Friday, April 20, 2018

मधुपर्कका सम्पादक र राजु उप्रेतीको वितण्डा –अमर गिरी


२०७० सालको असार अंकको ‘मधुपर्क’मा ‘लेखकले ठगी गरेको देखियो’ शीर्षकमा राजु उप्रेतीले पाठक प्रतिक्रिया लेखेका छन्। प्रतिक्रिया २०६९ सालको चैत महिनाको ‘मधुपर्क’मा प्रकाशित मेरो कविता ‘चटामरी’सँग सम्बन्धित रहेको छ। उपे्रतीले यस कविताका अन्तिम पंति्कहरू उद्धृत गर्दै कवितालाई भारतका कवि आलोक धन्वाको ‘दुनियाँ रोज बनती है’ कविता संग्रहभित्र रहेको ‘किसने बचाया मेरी आत्मा को’ शीर्षकको कविताको ठाडो नक्कल बताउँदै ‘त्यसलाई चोरीको श्रेणीमा राख्दा कुनै आपत्ति ठहर्ने देखिँदैन’ भनेका छन्। ‘चटामरी’ कविताका अन्तिम पंक्तिहरू र आलोक धन्वाको कविताका सुरुका पंक्तिहरू उद्धृत गर्दै उप्रेती लेख्छन्, ‘फरक यत्ति हो हाम्रा गिरीलाई स्वादिलो चटामरीले बचायो भने उता हिन्दी कवि धन्वालाई आलुले बचायो। फरक चटामरी र आलुबीचको मात्रै हो। फरक भाषिक प्रस्तुतीकरणको मात्रै हो, तर विषयवस्तु र भावका हिसाबले भने केही पनि अन्तर खुट्याउन सकिँदैन। दुवै कविता मिल्दाजुल्दा छन्। यो कुरा बिर्सन सकिँदैन कि धैरै–थोरै अनुपातमा चटामरीमा पनि आलुको उपस्थिति रहन्छ नै। सन् १९९६ मा धन्वाले लेखेको कवितालाई १७ वर्षपछि गिरीले आफ्नो शैलीमा ढालेका मात्र हुन् भन्दा गिरीको कवि व्यक्तित्वलाई पक्कै पनि घाटा नहोला।’ यति मात्र होइन उनी ‘उहँाका कविताहरूमा चाहिँ हिन्दी कविताको यति गाढा प्रभाव परेको हुन्छ कि त्यसलाई चोरीको श्रेणीमा राख्दा कुनै आपत्ति ठहर्ने देखिँदैन’ भन्छन्। यसबाट उनले मेरा सम्पूर्ण कविताहरूलाई चोरी सिद्ध गर्न चाहेको देखिन्छ।


उप्रेतीको प्रतिक्रियामा इमानदार र गम्भीर पाठकको विम्ब देखिन्न। उनी अमर गिरीको कवि व्यक्तित्वलाई नै समाप्त गर्न लागेका देखिन्छन्। ‘मधुपर्क’का सम्पादकले यही विम्बलाई पछ्याएका छन्। उनी अमर गिरीलाई ठग र चोर सावित गरेरै छाड्ने अभियानमा सामेल भएका हुन् कि जस्तो लाग्छ। यसबाट उनलाई के लाभ हुन्छ थाहा छैन, तर यसले उनको र ‘मधुपर्क’को कद भने अवश्य घटाएको छ। दुई कवितामा रहेको मौलिक अन्तरलाई खुट्याउन नसक्ने उनले कसरी सम्पादकको दायित्व निर्वाह गरिरहेका होलान्, गम्दा उदेक लागेर आउँछ। कुनै स्रष्टाले गर्ने वास्तविक ठगी र चोरीलाई इमानदारितापूर्वक औंल्याउनु गम्भीर र सचेत पाठक एवं सम्पादकको दायित्व हो। यस्तो कार्यले स्रष्टा र साहित्य दुवैको भलो गर्छ। तर उप्रेती र सम्पादक दुवैले यो दायित्व नि४र्वाह गर्न सकेका छैनन्। पाठकीय र सम्पादकीय दायित्व निर्वाह गर्न नसक्दा स्रष्टा र साहित्यलाई क्षति पुग्छ। यस पाठक प्रतिक्रियाबाट यही भएको छ। उप्रेतीले मनगढन्ते रूपमा जे जस्तो आरोप लगाएका छन् यसले उनमा रहेको गलत प्रवृत्तिलाई देखाउँछ। उनको प्रतिक्रियामा इमानदारिता, गम्भीरता, प्राज्ञिक सचेतता र साहित्यको उन्नयनको सरोकार देखिँदैन। उनको यस्तो प्रतिक्रिया कमजोर प्राज्ञिक चेतनाको परिमाणभन्दा पनि जानीबुझी गरेको गोरखधन्दा अनुभव हुन्छ, जसलाई सम्पादकले विचारै नगरी साथ दिएका छन्।
संगीन आरोपसहितको प्रतिक्रिया आइसकेपछि सम्पादकले एक पटक मसँग छलफल गर्न सक्थे। मसँग छलफल गर्न नचाहे कविताको कुनै विज्ञसँग यसबारेमा राय माग्न सक्थे। यो उनको समान्य सम्पादकीय धर्म पनि थियो। तर, उनले यसो गर्न चाहेनन्। यसबाट यिनको नियत बुून सकिन्छ। ‘मधुपर्क’को सम्पादक बनेलगत्तै यिनको साहित्यिक वितण्डा आरम्भ भएको थियो र आज त्यो चरममा पुगेको छ भन्ने लाग्छ। यिनको भूमिका सिर्जनात्मक कम, ध्वंसात्मक बढी देखिन्छ। ‘मधुपर्क’का सम्पादकले बेलाबखत मधुपर्कमा जे जस्ता विवादास्पद सामग्रीहरू छाप्नेे गरेका छन् गोरखापत्र संस्थानको यसतर्फ ध्यान नजानु दुःखको कुरा हो।
आलोक धन्वा र मेरो कविताको बीचमा उप्रेतीले भने जस्तो ‘फरक भाषिक प्रस्तुतीकरणको मात्रै हो तर विषयवस्तु र भावका हिसाबले भने केही पनि अन्तर खुट्याउन सकिँदैन’ होइन विषयवस्तु र भावका दृष्टिले दुवै कवितामा मौलिक अन्तर रहेको छ। यसका निम्ति दुवै कविताको तुलनात्मक अध्ययन गर्न सकिन्छ। यसैले दुवै कविताको सम्पूर्ण पाठ यहाँ प्रस्तुत गरिएको छ। आलोक धन्वाको कविता:
किसने बचाया मेरी आत्मा को
दो कौडी की मोमबत्तियोँ कि रोशनी ने
दो चार उबले हुए आलु ने बचाया
सुखे पत्तोँ की आग
और मिट्टी के बर्तनों ने बचाया
पुआल के बिस्तर ने और
पुआल के रङ के चाँद ने।
नुक्कड नाटक के आबारा जैसे छोकरे
चिथडे पहने
सच के गौरव जैसा कंठ–स्वर
कडा मुकाबला करते
मोड मोड पर
दंगाइयो को खदेडते
वीर बाँके हिन्दुस्तानियों से सिखा रंगमञ्च्ा
भीगे वस्त्र–सा विकल अभिनय।
दादी के लिए रोटी पकाने का चिमटा लेकर
ईदगाह के मेले से लौट रहे नन्हे हामिद ने
और छह दिसम्बरके बाद
फरबरी आते–आते
जंगली बेर ने
इन सब ने बचाया मेरी आत्माको।
अब मेरो कविता:
जब ऐंठन अनुभव हुन्छ
अत्यास लाग्दो यस सहरमा
सुटुक्क निस्कन्छु म
चटामरी खान
कुनै नेवारी खाजा घरमा।
जसरी गोपाल दाइ
चिया र सिगरेट पिउँछ
जसरी जग्गु चौधरी
सूर्ती मल्छ र खान्छ
जसरी प्रत्येक साँझ जसो
हीरा भाइ
निस्कन्छ गाउँ बस्न
त्यस्तै नेवारी खाजाघर र चटामरी
एक आदत जस्तो
भइसकेको छ मेरा निम्ति।
खाजा घरमा पस्नुभन्दा पहिले
बाहिरै
हावासँग मिसिएर आइपुगेको
चटामरीको सुगन्ध
मीठो लाग्छ
आफ्नै बारीमा फुलेको
गुलाफको सुगन्धझैं
बिल्कुल मौलिक
अकृत्रिम, आल्हादक
चटामरीको सुगन्ध सँगसँगै
अनुभव हुन्छ
अगाडि खुला छ
मेरो इतिहासको प्राचीन पृष्��
मेरो सभ्यताको एक ऊर्ध्वगामी सिँढी
मेरो संस्कृतिको एक इन्द्रेणी फूलबारी
अनुभव हुन्छ
खाजा घरमा होइन
म पसेको छु
परिकारहरूको सुन्दर सङ्ग्रहालयमा
जसको निर्माणमा
नजाने कति पसिना बगाएका थिए
मेरा पुर्खाले
कति रात बसेका थिए जाग्राम
बिरामी परेका थिए कति आमाहरू
नजाने कति दुःख सहेका थिए तिनले।
आफ्नो सुगन्ध हराउँदै गएको यस सहरमा
जब मलाई
आवश्यकता अनुभव हुन्छ आफ्नो सुगन्धको
र लाग्छ
आफ्नै बिनाको सुगन्ध थाहा नपाउने
कस्तुरी हुँदै गइरहेछु म
म निस्कन्छु चटामरी खान
चटामरी र पसल्नी भाउजुको निष्कपट हाँसो
खाएर प्रस्थान गर्छु म घरतिर
लाग्छ
म आफ्नो भान्सा कोठाबाट निस्किरहेछु
र अन्त कतै लाग्दै छु
लाग्छ मेरो शरीरबाट
बहिरहेछ आफ्नै सुगन्ध
र सुगन्धित भइरहेछ त्यसबाट
सिङ्गो देश।
यस ग्लोबल दुनियाँमा
सत्तारुढ कुनै ठूलो मानिसले होइन
कुनै कर्पोरेट बुद्धिजीवी
कुनै एलिट नागरिकले होइन
मलाई बचाउनेछन् चटामरी र सामान्य मानिसले
मेरो सुगन्ध
तिनकै प्रतिरोधले
राख्नेछ सुरक्षित।
आलोक धन्वाको कवितामा भारतका समान्य मानिसको जीवनको यथार्थलाई कवितात्मक प्रस्तुति दिइएको छ। उनीहरूको दारुण एवं कष्टपूर्ण जीवनको चित्र प्रस्तुत गर्दै धन्वाले घुमाउरो पारामा भारतीय लोकतन्त्र र त्यसले भन्दै आएको स्वतन्त्रता, समानता, सामाजिक न्याय र समृद्धिप्रति नै तीखो व्यंग्य गरेका छन्। सामान्य मानिसलाई बचाउने ‘उबले हुए आलु’, ‘सुखे पत्तोँ की आग’, ‘मिट्टी के वर्तनांे’ आदि जस्ता पंक्तिहरू यसै सन्दर्भमा आएका छन्। यी सबैले भारतका गरिब नागरिकको जीवन–चित्रलाई प्रस्तुत गर्दै उनीहरू कसरी बाँचेका छन् भन्ने वास्तविकतालाई देखाउँछन्। भारतका सामान्य एवं गरिब मानिस र उनीहरूको कष्टपूर्ण जीवन यस कविताको विषयवस्तु हो। यसबाटै यसको भावजगत्को निर्माण भएको छ। यसैअनुरूप विम्बहरूको चयन गरिएको छ। कविता प्रगीतात्मक संरचनामा लेखिएको छ। ‘चटामरी’ स्थानीयता एवं मौलिक नेपाली संस्कृतिलाई दर्शाउने प्रतीक हो। पश्चिमी परियोजनाअनुरूपको भूमण्डलीकरणको वर्तमान घडीमा हामीलाई आफ्नै चिजहरूले बचाउँछन् भन्ने भाव यस कवितामा रहेको छ। ‘आफ्नो सुगन्ध हराउँदै गएको यस सहरमा’ चटामरीलाई आफ्नो सुगन्धका रूपमा लिइएको छ र यसको आशय पनि स्पष्ट छ। कवितामा प्रयोग भएको ‘ग्लोबल′ शब्दले यसलाई अझ स्पष्ट गर्छ। यसरी यी दुई कविताका विषयवस्तु र भावका बीचमा आकास जमिनको फरक छ। दुवै कविताको भाषाशैली र तिनमा प्रयोग भएका विम्ब र प्रतीकहरूका बीच पनि मौलिक अन्तर छ। उपे्रतीले उद्धृत गरेका ‘चटामरी’ कविताका अन्तिम पंक्तिहरूमै यो स्पष्ट दृष्टिगोचर हुन्छ। ‘चटामरी’ र ‘बचाउनेछ’ जस्ता हाम्रा मौलिक शब्दलाई मौलिक सन्दर्भमा मौलिक रूपले नै प्रयोग गरिएको छ। यसको धन्वाको कवितासँग गोरु बेचेको साइनो पनि छैन। यी दुवै कविता पढेपछि यी दुई बीचको मौलिक भिन्नतालाई पाठक आफंैले सहज रूपमा खुट्याउन सक्नेछन्। उप्रेतीले जस्तो यदि यसलाई ‘ठाडो नक्कल′ र ‘चोरी’ ठान्ने हो भने संसारका कुनै कविता मौलिक रहने छैनन्। ‘मधुपर्क’को यसै अंकमा रहेको उनको कवितालाई पनि मौलिक भन्न सकिने छैन।
उप्रेतीले विषयवस्तु र भाव भनेका के हुन् भन्ने नै बुझेका रहेनछन् भन्न कठिन छ। यसैगरी विषयवस्तु र भावका दृष्टिले यी दुवै कविताका बीच मौलिक अन्तर छ भन्ने कुरा पनि उप्रेतीले बुझेनन् भन्न गाह्रो छ। यहँानेर प्रतिक्रिया लेख्ने र छाप्ने कार्य नियतवश भएको देखिन्छ। कवितामा मौलिकता मूलतः भाषाशैली र अन्य संरचक घटकहरूमा खोजिन्छ भन्ने हेक्का पनि उप्रेतीलाई रहेको देखिएन। दृष्टान्तका निम्ति राष्ट्रिय भाव झल्कने गरी दर्जनौँ कविहरूले ‘देश’ शीर्षकमा कविता लेख्न सक्छन् र त्यसबाट व्यक्त हुने भाव पनि उस्तै–उस्तै हुन सक्छ। यहाँ कविताको मौलिकता कविताका अन्य संरचक घटकहरूमा खोजिन्छ। कतिपय समकालीन कविका कतिपय कविताका विषयवस्तु र भाव उस्तै–उस्तै रहेका हुन्छन् तर कवितामा प्रयुक्त भाषा, शैली, विम्ब, प्रतीकलगायतका कुराहरूको प्रयोग र विन्यासमा उनीहरूको मौलिकता वा निजत्व झल्कन्छ। मेरो र आलोक धन्वाको कवितामा त विषयवस्तु र भावमै मौलिक अन्तर छ। फेरि उप्रेती आफंैले ‘फरक भाषिक प्रस्तुतीकरणको मात्रै हो’ भनेर कविको मौलिकता र निजत्व झल्कने मूल पक्ष मौलिक रहेको स्वीकार गरेका छन्। यसरी हेर्दा उनको प्रतिक्रिया कविताबारे आधारभूत ज्ञान पनि नभएको लहडी र सतही कविको जस्तो देखिन्छ। तर, यो जानीबुझी गरिएको कार्य हो भन्ने मेरो बुझाइ छ। यसको उद्देश्य अमर गिरीलाई ठग र चोर सावित गर्ने मात्र देखिन्न, मुलुकका सम्पूर्ण प्रगतिशील लेखकहरूको साझा संगठन प्रगतिशील लेखक संघको अध्यक्षलाई नैतिक रूपमा कमजोर देखाएर समग्र प्रगतिशील साहित्यिक आन्दोलनलाई नै कमजोर बनाउने रहेको देखिन्छ। होइन उप्रेतीले इमानदार पाठकको हैसियतले यो प्रतिक्रिया लेखेका हुन् भने या त उनले आफूबाट भएको कमजोरीलाई स्वीकार गर्दै क्षमायाचना गर्नेछन् या त प्राज्ञिक रूपमा आफूले लगाएको आरोपलाई सिद्ध गर्नेछन्। यदि उप्रेतीले नियतवश यो प्रतिक्रिया लेखेका होइनन् भने उनलाई कविताबारे आधारभूत ज्ञान प्राप्त गर्न र इमानदार कवि तथा पाठक बन्न मेरो सुझाव छ। मेरा कविताहरूमा हिन्दीको अत्यधिक गाढा प्रभाव देख्ने र सबै कवितालाई चोरी सिद्ध गर्न चाहने उप्रेतीलाई इमानदार पाठक र समालोचकका रूपमा त्यसको चिरफार गर्न पनि मेरो चुनौती छ। त्यसबाट मेरो अहित होइन हित नै हुनेछ। असावधानीवश कविता दुई ठाउँमा छापिएकोमा मलाई दुःख छ। तर, यसलाई पनि उप्रेतीले अमर गिरीको धन्दा नै एउटै कवितालाई दस ठाउँमा छाप्नु हो, जसरी प्रस्तुत गरेका छन्। यसबाट पनि उनको नियत के हो भन्ने बारे अनुमान गर्न सकिन्छ।
मलाई अनैतिक सावित गर्न खोज्ने उप्रेती र सम्पादक दुवैका प्रयास आफैंमा अनैतिक छन्। सुन्छु, उप्रेती त निमित्त मात्र हुन्, पर्दा पछिका वास्तविक खेलाडी त अर्कै छन्। काठमाडौं सानो छ, यसको भेद पनि खुल्दै जाला। खेलाडीको रचना संसार र उनको गोरखधन्दाको मूल्यांकन पनि हँुदै गर्ला। ‘मधुपर्क’ पढेपछि सम्पादकलाई फोन गरेको थिएँ। उनको कुरा सुनेपछि उनले मेरो विचार ‘मधुपर्क’मा छाप्छन् भन्ने विश्वास नै भएन र बुधबारमा यस बारेमा लेखेको हुँ। आगे पाठकहरूको मर्जी। अन्तिममा सम्पादकलाई एउटा नैतिक प्रश्न–हुँदै नभएको कुरो छापेर एउटा स्रष्टालाई ठग र चोर सावित गर्न खोज्ने व्यक्तिलाई सम्पादकको कुर्सीमा बसिरहन सुहाउँछ र?

No comments:

Post a Comment