कुरा पोहोर सालको बर्खाको हो । तराई अधिकांश जलमग्न थियो । पानी घट्ला भनेको, झन्झन् बढिरहेको थियो । कवि सङ्गीत स्रोताको स्वर/सङ्गीत/शब्दको यो गीत रेडियो, टेलिभिजनमा खुबै बजिरहेको थियो र मान्छेहरूलाई भक्कानो फुटाइरहेको थियोः
‘त्यता के–के हुँदै छ, यता बाढी पसेर
फेरि हामी दुःखीकै खायो मुटु–कलेजा
हामी भयौँ बेघरबार, हामी भयौँ बेघरबार
चरी लैजा समाचार, हामी भयौँ बेघरबार !’
त्यस्तैमा यौटा तस्बिर प्रकाशनमा आयो, जसले मान्छेको हल्लिरहेको मुटुलाई झनै हल्लाइदियो । चारैतिर जलमग्न भएर गाड्ने ठाउँ नपाएपछि सप्तरीको कुलारी गाउँका देवकुमार सदाले सानु बच्चा कमल सदाको शवलाई कोसी नदीमा बगाएर अन्तिम संस्कार गर्दै गरेको तस्बिर थियो त्यो ।
मानवीय समवेदना हल्लाउने चरमबिन्दु बन्यो त्यो तस्बिर ।
कोसी छेउछाउकै कवि टीका आत्रेय पनि यो घटनाबाट अत्यन्तै भावुक भइन् । एक बिहान बाढीकै कारणले कलेजमा विद्यार्थी आउन सकेनन् । उनले सोही फुर्सदको सदुपयोग गरिन् र कविता लेखिन् । सोही बेलुका कवि सीमा आभासलाई सुनाइन् ।
भोलिपल्ट उनीलगायत १८ कविको टोली विराटनगरबाट धनकुटाको एक साहित्यिक कार्यक्रमका लागि हिँड्यो । टीकाले भर्खर लेखिएको त्यो कविता बाटोमा सहयात्रीलाई सुनाइन् । सबै भावुक भए, संवेदनशील बने । सबैले मुग्ध कण्ठले उनको कविताको प्रशंसा गरे, अन्तरक्रियासमेत चल्यो । उनको ‘आँसुको कोसीमा जीवनको अन्त्येष्टि’ कविताका अंश यस्ता थिए–
मेरो आँखाको बाढीले
यो बस्ती सिनित्तै बगाउँदा
बगाउला मेरो प्राण पनि
उही बाढीले,
तिमीलाई पुर्ने जमिन नभेटिएझैँ
नभेटिएला जमिन मेरो लागि पनि
र, बगाउलान् कसैले मेरो लास
मेरै आँसुको कोसीमा
अनि, बग्दै चाँडै आउँला
तिमीलाई भेट्न तिम्रो यात्रामा ।
त्यहाँबाट फर्किएपछि उनी उक्त कविता प्रकाशनको तयारी गर्दै थिइन्, सोही भाव, सोही विषय, सोही दृष्टिकोण, सोही शैली अनि सोही विचारको कविता टीकाले सुनाएको बाह्रौँ दिनमा विवश पोखरेलको नाममा कान्तिपुर दैनिकमा प्रकाशित भयो । प्रकाशित मात्रै होइन, त्यो कविता एकाएक चर्चित भयो, सामाजिक सञ्जालमा भाइरल नै हुन गयो । उनले ‘बग्दैबग्दै जाने छोरासँग’ शीर्षक दिएर लेखेको कविताका केही अंश–
ढुंगो बनाएर एउटी आमाको मुटु
पानीमा बगाइदिएकी छु
मेरो खुसी र मेरो प्राण र मेरो सपना
जानू, बग्दैबग्दै जानू
जहाँ माटो भेटिन्छ, त्यहीँ टक्क अडिनू
र, समाधीस्थ हुनू ।
टीकाले बडो विश्वासका साथ जस–जसलाई आफ्नो कविता सुनाएकी थिइन्, विवश त्यही टोलीमध्येका एक थिए । उनले टीकाको कविता सुने, घर फर्किएपछि हतारहतार त्यही भावभूमिमा आफैँले कविता लेखे र आफ्नै नाममा छपाइदिए । उनी प्राज्ञ थिए, पहुँचवाला थिए, चर्चित कवि थिए, उनलाई आफ्नो नामको कविता छाप्न कुनै आइतबारै लागेन ।
यो घटनापश्चात् कवि टीका एकदमै विचलित भइन् । नजिकका, पहुँचका कविहरूबीच त्यसबारे विमर्श र अनौपचारिक छलफल गरिन् । उनको कवि हृदय त रोयो नै, पूरै हप्ता आँखाबाट आँसु झरेको झ-यै भयो । श्रीमान्ले भने, ‘यौटा कविता सहिद हुँदा कति दिनसम्म शोक मनाउनुपर्ने हो ?’
त्यसपछि उनी सम्हालिइन् अनि विवश पोखरेलसँग सञ्जालमै संवाद गरिन्ः
‘पुड्को भए पनि दाजुको भन्दा मेरो कविता जेठो हो, जुन मैले धनकुटा जाँदा सुनाएकी थिएँ ।’
‘पक्कै जेठो हो, पुड्को छैन बैनीको कविता ।’टीकाले सर्वप्रथम त विवशसँगै गुनासो गरेकी थिइन् । सुरुमा त उनले गल्ती स्वीकारेजस्तो गरेका थिए, तर कविता क्रमशः यति धेरै चर्चित हुँदै गइदियो कि विवश पर्लक्कै पल्टिए ।
उनले उल्टै ‘गाडीमा मैले राम्रो गरी सुनेकै थिइनँ,’ ‘मैले पहिल्यै लेखिसकेको थिएँ, तिमीले सुनायौ, मैले नसुनाएको मात्र हो,’ ‘संयोगले मैले लेखेको चर्चित भयो, त्यही भएर तिमीले साँघुरो सोच राख्यौ,’ ‘हिम्मत छ भने दुईटै कविता फेसबुकमा राखेर देखाऊ’ जस्ता कुराले टोकस्न थाले ।
केही दिनपछि टीकाले माथिल्लो संवादको स्क्रिनसटसहित सामाजिक सञ्जालमा आफ्नो कविता हालिन् । त्यसपछि मात्रै यो रहस्योद्घाटन भयो । धेरैले प्रश्न उठाए । विवशले ‘अरूले लेखिसके भन्दैमा त्यही विषयमा हामीले कवितै लेख्न नहुने ?’ भनेर हचुवा उत्तरसमेत दिए ।
त्यसरी विवाद उठिसकेपछि, दुनियाँले औँला उठाइसकेपछि, त्यसबारे गतिलो जवाफ दिनसमेत नसकिरहेको अवस्थामा त्यो कार्यप्रति क्षमायाचना गर्नु त कता हो कता, कविता महोत्सव २०७५ को मञ्चबाट सयौँ कविहरूको बीचमा अतिथि कविका रूपमा विवशले बडो गर्वका साथ त्यही कविता सुनाउने दुस्साहस गरे ।
कुनै सिकारु कविले कुनै अग्रजको कविताबाट धेरथोर प्रभाव ग्रहण गरेर उस्तैउस्तै खाले कविता बनाउनुसम्मलाई आभ्यासिक भनेर क्षम्य ठान्न सकिएला । तर, विवश पोखरेलजस्तो आफैँमा स्वनामधन्य, चर्चित र प्रखर कविले आफ्नै अनुजको सिर्जनामाथि यसरी खेलबाड गर्नु के सामान्य संयोग मात्रै हो ?
के ‘दुईचार लाइन मात्रै मिलेको,’ ‘उस्तै विषय पर्न गएको,’ ‘अलिअलि भाव त मिलिहाल्छ नि,’ ‘यौटै विषयमा अरूले लेख्न नमिल्ने ?’ इत्यादि मात्रै ठान्न मिल्छ यो घटनालाई ? के यो यौटा कविले अर्को कविमाथि गरेको घात होइन ? एक अग्रजले यौटा अनुजप्रति गरेको अन्याय होइन ? यो बेइमानीको पराकाष्ठा होइन ? के यो कविताको चोरी होइन ? कि यस्तो गर्न पाइन्छ हँ ?
(नयाँ पत्रिका दैनिक, २०७५ असार १६ गते शनिबार)
No comments:
Post a Comment