Monday, May 20, 2019

पारिजात दिदी जीवित भए... - खगेन्द्र संग्रौला

सम्झनामा चैत ३



यसपाला पनि पारिजात दिदीलाई सम्झिने दिन आयो र गयो । घुमिफिरी वर्ष दिनमा आउने हिन्दू पितृलाई सम्झिने श्राद्धजस्तो दिन । यान्त्रिक र निरस, रुढ र आवेगरहित कर्मकाण्डजस्तो दिन । वर्षभरिका त्यतिका दिन पारिजात दिदी मानौँ हाम्रो स्मृतिको अँध्यारो कुनामा कतै विलीन भएकी थिइन् । अहिले सम्झनामा झुलुक्क उदाइन्, र फेरि बिर्सनामा मिलिक्कै बिलाइन् । 
०००
लोक जान्दछ– पारिजात प्रतिरोधी चेतनाको नाम हो । नित्य, अटल सत्यनिष्ठ चेतनाको नाम पारिजात । एक अथक संघर्षशील योद्धाको नाम पारिजात । सरलता र सादगी एवं अभिमान र स्वाभिमानको एक प्रतिमूर्ति पारिजात । पारिजात एक अनवरत अभियानको नाम । र, स्वयंमा एक संस्थाको नाम पारिजात । जीवनको सघन अन्धकारमा पारिजात कहिले पिलपिले जूनकिरी, कहिले मैनबत्तीको शिखा, कहिले झल्झलाकार मशाल । जहाँ विभेद, त्यहाँ पारिजात । जहाँ अन्याय, त्यहाँ पारिजात । जहाँ वञ्चना, त्यहाँ पारिजात । जहाँ प्रताडना, त्यहाँ पारिजात । जहाँ हेलाहोचो र अपमान, जहाँ रोदन र क्रन्दन, जहाँ आक्रोश र प्रतिकार, त्यहाँ पारिजात । पारिजात जनजीवनको संग्रामी मोर्चामा सदैव अगाडि । जनजीवनका जोखिम, खतरा र कष्टका घडीहरूमा सदैव अगाडि पारिजात ।
प्रतिरोधी चेतनाको एकल होइन, एक प्रतिनिधि पात्र हुन् पारिजात । अन्यायी राज्यसत्ताको प्रतिरोध, विभेदकारी पितृसत्ताको प्रतिरोध, रुढ धर्मसत्ताको प्रतिरोधको एक प्रतिनिधि बिम्ब । अन्धविश्वास र जडता, वर्जना र निषेधको प्रतिरोधको एक प्रतीक । पारिजातको सिंगो जीवन प्रतिरोधहरूको शृंखलाको एक रोचक, प्रेरक र दीर्घजीवी कथा । 
०००
गत वर्ष अनेक क्षण र अनेक सन्दर्भमा मलाई पारिजात दिदीको याद आयो । जीवनका कष्टकर उकाली–ओरालीहरूमा साथमा दिदी नहुँदा उनको अभाव मलाई त्यसैत्यसै खट्किरह्यो । र, उनको हस्तक्षेपकारी उपस्थिति र अदम्य साहसको महत्ता मलाई महसुस भइरह्यो । शासन–सत्तामा कम्निस्ट हौँ भन्नेहरू थिए । त्यहाँ तिनको दुईतिहाइको भिड थियो । त्यहाँ तिनको दुईतिहाइको विराट् अहंकार र मैमत्तापन थियो । तल सडकमा आँसुको भल भगेको थियो । त्यहाँ चीत्कार थियो । त्यहाँ आक्रोश थियो । त्यहाँ कोलाहल थियो । उत्पीडित र आहत जनजीवनको त्यो आँसु मानौँ शासकहरूको रुचिकर मदिरा थियो । र, दमितजनको त्यो चीत्कार, मानौँ शासकहरूको प्रिय संगीत थियो । 
कञ्चनपुरमा किशोरी निर्मला व्याधाबाट बलात्कृत भइन् र मारिइन् । निमुखाको बोली र सहारा हुँ भन्ने सरकार हत्याका प्रमाण गुपचुप पार्न डट्यो । नांगा आँखाले प्रस्टै देखिने गरी । नचिनूँ भन्दा पनि सहजै चिनिने गरी । र, सडकमा विरोधको उत्ताल आवाज उठ्यो । आवाजको साथमा म पनि हाजिर थिएँ । मलाई सडकमा सदैव संघर्षशील हात र उमंगमय साथ दिइरहने पारिजात दिदीको याद आयो । तर के लाग्छ, दिदी इहलोकमा थिइनन् । तसर्थ उनी सडकमा उपस्थित हुने कुरै भएन । तर, जो जीवित छन् भनिन्थ्यो, ती पनि गयल परे । वाम एवं कम्निस्ट भनिन रुचाउने एक लट महिला नेतृहरू थिए । पहिले न्यायको संघर्षमा म तिनलाई पारिजात दिदीको वरिपरि झुम्मिएका देख्थेँ । अहिले ती सडकमा लाटलुट्टै गयल परे । विस्मयसाथ सोचेँ– ती जम्मै मरे कि कसो ? न्यास्रो मान्दै आँखा फारेर तिनलाई चारैतिर खोजेँ । त्यहाँ ती कोही थिएनन् । शशी श्रेष्ठ र पम्फा भुसाल त्यहाँ थिएनन् । ओनसरी घर्ती र जयपुरी घर्ती त्यहाँ थिएनन् । अष्टलक्ष्मी शाक्य र रामकुमारी झाँक्री त्यहाँ थिएनन् । उच्च आसनधारी ‘मेरो सरकार’लाई त आसनको कथित गरिमा र मर्यादाले भुइँमान्छे हिँड्ने फोहोर र कष्टमय सडकमा आउन दिएन होला । यी अरूहरूलाई केले छेक्यो ?
सडकको त्यो रिक्ततामा साहित्य यात्राका मेरा पुराना मित्र मोदनाथ प्रश्रित सम्झनामा प्रकट भए । उनै भूतपूर्व कम्निस्ट प्रश्रित, उनै भूतपूर्व भौतिकवादी प्रश्रित । आर्यघाटमा लेखक हिरामणि शर्माको दाहसंस्कार हुँदै थियो । अजङको उदरधारी प्रश्रितले म ख्याउटेलाई घ्याप्प अँगालो मारेर पर एकान्तमा लगे । र, मलाई खुसुक्क ज्ञानदान गरे– संग्रौलाजी, जीवनमा धेरै दुःख गरियो । कति गोता खाइयो, कति प्रताडना झेलियो ! अनि अभाव कति, भोक कति, धपेडी कति, संकष्ट कति ! अब अलि चैनसाथ, थोरैतिनो सुखभोग गर्दै, अलि सुस्त गतिमा लक्ष्यतिर लाग्ने समय आयो । गुरुवचन मैले चुपचाप सुनेँ, मनमा यसो केही गुनेँ र म मौन रहेँ । कम्निस्ट हुँ भन्ने एमाले प्रतिपक्षबाट भर्खरै सत्ताको सुस्वादु भतेरमा भित्रिएको सुखद याम थियो त्यो ।
अहिले दुईतिहाइको शासकीय झुण्डले उनै प्रश्रित गुरुको सुखवादलाई ससम्मान आत्मसात् गरेको छ । कत्रा दुःखले पाएको यो खाने धन्दामा लाल महिला नेतृहरू अपवाद बन्ने कुरै भएन । छाँटले तिनले दुईतिहाइका अधिपति एवं सर्वज्ञ ख्वामित्का चरणमा विवेक र जिब्रो बन्धक राखेका छन् । र, सट्टामा तिनले ख्वामित्को असीम कृपाबाट धन, मान र सान हात लाग्ने सुखकर पद पाएका छन् । तसर्थ पारिजातको जीवन–आदर्शलाई गोली मार ! आ...निर्मला–सिर्मलाको न्यायको आवाजलाई पनि मार गोली ! अब एकबारको जुनीमा अलिकता अमनचैन, अलिकता सुख र अलिकता मस्ती भोग गर्दै बिस्तारै–बिस्तारै मान्यवर प्रश्रित गुरुद्वारा आविष्कृत लक्ष्यतिर...।
०००
चैत ३ आयो र गयो । अहिलेको चैत ३ ले छयालीस सालको चैत ३ लाई तानेर नजिक ल्यायो । र, चैत ३ को स्मृतिले पारिजात दिदीको यादलाई ताजा बनायो । म सम्झन्छु– छयालीस सालको आन्दोलन गतिरोधको अक्करमा अड्किएको थियो । निरंकुश शाही पञ्चायतले अभिव्यक्ति स्वतन्त्रलाई आफ्नो तुच्छ स्वार्थको पिँजरामा कैद गरेको थियो । अभिव्यक्ति स्वतन्त्रतालाई कैदमुक्त गर्न हामी त्रिचन्द्र कलेजमा जुट्यौँ । हामी थियौँ विविध विचार र प्रवृत्तिका थुप्रा लेखक र कलाकारहरू । पाका र नामी कवि–लेखक युद्धप्रसाद र मोहन कोइराला, कृष्णचन्द्र र धु्रवचन्द्र आदि र इत्यादि । ती सबैका माझमा, सर्वाधिक आकर्षणको पात्र थिइन् पारिजात दिदी । शरीरले अशक्त, मनले सशक्त । तागतले निर्बल, विचारले सबल । हामी सबै पक्राउ पर्‍यौँ, पारिजात दिदी छुटिन् । महिला प्रहरी थिएनन्, पुरुष प्रहरीलाई पारिजात दिदीले आपूmलाई छुन दिइनन् । हामी सबै उता प्रहरी खोरमा चलान भयौँ, यता पारिजात दिदी सरस्वती सदनबाहिर एकल रहिन् । तीन घन्टा धर्ना कस्ने हाम्रो संकल्प थियो । पारिजात दिदीले घाममा टट्टिँदै संकल्प पूरा गरिन् । र, चैत ३ र पारिजात दिदी एकअर्काका पर्यायजस्ता बने । चैत ३ ले पारिजात दिदीलाई सम्झाउने, पारिजात दिदीसँगै चैत ३ को याद आउने । 
०००
अब अलि दिनयताका कुरा । शासनतन्त्रमा लाल हुँ भन्ने श्वेत प्रवृत्तिको रजगज राज चलेको थियो । यो श्वेत प्रवृत्ति थियो, नश्लीय राष्ट्रवाद र निरंकुश फासीवादको संगम । चरम् अहंकारी, क्रुर र असहिष्णु । यो तन्त्रका नायक उत्तर कोरियामुखी थिए । किम जोङ उन थिए उनका आदर्श नायक र किमतन्त्र थियो उनको आदर्श तन्त्र । बस्, किमलाई गुरु थापेर यी रैथाने नायक हाम्रा बोल्ने, लेख्ने र चल्ने हकहरू किस्ता–किस्ता गरी हरण गर्न थाले । यहाँ नउभिऊ, त्यहाँ पाइला नटेक । यसो नभन, त्यसो नलेख । शासकका कुरा नकाट, शासकलाई व्यंग्य नगर । धर्ती र आकाश कब्जा गर्नु शासकको सान हो, यो सानमा बाधा नपार । राज्यकोषको दौलतमा सोख–बिलास गर्नु शासकको हक हो, यो हकमा आँखा नगाड । 
हामी सबै पक्राउ पर्‍यौँ, पारिजात दिदी छुटिन् । महिला प्रहरी थिएनन्, पुरुष प्रहरीलाई पारिजात दिदीले आफूलाई छुन दिइनन् । हामी सबै उता प्रहरी खोरमा चलान भयौँ, यता पारिजात दिदी सरस्वती सदनबाहिर एकल रहिन् । तीन घन्टा धर्ना कस्ने हाम्रो संकल्प थियो । पारिजात दिदीले घाममा टट्टिँदै संकल्प पूरा गरिन् । र, चैत ३ र पारिजात दिदी एक–अर्काका पर्यायजस्ता बने ।
यो उद्दण्ड परिवेशमा जब पत्रकारले केही लेख्यो, ऊ पक्राउ प¥यो । कविले जब केही रच्यो, ऊ समातियो । एवं रीतले रैथाने किम जोङ उनको राजमा बोली बन्धित भयो, लेखाइ दण्डित भयो, हलचल वर्जित भयो । जब शासनतन्त्रको यो सब ताण्डव सुरु भयो, मलाई पारिजात दिदीको झल्झली याद आयो । र, दिदीसँगै मलाई ती थुप्रै लाल बुद्धिजीवी, कवि र लेखकहरूको याद आयो, जो अभिव्यक्ति स्वतन्त्रताको रक्षार्थ दिदीको वरिपरि झुम्मिन्थे । दुर्भाग्यवश, पारिजात दिदी त इहलोकमा रहिनन्, ती सबै कहाँ अलप भए ? के ती सबै मरे ? घिच्रो उठाएर मैले रैथाने किमतन्त्रतिर हेरेँ । ती सब त्यहाँ देखिए । ती सबै मान्यवर प्रश्रित पथमा प्रवृत्त, सत्ताको नशामा ती सबै झुम्म । ती सबै भक्तिमार्गमा, सबै भोगमार्गमा । लालतत्वरहित लाल शासकका पाउ पुज, प्रभुको कृपा भोग गर । विवेक र जिब्रो ख्वामित्का चरणमा अर्पण गर, पवनपुत्र पथको साधना गर । बस्, मरिजाने जुनीमा सुखभोग गर, आनन्द प्राप्त गर र उपभोगको दीर्घ लालसा तृप्त गर । मानिसको स्वतन्त्र हुने चेष्टामा के छ ? लोकको हित गर्ने यत्नमा के छ ? जे छ, त्यो भक्तिमा छ, दलाली छ, पाउलागीमा छ । जे छ, केही पाउनुमा र केही खानुमा छ । सत्तामा जो छन्, ती भन्न छाड्दैनन्– म कम्निस्ट हुँ । तर, चलाउँछन् खसोखास दलालतन्त्र । पारिजात दिदीको हस्तक्षेपकारी आदर्शलाई परित्याग गरी यही दलालतन्त्रको वेदीमा राजीखुसीले अत्मविक्रय गर्ने कवि, लेखक र बुद्धिजीवीहरूलाई मेरो कोटीकोटी नमस्कार !
०००
कमलादी डबलीमा एउटा ढ्याके भवन छ । पहिले त्यो शाही प्रज्ञा प्रतिष्ठान थियो, पछि त्यसलाई नेपाल प्रज्ञा प्रतिष्ठान भनियो । त्यसको नाम जे राखे पनि शाही संस्कारको प्रेतले लोकलाई तर्साउन छाडेन । आयो कुरा फेरि उही चैत ३ को । अभिव्यक्ति स्वतन्त्रताको धर्ना यही प्रतिष्ठानको डबलीमा गर्ने हाम्रो दाउ थियो । तर, शासकका असली गोटीले गर्न दिएनन् । उबेला कुलपति राजा थिए क्यार, उपकुलपति थिए श्री माधवप्रसाद घिमिरे । घिमिरे सर प्रज्ञाको मूलद्वारमा ताल्चा ठोकेर लयदार भाकामा सिलोक भन्दै घरबिदामा बसे । जनमुखी सुलसुलेले हामीलाई सुनायो– परिसरभित्र हामीलाई कुट्न मण्डलेहरू तैनाथ गरिएका रहेछन् । सुन्दै जाँदा यो पनि सुनियो– सिनेकर्मी श्रीमान् अशोक शर्मा बाहुबली मन्डलेहरूको कमान्ड सम्हालेर मोर्चामा डटेका छन् । तथ्य जेसुकै होस्, हामीलाई डबलीमा धर्ना बस्न निषेध गरियो । अपमानकारी त्यो प्रहारको चोट पारिजात दिदीका इखालु चित्तमा गडेर बसेछ क्यार, पछि दिदीकै कमान्डमा प्रज्ञा प्रतिष्ठान सुधार अभियान सुरु भयो । 
नवोदित संसदीय सत्तामा अन्तरिम मन्त्रिमण्डल थियो । प्रधानमन्त्री थिए मान्यवर कृष्णप्रसाद भट्टराई । स्वायत्त प्रज्ञा प्रतिष्ठानको दाबी गर्दै हाम्रो टोलीको लस्कर सिंहदरबार पुग्यो । रसिक कृष्णप्रसाद भट्टराईका कुरा मीठा, काम शून्य । विनयशील भट्टराईले पारिजात दिदीसँग बडो सम्मानपूर्ण व्यवहार गरे । र, उच्च दर्जाको पान चपाउँदै रसमय स्वरमा भने– ल, अब प्रज्ञा प्रतिष्ठान स्वायत्त हुन्छ । तपाईंहरू ढुक्क भएर जानोस् । हामी ढुक्क भएर फक्र्यौं, भट्टराईजीको वाचा बोल्दाबोल्दै विस्मृत भयो । 
पोहोर गणतन्त्रको सत्तामा जब दुईतिहाइको उदय भयो, मेरो मनमा रमरम आशा पलायो । अब भने प्रज्ञा प्रतिष्ठान स्वायत्त हुन्छ । र, आफू लाल हुँ भन्ने शासकका बाहुलीबाट लाल पारिजात दिदीको सपना साकार हुन्छ । तर, भयो ठीक उल्टो, विकृत र विद्रूप । लोकलाई कमलादीमा अंगुर फल्ला भन्ने आशा थियो, दुईतिहाइको दम्भी वृक्षमा त विष पो फल्यो ! प्रज्ञा प्रतिष्ठान स्वायत्त के हुन्थ्यो, यो त अश्वशालामा पो परिणत भयो । कथित प्रतिष्ठानमा सत्ताका अनुचर र भाट टाइपका ‘कमरेडहरू’ भर्ती भए । ख्वामितले भनेको खुरुखुरु मान्ने, निजहजुरले दिएको कुपुकुपु खाने ।  अनेक रङका, अनेक आकारका अश्वहरू ! कुनै ग्याँचे टट्टु, कुनै भयंकर अरबी अश्व । हजुर–हामीलाई थाहा छ– अश्वको चारित्रिक विशेषता स्वामिभक्ति हो, बफादारी हो, आज्ञाकारिता हो । हस्तक्षेप र अवज्ञा होइन । विमति र विरोध होइन । विवाद र प्रतिकार होइन । हेर्दाहेर्दै हिजोको आजै दुईतिहाइको ‘कम्निस्ट’ शासन कुशासन, भ्रष्टचार र बिलासको पर्याय बनेको छ । न्यायका चीत्कारयत्रतत्र उपेक्षित छन् । समानता र प्रतिष्ठाका आकांक्षा सर्वत्र दमित छन् । सडकमा आँसुको भेल बगेको छ, सञ्चारमा दुईतिहाइको आतंक व्याप्त छ । यस्तोमा ‘प्रज्ञा’का अगस्ती अश्वहरू अवाक् छन्, प्रतिक्रियाविहीन छन्, निस्तेज छन्, मृतवत् छन् । तिनका ओठमा सत्ताको मह लेपन गरिएको छ । र, नै तिनको मुखबाट मौन ध्वनिमा मधुर वाणी झङ्कृत हुन्छ । अहा, दुईतिहाइको यो सुशासन, यो न्याय र अमनचैन ! एहे दुईतिहाइको समृद्धि र सुखको यो क्या वितरण ! अहो, समाजवादतर्फको यो गरिमामय यात्रा !
वितृष्णाको मुद्रामा म गम खान्छु– पारिजात दिदी जीवित भए उनलाई जीवनको यो हदै कुरूप नाटक कस्तो लाग्दो हो ? यो अश्वशाला, यी अश्वहरू, यी मालिक, यिनको यो शासनतन्त्र, सडकको यो अश्रु–प्रवाह र चीत्कार, सञ्चारमाथिको यो अतिक्रमण र कोलाहल, यी ससाना गोयबल्सहरू, यी मसिना  , जीवनका यी नानाओली बेथितिहरू र यो अनपेक्षित विद्रूप यथार्थ...! 

No comments:

Post a Comment