Monday, March 6, 2017

मार्क्सवादी समालोचनाको भ्रष्टीकरणमा प्राडाहरू - खेम थपलिया

(यो लेख, क्रान्तिकारी विचारको प्रतिनिधि प्रकाशन 'विकल्प': २ मा प्रकाशित लेख 'मार्क्सवादी समालोचनाको भ्रष्टीकरण विरुद्ध' लामो लेखको एउटा अंश हो र शीर्षकको चयन लेखकबाटै भएको हो।  ) 

मार्क्सवादी समालोचनात्मक मान्यता निकै गहन, विशद् र वैज्ञानिक रहेको छ । यसका आफ्नै किसिमका मानक छन् । कुनै पनि कृति वा रचनाको असली परख संज्ञानात्मक, विचारधारात्मक र सौन्दर्यात्मक तवरबाट हुनेगर्दछ । यो कुरालाई मार्क्सवादी समालोचकहरूले गहिरो गरी बुझ्नु आवश्यक छ ।

विश्वभरजस्तै नेपालमा पनि पछिल्लो समय बजारवादी मूल्यचेतनाले सिर्जनाम गम्भीर प्रभाव त पार्यो नै, त्योभन्दा बढी समालोचनाको क्षेत्रमा प्रभाव पारेको छ । निकोलाई ओस्त्रोवस्कीले एक ठाउँमा भनेका छन्, “लेखकको दुःखपूर्ण अन्त्य त्यसबेला हुन्छ, जब उसका सबैभन्दा उत्तम र सबैभन्दा सजीव विचारहरू उसको कलमलाई छलेर चटक्क भाग्दछन् । अनि उसको हृदयमा ज्वाला दन्केको भए पनि उसले लेखेको कुरा चाहिँ भित्रभित्रै बल्दैगरेको निस्तेज अँगारजस्तो मात्रै हुन्छ ।” यसको अर्थ युगको यथार्थ सामाजिक–राजनीतिक परिवेशबाटै निर्धारित हुन्छ र त्यसलाई लेखकले परिपालना गर्नुपर्दछ भन्ने नै हो । यो समालोचनाको क्षेत्रमा पनि लागू हुने विषय हो । 
समालोचक डा. ताराकान्त पाण्डेयले समकालीनताको नाममा विभिन्न पुस्ताका रूपमा समालोचकहरूको वर्गीकरण गरेका छन् ।१  उनले पूर्व पुस्ताका रूपमा श्यामप्रसाद शर्मा, शक्ति लम्साल, गोविन्द भट्ट, आनन्ददेव भट्ट, चैतन्य, निनु चापागाईंको नाम उल्लेख गर्दै एक समालोचनात्मक आलेख  प्रकाशित गरेका छन् । केका आधारमा उनले यस्तो वर्गीकरण गरेका हुन्, प्रस्ट छैन । उमेरका आधारमा भनेका हुन् भने सिर्जना-समालोचनामा यो कुरा लागू हुँदैन । प्रभावकारिता र आवश्यकताको उचित संयोजनका आाधारमा भन्ने हो भने त्यो कुराको पुष्टि कहीँ कतैबाट पनि हुँदैन । यसले समालोचक पाण्डेयको समालोचकीय दृष्टिकोणमा केही प्रश्न उब्जाइदिएको भने अवश्य नै छ ।

त्यस्तै, उनले चालीसको दशकमा देखापरेका समालोचकहरूमा डा. ऋषिराज बराल, डा. रविलाल अधिकारी, हीरामणि शर्मा पौड्याल, रामहरि पौडेल आदिको नाम उल्लेख गरेका छन् । त्यस्तै उत्तरार्द्धतिर देखापरेका समालोचक भनेर उनले आफूसँगै रमेश भट्टराई, हेमनाथ पौडेल, जगत् प्रेक्षित, रामप्रसाद ज्ञवाली, डा. पशुपति तिमिल्सिना, अमर गिरी, ईश्वरचन्द्र ज्ञवालीको नाम पनि उल्लेख गरेका छन् । यसरी सबैलाई एउटै कोटीमा राख्नुपर्नाको अर्थ र औचित्यलाई प्रमाणित गर्ने वैज्ञानिक आधार देखिँदैन । समालोचक डा. ताराकान्त पाण्डेयमा यस किसिमको बाध्यता किन पर्यो अथवा यस किसिमको  दिव्यज्ञान कहाँबाट र कसरी आयो ?  जिज्ञासा पैदा हुनु स्वाभाविक छ ।

समालोचक डा. ताराकान्त पाण्डेयले ‘वर्तमानमा प्रगतिवादी समालोचना लेखनको स्थिति’ उपशीर्षकमा समालोचनात्मक कृतिहरूको लामै फेहरिस्त तयार पारेका छन् । उनले लेखेका छन्, “पुस्तकाकार समालोचना कृति प्रकाशनका दृष्टिले पचास र साठीको दशकमा क्रमशः शक्ति लम्सालको मार्क्सवाद, साहित्य र समाज (२०६१), गोविन्द भट्टको गोविन्द भट्टका समालोचना (२०५५), निनु चापागाईंका यथार्थवादी रचनादृष्टि र विवेचना (२०५१),  मार्क्सवादी सौन्दर्य चिन्तन (२०५४), सन्दर्भ : संस्कृति र सांस्कृतिक रूपान्तरण (२०५९) र दलित सौन्दर्यशास्त्र र साहित्य (२०६८), डा. ऋषिराज बरालका मार्क्सवाद र उत्तरआधुनिकतावाद (२०५२), उपन्यासको सौन्दर्यशास्त्र (२०५६), सङ्गीत र सौन्दर्य (२०६३), उत्तर आधुनिकतावाद र समकालीन यथार्थ (२०६३), सूचना भूमण्डलीकरण र सांस्कृतिक साम्राज्यवाद (२०६३), साहित्य र समाज (२०६४), डा. रविलाल अधिकारीका नेपाली समालोचनाको रूपरेखा (२०५१) र प्रगतिवादी नेपाली समालोचना (२०५५), साहित्यिक सन्दर्भ : चर्चा र टिप्पणीहरू (२०५८), डा. जगदिशचन्द्र भण्डारीका साहित्य : चिन्तन र विवेचन (२०५०), प्रगतिवादी नेपाली कविता : रेखाङ्कन र विश्लेषण (२०५५), पृथक् सिर्जना : पृथक् निरूपण (२०६२), सौन्दर्यको भूमिका (२०६५) उल्लेखनीय रहेका छन् ।”२

कला-साहित्यको समालोचनाको सन्दर्भमा राजनीतिक धारा र विचारधारा मुख्य मानकका रूपमा उपस्थित हुन्छन् । तर, अचम्मको कुरा त के छ भने डा. पाण्डेयले जनताको बहुदलीय जनवाद र नयाँ जनवाद मान्नेहरूलाई एउटै कोटीमा राखेका छन् । जनताको बहुदलीय जनवाद राजनीतिक कार्यक्रम मान्नेहरू सही समालोचक हुन् अथवा नयाँ जनवादी राजनीतिक कार्यक्रम मान्नेहरू असली मार्क्सवादी समालोचक हुन् ? बुझाइ गन्जागोल छ । राजनीतिक धाराका आधारमा भन्ने हो भने गोविन्द भट्ट र डा. ऋषिराज बरालहरू एउटै समरेखामा रहेका समालोचकहरू हुन् भन्न सकिन्छ ? आजको मार्क्सवाद भनेको मार्क्सवाद–लेनिनवाद–माओवादको समुच्चय हो भन्ने कुरा गहिरो गरी आत्मसात गर्नेहरूका लागि निनु चापागाईँको समरेखीय उपस्थितिलाई कसरी लिने ? निनु चापागाईंले आज पनि माओवादलाई स्वीकारेकै छैनन् । उनी अहिले पनि माओ विचारधारामा नै सीमित छन् । 'चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति' को अस्वीकृति निनुको परिचय बनेको छ । माओवादी जनयुद्धलाई जनयुद्धका रूपमा निनुले आत्मसात गर्नसकेका छैनन् । आजको मालेमावाद नै आज मार्क्सवाद हो भन्ने मान्यतालाई स्वीकारिरहँदा डा. पाण्डेयको समालोचना कति वैज्ञानिक, कति यथार्थपरक र कति वस्तुवादी छ भन्ने कुराको प्रश्न उठ्नु स्वाभाविक छ ।

यथार्थवाद, आलोचनात्मक यथार्थवाद र समाजवादी यथार्थवादको सैद्धान्तिक प्रश्नमा गन्जागोल गर्ने अधिकार कसैलाई पनि छैन र हुँदैन पनि । के डा. पाण्डेय भन्न सक्छन् : मार्क्सवादी आन्दोलनप्रति प्रस्टता, क्रान्तिकारी विश्वदृष्टिकोण, लेखनको निरन्तरता र प्रतिबद्धता उनी आफैँले उल्लेख गरेका समालोचकहरूमा छ ? छ भने प्रमाणित गरेर देखाइदिन सक्नुपर्छ, अन्यथा, भ्रमात्मक समालोचनाले नयाँ पुस्तालाई भ्रममा पार्ने छ र त्योभन्दा बढी व्यवधान आन्दोलनमाथि हुनेछ । डा. पाण्डेय नयाँ पुस्तालाई कस्तो प्रशिक्षण दिन चाहन्छन् ? प्रश्न उठ्नु स्वाभाविक छ । प्राध्यापकीय व्याख्यानका लागि समेत नसुहाउने यस्ता विश्लेषणहरूले कसरी मार्क्सवादी समालोचनाको प्रतिनिधित्व गर्छन् ?

डा. पाण्डेयले समालोचनाको क्षेत्रमा कृतिका रूपमा प्रकाशित भएका समालोनात्मक कृतिहरूमा अन्य विभिन्न समालोचकको नाम र समालोचनात्मक कृतिको पनि नाम उल्लेख गरेका छन् । डा. पाण्डेयले ‘घनश्याम ढकालको मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना (२०५५), डा. ताराकाण्ड पाण्डेयका कलासाहित्य : भूमिका र मूल्याङ्कन (२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको व्यङ्ग्य कवित्व (२०५७), समकालीन कविताको संरचना (२०६५), अर्थभ्रान्तिको उत्तर चेतनाका विरूद्ध (२०६५), समय, सिर्जना र संवाद (२०६७) र अर्थको आनन्द (२०६७), डा. गोपीन्द्र पौडेलका सौन्दर्यबोध र समीक्षा विविध (२०५९), कथाको सौन्दर्यशास्त्र (२०६५), भीमनीधि तिवारीको हास्यव्यङ्ग्य कवित्व (२०६५), कथाको सिंहावलोकन (२०७०) तथा नेपाली कथामा २००७ सालको प्रभाव (२०६९), डीआर पौडेलको पारिजातका साहित्यिक कृतिको मूल्याङ्कन (२०६२), सुकुम शर्माको कवि इच्छुक : कविताका सन्दर्भमा (२०६०), भवानी पाण्डेको पारिजातका उपन्यासका समाजवादी यथार्थवाद (२०६५), ईश्वरचन्द्र ज्ञवालीको वर्गसङ्घर्षको सन्दर्भ : संस्कृति र सौन्दर्य (२०६६), हेमनाथ पौडेलका प्रगतिवादी दृष्टिमा कवि र कविता (२०६५) र समसामयिक नेपाली समालोचना (२०७०), पशुपतिनाथ तिम्लिसेनाका युद्धप्रसाद मिश्रका कविताको विश्लेषण (२०६९) र प्रगतिवादी कविता : मान्यता र प्रवृत्ति (२०६२), रमेश भट्टराईका उत्तरआधुनिकतावाद, भूमण्डलीकरण र सांस्कृतिक सिद्धान्त (२०७०) तथा समय सौन्दर्य, पर्यावरण र कविता (२०७०), डा. डिजन भट्टराईको प्रगतिवादी नेपाली उपन्यासका प्रवृत्तिहरू (२०६७), अमृता शर्माको प्रगतीवादी नेपाली उपन्यास (२०६६), खेम थपलियाका प्रगतिवादी एकाङ्की नाटक (२०७०) र कला-साहित्यमा दुईलाइन सङ्घर्ष (२०७०) जस्ता समालोचना कृतिको उल्लेख गरेका छन् ।३
यहाँसम्म आउँदा डा. पाण्डेयले मार्क्सवादी समालोचनाका क्षेत्रमा साँच्चै नै ‘नयाँ चुनौती’ थपिदिएका छन् । अब प्रश्न उठ्छ, डा. पाण्डेयले मार्क्सवादी समालोचनाका कुनकुन मानकका आधारमा पाए जति र भएभरका समालोचानात्मक कृतिहरूलाई एकै ठाउँमा सोरसार गरेर राख्ने आँट गरे ? केका आधारमा उनले मार्क्सवादी किटान गरे । यो सूचीमा युधिर थापाको कृतिमाथि गरिएका समालोचना त कतै छुटेका होइनन् ? आज यो प्रश्न धेरै समालोचकहरूले गरेको पाएको छु । आफ्नो अघिपरेका कृति/सर्जकहरूलाई मार्क्सवादी देख्नु र नवसंशोधानवादी-नवप्रतिक्रियावादी समालोचकहरूलाई समेत मार्क्सवादी समालोचक ठान्नु अनौठो हुनआउँछ । संशोधनवादका विरुद्ध निरन्तर र कठोर सङ्घर्ष गर्ने र क्रान्तिकारीहरूका विरुद्ध निरन्तर लागिरहनेहरूलाई कसरी माक्र्सवादी समालोचनाको एउटै तुलोमा राख्न सकिएको होला ? कुन मापदण्डले यसो गरिएको होला ? प्रश्नहरू बर्खेभेलजस्तै उर्लिएका छन् ।

 एउटा मार्क्सवादी लेखक-समालोचक मार्क्सवाद विरोधीहरूका भनाइका पछि नलागी तिनका विरुद्ध निमर्म वैचारिक सङ्घर्ष चलाउँछ । तर, समालोचक डा. ताराकान्त पाण्डेय मार्क्सवादको वर्गीय चिन्तनका विरुद्ध ‘उत्तरवादी’ धारणा राख्नेहरूको प्रभावमा जानीनजानी परेका छन् भन्ने कुरा निम्न भनाइबाट थाहा पाउन सकिन्छ : “यसका (मार्क्सवादी समालोचनाका) सीमा छन् । ...जस्तै लैङ्गिक, जातीय, क्षेत्रीय एवम् अन्यखाले उत्पीडन र पहिचानका प्रश्नको सम्बोधन स्थापित वा परम्परागत माक्र्सवादी समीक्षाले सम्यक ढङ्गले, सम्यक मात्रामा गर्न सम्भवतः सकेन ।” ४  मार्क्सवादलाई परम्परागत र नयाँ भनेर विभाजन गरेर  र यसले “लैङ्गिक, जातीय, क्षेत्रीय एवम् अन्यखाले उत्पीडन र पहिचानका प्रश्नको” हल गर्न सकेन भनेर मार्क्सवादको आधारभूत मूल्यप्रतिको पक्षधरता र प्रतिबद्धताबाट प्राध्यापक पाण्डेयले आफूलाई ‘उत्तर-मार्क्सवादी कित्तामा उभ्याएका छन् । यो बडो अचम्मको स्थिति हो ।

त्यसैगरी, प्रा.डा. जगदीशचन्द्र भण्डारीले ‘इतिहास चेतना र मार्क्सवादी समालोचना’ शीर्षकको लेखले पनि  भ्रमपूर्ण चिन्तनलाई नै सघाउ पुर्याएको छ । ‘नेपाली समालोचनामा प्रयोगको अवस्था’ उपशीर्षकमा उनले पनि समालोचनात्मक कृतिको लामो सूची यसरी प्रस्तुत गरेका छन्, ‘मार्क्सवादी समालोचनाको फाँटमा डिपी अधिकारीका यथार्थवादी समालोचना (२०१७), तारानाथ शर्माका घोत्ल्याइँ (सन् १९६४), मोदनाथ प्रश्रितको वैचारिक विकासका सन्दर्भमा लक्ष्मीप्रसाद देवकोटा (२०२५), चैतन्यका माक्र्सवादी कला दृष्टि र समीक्षा (२०५४), क्रान्ति र सौन्दर्य (२०६४), समीक्षा र सौन्दर्य (२०६५), माक्र्सवादी साहित्य चिन्तन (२०७०), डा. ऋषिराज बरालका मार्क्सवाद र उत्तर आधुनिकतावाद (२०५२) मोहन दुवालका साहित्यिक चिन्तनहरू (२०५२),  चूडामणि रेग्मीका पारिजात परिचय र मूल्याङ्कन (२०५०), बालकृष्ण अधिकारीको नेपाली साहित्येतिहास लेखन : सर्वेक्षण र विश्लेषण (२०६६), घनश्याम ढकाललगायतका सम्पादनमा प्रकाशित माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य (२०६७) समालोचनाहरू छापिएका छन् ।५  यसमा मिसमास चिन्तन हाबी छ र यसले प्राध्यापकीय समालोचनाको राम्रो उदाहरण प्रस्तुत गरेको छ ।

समालोचनामा जीवन्त र मृत, ह्रासोन्मुख र ऊध्र्वगामी प्रवृत्तिका बीच रेखाङ्कन हुनु आवश्यक छ । यो यथार्थको सामना नगरी कसरी समालोचनाको मूल्य पर्गेल्न सकिएला ! नयाँ यथार्थको मानकलाई प्रा. डा. पाण्डे र प्रा.डा. भण्डारीले किन अनायास ओझेलमा पारेका हुन् अथवा के हो ? जिज्ञासाहरू उठिरहेका छन् । प्रा.डा.जगदीशचन्द्र भण्डारी, प्रा.डा. ताराकान्त पाण्डेय, हेमनाथ पौडेल र रमेश भट्टराईजस्ता समालोचकहरूलाई कसरी लिने ? बहुदलीय जनवाद तथा नयाँ जनवादी क्रान्ति अर्थात् संसदीय धारा तथा क्रान्तिकारी धारा कहिलेदेखि एउटै भए ? समालोचना राजनीतिक धारासँगै विचारधाराको आधारमा अघि बढ्छ भन्ने मत राख्ने स्वयम् पाण्डेयहरूमा यस्तो चिन्तन देखिनुमा कुन त्रिनेत्रले काम गर्यो  ? यस किसिमको बुझाइप्रति प्रश्न उठ्नु सावाभाविक छ ।

प्रा.डा. जगदीशचन्द्र भण्डारीले मार्क्सवादी समालोचनाका फाँटमा रहेका समालोचनात्मक कृति भन्दै डिपी अधिकारीदेखि घनश्याम ढकाललगायतद्वारा सम्पादित मार्क्सवादी साहित्य र जनयुद्धको सौन्दर्यलाई एउटै खेतमा गोरु नारेजस्तै गरी नारिदिएका छन् । लेनिनले भनेजस्तै कला-साहित्यलाई सर्वहारा वर्गको पार्टीको राजनीतिसँगै जोडेर लगिनुपर्ने आवश्यकतालाई उनले कहाँ/कसरी जोडेर लैजान खोजेका हुन् ? बुझ्न कठिन भएको छ । के चैतन्य तथा डा. ऋषिराज बरालहरूसित मोदनाथ प्रश्रितलाई जोडेर “मार्क्सवादी समालोचनाको फाँटमा” भनेर राख्न मिल्छ ? यो त देउवा र प्रचण्डको मेलजस्तै टाउकाको मोल तोक्ने र तोकिनेहरूका बीचको अपूर्व मेल जस्तै भएन र ? वर्गीयता छोडिदियो भने लेखनमा विचलन आउँछ भन्ने विद्वान् प्रा. डा. भण्डारीको समालोचनाको यस्तो तरिकालाई अनौठौ नै मान्नुपर्छ । यस्ता समालोचकीय गतिविधिले प्राडाहरूको वैचारिक स्तरमाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ ।

 हामीलाई थाहा छ, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा मार्क्सवादी र संशोधनवादीहरूका बीचमा भीषण सङ्घर्ष चल्दैआएको छ । वर्गीय समाजमा चल्ने वर्गसङ्घर्षको प्रतिबिम्बन कला-साहित्यको क्षेत्रमा पनि विभिन्नरूपबाट पर्दैआएको छ । रूसको न्यायप्रेमी नाटक तथा चीनको रातो लालटिन गीतिनाटकका समालोचना चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिपूर्व मञ्चित 'हाइजुइ पदबाट बर्खास्त गरियो' नाटकको समालोचनाका आआफ्नै मापदण्ड रहेका छन् । माओकृत कला-साहित्यसम्बन्धी पाँच दस्ताबेज, 'जनताबीचका अन्तर्विरोधहरूको सही सञ्चालन' मा ‘सयौँ फूलहरू फुल्ने दिने’ नीतिअन्तर्गत निर्धारित '६ बुँदे' कसी र चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको समयमा गरिएको जल किनाराको आलोचना उल्लेखनीय छन् । कला- साहित्यको सिर्जनात्मक कार्य वर्गसङ्घर्षका उपज हुन् र मानवसमाज वर्गसङ्घर्षको इतिहास हो भन्ने कुरालाई मार्क्सवादी समालोचकहरूका समालोचनात्मक कार्यमा इमानदारीपूर्वक पालना नहुनु अवश्य पनि सुखद् सन्दर्भ हुनसक्तैन । मार्क्सवादी समालोचकले मार्क्सवादलाई बिर्सिएर समालोचना गर्नु भनेको सिपाहीले मोर्चामा हतियार बिर्सिनुजस्तै हो । मार्क्सवादी भनिएका नेपालका कतिपय समालोचकहरू मोर्चामा सिपाहीले हतियार बिर्सिएजस्तै भएका छन् ।

न्युगी वा थ्योङ्गोले भनेजस्तै लेखकको सिर्जनाबाट परजीवी वर्गका विरुद्ध लडिरहेका जनताले प्रेरणा र ऊर्जा पाउन सक्नुपर्छ । कुनै पनि लेखक जबसम्म नयाँ व्यवस्था, नयाँ समाज र मानवतामा आधारित भविष्यका लागि सङ्घर्षरत वर्ग र यसका मूल्यप्रति प्रशंसात्मक दृष्टिकोण अँगाल्दैन, तबसम्म उसले कहिले पनि यस विश्वलाई फेर्न सङ्घर्षरत शक्तिहरूलाई प्रेरित गर्न सक्तैन र यो कुरा प्रमुखरूपमा आफ्नो समयको वर्गसङ्घर्षमा कसको पक्षमा उभिएको छ भन्ने कुरामा नै भर पर्छ भन्ने कुरालाई मार्क्सवादी समालोचकहरूले विशेष ध्यान दिनैपर्दछ । कला-साहित्यलाई राजनीतिले कमान्ड गरिरहेको हुन्छ । कतैकतै प्रगतिवाद र प्रगतिशीलतालाई एकै ठाउँमा राख्ने गरिएको पनि पाइन्छ । प्रगतिवादको आधार मार्क्सवाद हो भने प्रगतिशीलता मात्रै मार्क्सवाद होइन । प्रगतिशीलता सन्दर्भ र सम्बन्धहरूको अवस्था हो । सर्वहारावर्गीय विचारधाराका आधारमा राजनीतिले कला-साहित्यको नेतृत्व गरिरहेको हुन्छ । त्यसैले सर्वहारावर्गीय विचारधारा मार्क्सवादी समालोचनाको क्षेत्रमा गम्भीररूपमा आकर्षित हुन्छ ।

बहुलवादी दार्शनिक चिन्तनधारामा बगिसकेकाहरूलाई उनीहरूकै हितको लागि पनि स्पष्टरूपमा कित्ता छुट्याइ दिनुपर्दछ । जबजपन्थी, नवसंशोधानवादी-नवप्रतिक्रान्तिकारी र नयाँ जनवादी क्रान्ति पक्षधरहरूका दुवै हात एकैपटक पक्रेर हिँड्न खोज्नुको अर्थ के हो ? के यसले मार्क्सवादी समालोचकको द्वन्द्वात्मक दृष्टिकोण, लेखकीय प्रतिबद्धता, सौन्दर्यात्मक अवस्थिति, समाजबोधीय मानकलाई न्याय गर्ला ? यसले समकालीन नेपालको वस्तुगत यथार्थले न्याय गर्न नसक्ने कुरालाई बल पुर्याउँदैगएको छ । समाजवादको विकल्प पुँजीवाद हुनै सक्तैन । सैद्धान्तिकरूपमा ‘हुँदैन’ भन्दाभन्दै पनि व्यावहारिक रूपमा ‘हुन्छ’ को मार्ग अवलम्बन गर्नुले विचलनको स्थितिलाई मात्र सङ्केत गर्छ ।

टिप्पणी
१ .डा. ताराकान्त पाण्डेय, प्रवर्तक, ५, ( वैशाख-आश्विन, २०७२), पृ. २८–२९ ।
२. ऐजन, पृ. २९ ।
३. ऐजन ।
४ . ऐजन, पृ. ३९–४० ।
५ . डा. जगदीशचन्द्र भण्डारी, प्रवर्तक, ५, ( वैशाख-आश्विन, २०७२), ४८–४९ ।

http://janamel.com बाट साभार 

No comments:

Post a Comment