Monday, April 3, 2017

मैले यसकारण माओवादी केन्द्रसँग सम्बन्धविच्छेद गरेँ - दिलीप श्रेष्ठ

यही चैत्र १२ गते साँझ फेसबुकमार्फत् मैले माओवादी केन्द्रसँग सम्बन्धविच्छेद गरेको व्यहोरा सार्वजनिकरुपमा घोषणा गरेपश्चात यो वा त्यो कोणबाट अनेकौं ताता-चिसा टीका-टिप्पणीहरू शुरू भएका छन् । केही निशाचरहरू मेरा विरूद्ध भ्रम छर्न सक्रिय भएका छन् भन्ने पनि सुनेको छु । मेरा समकालीन सहयोद्धाहरूसहयात्रीहरू, आफन्तजन तथा समर्थक-शुभचिन्तकहरू सबै-सबैले यतिबेला आश्चर्य, पीडा र चिन्तामिश्रित स्वरमा एकैखाले प्रश्न सोधिरहेका छन्, किन, अप्रिय त्यस्तो के भयो ?
दिलीप श्रेष्ठ
म विषयलाई यसप्रकार स्पष्ट पार्न चाहन्छु: –
. पार्टी त्याग्ने निर्णय मैले कुनै क्षणिक भावावेगमा आएर गरेको निर्णय होइन । धेरै लामो समयसम्म अत्यन्त धीरतापूर्वक र गम्भीरतापूर्वक सोंच-विचार गरेर मात्र म उक्त निर्णयमा पुगेको हुँ, भलै निर्णय लिंदाका बखत मलाई मेरो आफ्नो मुटु चुँडिएको अनुभूति भयो ।
. पार्टी परित्यागको मेरो यो निर्णयको अर्थ राजनीतिको परित्याग भने कदाचित होइन । राजनीतिबाट भागेर यो दुनियाँमा मैले जाने कुनै ठाउँ देखेको छैन । म राजनीतिबाट पृथक बस्न सक्दिनँबस्दिनँ । जिन्दगी राजनीतिले खायोजिन्दगीले ममाथि अनेक राजनीति गर्‍यो, म राजनीतिलाई नै जिन्दगी बनाइदिन्छु ।
. मेरो यस निर्णयका बारेमा पार्टीको माथिल्लो नेतृत्व मौन छ । क.अजितक.सरल सहयात्रीक.जय लगायत बीचका केही साथीहरूले निर्णय फिर्ता लिन र सम्वाद थाल्नका लागि विशेष आग्रह गर्नुभएको छ । तर मैले घोषित रुपमै पार्टी परित्याग गरिसकेको छु । म अब सम्वादको आवश्यकता र औचित्य दुवै देख्दिनँ । म अघि बढिसकेको छु, म फेरी पछाडि फर्कने पक्षमा छैन ।
. यतिबेला मौसमी राजनीति गर्नेहरू अलिक हौसिएका छन् । नक्कली सामान बेचेर मुनाफा कुम्ल्याउन पोख्त पसलेहरू गाउँबाट भर्खर बजार झरेका ग्राहकलाई जसरी घेरा हाल्छन् त्यसरी नै मलाई घेरा हालिरहेका छन्, यहाँलाई कोटीकोटी स्वागत छ । आउनुस्, हजूर हाम्रोमा आउनुस्, पसल जम्मै तपाईलाई भोमन परेको चीज छानी-छानी लिनुस् ।
गल्लाहरूले मेरो छाती नाप्न खोजेका छन् । तर म यी कुनै पनि गल्लाहरूको चङ्गुलमा फस्दिनँ । आफ्नो माओवादी पहिचान गुमाएर म पसलेका कुनै पनि पासोमा पर्दिनँ । म केही समय स्वतन्त्र माओवादी भएर रहन्छु, बस्छु ।
५. यो दिलीपले पार्टीसँग सम्बन्धविच्छेद गर्नुका असली कारणहरु-
केही बलिया- बाङ्गा लुच्चा-बदमासहरूले मेरो आन्दोलनको चिना लुकाउने कुचेष्टा गरेका छन् । मेरो मनभित्र एउटा घाउ पाकिरहेको छ । म मेरो घाउ चिरफार गर्ने अनुमति चाहन्छु ।
कम्युनिस्ट आन्दोलनमा मैले ०४६/०४७ सालतिरबाट पाइला हालेको हुँ । म आँबुखैरेनीको एउटा नीजि विद्यालयमा पढाउँथें । आँबुखैरेनीमा छँदा ने.क.पा.(मशाल)का नेता वालकृष्ण श्रेष्ठसँग मेरो चिनजान भयो र उहाँले मलाई आन्दोलनमा डोर्‍याउनुभयो ।
अखिल नेपाल युवक संघ र क. प्रचण्डको नेतृत्वमा रहेको तत्कालीन ने.क. पा.(मशाल) हुँदै यहाँसम्म आइपुग्दा मैले कम्युनिस्ट आन्दोलनमा लगभग तीन दशकको समयावधि बिताएको छु ।
छिमेकी र बाटो हिँड्ने बटुवाले समेत दिलीपलाई चिन्दिनँ भन्दा नि चुटाइ खाए, ‘चिन्छु भन्दा नि चुटाइ खाए ।
म ०४८/०४९ सालदेखि नै गण्डकी साँस्कृतिक संगमको नेतृत्वमा रहेँ र सक्रिय रुपमा तनहुँकास्की, स्याङ्जा, लमजुङ र पर्वतलगायत जिल्लाहरूमा जिल्लास्तरदेखि स्थानीयस्तरसम्मका विभिन्न साँस्कृतिक टिम निर्माण गर्नेप्रशिक्षण चलाउने र कार्यक्रम प्रस्तुत गर्ने काममा मरेर लागिपरें ।
त्यतिबेलाका सडक आन्दोलनहरूमा कहिल्यै गयल भइनँ, सधैं अग्रपंक्तिमा रहेर लडें र सधैं प्रशासनको आँखाको मुख्य तारो बन्न पुगेँ ।
जनयुद्धको तयारीको अन्तिम चरणमा आइपुग्दा माओवादी भनेर खुल्न चाहने हामी सीमित साथीहरू मात्रै थियौं । एकथरी साथीहरू जनयुद्धका लागि बेला भएको छैन भनेर हामीसँग अलग भैसकेका थिए । जनयुद्ध गर्नुपर्छ भन्नेमध्ये पनि कतिपय लाखापाखा लागिसकेका थिएदुलो पसिसकेका थिए । मेरा लागि जबस, मोर्चा संगठनतिरको जिम्मेवारी सहायक र पार्टी तथा लडाकू दस्ताको जिम्मेवारी प्रधान हुन पुगेको थियो । जिल्लामा घोषितरुपमा हामी ४ जना साथीहरू पूर्णकालीन थियौं- क.इन्द्रमोहन सिग्देलक.हरिबहादुर चुमान, क.गोकर्ण पण्डित र म । जिल्ला सेक्रेटरी क. इन्द्रमोहन सिग्देल हुनुहुन्थ्यो, लडाकू दस्ताको कमाण्डर म थिएँसहायक कमाण्डर क.गोकर्ण पण्डित । क. गोकर्ण पण्डित (थर्पु बजारका युवाहरूले राखिदिएको प्यारो नाम : गुरिल्ला ) जो शहीद हुनुभो, क .श्रीराम घिमिरे जसको आजसम्म कुनै अत्तोपत्तो छैन, क. वीरेन्द्र श्रेष्ठ, मलगायत हामी केही साथीहरू एकछिन नसुती रातभरी भित्तेलेखन गर्थ्यौंपोस्टर टाँस्थ्यौं,पम्प्लेट छर्थ्यौ, गाउँ-बस्तीहरूमा मशाल दन्काउँथ्यौं । हाम्रा गतिविधि प्रशासनका लागि नीकै ठूलो टाउको दुखाइको विषय बनेको थियो ।
०५२ सालको माघ महिनामै मलाई गृहमन्त्रीको ठाडो निर्देशनमा जिल्ला प्रशासनले देख्नासाथ गोली चलाउनू भन्ने आदेशसहितको वारेन्ट जारी गर्‍यो । हाम्रा लागि ओछ्यान हालेर न्यानोसँग घरमा बास बस्ने दिन सकिएजङ्गलका चमेरे-ओढार र खरबारीका चिसा कान्लाहरूमा स्याउला ओछ्याएर रात काट्नुपर्ने स्थिति पैदा भयो ।
म भूमिगत भएपछि जनयुद्धकालमा मेरो परिवारमा वृद्धावस्थाका बाबा-आमा र नाबालक छोराछोरीउपर राज्य पक्षले गरेको अमानवीय र पाशविक दुर्व्यवहार कम्ता कहालीलाग्दो छैन । छोरी पूजाले बन्दूकको मोहरीमा बसेर प्रवेशिका परीक्षा दिइन् । हतियारधारी सुरक्षाकर्मीले दश बर्षको उमेरमा छोरो पावेललाई आँखामा कालो पट्टी बाँधेर बजार डुलाए ।
छिमेकी र बाटो हिँड्ने बटुवाले समेत दिलीपलाई चिन्दिनँ भन्दा नि चुटाइ खाए, ‘चिन्छु भन्दा नि चुटाइ खाए ।
जनयुद्धकालीन आन्दोलनमा हामीले भोगेको सास्तीको वर्णन गर्नतर्फ लाग्ने हो भने त्यसले एउटा युग खान्छ । हामीले भोगेको जिन्दगी केही मान्छेको कल्पनाभन्दा धेरै बाहिर छ ।
बजारमा म मरेको हल्ला धेरै पटक चल्यो तर, यो आन्दोलनमा मलाई शिशाको गोलीले भने छोएन । एक अर्थमा त म आन्दोलनले पुरस्कारस्वरूप दिएको नाफाको जिन्दगी बाँचिरहेछु ।
अर्को अर्थमा म यातनाको जीवनयापन गरिरहेछु । मेरा पुराना मुद्दाका मिसिल श्रद्धेय अधिवक्ता दाजु फणिन्द्र बहादुर पाण्डेका दराजमा आज पनि सुरक्षित छन् । मैले सार्वजनिक अपराध, आगलागी र ज्यान मार्ने उद्योग, ज्यान-डाँकामानहानी अथवा अपहेलनाजस्ता दर्जनौं मुध्दाहरू खेपें, जेल परें । मैले ६०-७० पटकभन्दा बढी हिरासतको चरम यातना भोगें । त्यतिबेलाको यातनाले ग्रसित मेरो शरीर आज पनि चलाउनै नमिल्ने गरी दुख्छ । मेरो मेरूदण्डको स्पाइनल कर्ड यातनाले बाङ्गिएको छमेरो मुन्टो दोब्रिएको छ । चिकित्सकले मलाई घोप्टो परेर लेखपढ पनि नगर्नू भन्ने सल्लाह दिएका छन् । अहिले विशेषगरी जाडो याममा मलाई मेरो मुन्टोले घरीघरी दुःख दिइरहन्छ । मलाई मुर्छा पार्ने गरी मेरा शरीरका हरेक मांसपेशी चसक्क-चसक्क चस्कन्छ । र, आज मलाई त्यो घाउभन्दा पनि अर्को घाउ अझ बेस्मारी दुख्छ ।
मेरो दुर्भाग्य, अन्तिम अवस्थामा मैले आफ्नो बाबुको मुख देख्न पाइनँ । बाबु बित्नुभयो भन्ने खबर मैले ४-५ महिनापछि मात्रै पाएँ । खबर सुनाउनेले मलाई त्यतिबेला बाबा बित्नुभएको खबर र सेनाले घरगोठ जम्मै आगो लगाए रे‘ भन्ने खबरसँगै सुनाए । पछि आमाले सुनाउनुभो, तिम्रो बाबा तिमीलाई हरेक दिन सम्झनुहुन्थ्यो । मेरो प्यान्टुले, मेरो प्यान्टुले‘ भनेरै उहाँले प्राण त्याग्नुभो ।
संविधानसभाको पहिलो निर्वाचनपछि आमा फेरी नराम्ररी क्यान्सरको बिरामी हुनुभो । म आमाको एक्लो छोरोआमालाई कालको मुखमा त्यसै एक्लै अलपत्र छोडेर हिँड्न सकिनँमेरो कर्तव्यले दिएन । म घरबार त्यागेर देश- जनताका लागि क्रान्ति गर्न हिँडेको र सत्ता कब्जा गर्न भनेर भर्खर गाउँबाट शहर पसेको एउटा बुङ्गो माओवादी, खल्तीमा फुटेको कौडी थिएन, जसोतसो सर-सापट गरेर आमाको उपचारमा जुटें । मेरो दुर्भाग्य भनुँ बाबाको पालामा नपाए पनि आमाको पालामा उपचारको औसर पाएँसौभाग्य भनुँ लाख प्रयत्न गरेर पनि मैले आमालाई बचाउन सकिनँ । लगभग डेढ बर्षपछि मलाई टुहुरो बनाएर उहाँ बित्नुभयो । रत्यही मौका छोपेर दमौली र पोखराका सुविधासम्पन्न डेराहरूमा सक्रिय जीवनयापन गरिरहेका महाशयहरूले ममाथि आक्रमण शुरू गरे- दिलीप निष्क्रिय बस्यो ।’
पार्टी एकताका नाममा गणितीय खेल शुरु भएपछि र पार्टीभित्र दुई-लाइन सङ्घर्षको अंश मुद्दाले प्रवेश पाएपछि पार्टी विभिन्न गुट-उपगुटमा बाँडियो र अन्नतः टुक्रा-टुक्रा भएर फुट्यो । स्वभावैले मैले कसैको दौराको फेरो समाइनँ । मसँग त्यताकाहरू यताको भनेर तर्सिएयताकाहरू फेरी त्यताको भनेर तर्सिए । र, मलाई ओझेलमा पार्नका खातिर चटकेहरूले उदेकलाग्दा चटक प्रदर्शन गर्न पुगे ।
पार्टी एकतापछि आन्दोलनमा रङ-रङका मान्छेहरूले प्रवेश पाइसकेका थिए । दिलीप मारियो भनेर मेरा परिवारका सदस्यहरूलाई जानाजान आतङ्कित पार्ने बदमास मानव-तस्करहरू चुइगम पड्काउँदै अतिथिका रूपमा मञ्चमा आशन ग्रहण गरिसकेका थिए । दोश्रो संविधानसभाको निर्वाचनसम्म आइपुग्दा पञ्चायतकालीन मण्डले भनेर चिनिएका र पहिलो चुनावमा हाम्राविरुद्ध गतिलै षडयन्त्र गरेका व्यक्तिलाई समेत रातारात पार्टीको उमेदवारका रुपमा प्रस्तुत गरिसकिएको थियो । म जिल्लामा स्क्वाड कमाण्डर छँदा गण्डक-ब्यूरो इञ्चार्ज क.देव गुरुङको प्रत्यक्ष निर्देशनमा एकजना ठूलाघरे हामीले भौतिक कारवाही गर्न गएका थियौ र प्राविधिक कारणवश त्यो कारवाहीमा हामी असफल भएका थियौं । ती ठूलाघरे  पनि पार्टीको केन्द्रीय सदस्य भएर जिल्ला भित्रिसकेका थिए।
जिल्लामा एउटा सम्मेलन मञ्चन गरियो । केन्द्रीय सदस्य भनिएका ठूलाघरेलाई अतिथिका रुपमा निम्त्याइयो । आन्दोलनमा पसेर रातारात करोडौंका गगनचुम्बी महल ठड्याउने नयाँघरेले हामीलाई सर्वहारावादी दर्शन र लेनिनवादी संगठनात्मक सिद्धान्त को उपदेश दिएर उधुम मच्चाए । जनयुद्धकालमा दुलो पसेका छेउघरे र माझघरेहरूलाई दोसल्ला ओढाएर फूलमालाले भव्य सम्मान गरियो । मैले तयार पारिदिएको राजनीतिक प्रतिवेदन तर्कुले र बर्दाने पनि तलमाथि नगरी जस्ताको तस्तै पारित भयो तर, मैले महाधिवेशन प्रतिनिधिका लागि तिनका विपक्षमा आफ्नो उमेदवारी दर्ता गराउन समेत पाइनँ । मलाई जिल्ला सम्मेलनको प्रतिनिधिले पाउने सामान्य अधिकारबाट समेत बञ्चित गरियो ।
मैले भन्न चाहेको यत्ति हो कि यहाँ सर्वहारा आवरणमा अभिजातहरूले हाम्रो सपनाको खुलेयाम हत्या गरे ।
क. तारासिं बि.क.दर्शन को भाषामा भन्नुपर्दा पार्टी हेर्दा-हेर्दै बहुराष्ट्रिय कम्पनी मा परिणत भयो । पार्टीलाई एसिया र विश्वकै ठूलो पार्टी बनाउने घोंक हालियो । भएभरको घसेल्टा-मसेल्टा सोहोरेर दशौं हजारको केन्द्रीय समिति बनाइयो । कस्तो यो विडम्बना दिलीप नाम गरेको यो जन्तु त्यो घसेल्टा-मसेल्टाभित्र पनि अटाएन ।
बर्षौंदेखिको हाम्रो लगानीमाथि यहाँ राष्ट्रिय स्तरमै अप्रिल फुल मनाउने काम भयो । ममाथि स्थानीय स्तरमा समेत पटक-पटक अपमानजनक व्यवहार भए तर, पार्टी नेतृत्व पङ्क्तिले यस विषयमा मौन-धारण सिवाय केही गर्न सकेन । मैले चैत्र १३ गते नै लेखिसकेको छु र पुनः त्यसलाई दोहोर्याएँ- यहाँ हाम्रो इतिहास मेट्ने घोर षडयन्त्र भयो । हाम्रो लगानीको कदर भएन, उल्टो हामीलाई उपहासको पात्र बनाउन खोजियो । हामीलाई अछुत बनाइयोपीडा र अपमान लादियो र, मैले त्यो पार्टीसँग सम्पूर्णरुपले सम्बन्धविच्छेद गर्न पुगेँ ।
म थप स्पष्ट पार्न चाहन्छु, भलाई चिन्ने र जान्नेहरू सबैलाई राम्रो थाहा छ- मैले पार्टी र क्रान्तिलाई नै सधैं सर्वोपरि मानें । मैले आन्दोलनमा कहिल्यै आफ्नो स्थान खोजिनँ, पद-प्रतिष्ठाको भोक-तिर्खाले मलाई कहिल्यै डसेन ।
म दिलीप एक सत्य, जगत सारा मित्थ्या भनिरहेको छैनभन्दिनँ । मैलेभन्दा कैयौं गुणा बढी त्याग गर्ने र मैलेभन्दा सयौँ गुणा बढी अपमान भोग्ने हजारौं श्रध्देय कमरेडहरू यो आन्दोलनमा हुनुहुन्छ । मैले भन्न चाहेको यत्ति हो कि यहाँ सर्वहारा आवरणमा अभिजातहरूले हाम्रो सपनाको खुलेयाम हत्या गरे ।
मैले भन्ने गरेको छु र निर्धक्क भएर फेरी पनि भन्छु- इमान्दारहरूको सर्वहारा-क्रान्ति केही मूठ्ठीभर बेइमान चैते र अभिजातहरूले घोडा चढ्छन् भने मलाई त्यस्तो क्रान्ति मलाई चाहिएन ।
मेरो यो निर्णयपछि केही साथीहरू पार्टी-कार्यालय घेर्न जान्छौं भन्दै आक्रोश व्यक्त गरिरहनुभएको छ । केही साथीहरू हामी तपाईजस्ता योद्धालाई देखेर यो पार्टीमा लाग्यौंअब हामी जाने कहाँ, गर्ने के ?’ भनेर गुनासो पोखिरहनुभएको छ । म मेरा सम्पूर्ण साथीहरूलाई यहाँहरूले मलाई छिट्टै जनताको घर-आँगनमा पाउनुहुनेछ भन्न चाहन्छु । र, यसलाई अन्य कुनै पनि अर्थमा नलिइदिनुहुनका लागि हार्दिक अनुरोध गर्दछु । मेरो यो निर्णयले साथीहरूको भावनामाथि कहीँ कतै कुनै चोट पुगेको भएमा म माफी चाहन्छु ।


र, अन्तमा एउटा गीत नाइकेहरूलाई-
म भन्दिनँ तिमीलाई, आकाशका तारा टिपी लेऊ
मलाई मेरा शहीदका, सपनाको पाण्डुलिपि देऊ ।
सत्य-सत्य निसाफ गर, भविष्यको हिसाब गर
वर्तमान कवोल गर, इतिहासको मोल नगर
जनताको रगत र, पसीनाको मिसिसिपी देऊ ।
म मान्दिनँ स्वस्थानीका, काल्पनिक प्रेमकथा
म सुन्दिनँ मरेपछि, स्वर्ग तर्ने भागवत
गरीबको सत्ययुग, थापनाको तिथिमिति देऊ ।
http://www.sajhapost.com बाट साभार 

No comments:

Post a Comment