शारदा भुसाल भ्रष्टाचारविरोधी अभियन्ताको रुपमा चिनिन्छिन् । भ्रष्टाचारविरोधी अभियानका क्रममा उनी धेरैपटक अनसन पनि बसेकी छन् । महिलाअधिकार, मानवअधिकार र भ्रष्टाचारविरोधी अभियन्ताका रुपमा परिचय बनाएकी भुसालले हालै ‘धरातल’ नामक आफ्नै आत्मवृतान्त प्रकाशमा ल्याएकी छन् । धरातलमा एमाले नेता एवं पूर्वमन्त्री मोदनाथ प्रश्रितले आफूमाथि बलात्कार गरेको र वर्तमान मन्त्री शान्ता मानवीले मोदनाथलाई सहयोग गरेको गम्भीर आरोप लगाएकी छन् । धरातलमा लगाइएका आरोपकै सेरोफेरोमा रहेर पाथिभरा न्युज ले भुसालसँग गरेको कुराकानीको सम्पादित अंशः
‘धरातल’ नामक आत्मवृतान्त सार्वजनिक गरेर तपाईँ चर्चामा हुनुहुन्छ, सो पुस्तकमा तपाईंमाथि एमालेका नेता, पूर्वमन्त्री मोदनाथ प्रश्रितले पटकपटक बलात्कार गरेको उल्लेख गर्नुभएको छ । तपार्इंको यो दावीलाई पत्याउने आधार के ?
मोदनाथ प्रश्रितले मलाई बलात्कार गर्दा म चिच्याएकी थिएँ । उनले डल्लुमा रहेको डेरामा मलाई बलात्कार गरेका हुन् । म कराएको सुनेर अष्टलक्ष्मी शाक्य र उनका पति अमृत बोहोराले के भयो भनेर सोधे । अनि प्रश्रितले ‘गुणनीधि दाईकी छोरी हुन् । मानसिक स्थिति राम्रो छैन । उपचार गर्न ल्याएको भने ।’ अष्टलक्ष्मी र अमृत बोहोरालाई पनि यसबारे सोध्दा हुन्छ । पार्टी कार्यालयका मनकुमार गौतम अहिले सांसद् छन्, उनलाई पनि धेरै कुरा थाहा छ । मेरा बाबुआमा पनि जिवीतै छन् । प्रश्रितको खुट्टामा घाउ हुँदा रगतले भिजेका कपडा धुने माइली आमा पनि जिवीतै हुनुहुन्छ । एमाले पार्टीका अन्य धेरै नेताहरु पनि हुनुहुन्छ, जसले प्रश्रित व्यभिचारी पुरुष हुन् भन्ने थाहा पाउनु भएको छ ।
तपाईंले नाम दिनुभएका मानिसहरुले त यति मात्रै भन्न सक्छन् कि तपाईंहरु आपसमा परिचित हो । बाँकी बलात्कारको कुरा त भन्न सक्दैनन् होला । तपाईंको दाबीले तपाईंलाई न्याय दिँदैन र अरुको चरित्र हत्या पनि गर्छ, के अर्थ भयो यस्तो दाबी को ?
मलाई तत्कालीन संयन्त्रले न्याय दिन सक्ने थिएन । किनभने मोदनाथ प्रश्रित आफै सत्तामा थिए । उनीसँग पैसा, शक्ति, सत्ता सबै थियो । नारी हिंसाको घटनामा कसरी प्रहरी, डाक्टर, वकिल किनेर छोपछाप पारिन्छ मलाई सबै थाहा छ । अब मैले न्यायालयबाट त न्याय पाउँदिन तर, समाजबाट पाउँछु भनेर यो घटना सार्वजनिक गरेकी हुँ । तर पनि सो घटनासँग नजिक भएका मानिसहरु धेरै छन् । यसकारण घटनाका सम्बन्धमा स्वतन्त्र छानबिन होस् ।
तपाईंले गरेको दाबीले कसैको चरित्र हत्या गर्नेबाहेक केही फाइदा दिँदैन भन्नेहरु धेरै छन् के भन्नु हुन्छ ?
मैले चरित्र हत्या नै गर्नुथियो भने एमाले नेता स्वर्गीय मदन भण्डारी, केपी ओली, माधवकुमार नेपाल, बामदेव गौतमको नाम भनिहाल्थे नि । यी नेताहरु प्रश्रितभन्दा बढी लोकप्रिय र शक्तिशाली पनि छन् । सत्य जे हो त्यो सार्वजनिक हुनुपर्छ । मोदनाथ प्रश्रित कस्तो चरित्रका मानिस हुन् भन्ने कुरा जनताले थाहा पाउनुपर्छ । मैले आफूसँग जोडिएका कारण उनको नाम सार्वजनिक गरेँ ।
तपाईंले बोलेका कुरा झुठ हुन्, तपाई मानसिक रोगी हो भनेर उहाँले पत्रकार सम्मेलन गरेर भनिसक्नुभयो नि त ?
मैले बोलेको र लेखेको झुठ हो भने उहाँले बोलेको चाहिं सत्य नै हो भनेर किन मानिदिनुपर्ने ? कसले झुठ कसले सत्य बोल्यो ? झुठ बोलेको पत्ता लगाउने मेसिनमा बस्न तयार छन् मोदनाथ ? सत्यको सामना गर्ने साहस भए मेसिनमा बस्ने खुला चुनौती दिन्छु उनलाई । म पागल भएको भए स्वास्थ्य परीक्षण गरेर हेरौं न त । डाक्टरले पागल सावित गरे भने स्वीकार्न तयार छु ।
म १३ वर्षको हुँदा मेरा बुवालाई काठमाण्डुमा लगेर पढाइदिन्छु भनेर मोदनाथ प्रश्रितले लिएर आए । बाटोमा विभिन्न जिल्लामा उनको पार्टीको काम रहेछ । दाङमा हुँदा मेरो शरीरमा सुम्सुम्याउँने, मुसार्ने, संवेदनशील अंगमा समाउने काम गरे । अर्घाखाँचीको एउटा नदी तर्दा मेरो कपडा भिज्यो । कपडा किन्न मोदनाथले शान्ता मानवीलाई पैसा दिएर पठाए । उनले मिडी र सर्ट लिएर आइन् । उनले त्यो लगाउन भनिन् मैले ‘लगाउँदिन’ भने । अनि शान्ता मानवीले भनिन्, ‘तिमीलाई म काठमाण्डु पुगेपछि साडी र ब्लाउज किनिदिन्छु ।’ उनले मोदनाथ मेरो दाई हो । दाईसँग सुतेपछि ‘तिमी मेरो भाउजु भयौ’ भनिन् । त्यसो भनेको अघिल्लो रात मलाई मोदनाथको कोठामा थुनेर शान्ता मानवी गएकी थिइन् । मैले त्यो रात घरको खाँबो समाएर रुँदै रात काटें । तर शान्ताले मोदनासँग सुतेको भनिन् । अनि मेरो मोदनाथसँग विवाह पनि भएको बताइन् । म छाँगाबाट खसे झै भएँ । मोदनाथले बलात्कार भने काठमाण्डुमा ल्याएपछि मात्रै गरे । म कराएको सुन्नेहरुले सोध्दा मानसिक रोगी भन्ने गर्थे । उनले मलाई थुनेर ७ महिनासम्म यौनदासी बनाए ।
तपाईंको आत्मवृतान्तमा मोदनाथ प्रश्रित व्यभिचारी, हालकी मन्त्री शान्ता मानवी उनकी सहयोगी, तपाईंका आमाबुबा पनि खराब, तपाईंका पति पनि खराब भन्नुभएको छ । तपाईं असल बाँकी सबै नातेदार खराब नै पर्नु कसरी स्वभाविक हुन्छ ? नजिकका केही मानिस पो खराब हुन सक्छन् त सबका सब खराब नै कसरी हुन्छन् ?
मोदनाथ प्रश्रितको यौन कोठीबाट सात महिनापछि उम्केर घर जाँदा बाबुआमाले मलाई कुटे । घरबाट लखटे । ‘जा मर’ भने । १४ वर्षको मान्छे म कहाँ जाउँ ? मैले कोविरुद्ध कस्तो उजुरी गरौं ? त्यो बेला मेरो बुद्धि पनि थिएन । जताततै मोदनाथले मलाई ‘बौलाही’ भन्दै हिँडेका थिए । मलाई जजसले अत्याचार गरे उनीहरुबारे लेखेकी छु । मेरो जीवनसँग जोडिएका सबैलाई त खराब भनेको छैन नि ।
http://www.netpatrika.com बाट साभार
No comments:
Post a Comment