Sunday, August 6, 2017

अपरिचित चिठी - इन्दिरा प्रसाई



प्रिय बहिनी रेणु दाहाल
तिमीलाई शुभकामना!

अबको तिम्रो दिन यस्तो आउदै छ कि तिमीले विजय हासिल गर्दा पनि जितेकी हुनेछ्यौ र पराजय भोग्दा पनि तिम्रै जित मानिने छ। मान्छेले तिम्रो यति धेरै डाहा गरे जसले गर्दा म जस्ता धेरै अन्यायका विरोधीहरू तिम्रो समर्थनमा ओइरिन पुगेका छौं।

देशमा तिम्रा विरूद्धमा वाढी आएको देख्दा मलाई हाम्रो नेपाली मानसिकताप्रति हाँस उठेको छ, टिठ लागेको छ र विरह पनि चलेको छ। प्रधानमन्त्री र राष्ट्रपति जो हुँदा पनि हुने! जतिसुक‌ै उपप्रधानमन्त्री र मन्त्री खाँदिदा पनि हुने! जस्तै भ्रष्ट र मुलुकमारा जो जहाँ मनोनीत र नियुक्ति हुँदा पनि सबैले कानमा तेल हाल्नु पर्ने ! त्यस्ता जघन्य अवस्थामा पनि यस्तो क्रान्ति भएको त मैले सुनेकै पनि थिइँन । तर नगर प्रमुखको पदका लागि आज यो कस्तो खेल कसरी भइरहेको छ ?

तिम्रो विजय स्वीकार नगर्नेले तिमीले मनोनयन पत्र दाखिल गर्दा नै विरोधमा कुर्लिनु पर्थ्यो। अथवा निर्वाचन आयोगले नै तिमी प्रधानमन्त्री पुत्री भएकीले उम्मेद्वारी नै दिन नपाउने नियम बनाउनु पर्थ्यो । त्यसबेला तिमी प्रधानमन्त्री पुत्री थिइनौ र ? अनि नेपालमा विगतमा अरू मन्त्री र प्रधानमन्त्रीका नातेदारहरूले चाहिँ कुनै पदीय दायित्व निर्वाह गरेको उदाहरण नै पनि छैन र ?

मैले थाहा पाएसम्म प्रत्येक दलमा नाता कुटुम्बकै बोलबाला देखेकी छु । केही प्रमुख उदाहरणका रूपमा मातृकाप्रसाद कोइराला, वीपी कोइराला, गिरीजाप्रसाद कोइराला, सुशील कोइराला, प्रकाश कोइराला, शेखर कोइराला, नोना कोइराला, लीला कोइराला, शशाङ्क कोइराला, सुजाता कोइराला, शैजला आचार्य लगायत सबै कोइराला एउट‌ै घरको चुलो खाने नै थिए। गणेशमान सिंह उनकी पत्नी मङ्गलादेवी सिंह र छोरा प्रकाशमान सिंह पनि त एक्कैचोटि फक्रेका थिए। त्यसै गरेर पुष्पलाल र निजकी पत्नी साहना प्रधानले नै पनि राजनीति नेतृत्व गरेकै थिए। मनमोहन अधिकारी,भरतमोहन अधिकारी दाजु भाइ हुन्। मदन भण्डारी, विद्या भण्डारी पतिपत्नी नै हुन्। डा. रामशरण महत र प्रकाशशरण महत पनि दाजु भाइ नै हुन्। शेरबहादुर देउपा र आरजु देउपा पतिपत्नी र देउपाकी सासू प्रतिभा राणा पनि ठूलै छिन् । डा.बाबुराम भट्टराई र हिसिला यमी पनि एक्कैचोटि मन्त्री हुने दम्पती हुन्। अर्जुन नर्सिङ केसी र निजका ज्वाईँ गगन थापा अहिले मन्त्री नै छन्। सूर्यबहादुर थापाले आफ्नै पुत्र सुनिल थापालाई मन्त्री बनाए र लोकेन्द्रबहादुर चन्दले पनि जेठा छोरा जयन्त चन्दलाई त्यसै गरे। कमल थापाले आफ्ना भाइ गणेश थापालाई माननीय दिए। अमृत बोहोरा र अष्टलक्ष्मी शाक्यको पनि हिसाव सबैलाई थाहै छ। राधाकृष्ण मैनाली र चन्द्रप्रकाश मैनाली सहोदरी पनि एउटै क्याविनेटमा बसेकै थिए र पछि सीपी पत्नी नीलम केसी पनि मन्त्रीमै बसिन् । राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डे सहोदरी नै मन्त्री भएका थिए कि थिएनन्? महेन्द्रनारायण निधि र विमलेन्द्र निधिले पनि काङ्ग्रेस पार्टी चलाएका नै हुन् । शक्ति वस्नेत र सत्य पहाडी श्रीमान् श्रीमती पनि पालैपालो मन्त्री भए । अन्सरी घर्तीमगर र वर्षमान पुनले पनि आआफ्नो उच्च राजनीतिक पदीय सेवा निर्वाह गरेकै थिए। यी आदि इत्यादी एकाघर परिवारका व्यक्तिहरू विभिन्न कालखण्डमा पटकपटक राजनैतिक पदाधिकारी रहिआएकै देखिन्छ । अनि अहिले तिम्राबारे चाहिं प्रधानमन्त्रीकी छोरी भएकीले मेयर हुन अपराध हो भन्ने नानाभाँती देउसिरे भट्याउन कसले सिकाएछ कुन्नि ! यो कत्ला बेहोरा कहाँबाट सृजना भयो ? अथवा भनौं प्रचण्ड उपरको रिस तिमीमा खन्याएका हुन् या नारीमाथिको हेपाहा प्रवृत्ति हो ?

रेणु बहिनी! त्यसैले यसबेला तिम्रो संभावित (काल्पनिक) विजयप्रति कोकोहोलो मच्चाउनुको कुनै तुक भएजस्तो मलाई लागेन। आज तिम्रो वदनाम र विरोधका लागि ईर्श्या, डाहा र ताप नै प्रमुख रूपमा अघि सरेको हो भन्ने मलाई लागेको छ।

म माओवादी होइन र हुने पनि छैन । माओवादीले गरेका राष्ट्रवादी कामको म प्रशंशक हुँ भने राष्ट्रविरोधी कामको निन्दक हुँ । दलभन्दा धेरै माथि राष्ट्र हुन्छ र म दलवादी नभएर व्यक्तिवादी हुँ । राष्ट्रलाई शिरमा बोक्ने, राष्ट्रका लागि मर्ने र बाँच्ने कुनै पनि व्यक्ति मेरा लागि प्रिय छन् ।

अर्कोकुरा पितामाता अनुरूप नै सन्तानको प्रवृत्तिको किटानी गरिनु पनि हुन्न भन्ने मलाई लाग्छ । किनभने हाम्रै धरातलमा हिरण्यकश्यपु र प्रह्लाद अनि कङ्श र कृष्णका उदाहरण पनि नभएका होइनन् । यसै परिप्रेक्ष्यमा एउटी चेतनशील नागरिकको हैसियतले अर्की जागरूक नागरिक माथि घोर अन्यायको धावा बोलिएको परिस्थिति सहन मलाई कठिन भएको छ । यत्ति चाहिँ सत्य हो, पुरूषद्वारा सञ्चालित नेपाल लथालिङ्ग र भताभुङ्ग हुँदै गएको छ। यस्तो दुखद अवस्थामा मुलुकको आगामी सम्पूर्ण शासन व्यवस्था नारीकै नेतृत्वमा सञ्चालित हुन सके मुलुक र जनताले राहत पाउँथेकी भन्ने मैले बलियो आशा बोकेकी हुँ। त्यसैले यस बेला तिम्रो विजयको सम्भावनाले मलाई पनि सुखद आशाको किरण देखाएको छ ।

प्रिय बहिनी रेणु! यस चुनावमा तिमीले जित्नु पर्छ; जित र मुलुकका लागि केही गरेर पनि देखाऊ । तर तिमीलाई हराउन पनि केही शक्तिहरू पटुका कसेर नै लागेका छन्। यसमा तिमी केही फिक्री पनि नमान। लटरम्म फल देख्ता झटारो हान्ने हाम्रो संस्कृति हुँदै हो नै! आगामी दिनहरूमा पनि तिमी जति सक्षम, योग्य र सफल हुँदै जान्छ्यौ तिम्रा शत्रुहरू यसरी नै ठाडा पर्दै जानेछन् भन्ने यो सजिलो नेपाली पाठ हो; पढ।

सुन पनि आगाबाट निस्केपछि मात्र चम्किन्छ भने जस्तै तिम्रो पनि अब मैले स्वर्णिम दिनको कामना गर्न थालिसकेकी छु। त्यसैले यो चुनावलाई तिमीले गुरू माने हुन्छ । जितको प्रवेशद्वारमा पुगेकी तिमीले पराजय भोग्नु नै परे तापनि त्यसलाई तिमीले आफ्नो भविष्यको सर्वाधिक विजय प्राप्तिको अजस्र शक्तिका रूपमा सङ्ग्रह गरे हुन्छ।

रेणु! अन्त्यमा म तिमीलाई फेरि एउटा कुरा चाहिं भनेर जान्छु- "तिम्रो भावी राजनैतिक यात्रा स्वर्णिम बनोस्"; तिमीलाई मैले यही मङ्गलमय शुभकामना अर्पित गरेकी छु।

तिमीलाई माया गर्ने
अपरिचित दिदी
(इन्दिरा प्रसाई)

No comments:

Post a Comment