Sunday, August 6, 2017

भक्तपुरेलाई बधाई - नरेन्द्रराज प्रसाई

भक्तपुरेलाई बधाई 
•••
√ सुनिल प्रजापति नेपाली वाङमयका मर्मज्ञ हुन्। त्यसैले उनी राम्रा हुन् र हाम्रा हुन्। उनको राजनीतिक धरातल जे भए तापनि उनी भक्तपुरे जनताका गतिला नेता र सफल राजनीतिज्ञ हुन् । मलाई थाहा भएसम्म र मैले बुझेसम्म भ्रष्टाचार उनको शत्रु हो र न्याय, निसाफ र जनकल्याण उनको धर्म हो। उनी विकासका एउटा सग्लो पाटो हुन् । अनि ती सबै कुराहरूभन्दा पनि उनी नारायणमान विजुक्छे 'रोहित'का सच्चा हिमायती हुन्। अझै भन्नु पर्दा उनी एउटा सक्कली देशभक्त हुन् ।
√ गणतन्त्र नेपालको आगमनसँगै नेपाल प्रज्ञा प्रतिष्ठानको ऐन परिवर्तन भई प्रतिष्ठानका आजीवन सदस्यको पद र भत्ता खारेजीमा पारिएको थि‍यो । नइ प्रकाशनको निवेदनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष माननीय नारायणमान विजुक्छे रोहितको नेतृत्वमा मा.सुनिल प्रजापतिद्बारा व्यवस्थापिका संसदमा पहल गरी प्रतिष्ठानको ऐन सुधारेर आजीवन सदस्यको पद र भत्ताको पुनर्जन्म गराइएको थियो । आज यस्ता वीर योद्धा भक्तपुर नगरपालिकाका मेयरमा विजय भएको सूचनाले हामीलाई गौरव लागेको छ।
√ धेरै वर्षअघिदेखि म रोहितपुरसँग परिचित पनि छु। साथै मैले त्यस दलको कृत्यलाई पत्याएको पनि थिएँ । पछि झन् ने.म.कि.पा.ले आफ्नो जनशक्ति र विकास योजनालाई प्रमाणिकरण गर्दै गएको पनि देखियो। त्यतिमात्र होइन, त्यसै पार्टीले भक्तपुर नगरपालिकामा आफ्नो वर्चस्व कायम गरेपछि खोप इन्जिनियरिङ कलेजको स्थापना गरेको थियो। जुन ख्वप कलेज अहिले नेपालको प्रतिष्ठित शैक्षिक प्रतिष्ठानका रूपमा रहेको छ । यही बेहोरालाई मात्र आधार मान्दा पनि नेपालका सबै महानगर, नगर र गाउँ पालिकाहरूले विकास निर्माणका लागि कसरी काम गर्न सकिन्छ भन्ने गतिलो उदाहरण देखिन्छ। अब नगर प्रमुख सुनिल प्रजापतिले त्यहाँ विश्वविद्यालय नै बनाउने घोषणा पनि गरिसकेका छन्।
√ राष्ट्र विकासका लागि नेपालीलाई नारायणमान विजुक्छे रोहितको नेतृत्वमा प्रेम सुवाल र सुनिल प्रजापति जस्ता विकासवादी र जनवादी सबल हस्ती चाहिएको छ।
√ आजभन्दा तीस वर्षअघिको भक्तपुर र आजको भक्तपुरको तुलनात्मक अध्ययन गर्दा नेपालमा ने.म.कि.पा.ले नेपाल राष्ट्रको शासन चलाउने हो भने एकातिर राष्ट्रियता बहुरिन्थ्यो भने अर्कातिर राष्ट्र विकासको जरा बलियो हुन्थ्यो र नेपाल एशियाली मापदण्डको शिखरमा पुग्न सक्थ्यो जस्तो मलाई लाग्छ।
√ क.नारायणमान बिजुक्छें 'रोहित' नेपाली जनताको सुक्ख समृद्धिका लागि जसरी चिन्तित देखिन्छन् त्यसरी नै नेपालको स्वाभिमान जोगाउन र राष्ट्रको चौतर्फी विकासका लागि अहोरात्र समर्पित छन् भन्ने सग्लो प्रमाण उनको रातोदिनको समर्पणले प्रमाणित गरिरहेको छ।
√ भक्तपुर नगरपालिकामा सुनिल प्रजापतिको जित भनेको प्रजापतिको मात्र जित नभएर सम्पूर्ण नगरक्षेत्रकै विजय हो भन्ने लागेको छ। अयोग्यहरूले जितेपछि देश कमजोर हुन्छ भने सुयोग्यहरूले जितेमा नै राष्ट्र बलियो हुन्छ। त्यसैले देशभक्त, जनभक्त र विकासवादी सुनिल प्रजापतिको विजयमा नइ दम्पतीकै तर्फबाट मैले फूल माला पठाएको छु।
√ सुनिल प्रजापतिको कार्यकालमा नेपाली वाङमयले थप हौसला, प्रेरणा र साथ पाउने छ भन्ने कुरामा पनि म थप विश्वस्त छु।
√ सुनिल प्रजापतिको मेयरको यो कार्यकाल नेपालमा अर्को नमुना बनोस् र त्यो नमुना नेपालको राजनीतिक इतिहासमा स्वर्णिम बनोस् भन्ने मेरी पुरोधिका इन्दिराका तर्फबाट समेत मैले बधाईका साथ शुभकामना अर्पित गरेको छु।

No comments:

Post a Comment