Sunday, October 14, 2018

प्रज्ञा–प्रतिष्ठान प्रज्ञाको नाममा कलंक हो - खगेन्द्र संग्रौला


खगेन्द्र संग्रौलाका प्रशंसक र आलोचक धेरै छन्, अर्थात् उनका पाठक धेरै छन् । उनी कडा लेख्छन्, कडा बोल्छन् । खगेन्द्रको धारिलो र झर्रो लेखाइ कतिपयलाई नकारात्मक लाग्छ, तर उनी तर्कपूर्ण आलोचना गर्छन् । साताअघि उनकै घरमा कुराकानी हुँदा मन प्रफुल्ल नभएको उल्लेख गर्दै नयाँ केही लेख्न नसकेकोमा दुःखी थिए । नेपाल प्रज्ञा–प्रतिष्ठान, प्रगतिशील साहित्य र उनको लेखनीमा केन्द्रित रहेर बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको सार ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको आलोचना गरेर तपाईं कहिल्यै थाक्नुहुन्न नि ? 
पञ्चायतकालमा प्रज्ञा–प्रतिष्ठान आधारभूतरुपमा राम्रो थियो । राजाले आफ्नो बंशको सेवा गर्ने, राजसंस्थाको आयु बढाउनेहरुलाई नै भर्ती गर्थे, तर जसलाई भर्ती गर्थे ती ज्ञानसम्पन्न, प्रज्ञासम्पन्न, सिर्जनशील मानिस हुन्थे । तिनले सिर्जना खराब गरे होलान् किनभने तिनीहरु राजाका सेवक थिए । त्यो बेग्लै कुरा हो । त्यसउप्रान्त प्रज्ञा–प्रतिष्ठानमा पार्टीका कुल्लीहरु भर्ती गरियो । बैरागी काइँलाजस्ता केही योग्य मानिस त्यहाँ नगएका होइनन्, तर समग्रमा पार्टीका हनुमानहरु, भक्तहरु, सेवकहरु नै त्यहाँ रोजिने हुन् । प्रज्ञा र ज्ञान अनि रचनाशीलता र त्यसले निर्माण गरेको आलोकका आधारमा त्यहाँ कसैलाई रोजिँदैन । रोजिन्छ को त, जो बढी भक्त छ, जो बढी आज्ञाकारी छ । अनि म चैं त्यसलाई घोडाको तबेला भन्छु । त्यो यस्तो घोडाको तबेला हो जहाँ प्रभुको सेवा गर्नेहरुले दानापानी ग्रहण गर्छन् । 
माओवादी सत्तामा आएपछि प्रचण्ड र बाबुरामको बर्चस्व रहेको बेला एकदिन बिहानै मेरो घरमा आइपुगे दुवै नेता । लालसिपाहीँहरुको भीडसहित । त्यहाँ उनीहरुले दुईवटा कुरा गरे । एउटा ‘हामीलाई बन्दुक र लडाईंका विषयमा थाहा छ । तर संसद्मा तर्क गर्नुपर्छ । संसद्मा त एकसेएक रकमीहरु हुन्छन् । हामीसँग त्यस्ता तर्कपूर्ण जवाफ दिने सांसदको कमी छ । सांसद भइदिनुपर्‍यो ।’ अर्को प्रस्ताव थियो, प्रज्ञा–प्रतिष्ठानको कुलपति भइदिनुप¥यो । मैले भनेँ, प्रज्ञा–प्रतिष्ठानको कुलपतिको दुईवटा भूमिका छ । एउटा प्राज्ञिक र अर्को प्रशासनिक । प्राज्ञिक भूमिका म जेनतेन निर्वाह गरुँला । तर प्रशासनिक भूमिका मै सक्दिनँ । अर्को म अर्धअराजक शैलीको मान्छे । हरेक पदको सीमा हुन्छ । त्यसका नीति हुन्छन् । नियम हुन्छन् । मर्यादा हुन्छ । म त्यसरी बाँधिने मान्छे होइन । 
प्रज्ञाका विषयमा मलाई धेरै कर गरे । त्यसपछि मैले एउटा शर्त राखेँ, त्यो के भने, म कुलपति बन्ने हो भने टिम म आफै बनाउँछु । त्यो टिममा माओवादी लेखकमात्रै हुँदैनन्, कांग्रेस पनि हुन्छ । एमाले पनि हुन्छ । मेरो शर्तमा हो भने म बन्छु । तर म माओवादीको कुलपति बन्दिनँ । तपार्इंहरुले लेखकका नाममा कार्यकर्ता त्यहाँ पठाउनु होला । यस्ता कार्यकर्ता पठाउनु होला, जसको लेखकको रुपमा कुनै पहिचान नै नहोला । त्यसकारण त्यो घाँडो म ब्यहोर्दिनँ । 
भाग्यवश मोहन वैद्यजीले मलाई अस्वीकार गर्नुभयो । ‘त्यो त घोर दक्षिणपन्थी हो । त्यस्ता मानिसलाई ल्याउने प्रज्ञामा !’ भनेर तर्किनुभयो । धन्य, वैद्यजीले मलाई बचाइदिनु भयो । संक्षेपमा भन्ने हो भने, प्रज्ञा–प्रतिष्ठान प्रज्ञाको नाममा कलंक हो । त्यहाँ चिन्तन केही हुँदैन । गम्भीर अनुसन्धान, गम्भीर सिर्जना तथा गम्भीर कार्य, त्यहाँ केही पनि हुँदैन । वाङ्मय समृद्धिका लागि कुनै काम हुँदैन । त्यहाँ त प्रभुको भजन हुन्छ र भजन गाउँदै जागिर खाइन्छ । 
यस्तो प्रवृत्ति कायम रहँदा भाषा, साहित्य र कलाको प्रवद्र्धन होला ?
प्रज्ञा–प्रतिष्ठान नितान्त कर्मकाण्डी र नोकरशाही संस्था हो । यो मालिकहरुले आफ्नो स्वार्थसिद्धिका निम्ति निर्माण गरेको संस्था हो । यस्तो संस्थाबाट भाषा, साहित्य र वाङ्मयको विकास हुँदैन । यसको त कामै छैन । म त के भन्छु भने, योभन्दा गतिलो प्रज्ञा–प्रतिष्ठान बनाउन सकिँदैन भने यसलाई विघटन गरिदिए हुन्छ । यो भएर लाभ के भएको छ ? विघटन गरेर हानि नै के हुन्छ ? अलिकति साधनस्रोत त जोगिन्छ नि ।
यहाँ एउटा प्रसंग उठाउन मन लाग्यो । जब पहिलो पटक गंगाप्रसाद उप्रेती कुलपति बनाइए, त्यो समाचार सुनेपछि म चकित र विस्मृत भएको थिएँ । पाँचथरमा स्कूल पढ्दा गंगाजी र म सहपाठी थियौं । मेरो असल मित्र हुनुहुन्छ उहाँ । हामीबीच मित्रता पनि कायम छ । तर कुलपतिमा नाम आएपश्चात मेरो मनमा प्रश्न उठ्यो कुन प्राज्ञिक सामथ्र्यले, कुन कर्म र कृतिले गंगाजी कुलपति हुनुभयो ? त्यो प्रश्न अद्यापि छँदैछ । 
जहाँसम्म गंगाजीको योग्यताको कुरो छ, खड्गप्रसाद ओलीसँग उहाँको नाता पर्छ, एउटा योग्यता यो हो । खड्गप्रसाद र गंगाप्रसादका बीचमा आइजाइ राम्रै चलिरहन्छ, दोस्रो योग्यता हो यो । अनि तेस्रो योग्यता हो, उहाँहरुबीच खानपान चलिरहन्छ । 
प्राज्ञिक र रचनात्मक क्षेत्रलाई सत्ताबाट अलिकति टाढा राखिएन भने, नोकरशाहीबाट टाढा राखिएन भने, यसले गर्नुपर्ने आफ्नो कर्म गर्न सक्दैन । साहित्य र कलाले कसैको आदेशको अपेक्षा गर्दैन । बरु आदेशको अवज्ञा गर्छ । यतिबेला भन्नैपर्छ, प्रज्ञा–प्रतिष्ठानको केही गर्ने उद्देश्य नै छैन । यसलाई सत्ताबाट पर नराखेसम्म यसले केही गर्न सक्दैन । 
अहिले त झन् तीनतीन वटा प्रज्ञा–प्रतिष्ठान छन् ? 
म यसलाई बेठीक भन्दिनँ । भाषासाहित्यले कलाका अन्य विधाहरुलाई उपेक्षा गरेको हुनाले, त्यस क्षेत्रकाले वृत्तिविकासको अवसर नपाएको हुनाले, तिनले आफ्नो पहिचान स्थापित गर्न नसकेको हुनाले, तीनवटा प्रज्ञा–प्रतिष्ठान बनाइएको थियो । अहिले गाभ्ने भनिएको छ । गाभ्नु हुँदैन । गाभ्नु नै थियो भने तीनवटा बनाइयो किन ? तीनवटै अलगअलग नै हुनुपर्छ । र, तीनवटैमा समर्पित र प्राज्ञिक व्यक्ति नियुक्त हुनुपर्छ ।
तपाईं कडा लेख्नुहुन्छ हगि ? 
हो । किनभने समाजमा अन्याय कायम छ । दुष्टता कायम छ । विश्वासघात कायम छ । त्यसैले मेरो आक्रोश पनि न्यूनीकरण भएको छैन । शब्दले गज्जबको काम गर्छ । शब्दले काम नगर्ने थियो भने आदिमकालदेखि मानिस आजको समयसम्म आइपुग्ने नै थिएनन् । शब्दकै कमाल हो त्यो । तर शब्दकर्मीको शब्दले कसरी काम गरिरहेको हुन्छ त्यो उसलाई थाहा हुँदैन । मुला रोप्नुस मुला देखिन्छ । तर चिन्तन र सिर्जना यस्तो अमूर्त कर्म रहेछ, त्यसका परिणतिहरु प्रत्यक्षरुपमा देखिँदैनन् । शब्दको अप्रत्यक्ष प्रभाव परिरहेकै हुन्छ ।
लेख्न सकिएन पनि भन्नुहुन्छ, लेखिरहनु भएको पनि छ नि ? 
वास्तवमा म दुई कारणले लेख्न बाध्य छु । एउटा त मलाई मेरा पाठकहरुको दबाब छ । अर्को मेरो कुनै स्थायी आर्जन छैन । मेरो बैंक ब्यालेन्स पनि छैन । पेन्सन पनि छैन । त्यसैले गर्जो टार्न लेख्नैपर्छ । अर्को कुरो, एउटा लेखकले हात र मष्तिष्क चलुन्जेल केही न केही लेखिरहनै पर्छ । 
लेख्नलाई लेखकीय खुराक पनि त चाहिएला ?
हेर्नुस्, म पाँचथरमा जन्मिएँ । म त्यो भाग्यमानी हुँ जसले औपचारिक शिक्षा प्राप्त गर्‍यो । अनौपचारिक ज्ञान लियो । अलिकति भाषा सिक्यो । अभिव्यक्तिको कला सिक्यो । अनि आफ्नो नाम बनायो । वास्तवमा मलाई नेपाली भाषाले यहाँसम्म ल्याइपुर्‍याएको हो । पाठ्यपुस्तक नेपालीमा थियो । रामायण, महाभारत नेपालीमा थियो । गुलबकावलीको कथा नेपालीमा थियो । अर्थात मसँग भाषा थियो । त्यही भाषाले मलाई यहाँसम्म पुर्‍याएको हो । म जे भएँ, त्यो मेरो विवेक, प्रतिभा, सौर्य र परम्परागत सम्पत्तिले मात्रै भएको होइन । मलाई यस्तो बनाउनका निम्ति धेरैको योगदान छ । मैले तिनीहरुप्रति कृतज्ञ हुनैपर्छ ।
गाँठी कुरो भाषा नै हो । जन्मको कारण, जातको कारण, वर्णको कारणले तपाईंलाई जेजे सुविधा प्राप्त छ, धेरै मान्छे ती सुविधाबाट वन्चित भएर त्यस्ता सुविधा हामीलाई प्राप्त भएका हुन् । धेरै मानिसको सुविधामाथि तपाईंले एकाधिकार गर्नुभएको छ । हामीले धेरै मानिसलाई ठगेका छौं । र प्रायश्चितका निम्ति हामीले केही गर्नु पनि पर्छ ।
तपाईंको लेखनको स्रोत र प्रयोजन दुवै सकिएको छैन ?
छैन । ऊर्जा कहिले पनि मर्दैन । हो, उमेरअनुसारको क्रियाशीलतामा केही उतारचढाव हुन सक्छ । कठोर शब्दमा भन्ने हो भने, कठोर यथार्थलाई अभिव्यक्त गर्ने हो भने अबको मेरो लेखन भनेको कर्मकाण्ड हो । मैले जानेको त्यही हो । जानेको कुरा गरिरहने हो । तपार्इंको वचनले कसैको आँखामा आलोक जगाउला । मनमा आशा जगाउला । जीवनमा गति थप्ला । तर फेरि पनि सत्य के हो भने, मैले युवावयमा जेजे लेखेँ, धेरै–थोरै जेजति राम्रो लेखँे त्यति राम्रो भने अब लेखिँदैन । 
के कारणले त्यस्तो भयो ?
उमेरले नै हो । किनभने बूढो हुन्छ सबै कुरो । तपाईंको शरीरका कोषहरु बूढा हुँदै जान्छन् ।
सोचाइ पनि बूढो हुन्छ ?
सोचाइ बूढो हुँदैन । सोचाइको पनि तीव्रता होला, केही व्यापकता र गहनता होला । त्यसका पनि सीमा त होलान् । आदर्श बूढो हुँदैन । लक्ष बूढो हुँदैन् । दर्शन बूढो हुँदैन् । तर धेरै कुराका सीमाहरु विस्तारै कोरिँदै जान्छन् । अचेल त के लाग्छ भने, शब्दको परिमाणको हिसाबले मैले धेरै लेखेको छु । ३०–३२ वटा किताब त मैले अनुवाद नै गरेको छु । विशाल संख्या हो यो । अखबारी लेखन पनि गरिरहेकै छु । अखबारी लेखनका शब्दसमेतलाई जोडने हो भने सम्भवतः मदनमणि दीक्षितपछि सबैभन्दा बढी शब्द लेख्ने मै हुँला । 
कहिलेकाहीँ लाग्छ, जीवनको जुनजुन क्षणमा विषय र शिल्पका दृष्टिकोणबाट केही उपयोगी कुरा लेखियो त्यो बेलामा अलिकति बढी प्रयत्न गरिएको भए केही राम्रा अझै लेखिन्थ्यो कि ! 
प्रारम्भमा तपाईं प्रगतिशील लेखक संघमा महासचिव हुनुभयो । त्यहाँ जोडिनु आवश्यक थियो ?
सायद आवश्यक थियो होला । किनभने विचारशून्य त मुर्दामात्रै हुन्छ । हरेक जिउँदो मानिस विचारले जिउँदो हुन्छ । त्यो विचारको पृष्ठभूमिमा दर्शन हुन्छ । यसले लेखक सजगरुपमा परिवर्तनकामी राजनीतिक दर्शनमा प्रतिवद्ध हुनु आवश्यक पनि हो । तर प्रश्न के हो भने, तपार्इं राजनीतिमा आवद्ध भएर, तपाईंले पार्टीको सदस्यता लिएर पोलिटब्युरोका अगुवाहरुको आदेश मान्ने हो कि आफ्नो विवेकले काम गर्ने हो ? कुरो त्यतिमात्रै हो । मैले त्यहाँ गएर गल्ती गरेजस्तो लाग्दैन । म प्रगतिशील लेखक संघमा गएँ, त्यो एउटा परीक्षा थियो । आफूलाई २४ क्यारेटको प्रगतिशील भन्नेहरुसित संगत पनि भयो । तर म जुन विचारमा प्रतिवद्ध भएँ र म अहिले जे बनेको छु त्यही विचारले नै बनेको हो ।
लेखनमा यस किसिमको कित्ताकाट नभइदिएको भए लेखक र लेखन झनै बलियो हुन्थ्यो होला नि ?
विभाजित समाजमा सबै कुरा विभाजित हुन्छ । समाज वर्गमा विभाजित छ । लिंगमा विभाजित छ । वर्णमा विभाजित छ । हामीकहाँ त भूगोलमा पनि विभाजन छ । तथापि, एउटा कुरा के हो भने चिन्तक र सर्जक स्वायत्त हुनुपर्छ । तपाईं कसैको आदेशमा चल्नुहुन्छ भने तपाईं सर्जक होइन् लेखनदास हो । लेखनदास र लेखकमा फरक छ । 
प्रगतिशील लेखक संघमा म एकपटक थिएँ । पछि मैले छोडेँ । त्यो मलाई पोलिटब्युरोका मालिकहरुका कुल्लीहरुको झुण्डजस्तो लाग्यो । त्यसैले मैले छोडिदिएँ । तर म त्यहाँ जानु आफैमा गलत थिएन । त्यो एउटा प्रयोग थियो, परीक्षण थियो । मैले त्यहाँबाट धेरै कुरा सिकेँ । नेपालमा आफूलाई प्रगतिवादी भन्नेहरु कस्ता छन्, प्रगतिशील लेखकको चरित्र के हो, त्यसलाई चलाउँछ कसले ? यो हेरिनुपर्छ । 
सारभूतरुपमा, जो ठूलो लेखक, प्रतिभासम्पन्न लेखक हुन्छ, त्यो अन्तरवर्गीय हुन्छ । बीपी कोइराला, पारिजात अन्तरवर्गीय लेखक हुन् । एउटा विचार र दर्शन अवलम्बन गरेर पनि, संगठनमा रहेर पनि दृष्टि व्यापक हुनुपर्छ, लेखकको । तपार्इंको पठन र सामाजिक सम्पर्क व्यापक हुनुपर्छ । लेखक कुवाको भ्यागुतो भयो भने त्यसले कसैलाई कहीँ पनि पु¥याउँदैन । तपाईंलाई मन परे पनि नपरे पनि विभाजित समाजमा विचारहरु विभाजित हुन्छन् नै । त्यसैले लेखक पनि विभाजित भयो । तर लेखक कति रुढ हुने, कति कर्मकाण्डी हुने र कति असहिष्णु हुने ? त्यो बेग्लै कुरा हो । 
त्यसको प्रभाव त लेखनमा पर्छ नि ?
दृष्टिकोण निरपेक्ष कुरा होइन, समाजसापेक्ष कुरा हो । समाज कस्तो छ, यसको चरित्र कस्तो छ, यसको विविधता केके छन्, त्यसैको आधारमा दृष्टिकोण बन्ने हो । हामीकहाँ कहिलेकाहीँ सुनिन्छ सबै दर्शनहरु बासी छन्, त्यसैले दर्शन नबोक्ने । सत्य भनेको  हो भने संसारको कुनै पनि दर्शन अन्तिम सत्य होइन । माक्र्सवाद अन्तिम सत्य होइन । नित्से अन्तिम सत्य होइन । गान्धी पनि अन्तिम सत्य होइन । आफैले अवलम्बन गरेको दर्शनलाई पनि आलोचनात्मक दृष्टिले हेर्नुपर्छ । 
कालमाक्र्स के भन्थे ? मैले सबैभन्दा बढी आलोचक हुने भनेको मेरो दृष्टिकोणप्रति हो । तर व्यवहारमा जाँदा मान्छे विचारको दास भयो । विचार अवलम्बन गर्नु र विचारको दास हुनु फरक कुरा हो । रचनात्मक दृष्टिले, आलोचनात्मक दृष्टिले दर्शन ग्रहण गर्नुपर्छ । त्यसलाई सिर्जनात्मक किसिमबाट उपयोग गर्नुपर्छ ।
फरक विचारले व्यक्तिव्यक्तिमा फुट ल्याउँछ होइन ?
त्यो स्वाभाविक हो । फुटबिनाको समाज नै हुँदैन । गुटबिनाको समाज नै हुदैन् । 
त्यो नभएदेखि नेपाली साहित्य धेरै माथि पुग्थ्यो कि ?
त्यो हाम्रो आदर्श कल्पनामात्रै हो । यथार्थले त्यसलाई अनुमति नै दिँदैन । तर एउटा कुरो पक्कै के हो भने एउटा लेखकको दृष्टिकोण व्यापक चैँ हुनुपर्छ । सबै प्रकृतिका चिन्तनसँग सम्पर्कमा रहनुपर्छ । सबै किसिमका प्रवृत्तिसँग संवादमा रहनुपर्छ । तर उभिने ठाउँ भने आफ्नो हो ।
तस्बिर : सौरभ रानाभाट 
www.baahrakhari.com बाट साभार 

No comments:

Post a Comment