक छ । फेरि पनि निनुबाट त्यस्तै प्रवृत्ति दोहोरिएको छ । उदाहरणका रूपमा पहिले बेदना साहित्यिक पत्रिका (३९:२,२०६९) मा छापिएको र अहिले साझा प्रकाशनद्वारा प्रकाशित 'पूर्ववाद र सइदेली विचार' समालोचनासङ्ग्रमा समाविष्ट रचना ‘सबाल्टर्न अध्ययनः एक विवेचना’ लाई लिन सकिन्छ । 

निनुको ‘सबाल्टर्न अध्ययनः एक विवेचना’ लेख अगाडि राख्नुपर्छ र नरहरि कविराजको पुस्तक ह्वाट इज पोस्टमोडर्निज्म ? मा समाविष्ट लेख ‘अन सबाल्टर्न स्टडिज’, एजाज अहमदको भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को प्रकाशन दि मार्किस्ट (२०११) मा प्रकाशित’ ‘अन पोस्ट मोडर्निज्म’ र विनय बहलको लेख ‘सिचुएटिङ एन्ड रिथिङ्किङ सबाल्टर्न स्टडिज फर राइटिङ वर्किङ क्लास हिस्ट्री’ पढ्नुपर्छ, अनि निनुको आफ्नो लेखन कति रहेछ र अनुवाद कति रहेछ, अर्थात् ‘कपि इन्ड पेस्ट’ कति रहेछ भन्ने कुरा थाहा हुन्छ । सो रचना पढेपछि मार्क्सवादी भनिएका समालोचकहरूले यस्तो पनि गर्दा रहेछन् भनेर जिब्रो निकाल्नुपर्ने स्थिति हुन्छ । 

व्याख्या र उद्धरण लामो हुने हुनाले उनले कसको पुस्तकबाट कति अनुवाद गरेर आफ्नो बनाए भनेर सबै उद्धरण प्रस्तुत गर्नु सम्भव छैन । नरहरि कविराजको पुस्तकबाहेक यी सामग्रीहरू इन्टर्नेटमा सहजै उपलब्ध हुने हुनाले चासो र रुचि राख्ने पाठकका लागि त्यति गारो पनि छैन । र पनि, थोरै मात्रमा भए पनि उदाहरण प्रस्तुत गर्नु आवश्यक हुन्छ । 

‘सबाल्टर्न अध्ययनः एक विवेचना’ मा निनुले ‘भ्रम छर्ने प्रयास’, ‘सबाल्टर्न अध्ययन र पृष्ठभूमि’, ‘सबाल्टर्न अध्ययन र यसको इतिहास’, ‘राष्ट्रवाद र सबाल्टर्न अध्ययन’, ‘किसान विद्रोहलाई हेर्ने दृष्टि’, ‘सबाल्टर्न अध्ययनको दोस्रो मोड’, ‘ग्राम्सीको नाममा ग्राम्सीकै विरोध’, ‘मार्क्सवादको विरोध’, ‘वर्गसङ्घर्षको अस्वीकृति’, ‘वस्तुगतताको उपेक्षा र मुक्तिदायी राजनीतिको परित्याग’, ‘राज्यवादको विरोध नवउदारवादको समर्थन’, ‘भिन्नताको राजनीति’, ‘सबाल्टर्न र प्रतिरोध’, ‘धर्म र साम्प्रदायिकताको समर्थन’ र अन्तिम कुरो’ उपशीर्षकहरूमार्फत यसको चर्चा गरेका छन् । माथि उल्लेखित तीनवटै विदेशी समालोचकहरूका रचनाबाट उद्धरण चिन्हबिना सन्दर्भ सङ्केतबिना अनुवादका अनुवादले पन्नाहरू भरिएका छन् । बढीभन्दा बढी नरहरि कविराज र बिनय बहलका रचनाहरूबाट अनुवाद गरिएको छ । 

नरहरिले आफ्नो लेख ‘अन सबाल्टर्न स्टडिज’ मा आरम्भमा इतिहास र पृष्ठभूमिको चर्चा गरेका छन् र ‘सबाल्टर्न स्टडिज एन्ड ग्राम्सी’, ‘प्लेस अफ पिजेन्ट राइजिङ्स इन हिस्ट्री’, ‘सबाल्टर्न स्टडिज न्यु फेज’ शीर्षकमा विषयवस्तुको व्याख्या गरेका छन् । उपशीर्षकमा सामान्य फेरबदल गरिएको छ । तर शब्दहरू सबै नरहरिकै छन् । 

निनुले आफ्नो पुस्तकको पृ. ७० को तेस्रो अनुच्छेदमा लेखेका छन् 
“बृटिस सरकारको काम गर्ने तरिका र .....असफल भए ।”

यसको अङ्ग्रेजी यस्तो छ : 

''The peasants were drawn into a war against the British Government, though they had no clear idea about its working and its nature. they knew fairly well about their immediate enemies, the Zamindaars, the money-landers and the indigo planters and they felt they were sufficiently prtepared to fight against them. Like were they were about the ramification of the eastablished order. They had no idea that the Zamindar and the planter were a part of the establishment and that the Government was behind them. S o when they came up against the armed might of the British Raj, their power failed.''

त्यसैगरी निनुले आफ्नो रचना ‘सबाल्टर्न अध्ययन : एक विवेचना’ को ‘दोस्रो मोड’ पृ.७६ को दोस्रो अनेुच्छदमा लेखेका छन् 
...“यस चरणमा आएपछि... हुन थाल्दछ ।” 
यसको मूल कथन नरहरिको लेखको ‘सबाल्टर्न स्टडिज न्यु फेज’ शीर्षकमा यस्तो छ : 

''In the new phase, there is a significant change in the group's attitude to Marxism . Guha's criticismof Marxism was from within (he insisted on the 'Gramscian approach'). In the new phase, it envolved into criticism of Marxism from without (from the angel of Foucault, Derrida and post-modernism)."

स्थानलाई ख्याल गरेर साना र थोरै उद्धरण मात्र प्रयोग गरिएको कुरा प्रस्ट पार्न चाहन्छु । 

त्यस्तै एजाज अहमदको लामो लेख ‘अन पोस्ट मोडर्निज्म’ को दोस्रो भागको शीर्षक ‘पोस्टमोडर्न इन इन्डिया’ हो र यसअन्तर्गत तेस्रो अध्यायमा अहमदले सबाल्टर्नबारे विश्लेषण गरेका छन् । निनुले आफ्नो पुस्तकको उपशीर्षक ‘मार्क्सवादको विरोध’ र ‘वर्गसङ्घर्षको विरोध’ उपशीर्षकअन्तर्गत जेजे लेखेका छन सबै नै अहमदको अनुवाद रहेछ भन्नुपर्ने हुन्छ । यहाँ चलाखीपूर्वक एकाध ठाउँमा अहमदको नाम लिए पनि जहाँ उनले पन्नाका पन्ना अनुवाद गरेका छन, त्यस ठाउँबाट अहमद हराएका छन् । यहाँ पनि लामो उद्धरण सम्भव छैन । 

आफ्नो लेखको ‘मार्क्सवादको विरोध’ अन्तर्गत पृ. ८२ मा निनु लेख्छन् :
“१९९३ मा छापिएको एउटा लेखमा...गर्न सक्तैन ।”

एजाज अहमदको लेखको अङ्ग्रेजी यस्तो छ : 

''In an article published in 1993, Dipesh Chakrawarty ascruibed this great change in the very nature of the original subaltarnist progectto, in his words, 'the interest that Gyatri Spivak and following her, Edwardsaid took in his project'. having thus identified the main influences behind the mutation , he also identifies the precise nature of the shift : from the project to 'write better'Marxist histories free of 'economic class reductionism' to an understanding that a 'critique of this nature could hardly afford to ignore the problem of universalism/eurocentrism that wad inherent in Marxist thought itself."

यस्ता थुप्रै अनुवाद-सन्दर्भहरू प्रस्तुत गर्न सकिन्छ, जुन यहाँ सम्भव छैन । 

निनुले ‘राज्यवादको विरोध’ ‘नवउदारवादको समर्थन’, ‘भिन्नताको राजनीति’,र अन्य कुराहरू विनय बहलको रचनाबाट लिएका छन् । प्राध्यापक बहलको यो लेख ‘सिचुएटिङ एन्ड रिथिङ्किङ सबाल्टर्न स्टडिज फर राइटिङ वर्किङ क्लास हिस्ट्री’ इन्टर्नेटमा पनि पाउन सकिन्छ र यो रचना आरिफ डिर्लिक, विनय बहल र पिटर ग्रानले सम्पादन गरेको पुस्तक हिस्टी-आफ्टर दि थ्रि वल्र्डस्, पोस्ट युरोसेन्ट्रिक हिस्टोरियोग्राफिज पुस्तकमा पनि यो रचना समाविष्ट छ । यो निकै लामो र मार्क्सवादी विश्लेषणमा आधारित महत्वपूर्ण लेख हो । निनुले यसबाट पनि पन्नाका पन्ना अनुवाद गरेका छन् । खासगरेर ‘कल्चर डिफ्रेन्स एन्ड दि न्यारेटिभ्स अफ ग्लोबल क्यापिटलिज्म’ र ‘पोलिटिक्स एन्ड दि पोलिटिक्स अफ हिस्ट्री’ बाट निनुले बढी अनुवाद गरेका छन् । 

निनुको रचनाको ‘भिन्नताको राजनीति’ उपशीर्षक अन्तर्गत पृ. ८८ र ८९ मा उनले लेखेका छन् : 
“सबाल्टर्न अध्ययन प्रकट हुँदा भारतमा...भिन्नता भेटिँदैन।"

विनय बहलको पुस्तकमा यस्तो छ :
''When subaltern studies first came into being, the people's movement on india being repressed. At that time speaking for oppressed people appeared to be an intellectual trend. By 1990 this was not the case, the subaltarnists voice had become the vpoce of 'differcences' only, leaving no hope for better future for the oppressed. Poor people in effect are now told that to be different (unequel excess to resources and ''indegions''culture) is natural; they should leave with it , celebrate it, and by no means try to change it."

अझ यो भन्दा रोचक अनुवाद निनुको पृ. ८९ मा वर्णित तलको भनाइमा पाउन सकिन्छ :
“इतिहासकार टम ब्रासले औँल्याएअनुसार...उनको धारणा छ ।”

यसको अंग्रेजी यस्तो छ :
Along similar lines, Tom Brass points out that recently the notion of the "Third World" has been reconstructed as an empowering form of "cultural differences".134 In this way, Brass explains, there is no need to perceive the "Third World" as alienated or exploited but merely as organizationally "other." Thus the economic differences between the "Third" and the "First" World are made invisible (with no need for explanation) by being declared as cultural differences; such differences, according to these new interpretations, should be celebrated. Brass writes, "The 'new' populist/'new' right discourse is accordingly a relativistic analytical framework in which it is possible to assert that the rich and powerful are simply culturally 'different' from the poor and powerless, and the economic 'difference' of the latter is not merely part of their culture but much rather a form of empowerment. Both the fact of economic 'difference' and its cause are thereby banished from this discourse".135

Brass points out that by explaining the differences as being empowerment, and by banishing the fact of economic differences, it is simpler to recategorize the rural population of the poor countries in a discourse, which the "new" right shares with the "new" populism, as "other"/ different. Once these poor people are recreated in the "new" discourses as "different" they automatically become the unknown and the unknowable. As is well known, such treatment of the "Third World" is nothing new; Brass reminds us that it has been the center of conservative philosophy for a long time.136 

त्यसैगरी ‘धर्म र साम्प्रदायिकताको समर्थन’ उपशीर्षकमा निनु पृ.९० लेख्छन् :
“यहाँनेर सबाल्टर्न अध्ययनले गर्ने गरेको...सिद्ध गर्न सक्तछ ।”

यसको अंग्रेजी यस्तो छ :
While promoting the notion of "difference" Subaltern Studies also emphasizes the idea of "resistance" though what is being resisted is not necessarily clear. As Carol Upadhaya stated in another context, "By interpreting all manner of things as resistance, from songs to petty theft, there is an inclination [in Subaltern Studies] to view systems of power as ineffective. " Another scholar, Paul Willis137 has shown that the "development of a counter-culture among working class youth does not necessarily lead to a radical consciousness, but may only reinforce [the existing] class status".138 This "tendency to trivialize the degradation experienced by subordinated groups by stressing their 'cultures' of resistance and the maintenance of social identity even under conditions of extreme exploitation, [indicates the] need for more careful exposition of what is meant by both power and resistance".139 

In the absence of explanations of existing power structures, the notion of resistance becomes jejune and may even narrow our understanding of history rather than expand it. The working masses struggle daily to make ends meet and improve their lives through various available means. Generally, poor people's starvation and near subsistence existence is regarded as natural (as does the World Bank), as a result of a culture of poverty, or (worse) as resistance (as promoted by recent ideologies) whenever they are able to survive their plight. With such thinking it is easy to convince ourselves and be convinced that poor people do not need help or money to improve their living conditions; they know how to be "efficient" managers of their lives and should "celebrate" their strength for survival. In this way capitalism can continue to justify its exploitative tactics without any sense of "guilt" or "social responsibility".140

माथि विनय बहलद्वारा सङ्केत गरिएको टिप्पणी–नम्बरलाई निनुले ब्रास, उपाध्याय, विलिस भनेर आफ्नो लेखमा पनि उल्लेख गरेका छन् । अर्थात् यिनको पनि अनुवाद गरेका छन् र पाठकका सामु आफूले पढेको भन्ने भ्रम दिएका छन् । हिन्दी पत्रिका दायित्वबोध मा प्रकाशित अभिनवको लेख, एजाज अहमद र नरहरिलाई छोडिदिने हो भने निनुले उल्लेख गरेका सन्दर्भहरू सबैजसो नरहरि कविराज, त्यसमा पनि मूलतः विनय बहलले उल्लेख गरेकासन्दर्भहरू छन् । मूल सन्दर्भ प्राप्त हुन नसके सेकेन्ड्री सन्दर्भ पनि प्रयोग गर्न सकिन्छ, गर्ने गरिएको छ । 

यसमा ' उधृतअमुक...' भनेर उल्लेख गर्ने गरिन्छ । अमुक पुस्तक उहज उपलब्ध छैन, मैले अध्यययन गरेको छैन । परातु मलाई आवश्यक पर्ने सामग्री अमुकले प्रयोग गरेको स्रोतबाट लिएको छु भनेर उल्लेख गर्नु इमानदारीपूर्वक लेखनको उदाहरण हो । तर धेरैजसोले आफूलाई पढक्कड ठह¥याउन अरूले प्रयोग गरेका सन्दर्भहरू आफैँले पढेजस्तो गरेर उल्लेख गर्नेगर्छन् । निनुले त्यसै गरेका छन् । निनु अथवा यस्तै अरूको कुरा होइन, आफूले नपढे पनि पढेजस्तो गरी सन्दर्भमा उल्लेख गर्ने काममा प्राडा. लेख्न रहर गर्ने विश्वविद्यालयका मास्टरहरू पनि पर्दछन् । यो सप्रमाण अनुभव हो । 

अहिले पुस्तक खोजीखोजी र पुस्तकालय धाईधाई पढ्ने पाठकहरू घटेका छन् । अध्ययनचिन्तनप्रति सामान्य पाठकमा मात्र नभएर बौद्धिक भनिएकाहरूमा समेत ह्रास आएको छ । एम.ए. एम.फिल. पियच्. डी. सबैतिर ‘कपि एन्ड पेस्ट’ चलेको बेला कसले अनुवाद हो कि मौलिक हो भनेर खोजीखोजी पढ्ला र मेरो करामत, चलाखी पत्ता लगाउँला भनेर सोच्नु गलत हुन्छ । थोरै भए पनि, अझै पनि अध्ययनमा रुचि राख्ने मान्छेहरू बाँचेका छन् । निनुको समग्र रचना पढेपछि उनको माथि उल्लेखित लेखलाई मौलिक नभनेर अनुवादकीय टिप्पणीसहितको तीन जना समालोचकका रचनाहरूको अनुवाद हो भनेर भन्नुपर्ने हुन्छ । यसबाट निनुले लेखेका उत्तरआधुनिकतावाद, सइदेली विचारका साथै ग्राम्सीसम्बन्धी लेखबारे पनि प्रश्न उठाउनु पर्ने अवस्था आउँछ । यो उनको लेखकीय क्षमताप्रतिको प्रश्न मात्र होइन, नियतमाथिकै प्रश्न हो । वास्तवमा यस किसिमको प्रवृत्तिलाई चोरी मात्र भनेर पुग्दैन, डकैती नै भन्नुपर्ने हुन्छ । यो हद दर्जाको बेइमानी हो । 

ऋषिराज बरालले पनि सबाल्टर्न अध्ययनका सन्दर्भमा नरहरि कविराज, एजाज अहमद, विनय बहलका रचनाको प्रयोग गरेका छन् । उनले बकाइदा उद्धरण चिन्हका साथ उधृत् अंशलाई इटालिक गरेर अमुक पुस्तकको अमुक पृ.बाट भनेर उल्लेख गरेका छन् । नेटको लिङ्क दिएका छन्, पढ्दै नपढेको पुस्तक पढेको भनेर उल्लेख नगरी उधृत् अमुक भनेर इमानदारी देखाएका छन् । उदाहरणका रूपमा उनको पुस्तक मार्क्सवाद र सबाल्टर्न अध्ययनमा समाविष्ट लेख ‘वर्ग, इतिहास चेतना र सबाल्टर्न स्टडिज’ हेर्न सकिन्छ । उनले पार्थ चटर्जीले बङ्गाली भाषामा लेखेको लेख ‘ग्राम्सी ओ मिसेल फुको’ लाई निनुले झैँ आफूले पढेकोझैँ गरी प्रयोग गरेका छैनन् । यसलाई यसरी प्रयोग गरेका छन् :

३२. पार्थ चटर्जी, ‘ग्राम्सी ओ मिसेल फुको’, ग्राम्सी विचार विश्लेषण (बङ्गालीमा), भो.२ उधृत्, नरहरि कविराज, ‘अन सबल्टर्न स्टडिज’, ह्वाट इज पोस्टमोडर्निज्म ?( कोलकोता : केपी बाग्छी एन्ड कम्पनी, २००५), पृ. ७२ ।

साझा प्रकाशन पनि अछुतो छैन 

साझा प्रकाशनजस्तो संस्थाले मूल्याङ्न नगरी कसरी यस्तो पुस्तक प्रकाशित गर्यो भनेर प्रश्न उठाउन सकिन्छ । साझा प्रकाशनमा कृति मूल्याङ्कनको परिपाटी हराउँदैगएको र तजबिजी प्रक्रियाअनुसार किताब प्रकाशित हुनथालेको हुनाले साझा प्रकाशनबाट अब स्तरीयता र मौलिकताको कुरा उठाउनु निरर्थक छ पनि भन्न सकिएला । तर यसैका आधारमा साझा प्रकाशन दोष मुक्त हुनसक्तैन । यो नैतिक प्रश्नबाट साझा भाग्न पाउँदैन l 

पहिलो कुरा, मूल्याङ्कन सही अर्थको मूल्याङ्कन हो अथवा प्रक्रिया मिलाउने काम मात्रै हो भन्ने कुरा हुन्छ । दोस्रो कुरा, यस किसिमको पुस्तकका लागि कस्तो मूल्याङ्कनकर्ताको चयन गर्ने भन्ने कुरा हुन्छ । अहिले साझा प्रकाशनमा मूल्याङ्कनका नाममा प्रक्रिया मिलाउने काम बढी हुनेगरेको छ । साथै, यस्ता कुराका लागि सूक्ष्म किसिमले हेर्नुपर्ने हुन्छ र मूल्याङ्कनकर्ताबाट पनि त्यो सम्भव नहुन सक्छ । फेरि निनुजस्ता ‘नाम चलेका’ समालोचकका बारेमा त्यतिसारो खानतलासी गर्नु उचित हुँदैन भन्ने पनि लाग्न सक्छ । त्यसैले मूलयाङ्कनकर्ता अथवा साझा प्रकाशनमाथि भन्दा लेखकमाथि नै प्रश्न उठाउनु पर्ने हुन्छ । लेखक नै नै बढी इमानदार र जिम्मेवार हुनुपर्छ । स्मरण रहोस् निनुको परिचयसित मार्क्सवादी समालोचक मात्र नगाँसिएर माओवादी पार्टीको पोलिट ब्युरो सदस्य पनि गाँसिएको छ ।

लेखक निनु चापागाईँ भए पनि पुस्तकको सम्पादन तथा साथै भाषगत एकरूपता, शोध विधिमा एकरूपता, ले-आउट आदि कामको जिम्मेवारी साझा प्रकाशनको हो । यसले सम्पादन, संयोजनमा वैज्ञानिकताका साथै भरिसक्के एकरूपतामा ध्यान दिनु आवश्यक छ । निनुको यो पुस्तक पाण्डुलिपि पनि राम्रोसित नपढी र सम्पादन नगरी साझा प्रकाशनले प्रकाशित गरेको कुरा प्रत्येक लेखमा प्रयोग गरिएका भिन्नभिन्न शोधपद्धतिको प्रयोगबाट अनुभूत गर्न सकिन्छ । उदाहरणका लागि ‘नेपालका सन्दर्भमा लु सुन’ रचनालाई लिन सकिन्छ ।

बजारमा पाइने चालु खालका ‘गाइड’ पुस्तकहरूको प्रकाशन र साझा प्रकाशनको प्रकाशनमा पाइने गुणस्तरीयतामा भिन्नता नदेखिने हो भने त्यो ‘साझा प्रकाशन’ नभएर अर्कै प्रकाशन हुन्छ । साझा प्रकाशन कसैको निजी प्रकाशन गृहको शाखा भएछ भन्नुपर्नेहुन्छ । यस मामालामा साझा प्रकाशन चुकेको छ । यसलाई चुकेको भन्दा पनि साझा प्रकाशनले प्रकाशनका सन्दर्भमा निर्माण गरेको गुणात्मक परिचय गुमाएको भन्नुपर्ने हुन्छ ।
वास्तवमा छपाइको स्तरका सन्दर्भमा साझा प्रकाशन कति कमजोर र स्तरहीन भएछ र सम्पादनमा गम्भीरताको कतिसारो अभाव देखिनथालेछ भन्ने कुराका लागि डा. ताराकान्त पाण्डेयको पुस्तक मार्क्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र हेरे पुग्छ । निनुको पुस्तकभन्दा यो पुस्तक स्तरीय छ । तर सम्पादन पक्ष, छपाइको स्तर र गेटअप हेर्दा विरक्त लागेर आउँछ । वर्ण विन्याससम्बन्धी साझा प्रकाशनको आफ्नै विधिविधान छ र त्यो सही छ । तर ताराकान्त पाण्डेयको पुस्तकमा यसको निर्बाह भएको पाइएन । किताबैपिच्छे फरकफरक वर्णविन्यासको स्वरूप देखिनु भनेको अराजकताको परिणाम हो ।

यो त विदेशी लेखकका रचना अनुवाद गरेर आफ्नो बनाउने कुरा आयो । यहाँ त देशभित्रैबाट डकैती गरेको सन्दर्भ पनि देखापर्यो । अझ आफूलाई सबैभन्दा क्रान्तिकारी भन्नेहरूबाट नै यस्तो देखापर्यो । 

२. ईश्वरचन्द्र ज्ञवाली : सन्दर्भ, 'सांस्कृतिक साम्राज्यवाद र राष्ट्रिय संस्कृति'


नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा सांस्कृतिक मोर्चाका ‘नेता’ , सुन्दर संस्कृतिका पृष्टपोषक भनिनेहरूले नै यस्तो काम गरेका छन् । ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’ का अध्यक्षसमेत रहेका ईश्वरचन्द्र ज्ञवालीले प्रतिष्ठानको वार्षिक कार्यक्रम (२०७१) मा ‘सांस्कृतिक साम्राज्यवाद र राष्ट्रिय संस्कृति’ नामक ‘कार्यपत्र’ पेश गरेका थिए र पछि सो कार्यपत्र प्रतिष्ठानको प्रकाशन प्रवर्तक (४: २०७१) मा प्रकाशित भयो । कार्यपत्र पेश गरेको समयमा नै टीकाटिप्पणीहरू भएका थिए । परिमार्जन नगरी पछि सो कार्यपत्र जस्ताको तस्तै प्रकाशित भएछ ।

सो कार्यपत्रमा अवधारणगत कुरामा नै थुप्रै गलत र विरोधामासपूर्ण कुराहरू छन् l कहाँ र कुन सन्दर्भमा गलत कुराहरू आएका छन्, त्यसतर्फ जानु अहिले सान्दर्भिक छैन । तर सो कार्यपत्रमा डा. ऋषिराज बरालको पुस्तक सूचनाभूमण्डलीकरण र सांस्कृतिक साम्राज्यवाद (२०६४) बाट हरफहरू मात्र होइन, अनुच्छेदहरू नै जस्ताको तस्तै लिएर राखिएको छ, अर्थात् ‘कपी एन्ड पेस्ट’ गरिएको छ । बरालको पुस्तक सूचनाभूमण्डलीकरण र सांस्कृतिक साम्राज्यवादमा रहेको एउटा लेख ‘सांस्कृतिक साम्राज्यवाद, नेपाली जनजीवन र सङ्घर्षको प्रश्न’ मा लेखिएको छ :
“पाश्चात्य साम्राज्यवादी मुलुकहरूले आफ्नो राजनीतिक र आर्थिक स्वार्थका लागि सञ्चार र सूचनाका माध्यमहरूको भूमण्डलीकरण गरी फैलाइएको सांस्कृतिक प्रदूषण र विकृतिको जाले नै सांस्कृतिक साम्राज्यवाद हो । शून्यवादी, समाजविरोधी जनविरोधी अश्लील, छाडा र व्यक्तिवादी चिन्तनयुक्त पाश्चात्य सांस्कृतिक विकृतिलाई सञ्चारप्रविधिका माध्यमबाट उत्पीडित राष्ट्रहरू खासगरेर तेस्रो विश्वका मुलुकहरूमा प्रवाहित गर्ने पद्धति र प्रक्रियासित सांस्कृतिक साम्राज्यवाद गाँसिएको छ । सांस्कृतिक साम्राज्यवाद सार र रूप दुवै हो ।” 

प्रवर्तकमा प्रकाशित ज्ञवालीको ‘कार्यपत्र’ ‘सांस्कृतिक साम्राज्यवाद र राष्ट्रिय संस्कृति’ मा पृ. ८ मा माथिको अनुच्छेद जस्ताको तस्तै राखिएको छ । यसमा उद्धरण चिन्ह पनि छैन र टिप्पणी–सङ्केत पनि छैन । उनको 'कार्यपत्र' र बरालको पुस्तक सूचनाभूमण्डलीकरण र सांस्कृतिक साम्राज्यवाद (२०६४) अगाडि राखेर जाँचपड्ताल गर्दा मात्रै पनि ज्ञवालीको लेखनमा कति मौलिकता र कति 'कपि एन्ड पेस्ट' सहजै आकलन गर्न सकिन्छ । 

यहाँ अर्को उदाहरण पनि पस्तुत गर्नु सान्दर्भिक हुन्छ । 

प्रवर्तकमा प्रकाशित ‘कार्यपत्र’ को पृ. १२ मा उनले लेखेका छन् :

“यथार्थतः समूहको ठाउँमा व्यक्ति, वर्गको ठाउँमा व्यक्तिवाद, राष्ट्रिय संस्कृतिको ठाउँमा कृत्रिम संस्कृति, सहिँष्णुताको ठाउँमा तनाव र उत्तेजना, अनुशासनको ठाउँमा अराजकता, तर्क र विवेकको ठाउँमा आक्रोस, यथार्थको ठाउँमा परायथाथ, द्वन्द्ववादको ठाउँमा एकान्तवादको संवहनमा जोड दिनु र मान्छेलाई सारा आर्थिक र राजनीतिक सम्बन्धबाट पृथक राखी एकान्तवासी बनाउनु सांस्कृतिक साम्राज्यवादको उद्देश्य हो । यसले विविध भाषाभाषी जातिजनजाति र विविध धर्म तथा संस्कृतिबीच तनाव फूट, विभाजन र अनमेल गराएर वर्गीय एकताबाट सदैव पृथक राख्ने गर्दछ ।” 

उनले यो अनुच्छेद बरालकै पुस्तक सूचनाभूमण्डलीकरण र सांस्कृतिक साम्राज्यवाद को पृ.७ बाट जस्ताको तस्तै लिएका छन् र यसमा पनि उद्धरण चिन्ह दिएका छैनन् र सन्दर्भ-सङ्केत पनि गरेका छैनन् । 

सो कार्यपत्रमा अवधारणगत कुरामा नै थुप्रै गलत र विरोधामासपूर्ण कुराहरू छन्, सम्पादनमा समेत ध्यान दिएको देखिंदैन । उनले एडवार्ड सइदलाई सांस्कृतिक साम्राज्यवादका पक्षधर भनेका छन्, यो गलत भनाइ हो । त्यस्तै “लोर्काको विखण्डन” भनेका छन् । क्रान्तिकारी कवि लोर्का विखण्डनवादी होइनन्, जे. ल्योतार्ड अथवा जे. लाका भनेको भए सन्दर्भ मिल्न सक्थ्यो । यहाँ त ‘कपी एन्ड पेस्ट’ पनि ठीक ढङ्गले नभएको देखिन्छ ।

निष्कर्ष 
सम्बद्ध विषयको ज्ञाता अथवा विशेषज्ञ नभए पनि अध्ययन-चिन्तनका साथ मेहनत गरेर नयाँ विषयमा लेख्न सकिन्छ । सम्बद्ध विषयमा भुट्टीभाङ ज्ञान नभए पनि आफूमा सबै कुराको दखल छ भनेर देखाउनुपर्ने आडम्बरी प्रवृत्तिले गर्दा मान्छेले ‘कपी एन्ड पेस्ट’ को सहारा लिनुपर्ने हुन्छ । ज्ञवालीमा यही समस्या देखियो, साथै उनको नियत पनि सफा देखिएन ।

‘कपि एन्ड पेस्ट’ गर्नु ज्ञवालीको बाध्यता थियो भन्न सकिन्छ । तर आफूलाई मार्क्सवादी समालोचक, त्यो पनि आफू मात्रै सही समालोचक भन्न रुचाउने निनुले जे गरे त्यो अक्षम्य छ । यहाँ मार्क्सवादी समालोचनाकै उपहास भएको छ । यो, मार्क्सवादी समालोचक भनिनेहरू यस्ता हुँदा रहेछन् भन्ने व्यङ्ग्यको विषय भएको छ । 

निनुले जे गरे, यो एककिसिमको अपराध नै हो । यसो गर्नु निनुको प्रृवत्ति नै भएको छ र उनलाई समालोचक होइन, अनुवादक भन्नु उचित हुन्छ । वास्तवमा यसलाई चोरी मात्र भनेर पुग्दैन, डकैती नै भन्नुपर्ने हुन्छ । यस अर्थमा निनुलाई “लेखकीय नैतिकता र इमानदारीका विरुद्ध” जाने पात्र भनेर चैतन्यले जुन प्रवृत्ति किटान गर्नुभएको छ, त्यो एकदमै सही छ । निनुको हकमा मात्र नभई ईश्वरचन्द्र ज्ञवालीको हकमा पनि यो सही र सान्दर्भिक छ । 

http://janamel.com बाट साभार 

No comments:

Post a Comment