Sunday, August 25, 2019

पञ्चायतको जुठो टपरी - नारायण ढकाल


१.
१८ वर्षअघि । प्रज्ञा प्रतिष्ठानबारे मैले एउटा प्रश्न गरेको थिएँ, ‘अब यो राजकीय प्रज्ञा प्रतिष्ठानलाई गएगुज्रेको संस्थानजस्तै निजीकरणको हुलमा मिसाए कसो होला ?’(प्रज्ञा प्रतिष्ठानको निजीकरण, पूर्वपिठिका स्तम्भ, राजधानी दैनिक, २०५९ साल, साउन ।)
त्यस बखत प्रज्ञा प्रतिष्ठान गम्भीर विवादमा फसेको थियो । कर्मचारीहरू आन्दोलनमा थिए । कुलपति र सदस्यसचिव आ–आफ्नो पदको दायित्व बिर्सेर काम गरिरहेका छन् भन्ने आरोप थियो । उनीहरू कर्मचारीसँग भागी–भागी हिँडिरहेका थिए ।
०००
एघार वर्षअघि । ‘झन् नयाँ’को साहित्य–वार्तामा फेरि मैले भनेको थिएँ, ‘मेरो लागि प्रज्ञा प्रतिष्ठान हुनु वा नहुनुको कुनै अर्थ छैन । मेरो विचारमा प्रज्ञाको नाममा देशको सम्पत्तिको दुरुपयोग भइरहेको छ ।’ (२०६५ साल, वैशाख २८ गते शनिबार, प्रस्तोता– यज्ञश ।) 
त्यस बखत नयाँ प्रज्ञा प्रतिष्ठान गठनको कुरा चलिरहेको थियो र दलहरूबीच भागबन्डाको कुरूप रस्साकस्सी चलिरहेको थियो ।
०००
२०६५ सालतिरकै कुरा हो, म भर्खरै एमालेको संस्कृति विभागको सदस्य मनोनीत भएको थिएँ । विभागको इन्चार्जमा हालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सचिवमा साहित्यकार अमर गिरी थिए ।
मनोनीत भएपछि मैले जम्माजम्मी दुइटा बैठकमा मात्र भाग लिएँ । दुवै बैठक मदननगर बल्खुस्थित एमालेको केन्द्रीय कार्यालयमा भएका थिए । पहिलो बैठक बोलाइएको समयभन्दा दुई घन्टा ढिलो सुरु भयो । बैठकको सुरुमा इन्चार्ज कमरेडले सोझै पहिलो कार्यसूचीमा प्रवेश गर्दै भने, ‘हामीमध्ये को–को प्रज्ञा प्रतिष्ठानमा जाने, हात उठाउनुहोस् !’
उनको यो प्रश्न मेरो कानमा ठोक्किनासाथ मैले हात उठाउँदै भनेँ, ‘मचाहिँ नजाने ।’
मेरो विपरीत धाराको उत्तरले एकछिन बैठक स्तब्ध भयो । कुनै पनि सदस्य बोलेनन् र मतिर एकोहोरिए । इन्चार्ज कमरेड पनि असजिलोमा फसेको अनुभव भयो मलाई । त्यसपछि मैले नै त्यो निस्तब्धतालाई चिर्दै भनेँ, ‘इन्चार्ज कमरेड, प्रज्ञामा को–को जाने भन्दा पनि किन जाने भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । त्यसैले पहिले यतापट्टि छलफल हुनुपर्छ कि ?’
अझै पनि सबै मौन थिए ।
‘विशेषगरी ०४७ सालदेखि नै प्रज्ञा प्रतिष्ठानको गठन, त्यसको संरचना र कार्यविधिमा धेरै समस्या रहँदै आएका छन् । के हामीजस्ता जिम्मेवार वामपन्थी दलले त्यसको सुधारमा 
चिन्ता गर्नुपर्दैन ?’
यसपछि इन्चार्ज चलमलाए ।
‘कमरेड ढकालको प्रश्न जायज र गम्भीर छ । त्यस विषयमा सैद्धान्तिक अवधारणा तयार गरेपछि मात्र प्रज्ञामा को–को जाने भन्ने विषयमा छलफल चलाउँला । त्यसलाई अर्को बैठकबाट टुंगो लगाउनु उपयुक्त हुन्छ । तसर्थ आजको पहिलो एजेन्डा पार्टीको महाधिवेशनको प्रचारमा कहाँ–कहाँ सांस्कृतिक कार्यक्रम गर्ने भन्ने होस् न त,’ इन्चार्जले भने ।
‘यो पनि प्राविधिक विषय होइन र कमरेड ? एउटा सानो उपसमिति बनाएर त्यसलाई जिम्मा दिए हुँदैन ? सांस्कृतिक विभागजस्तो संस्थाले त प्राविधिक विषय छाडेर देशका लागि कस्तो सांस्कृतिक नीति बनाउन उपयुक्त हुन्छ भनेर पार्टीलाई सल्लाह दिने होइन र ?’
मेरो यो प्रश्नपछि इन्चार्ज फेरि एकछिन अलमलिए । तर, एकछिनपछि एकदमै चतुरमान शैलीमा देशको सांस्कृतिक गन्तव्यको दिशा कस्तो हुनुपर्छ भन्ने विषयमा आधा घन्टा प्रवचन दिए । यस्तो महत्वको विषयमा विभागले निकट भविष्यमा काम गर्नेछ भन्ने आश्वासन पनि दिए । त्यसपछि त्यो बैठक सकियो ।
एक सातापछि । अर्को बैठक दिउँसोको दुई बजे बोलाइएको थियो । तर, तीन घन्टाको पट्यारलाग्दो प्रतीक्षापछि मात्र सुरु भयो । त्यस दिन पनि राजनीतिक–सैद्धान्तिक विषय छाडेर प्राविधिक विषयमा बढी माथापच्ची भयो । म लल्याकलुलुक भएँ ।
ती दुई दिनको अनुभवले संस्कृति विभागप्रति मेरो मोहभंग भयो । त्यसवेला म ‘अन्नपूर्ण पोस्ट’को लेखरचना विभागमा काम गर्थें । अमर गिरी राजनीतिक स्तम्भकार थिए । उनी हरेक साता हस्तलिखित पाण्डुलिपि लिएर ‘अन्नपूर्ण पोस्ट’मा आउँथे । त्यसरी आएका वेला मैले सांस्कृतिक विभागमा काम गर्न नचाहेको व्येहोराको राजीनामाको लिखत दिन खोजेँ ।
‘यसरी राजीनामा दिने विषयमा नेता कमरेडहरूसँग सल्लाह गर्नुभयो त ?’ अमरले सोधे ।
‘गरेको छैन ।’
‘यस्तो संवेदनशील विषयमा हतार नगर्नु भए हुन्थ्यो क्यारे !’
‘म नेता कमरेडहरूमै समस्या देख्छु । उहाँहरू सत्तालाई मात्र देखिरहनुभएको छ । वामपन्थी सत्ताको जग न्यायिक विचारधाराले बन्नुपर्छ भन्नेमा उहाँहरूको ध्यान गएको देख्दिनँ । अब उहाँहरूसँग छलफल गरेर के समाधान निक्लेला ? मैले तपाईं सचिव भएको कारण यो पत्र तपाईंको हातमा दिन खोजेको हुँ ।’
उहाँले राजीनामापत्र लिन निकै अनाकानी गरेपछि मैले भनेँ, ‘यो राजीनामा लिएर जानोस् । यो तपाईंको हितमा पनि छ । प्रज्ञामा जाने सूची बनाउँदा योग्यताको हिसाबले संस्कृति विभागमा तपाईं र म सबभन्दा अगाडि छौँ । त्यहाँ म नभएपछि तपाईं एक्लै निर्विवाद पर्नुहुन्छ ।’ उनले धेरै प्रतिवाद गरे, तर पनि मैले जबर्जस्ती राजीनामापत्र थमाएरै छाडेँ ।
०००
दुई वर्षअघि । लेखक तथा पत्रकार दीपक सापकोटाले मलाई सोधे, ‘तपाईंलाई प्रज्ञा प्रतिष्ठानको कुलपतिमा अफर आयो भने के गर्नुहुन्छ ?’ मैले सपाट जवाफ फर्काएको थिएँ, ‘प्रज्ञा गठनको तरिका नै ठीक छैन । भद्दा दलतन्त्र वा घिनलाग्दो भागबन्डाको विकारले ग्रस्त भएको त्यस्तो ठाउँमा हामीजस्ता लेखकहरू नगएकै बेस ।’ (अन्नपूर्ण पोस्ट, फुर्सद,२०७४ साल चैत ।)
त्यसपल्ट पनि प्रज्ञा प्रतिष्ठानको अर्को कार्यकालका लागि नयाँ नेतृत्व गठनको चर्चा चलिरहेको थियो ।
२. 
२०७४ सालको दसैँताका मेरो आत्मीय मित्र एवं चर्चित साहित्यकार राजव केही वर्षको पाताल प्रवासपछि काठमाडौं आएको थियो । ऊ लगभग सात महिनाजति यहाँ बस्यो । त्यो अवधिमा उसले आफ्नो नयाँ कथासङ्ग्रह ‘पाई’को पाण्डुलिपि तयार पार्‍यो र साङ्ग्रिला बुक्सलाई बुझायो । ‘एट्लान्टिक स्ट्रिट’नामको उपन्यासको अर्को संस्करण निकाल्न फिनिक्स बुक्ससँग सम्झौता गर्‍यो । ऊ पातालतिर फर्केको लगत्तै ‘पाई’ छापियो र ‘नेपाल’ साप्ताहिकले त्यो किताबलाई वर्ष पुस्तक सर्वेक्षणमा २०७५ सालका उत्कृष्ट पुस्तकमध्ये एक भनेर टिप्पणीसमेत गर्‍यो ।
सात महिनाको काठमाडौं बसाइमध्ये करिब चार महिनाजति उसले मन्थन गरिरहेको एउटा विषय थियो– प्रज्ञा प्रतिष्ठान । ऊ भनिरहन्थ्यो, ‘यसपटक तिमी जसरी पनि प्रज्ञा प्रतिष्ठानको कुलपति बन्नैपर्छ ।’ उसको भनाइपछि म पनि ज्याद्रो भएर भनिरहन्थेँ, ‘मित्र, त्यहाँ जाने कुरामा मेरो रुचि छैन ।’
उसले आफ्नो कुरालाई बलियो बनाउन अर्का कवि तथा निबन्धकार मित्र शार्दूल भट्टराईलाई समेत आफ्नो कित्तामा मिलायो । शार्दूल त्यसै पनि बढ्ता भलादमी छन् । हत्तपत्त कसैको पनि कुरा काट्दैनन् । कसैलाई होच्याउँदैनन् । कसैसित रिसाउँदैनन् । सधैँ मुसुमुसु हाँसिरहन्छन् । त्यसमाथि थप कुरा, राजव र उनीबीच प्रगाढ मित्रता छ । मित्रताको त्यो जुइनोले काम गर्न थालिहाल्यो । त्यसपछि त राजवको रटाइ अरू बढी मजबुत भयो ।
‘हेरिराख न, तिमी यसपटक कुलपति बन्छौ, बन्छौ ।’
राजव यस्तो भनिरहने र शार्दूलजी त्यसलाई मृदु मुस्कानसहित समर्थन जनाइरहने भएपछि मलाई असजिलो हुन थाल्यो । एक साँझ गैह्रीधारास्थित लाटाभाइको खाजापसलमा हुने सायंकालीन जमघटमा यो विषय फेरि उठ्यो । लाटाभाइको खाजापसल मीठो र तिख्खर परिकारका निम्ति चर्चित छ । हामी त्यहाँ समय–समयमा भेला हुन्छौँ । विशेषगरी राजवले त्यहाँको खानेकुरा निकै मनपराउँछ । त्यस साँझ त्यहाँ साहित्यकार मित्रहरू विमल निभा, पुरुषोत्तम सुवेदी, नयनराज पाण्डे, राजव, शार्दूल भट्टराई र म उपस्थित थियौँ ।
‘यसपालि हाम्रो यो कामरेडलाई प्रज्ञामा लानैपर्‍यो,’ राजवले भन्यो ।
‘प्रिय मित्र, तिमीले अचेल राजनीतिलाई बुझेका छैनौ । राजनीति पहिले हामीले बुझेको जस्तो भित्र र बाहिर उही छैन । त्यहाँ बाहिर एउटा कुरा देखिन्छ, भित्र अर्कै खिचडी पाकिरहेको हुन्छ । तिमी सोझो मनले जे सोच्छौ, त्यो पूरा हुँदैन । मुख्य कुरा त, म प्रज्ञामा जानै चाहन्नँ । अहिले जसरी प्रज्ञा बन्छ, त्यस्तो संरचनामा त्यहाँ गएर गतिलो काम गर्न सकिँदैन । अर्को कुरा, त्यहाँ स्वतन्त्र सोच भएका प्राज्ञहरू पुग्न सक्ने वातावरण छैन । यदि चिट्ठा परेर म त्यहाँ पुगेँ भने पनि केही कामै गर्न नसकेर बदनाम हुन सक्छु । त्यसपछि त अहिले लेखकका रूपमा मेरो जति साख छ, त्यो पनि सबै ध्वस्त हुनेछ,’ मैले भनेँ ।
मेरो कुरालाई आख्यानकार नयनराज पाण्डेले समर्थन गरे । प्रज्ञाको विषयमा उनले स्पष्ट मत राख्दै आएका छन् । उनले भने, ‘हो त दाइ, यस्तो अवस्थामा प्रज्ञामा जानु भनेको जानाजान पतनको बाटो हिँड्नु हो, रचनात्मक दृष्टिमा सोझै आत्महत्या गर्नु हो ।’
‘अब त्यस्तो हुँदैन । सरकारलाई यो कुरा बताउनुपर्छ,’ राजवले भन्यो ।
‘सरकारले कुरा सुन्ला र ?’ मैले सोधेँ ।
‘लेखकहरूको कुरा नसुने कसको कुरा सुन्ला त ?’
‘प्रधानमन्त्रीसित तिम्रो कस्तो सम्बन्ध छ ?’
‘तिमी कुलपतिमा जान्छु मात्र भन न, सफल बनाउने काम हाम्रो । यसलाई हाम्रो अभियान नै भन्दा पनि हुन्छ,’ राजवले पहिले मेरो अनुहार र त्यसपछि शार्दूलजीको मुखमा हेरेर भन्यो ।
‘नारायणजीले प्रज्ञामा जान्न भनेर सार्वजनिक रूपमा भनिसक्नुभएको छ, यसमा किन बहस गर्नु मित्रहरू ?’ कवि पुरुषोत्तमले बीचमा हस्तक्षेप गर्दै रुखो स्वरमा भने ।
‘एकदमै क्षमताशील र निर्भीक व्यक्तित्वलाई कुलपति बनाएर उसलाई स्वतन्त्र टिम बनाउन दिन्छन् भने जान सकिन्छ । तर, अहिले यस्तो सम्भावना छैन,’ अर्को कसैले भन्यो ।
‘यदि साँच्चै प्रधानमन्त्रीले तिम्रो कुरा सुन्छन् भने मलाई प्रज्ञामा होइन, राष्ट्रिय सभामा लैजान भन । म त्यहाँ जान पाएँ भने प्रज्ञाको पुनर्संरचना गर्न राजनीतिक तवरबाट केही प्रयास गर्न सक्छु । संस्कृतिमन्त्री र प्रधानमन्त्रीलाई पनि सम्झाउन सक्ने हैसियतमा पुग्छु,’ ठट्टैठट्टामा मैले भनेँ ।
त्यसपछि केही समयका लागि प्रज्ञा विषयको घनचक्करमा बिर्को लाग्यो ।
एउटा लेखक साहित्यमा अनैतिक सत्ताको विरोध त गर्छ, तर सरकारद्वारा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दिइने पुरस्कार लिन पनि उत्तिकै मरिहत्ते गर्छ । अर्को आख्यानकार महान् गणतन्त्रको पक्षधर बन्छ, तर पञ्चायतले बिटुलाएको प्रज्ञा प्रतिष्ठानको कौमार्य भोग्न त्यत्तिकै लुब्ध हुन्छ । यी दृश्य देखेर म भ्रमित भएको छु । 
३. 
मजस्तो सदा अभ्यासरत नवलेखकका निम्ति प्रज्ञा प्रतिष्ठान कहिल्यै मोहको विषय बनेन । देशमा पञ्चायतको हालिमुहाली हुँदा हामी धेरै लेखक दोस्रो दर्जाका नागरिकजस्ता थियौँ । पञ्चायतको अनुहार ज्यादै विकृत थियो । पञ्चायतमा मैले कहिल्यै पनि मानवीय स्वभाव, स्वतन्त्रताप्रति आदर, रचनात्मक ऊर्जा र दायित्वबोध देखिनँ । म जुन गाउँमा हुर्कें र बढेँ, त्यहाँका पञ्चहरूको जीवनदर्शन, आचरण र व्यवहारमा खलनायकत्व मात्र देखिन्थ्यो । फरक विचारलाई नसहने, आफूसित सहमत नहुनेलाई व्यवस्थाविरोधी र अराष्ट्रिय तत्वको बिल्ला भिराउने । नयाँ पुस्तालाई निर्भीक र प्रतिभाशाली बनाउनुभन्दा तानाशाही विचारको पिछलग्गु तथा दास बनाउन खोज्ने उनीहरूको चरित्र थियो ।
मैले देखेका अधिकांश पञ्चहरू आर्थिक व्यवहारमा पनि भ्रष्ट थिए । भ्रष्टाचारको विरोधमा प्रश्न उठाउन सम्भव थिएन । पूरै समाज पञ्चायती सत्ताको आतंकले थिचिएको थियो । उदाहरणका रूपमा म मेरा बालाई सम्झन्छु । उनलाई राजनीतिसित कुनै सरोकार थिएन । उनी गृह मन्त्रालयको शान्तिसुरक्षा शाखामा राजपत्रअनङ्कृत कर्मचारीको हैसियतमा कार्यरत थिए । उनको कार्यकालमा जति पनि सचिव आए उनको सरलता र सीधापनले प्रभावित भए । तर, म बालाई आफ्नो गाउँमा आएपछि सधैँ त्रसित मानसिकतामा बाँचेको देख्थेँ । जब मैले आफूलाई साहित्यकार बनाउँछु भनेर अठोट लिएँ, मेरो मनमा बाको त्यो त्रसित बिम्ब सधैँ टाँसिइरह्यो । ‘वृषभ वध’ उपन्यासमा मैले बाको त्यो डरलाई लवप्रसाद शर्मा पात्रमार्फत लेख्ने प्रयास गरेको हुँ ।
राजा महेन्द्रले प्रज्ञा प्रतिष्ठान स्थापना गरेर साहित्य, संस्कृति र समाज विज्ञानको क्षेत्रमा ठूलो काम गरे भनेर प्रचार गर्नेहरू अझै धेरै छन् । तर, २०४६ को जनआन्दोलनअगाडि मैले कहिल्यै प्रज्ञाले निकाल्ने पत्रिकाहरूमा लेख दिइनँ र त्यसले आयोजना गर्ने साहित्यिक प्रतियोगिता र विचार गोष्ठी आदिमा भाग लिइनँ । त्यस संस्थालाई मेरा साथीहरू विमल निभा, राजव वा श्यामलले पनि उपेक्षा गरिरहे । 
०३६ सालसम्म म कुनै राजनीतिक पार्टीको सदस्य थिइनँ । पञ्चायतलाई राजनीतिक आँखाले हेर्ने मेरो दृष्टिबोध मस्तिष्कको कुनै कुनामा थिएन । तर, त्यो समयमा पनि राजकीय प्रज्ञा प्रतिष्ठान मजस्ता लेखकको छहारी हुन सक्छ भन्ने लागेन ।
२०४६ सालको जनआन्दोलनताका म ‘दृष्टि’ साप्ताहिकको सम्पादक थिएँ । आन्दोलनमा लागेका हजारौँ कार्यकर्ताको हुलमा म पनि कतै न कतै थिएँ । तिनै ऊर्जाशील कार्यकर्ताको संघर्ष र बलिदानको जगमा बहुदलीय प्रजातन्त्र आयो । तर, बहुदल आएपछि बनेको प्रज्ञा प्रतिष्ठान मजस्ता लेखकहरूका निम्ति सम्मानजनक संस्था बन्न सकेन । बहुदल आएपछि पनि यो संस्था विगतको निरंकुश व्यवस्थामा झैँ संस्कृतिको फोहोरी दलदलमा हिँड्न थाल्यो । खुलस्त भन्ने हो भने प्रजातन्त्रको प्रज्ञा प्रतिष्ठान पञ्चायती व्यवस्थाले पकाएको भतेर खाएर बाँकी रहेको जुठो टपरी चाटेर अघि बढ्यो । अहिलेसम्म त्यहाँ त्यही संस्कृतिको निरन्तरता छ ।
मैले आफू धेरै क्रान्तिकारी भएको आडम्बरमा यस्तो भनेको होइन । वास्तवमा म खासै क्रान्तिकारी मानिस होइन । तर, आफूलाई अहोरात्र क्रान्तिकारी भन्नेहरू, विकास–समृद्धि र नयाँ नेपाल निर्माणको कर्कश ढोल बजाउनेहरू र देशमा आफैँलाई मात्र प्रजातन्त्रको बिर्तावाल ठान्नेहरूले प्रज्ञालाई जसरी निरन्तरता दिए, तिनीहरूको अयोग्यता तानाशाही राजा महेन्द्रको भन्दा पनि धेरै निम्छरो रह्यो । यो देखेर एउटा सच्चा साहित्यकारको त के कुरा, लोकतन्त्रको निम्ति लडेको सामान्य हितचिन्तकको मनसमेत ठीक ठाउँमा नरहने अवस्था आयो ।

एक दिन शार्दूलजीले भने, ‘प्रधानमन्त्री र संस्कृतिमन्त्रीले आँटे भने यसपल्ट राम्रै किसिमको एकेडेमी बनाउन सक्छन् । यसपल्ट दलीय भागबन्डाको समस्या उति धेरै छैन जस्तो लाग्छ । भेटेर सुझाब दिने हो कि ?’
उनको प्रस्तावले म लच्किएँ । जुनसुकै अवस्थामा पनि प्रज्ञाको विरोध गर्न मैले किरिया खाएको थिइनँ । यदि प्रज्ञा राम्रो बन्छ भने मेरो खुसी स्वतः बढ्नेछ । यस्तो सोचेर मैले भनेँ, ‘संस्कृतिमन्त्रीसँग त भेट्न गाह्रो छैन । तर, प्रधानमन्त्रीसँग कसरी भेट्न सकिएला र ?’
‘प्रधानमन्त्रीका प्रेस सल्लाहकार हाम्रै साथी हुन् । पहिले उनीसँग भेटौँ र उनलाई प्रधानमन्त्रीसँग भेट्ने व्यवस्था मिलाउन भनौँ ।’ तर, भोलिपल्ट भेट्न जाने दिन शार्दूलजीले भने, ‘के गर्ने नारायणजी, मसित सिंहदरबार पस्न मिल्ने परिचयपत्र नै छैन ।’
फसाद पर्‍यो । म घरबाट निस्किसकेको थिएँ । त्यसैले मैले उनलाई भनेँ, ‘ठीक छ नि त म एक्लै गएर आउँछु । त्यहाँ के कुरा भयो साँझ चियापसलमा भेटेर भनौँला ।’
धेरै समय भएको थियो म पनि सिंहदरबार नपसेको । २०५३ सालदेखि २०५६ सम्म संसद्मा थिएँ । तीन वर्षको कार्यअवधि समाप्त भएपछि धेरै पछिसम्म म त्यहाँ गएको थिइनँ । खासमा सिंहदरबारभित्र छिर्न मिल्ने कुनै किसिमको कागज मसित थिएन । ‘अन्नपूर्ण पोस्ट’मा काम गर्दा सूचना विभागबाट पत्रकार चिनाउने परिचयपत्र बनाउन मिल्थ्यो, तर म विचार डेस्कको पत्रकारलाई सिंहदरबार छिर्नुपर्ने आवश्यकता थिएन, त्यसैले त्यस्तो केही बनाएको थिइनँ । कहिलेकाहीँ सिंहदरबार जानुपर्ने भएमा मन्त्रालयको चिनेको कर्मचारीलाई गुहार्थें ।
एक दिन संसद्मा काम गर्ने मेरा भाइ तेजप्रसाद ढकालले पूर्वसांसद मञ्चको परिचयपत्र बनाउन सल्लाह दिए । त्यो परिचयपत्र लिएपछि सिंहदरबार छिर्न गाह्रो भएन । म त्यही परिचय बोकेर सिंहदरबार पसेँ र एकैदिन मैले तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री र प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई भेटेर आफ्ना कुरा राखेँ । 
‘हाम्रा धेरै साहित्यकार भन्दै छन्– प्रज्ञा प्रतिष्ठानको गुणवत्ता पञ्चायतको समयमा जत्तिको पनि भएन । यो गुनासो सर्वथा जायज छ । मेरो विचार पनि यही हो । अहिले तपाईहरूले चाहेको खण्डमा तानाशाही राजा महेन्द्रको समयको भन्दा समुन्नत संस्था बन्न सक्छ । दुईतिहाइ जनमत पाएको यो सरकारलाई प्रज्ञा प्रतिष्ठान राम्रो बनाउन ठूलो अवसर प्राप्त भएको छ । त्यसका निम्ति राम्रो प्रतिभा भएको, न्याय र स्वतन्त्रताको चीरहरण हुँदा सत्यको अडानमा उभिन सक्ने, युवा–प्रौढ वा वृद्ध जोकसैलाई पनि रोज्नुहोस् । उसलाई आफ्नो पूरा टिम बनाउने स्वतन्त्रता दिनुहोस् । उसले यस्तो टिम बनाओस्, जसबाट उसलाई राम्ररी काम गर्ने वातावरण मिलोस् । तब बल्ल लोकतन्त्रलाई सुहाउने खालको प्रज्ञा प्रतिष्ठान बन्ने क्रम सुरु होला ।’
संस्कृति विभाग इन्चार्ज प्रदीप ज्ञवालीले भने, ‘को–को प्रज्ञामा जाने, हात उठाउनुहोस् ।’ हात उठाउँदै भनेँ, ‘मचाहिँ नजाने !’ मेरो विपरीत धाराको उत्तरले बैठक स्तब्ध भयो ।
मैले फेरि भनेँ, ‘आफ्नो गुटको भक्त भएका आधारमा साहित्य, विज्ञान, समाज विज्ञान वा संस्कृतिमा योग्यता नपुगेको व्यक्तिलाई जिम्मेवारी नदिनुहोस् । तपार्इंसित यसो भन्दा मैले आफूलाई केन्द्रमा राखेर कुरा गर्‍यो कि भनेर नठान्नुहोला । मेरो स्वार्थ त्यति मात्र छ, जति एउटा लोकतन्त्रको हित चाहने सामान्य लेखकको हुन्छ । आजसम्म यो संस्था जसरी गठन हुँदै आयो, त्यो मलाई चित्त बुझेको छैन । हुन त म पनि पार्टीमा काम गरिरहेको मान्छे हुँ, तर यो संस्थालाई पार्टीको भर्तीकेन्द्र बनाउनुहुँदैन भन्ने मेरो विचार छ । जुनसुकै विचारमा आस्था राख्ने भए पनि एउटा स्वाभिमानी लेखकले गर्व गर्न सक्ने प्रज्ञा प्रतिष्ठान निर्माण होस् भन्ने पक्षमा म छु ।’
संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा दुःखद देहावसान भएकाले मैले राखेको यो सुझाबको सत्यताको परीक्षण असम्भव भए पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल अझै जीवन्त साक्षी छन् । अर्यालजीसँगको भेटमा मैले प्रज्ञालाई सुहाउने धेरै योग्य व्यक्तित्वको नाम सुझाएको थिएँ । ती नाममध्ये मैले साहित्यिक चिन्तक अरुण गुप्तोको नाम लिँदा उनी एकाएक पुलकित भएका थिए, ‘गज्जब नाम लिनुभयो सर । मैले उहाँको नजिक बसेर काम गरेको छु । तर, अहिलेसम्म हामीले यसरी सोचेका रहेनछौँ ।’
‘यो कुरा तपाईंले प्रधानमन्त्रीज्यूलाई भन्नुपर्‍यो । प्रधानमन्त्रीलाई अथ्र्याउन तपाईंलाई गाह्रो पर्छ भने हामी लेखकको एउटा टोलीलाई भेटाउने व्यवस्था मिलाउनुहोस् । हामी एक–एक समस्या उहाँलाई बुझाउन सक्छौँ । मेरो मुख्य सरोकार विश्वास गुमाएको प्रज्ञा प्रतिष्ठानलाई लोकतन्त्रवादी लेखकहरूको विश्वासको कार्यस्थल बनाउनुपर्छ भन्नेमा मात्र छ ।’
तर, मेरो प्रयास सफल भएन, खेर गयो ।
५.  
फेरि कवि राजवलाई अर्को लाटो भूतले समात्यो । अब ऊ मलाई जसरी भए पनि राष्ट्रिय सभामा पुर्‍याउनुपर्छ भनेर लाग्न थाल्यो । कवि शार्दूल भट्टराई उही पूर्ववत् शैलीमा मुसुमुसु हाँस्दै राजवलाई समर्थन गरिरहेका थिए । मैले प्रज्ञाको घाँडोबाट मुक्त हुन राष्ट्रिय सभाको काल्पनिक अस्त्र अघि सारेको थिएँ, तर त्यो पनि अर्को घाँडो भएर विकास भएको थियो ।
खिचापोखरीको केही पूर्वपट्टि टेबहालतिर पस्नुअगाडिको चोकको उत्तरपूर्वी छेडोमा न्हुछेको चियापसल छ । न्हुछे निकै भलादमी प्रकृतिका युवक हुन् । उनी साहित्यका स्रष्टा वा पाठक होइनन्, तर पनि हामीप्रति उनको असीम सद्भाव रहेको छ । हामी प्रायः साँझपख त्यहाँ भेला हुन्छौँ र चिया खाँदै साहित्य, राजनीति र जीवनका अरू पाटाको कुरा गर्छौं । त्यहाँ नियमित पुग्नेहरूमा शार्दूल भट्टराई र पुरुषोत्तम सुवेदी पर्छन् । कवि तथा लेखक मित्रहरू विमल निभा, अविनाश श्रेष्ठ, अमर गिरी, मात्रिका पोखरेल, नयनराज पाण्डे, राजेन्द्र पराजुली, अभय श्रेष्ठ, रोशन शेरचन, बुद्धिसागर, सीताराम उप्रेतीहरू अनुकूलता मिलाएर त्यहाँ पुग्छन् । मलाई चाहिँ मेरो वासस्थान मूलपानीदेखि नियमित त्यहाँ पुग्न त्यति सहज छैन । तसर्थ म साता–पन्ध्र दिनमा एक–दुईपटक पुग्छु । राजव पनि नेपाल आएका बखत त्यहाँको जमघटमा प्रायः उपस्थित भइरहेको हुन्छ ।
न्हुछेको चियापसल हाम्रा लागि नशालु कुलत जस्तै भइसकेको छ । मन परे पनि, नपरे पनि हामी कुनै अव्यक्त मोहनीले तानिएर त्यहाँ पुग्छौँ । हामीमध्ये कसैकसैले त त्यो ठाउँलाई जन प्रज्ञा प्रतिष्ठान पनि भन्ने गरेका छौँ । सायद कवि विमल निभाले होला । उनी व्यंग्यचेत र प्रतीकात्मक नामकरणमा कुशाग्र छन् । उनी एकै तीरले दुई निसाना हान्छन् । एकातर्फ जड प्रज्ञा प्रतिष्ठानप्रति व्यंग्य र अर्कोतर्फ हाम्रा आफ्नै अर्थहीनता र असफलताप्रति आत्मरति ।
एक साँझको कुरा हो– चियापसलमा शार्दूल भट्टराई र म मात्र आइपुगेका थियौँ । मैले राजवको लाटो भूतको कुरा झिकेँ ।
‘गर्न नसकिने काममा लागेर किन मगजलाई तनाव दिनु ?’
‘तर तपाईं राष्ट्रिय सभाको निम्ति अयोग्य त हैन नि ? कोमल वलीलाई त त्यहाँ लगिएको छ भने तपाईंलाई किन नलाने ?’
त्यसैवेला प्राज्ञ अमर गिरी आइपुगे । हाम्रो विवादको चुरो बुझेपछि उनले भने, ‘कोमल वलीलाई एउटा एकल व्यक्ति मात्र भनेर नबुझ्नुहोला । अझै पनि उनी कुनै वेला देशमा स्थापित भएको ठूलै राजनीतिक शक्तिको एउटा प्रतिनिधि हुन् । त्यो शक्ति अहिले सत्ताबाट विस्थापित भए पनि समाजमा त्यसको अस्तित्व लोप भएको छैन । राजनीतिका माहिर खेलाडी कामेरड ओलीले त्यो शक्तिलाई आफ्नो पक्षमा पार्न बुझीबुझी कोमलजीलाई एमालेमा छिराएर र राष्ट्रिय सभामा ल्याउनुभएको भन्ने मान्छु म त ।’
न्हुछेको चियापसलमा आउने साहित्यकारमध्ये अमर गिरीका विश्लेषण बढी तथ्यपूर्ण र तर्कसंगत हुन्छन् । उनमा नेपाली राजनीति र आन्दोलनबारे राम्रो ज्ञान छ भन्ने मलाई लाग्छ । उनको विश्लेषणले हामी निकै प्रभावित भयौँ । 
हामी कता जाँदै छौँ ? लोकतन्त्रमा कस्ता संस्था बनाउने ? राजनीतिक क्षेत्रमा भएको विकराल नैतिक पतन र आत्मविध्वंसमा दाससमान साक्षी बस्ने या स्वतन्त्र नागरिकजस्तो भएर विरोध जनाउने ? प्रज्ञा प्रतिष्ठानजस्तो संस्थालाई स्वायत्त बनाउने कि सधैँ सत्ताका हनुमानहरूको चौतारी बनिरहन दिने ?
‘प्रज्ञामा जान वा राष्ट्रिय सभामा जान मसँग कोमल वलीजीको जस्तो शक्ति खोइ त ?’ मैले हाँस्दै भनेँ ।
‘हो, नारायणजीले ठीक कुरा बुझ्नुहुन्छ,’ अमरजीले मुसुक्क हाँस्दै भने ।
६. 
लेखकको धर्मबारे म धेरैजसो भ्रममा परिरहन्छु । कहिलेकाहीँ त मनमा लाग्छ– बुझाइको मामिलामा म एक्लो मूर्ख पो हुँ कि ? म यहाँको पर्यावरण बुझ्नै सक्दिनँ । एउटा कवि कवितामा जति क्रान्तिकारी देखिन्छ, जीवनमा ठीक उल्टो देखिन्छ । अर्को लेखक साहित्यमा अनैतिक सत्ताको विरोध त गर्छ, तर सरकारद्वारा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दिइने आसचपु वा पुरस्कार लिन पनि उत्तिकै मरिहत्ते गर्छ । झन् अर्को कवि कवितामा सत्ताको विरोध गर्छ, तर फेरि उही समय प्रतिक्रियावादी देशी वा विदेशी संस्थाको नुन चाट्न उत्तिकै उत्साहका साथ जिब्रो फट्कार्छ । अनि अर्को आख्यानकार महान् गणतन्त्रको पक्षधर बन्छ, तर पञ्चायतले बिटुलाएको प्रज्ञा प्रतिष्ठानको कौमार्य भोग्न त्यत्तिकै लुब्ध हुन्छ । यी दृश्यहरू देखेर म भ्रमित भएको छु, भन्नुहोस् त यस्तो दोहोरो जीवन बाँच्ने स्रष्टाहरू यहाँ मात्र छन् कि अरू देशमा पनि छन् ?
स्रष्टाले प्रज्ञामा जाने वा सरकारी मान र पुरस्कार लिनै नहुने विषय होइनन्, तर राजनीतिमा नैतिकता र सदाचारको सिमाना नाघ्यो भने त्यस्तो समयमा प्रज्ञाबाट निस्कने कि ननिस्कने, पुरस्कार लिने कि नलिने वा लिएको पुरस्कार र सम्मान फिर्ता गर्ने कि नगर्ने जस्ता प्रश्न अहम् महत्वका बनेर आउँछन् । केही वर्षअघि मोदी सरकारले स्वतन्त्र अभिव्यक्तिमा आपराधिक पासो थापेपछि त्यसको विरोधमा धेरै भारतीय लेखकले एकेडेमी पुरस्कार र सम्मान फिर्ता गरेका थिए । केही दशकअघि रुसी लेखक अलेकज्यान्डर सोल्जेनित्सिनले राष्ट्रपति यल्तसिनले दिन खोजेको राष्ट्रिय पुरस्कार लिन अस्वीकार गरेका थिए । पुरस्कार घोषणा भएपछि उनले भनेका थिए, ‘यल्तसिनले देश र जनतालाई धोका दिइरहेका छन्, त्यसैले यस्ता अनैतिक राष्ट्रपतिले दिने पुरस्कार म लिन्नँ ।’
उनको उपन्यास ‘क्यान्सर वार्ड’मा सोभियत समाजवादको नाममा विकसित भइरहेको सामाजिक मूल्यहरूको पतन र सोभियत समाजको जडताको डरलाग्दो चित्रण छ । त्यस्तै उनको गैरआख्यान ‘गुलाग आर्किपेलोगो’मा सोभियत श्रम शिविरमा हुने आततायी अत्याचारको वर्णन छ । समाजवाद निर्माणको नाममा श्रमशिविरमा हुने अत्याचारको विरोधमा आख्यान र गैरआख्यान लेखेका कारण सोल्जेनित्सिनलाई साम्राज्यवादी दलाल भनियो र देशनिकाला गरियो । पछि मिखाइल गोर्वाचेभको उदार शासनकालमा आएर मात्र उनले आफ्नो मातृभूमि फर्किन पाए ।
सोल्जेनित्सिनलाई देश निकाला गर्दा काठमाडौंका केही लेखकले वक्तव्य निकालेर सोभियत सरकारको विरोध गरेका थिए । त्यो विरोधपत्रको पुछारमा सही गर्नेमा म पनि थिएँ ।
०००
समाजमा उठ्ने संवेदनशील प्रश्नहरूसित सामना गर्ने विश्व लेखकको लामो सूची बनाउन सकिन्छ, तर हामीचाहिँ कुन बाटो हिँडिरहेका छौँ, मलाई सधैँ हुँडलिरहने प्रश्नचाहिँ यही मात्र हो ।
सन् २०१७ को ५ सेप्टेम्बरमा पत्रकार, लेखक तथा सामाजिक अभियन्ता गौरी लंकेशको हत्या भयो । उनी दक्षिणपन्थी धार्मिक अतिवादको विपक्षमा थिइन् । विशेषगरी भारतीय जनता पार्टीको महिला र दलितविरोधी नीति एवं व्यवहारप्रति उनको लेखनीको निसाना थियो । तर,मोदी सरकारलाई यो सह्य भएन । मोदी सरकार फरक विचार राख्नेहरूलाई राष्ट्रविरोधी र नक्सलपन्थी भएको आरोप लगाउँदै कठोर दमनमा उत्रेको थियो । गौरी लंकेशको हत्या मोदी सरकारद्वारा प्रेरित षड्यन्त्रको परिणाम थियो ।
गौरी लंकेशको हत्या भएको एक वर्षपछि आयोजना भएको स्मृति दिवसमा प्रख्यात नाटककार, कलाकार तथा चिन्तक गिरीश कर्नाड छातीमा ‘मि टु अर्बन नक्सल’ लेखिएको प्लेकार्ड टाँसेर समारोहमा बसे । उनको स्वास्थ्य ठीक हालतमा थिएन । उनको नाकमा अक्सिजनको नली जोडिएको थियो । तर, पनि उनले शिर उठाएर भने, ‘यदि सत्य बोल्दा नक्सल भएको आरोप लगाइन्छ भने म पनि सहरी नक्सल हुँ ।’
गिरिश कर्नाडलाई म, राजव र विमल निभाले तीसको दशकमै पढेका थियौँ । उनका ‘ययाति’, ‘तुगलक’, ‘हयवदन’जस्ता चर्चित नाटक छन् । ‘ययाति’ महाभारतको मिथकबाट पुनः सिर्जन गरिएको नाटक हो । ‘तुगलक’को विषय ऐतिहासिक छ भने ‘हयवदन’ लोकगाथामा आधारित छ । उनको रचनात्मक क्षमताको प्रभाव अन्तर्राष्ट्रियस्तरमा फैलिएको छ । उनले वैकल्पिक धार र मूलधारका धेरै चलचित्रमा पनि काम गरेका छन् । उनको वैकल्पिक अभियानको ‘निशान्त’ देखि मूलधारको मसलादार ‘टाइगर जिन्दा है’सम्मका चलचित्रमा एउटा शक्तिशाली कलासाधकको उपस्थिति पाउँछु म । ती महान् स्रष्टाको हालै निधन भयो ।
जब म हाम्रो नजिकको छिमेक र विश्वका यी उदाहरणबारे घोत्लिन थाल्छु– त्यसपछि म आफूलाई असहाय एकलव्यजस्तो अवस्थामा पाउँछु । हामी कता जाँदै छौँ ? लोकतन्त्रमा कस्ता संस्थाहरू बनाउने ? राजनीतिक क्षेत्रमा भएको बिकराल नैतिक पतन र आत्मविध्वंसमा दास समान साक्षी बस्ने या स्वतन्त्र नागरिकजस्तो भएर विरोध जनाउने ? प्रज्ञा प्रतिष्ठानजस्तो संस्थालाई स्वायत्त बनाउने कि सधैँ सत्ताका हनुमानहरूको चौतारी बनिरहन दिने ?
प्रश्नहरू उत्तिकै धेरै छन् र तिनीहरूको उत्तरको अभाव पनि उत्तिकै यथार्थ र शाश्वत छ ।
७. 
प्रधानमन्त्रीले दर्शनभेटमा बोलाउलान् भनेर कवि राजवले पूरा सात महिना कुर्‍यो । न्हुछेको चियापसलमा भेट हुँदा वा कहिलेकाहीँ साँझपख लाटाभाइको पसलमा सुस्ताउँदा ऊ भनिरहन्थ्यो, ‘प्रधानमन्त्रीको स्वकीय सचिवलाई भनेका छौँ । ढिलोचाँडो भेट हुन्छ । हामी तिमीलाई राष्ट्रिय सभामा लाने विषयमा जमेर कुरा गर्नेछौँ ।’
उसले यसो भनिरहँदा शार्दूलको अनुहारमा आशाका आभा चम्किएका हुन्थे ।
तर, प्रधानमन्त्रीसित भेट्ने कवि राजवको मुराद पूरा भएन । यो परम असफलतामा शार्दूलजी एउटा सिद्ध सन्तले झैँ साक्षी भावमा मुसुमुसु हाँसिरहे भने सात महिना बितेपछि राजव पनि चुपचाप पाताल प्रवासतिर फर्कियो ।

ooo 
www.jhannaya.nayapatrikadaily.com बाट साभार 
२०७६ श्रावण १८ शनिबार १०:३९:००

No comments:

Post a Comment