उधारो, सापटी र लेनदेन हाबी
→ साझा पुरस्कार घोषणापछि कवि ठाकुर बेल्वासेले साथीसँगीलाई भोज खुवाएको चार वर्ष भइसक्यो । तर, नगद र सम्मानपत्र अहिलेसम्म हात लागेको छैन । त्रासमा ईश्वर कवितासंग्रहका निम्ति ०६९ सालमा ५१ हजार राशिको साझा पुरस्कार (न)पाएका ठाकुर त्यो प्रसंग कोट्याउन पनि संकोच मान्छन् । “कर्मचारीलाई तलब खुवाउन पनि नसकेको साझा प्रकाशनसित अब के पुरस्कार लेऊ भन्नू ?” उनी बाध्यता सुनाउँछन्, “उसको हालत हेर्दा आश गर्नु पनि व्यर्थ हो ।” त्यसै वर्ष साझा प्रकाशनबाट विभिन्न शीर्षकका पुरस्कार (न)पाएका कुसुमाकर न्यौपाने, शारदारमण नेपाल, नवीन नेपाल, भोला झा, बद्री भिखारी र अभय श्रेष्ठ पनि छटपटीमा छन् ।
→ पाएपछि राख्ने ठाउँको चिन्ताले सताउँछ कवि एवं प्राज्ञ श्रवण मुकारूङलाई । ०६२/६३ को जनआन्दोलनयता थुप्रै पुरस्कार पाएका यी स्रष्टाको सामाखुसीस्थित डेराका दुइटा बाकस सम्मानपत्र र पदकले भरिएका छन् । ठाउँ नभएर जहाँ पुरस्कार पायो, त्यहीँ नजिकका साथीभाइको घर/डेरामा सम्मानपत्र थन्क्याउँछन् । केही बागबजारको साकेला आर्ट्स, केही कोटेश्वर बस्ने दाजु दिलेन्द्र राई, केही नरेफाँटमा भाइ राजन मुकारूङ र केही गीतकार शुभ मुकारूङकहाँ छन् । “म पुरस्कार माग्दै हिँडेको छैन, दिँदा नलिएको पनि छैन,” उनी अप्ठ्यारो लुकाउँदैनन्, “भित्तामा पनि टाँग्ने ठाउँ छैन । कतिपयलाई त छोरीहरुले भाँडाकुटी बनाइसकेका छन् ।”
→ मैनाली कथा पुरस्कार लिने बेला लेखक नारायण ढकाल कालोनीलो भए । नेपाली कथामा बलवान् जग हाल्ने गुरूप्रसाद मैनालीका नाममा स्थापित १० हजार राशिको पुरस्कार पाएको खुसीयाली मञ्चमा चढ्नासाथ ओइलाइहाल्यो । साहित्यिक पत्रकार संघका अन्य खुद्रे पुरस्कार पाउने लेखकहरुबीच लाइन लागेर थैली नलिने, अझ त्यसमा केही हजार थपेर फिर्ता गर्ने लहरै चल्यो । त्यो देखेर पुराना लेखक वासु पासाले संघका कार्यवाहक अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ र महासचिव राधेश्याम लेकालीको झाँको झारेको सम्झन्छन् ढकाल, ‘तिमीहरु त कस्तो मगन्ते रहेछौ ? कमसेकम आज त पैसा देऊ । मैले मेरी श्रीमतीलाई देखाउनुपर्छ । तिमीहरुलाई चाहिन्छ भने भोलि बिहान आओ । बरु, म पाँच हजार थपेर दिन्छु ।’ ढकाललाई पनि पुरस्कारदाताले थैली फिर्ता गर्न दबाब दिएका रहेछन् । “खाममा आठ हजार मात्र थियो । दुई हजार त संघले आजीवन सदस्यताबापत काटिसकेछ,” १९ असार ०५७ को त्यो घटनाबारे ढकाल भन्छन्, “पुरस्कार पाउनु त यातनाजस्तो पो भयो ।”
यी सबै साहित्यिक पुरस्कारका केही सन्दर्भ हुन् । सरकारी र निजी क्षेत्रका झन्डै आठ सय पुरस्कारमध्ये आधाजसो त साहित्यमै छन् । तर, धेरै पुरस्कार बेपत्ताको स्थितिमा छन् । कतिपय प्रचार या घोषणामै सीमित भए । कतिपय एकाध वर्षमै हराए । कतिपय अनियमित छन् भने कतिपय विवादै विवादमा फसेका छन् ।
सय वर्षको कीर्तिमानी इतिहास भएको साझा प्रकाशन पुरस्कार दिनै नसक्ने हालतमा छ भने पुरस्कारको ‘डन’ बनेको साहित्यिक पत्रकार संघ आफैँ पुरस्कार दिने, आफैँ फिर्ता लिने गर्न थालेको छ । व्यथित काव्य पुरस्कार, लोकप्रियादेवी पुरस्कार, भवानी पत्रकारिता पुरस्कार, पण्डितराज सोमनाथ पुरस्कार, वीरसा हासने पुरस्कार, मुस्याचु पुरस्कार, गुरुवाचार्य कथा पुरस्कार, देवकोटा स्मृति पुरस्कार, मायादेवी प्रज्ञा पुरस्कार बेपत्ता सूचीमै छन् ।
कतिपय पुरस्कारको राशि पाँच हजार रुपियाँ पनि छैन । २ लाख ५० हजार राशिको बीपी कोइराला शताब्दी पुरस्कार निकै तामझामसाथ घोषणा भयो तर अहिलेसम्म कसैले पाउन सकेनन् । साझा प्रकाशनको सञ्चालक पदमा लड्दा कवि जनार्दन जोशीले बाबुका नाममा रामप्रसाद साहित्य पुरस्कार घोषणा गरे । तर, चुनाव हारेपछि त्यो पुरस्कार कसैलाई दिएनन् ।
केही अपवादबाहेक साहित्यका पुरस्कार सस्तो बनेका छन् । अझ कतिपय त भूमिगतै छन् । तिनको अभिलेख, निर्णायक मण्डल, कार्यालय, अक्षयकोष र मापदण्ड केही देखिँदैन । पुरस्कार ‘लिन्या र दिन्या’बाहेक कसैलाई थाहा छैन, कसले पायो ? किन पायो ? कसरी पायो ?
“थुप्रै व्यक्ति/संस्थाले आफ्नो परिवार या राष्ट्रिय प्रतिभाका नाममा लहैलहै, रहर या प्रभावमा पुरस्कार राखेका छन्,” नेपाली पुरस्कारको इतिहास पुस्तकका लेखक डिल्लीराम मिश्र ‘श्रमजीवी’ भन्छन्, “दुई सयभन्दा ज्यादा पुरस्कार न बन्द घोषणा भएका छन्, न कसैलाई दिइएका छन् ।”
मिश्रका अनुसार भूपालमानसिंह कार्कीका नाममा राखिएका पाँच लाखसहितका १८ पुरस्कार अहिले स्थगनमा छन् । कार्कीकै पुरस्कारका हर्ताकर्ता नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईं दम्पतीको नई प्रकाशनको छातामुनि समेत २८ वटा पुरस्कार छन् । कतिपय पुरस्कार व्यक्तिविशेषकै लागि मात्र राखिएजस्ता देखिन्छन् भने कतिपय पुरस्कारको अक्षय कोष नै देखिँदैन ।
उदेकलाग्दो के भने एकै खालका मानिसले घरीघरी पुरस्कार पाइरहन्छन् । नपाउँदा ठ्याम्मै नपाउने, पाएपछि रोकिँदै नरोकिने अवस्था छ । ९७ वर्षीय राष्ट्रकवि माधवप्रसाद घिमिरेले हालसालै ५१ हजार राशिको यात्री वाङ्मय पुरस्कार र २५ हजार ५ सय ५५ रुपियाँको दीर्घ साधना सम्मान पाए । घिमिरेलाई अब ती पुरस्कार थन्क्याउन संग्रहालय चाहिसकेको छ ।
पुरस्कारबापत सबभन्दा धेरै राशि पाउने भने सत्यमोहन जोशी, ९८, हुन् । उनले मदन पुरस्कार मात्रै तीनचोटि पाएका छन् ०१३, ०१७ र ०२८ मा । उनले गत वर्ष मात्रै १० लाख राशिको गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एक्सिलेन्स अवार्ड पाए ।
जोशीकै हाराहारीमा पुरस्कार पाएका छन्, राष्ट्रकवि घिमिरेले । उनले पाएको सबैभन्दा ठूलो पुरस्कार पाँच लाख राशिको भूपालमानसिंह कार्की प्रज्ञा पुरस्कार हो । तर, उनले मदन पुरस्कार भने पाएका छैनन् । जोशी र घिमिरेपछि तेस्रोमा आउँछन् मदनमणि दीक्षित, ९३ । तीन पाका स्रष्टापछि मोदनाथ प्रश्रित, वासुदेव त्रिपाठी, चूडामणि बन्धु बढी पुरस्कार पाउनेको सूचीमा दरिएका मिश्रको भनाइ छ ।
पछिल्लो पुस्तामा सरुभक्त, दिनेश अधिकारी, युवराज नयाँघरे, श्रवण मुकारुङलगायतले उनीहरूलाई पछ्याइरहेका छन् । “बूढाखाडालाई मात्रै पुरस्कार दिएर डम्पिङ साइट बनाउन खोजिएको छ,” लेखक/सम्पादक अविनाश श्रेष्ठको टिप्पणी छ, “पुरस्कार दिने मापदण्ड के हो ? उमेर, पद, अनुभव वा लेखन ?” इतिहास खोतल्दा ०१० सालमा उद्योगपति शम्भुलाल श्रेष्ठले स्थापना गरेको तीन सय राशिको श्रेष्ठ सिरपा: पहिलो साहित्यिक पुरस्कार हो । त्यसको दुई वर्षपछि आएको मदन पुरस्कार सुरुमा चार हजार राशिको थियो । सरकारले ०१५ मा पृथ्वी प्रज्ञापुरस्कार, त्रिभुवन पुरस्कार राख्यो ।
सरकारी होस् वा निजी, पुरस्कार वितरणको शैली हचुवा र अपारदर्शी छ । तिनले पहुँचवाला र ओहदावाललाई नै रिझाएका छन् । अझ खाली खाम, उधारो, लेनदेन र साटासाटसमेत हुन थालेपछि पुरस्कार विकृत भएका छन् । कतिपय पुरस्कार एक–दुईपटक सुपात्रको हातमा परे पनि क्रमश: कर्मकाण्डमा परिणत हुन थालेका छन् ।
सरकारी पुरस्कार राजनीतिक चलखेल र भागबन्डामा चलेका छन् । संस्कृति मन्त्रालय, नेपाल प्रज्ञा–प्रतिष्ठान, साझा प्रकाशन आदिका पुरस्कार नातागोतावाद, दलवाद, गुटवादका सिकार भएका छन् । मिश्रका अनुसार राष्ट्रिय प्रतिभा पुरस्कारका नाममा अहिलेसम्म ४ सय ६४ जना पुरस्कृत भएका छन् । यसका निम्ति २ करोड ६४ लाख रुपियाँ खर्च भइसकेको छ ।
“कांग्रेसी सरकारका बेला भाउपन्थी र सनत रेग्मीले तीन–तीनपटक राष्ट्रिय प्रतिभा पुरस्कार पाएका छन्,” पूर्वप्राज्ञ नगेन्द्रराज शर्मा भन्छन्, “प्रगतिशील लेखक संघका तत्कालीन अध्यक्ष गंगाप्रसाद उप्रेती (हाल नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति)को सिफारिसमा भारतको बिहार, मधुवनी जिल्ला घर भएका धीरेन्द्र झा ‘धीरेश्वर’ले समेत यही पुरस्कार पाएका छन् ।”
पुरस्कारदाताले जहिल्यै आफ्नो छत्रछायाँमा अटाउनेलाई मात्र पुरस्कार दिन्छन् । संयोग, काकताली र दुर्घटनावश कहिलेकाहीँ बाहिर पुग्नु अलग हो । “नेपालका पुरस्कारदातामा एक इन्च पनि विश्वास छैन,” समीक्षक हरि अधिकारी हाकाहाकी भन्छन्, “उनीहरू आफ्नो व्यवसायको नाफाघाटा हेरेर मात्र पुरस्कार दिन्छन् ।”
लेखन‘दास’हरू पुरस्कार र पगरीको पछि लाग्छन् भने लेखकहरू पुरस्कारबिनै पाठकबाट पुरस्कृत भएका छन् । “आख्यानमा बीपी र कवितामा भूपीलाई कसैले चुनौती दिएको छैन । तर, बागी भएकाले उनीहरूले पुरस्कारै पाएनन्,” लेखक खगेन्द्र संग्रौला भन्छन्, “पुरस्कार कन्फर्मिस्ट (अनुसारक)ले पाउँछन्, रिबेल (बागी)ले पाउँदैनन् ।”
त्यसो त सधैँ प्रमाणपत्र लिने र नगद फिर्ता दिने गरेका संग्रौला ०६८ सालमा दुई लाख राशिको पद्मश्री सम्मान पाएपछि आफैँ विवादमा परे । सानो थैली नलिने, मोटो थैली लिने भनी आलोचना भयो । “त्यसको औचित्यपूर्ण जवाफ मसित छैन,” पुरस्कारको व्यंग्यस्वरूप दिइएको एक रुपियाँवाला पहिलो पुरस्कार लिएका संग्रौला भन्छन्, “एक सन्दर्भमा लिइनँ, अर्को सन्दर्भमा लिएँ । लेखक भएर पुरस्कार पाएको हो, पुरस्कार पाएर लेखक भएको होइन ।”
पुरस्कृत साहित्यकार यत्रतत्रसर्वत्र देखिन्छन् तर मानक साहित्य भने देखिँदैन । पूर्वप्राज्ञ शर्मा भने राजनीतिमा नभएको न्याय र निष्पक्षता साहित्यमा मात्र खोजिनु मूर्खता ठान्छन् । भन्छन्, “राजनीतिमा पनि कुनै कुनै नेता इमानदार भेटिन्छन् । साहित्यिक पुरस्कारमा पनि एकाध इमानदार होलान् ।”
---
‘पुरस्कार/संग्रहालय चाहियो’
-- माधवप्रसाद घिमिरे, राष्ट्रकवि
कविज्यूले नपाएको पुरस्कार कुनै छ ?
राष्ट्रकवि नै पाएपछि अरू के पाउने ? राष्ट्रकविको उपाधि पाउनुलाई पुरस्कारकै अन्तिम नवीन संस्करण मानेको छु । तर, त्यो पाउँला भनेर मैले लेखेको होइन ।
मदन पुरस्कार त पाउनु भएन नि ?
मदन पुरस्कार नदिएको पनि होइन, मैले लिन नचाहेको पनि होइन । प्रज्ञा–प्रतिष्ठानमा काम गर्दा अफर आएको पनि हो । अलि पछि लिने थिति मिलेन । आफूभन्दा कनिष्ठले पाइसकेपछि कसरी लिने ?
अहिलेसम्म कति पुरस्कार पाउनु–भएको छ ?
डेढ सयभन्दा बढी पुरस्कार पाएको छु । मलाई श्रद्धाका साथ पुरस्कार, सम्मान र तक्मा दिइएको छ । अहिलेसम्म मैले त्यसको संरक्षण गरिरहेको छु । अब राज्यले त्यसको जिम्मा लिएर संग्रहालयका रूपमा राख्ने व्यवस्था गरिदेओस् भन्ने मेरो चाहना छ ।
त्यसबापतको रकम कति हो ?
पैसामा मैले कहिल्यै ध्यान दिइनँ । पाँच लाखको भूपालमानसिंह प्रज्ञा पुरस्कार, ५० हजारको त्रिभुवन प्रज्ञा पुरस्कार पाएको छु ।
राष्ट्रकवि भएबापत राज्यले कति रकम दिएको छ ?
सरकारले अहिले मासिक २५ हजार रुपियाँ दिइरहेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको आजीवन सदस्यताबापत ३० हजार रुपियाँ पनि पाउँछु ।
अरू सुविधा पनि त होलान् नि ?
म सरकारसँग माग्न गएको छैन । म त एकान्त मन पराउने कवि हुँ । गाडी दियो भने पनि बाधा हुन्छ । अफिस दियो भने पनि म नियमित जान सक्दिनँ ।
No comments:
Post a Comment