Sunday, September 1, 2019

प्राज्ञ हुन चाहन्थेँ तर मूर्ख रहेछु - हरि अधिकारी

नयाँ पत्रिकाको ‘झन् नयाँ’मा गत शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानसम्बन्धी बहुधा आलोच्य रहँदै आएका केही विषयमा मित्र नारायण ढकालले लेखेको कदाचित लामो र तीखो टिप्पणी ‘पञ्चायतको जुठो टपरी’ पढेपछि यसै सन्दर्भमा मेरो आफ्नो जीवनमा घटित केही नितान्त अप्रिय र बिर्सनयोग्य पुराना घटना पनि अनायास नै ताजा भएर आए ।
मेरो अतीतमा घटित, अहिले आएर सम्झिन पटक्कै मन नलाग्ने ती दुःखदायी घटनासँग जोडिएका अनुभव र अनुभूतिलाई मैले सम्भव भएसम्म कहिल्यै उधिन्ने छैन भन्ने अठोटका साथ आफ्नो स्मृतिको कोषागारमा जतन गरेर थन्क्याएको थिएँ ।
मेरा निकटका मित्र ख्यातनामा लेखक नारायण ढकालले यसै पत्रिकामा प्रकाशित आफ्नो त्यस लेखमा प्रज्ञा प्रतिष्ठानसँग गाँसिएका घटना र सन्दर्भहरूमा आधारित धेरैखाले नमीठा कुरा उप्काएपछि मेरो मनमा पनि अतीततिर फरक्क फर्केर आफूले एकपटक सकसका साथ पार गरेको त्यो पीडादायक अनुभवपथमा फेरि यात्रा गर्नेर आफ्ना पाठकलाई पनि आफूसँगसँगै हिँडाउने एक प्रकारको आवेगमय हुटहुटी उत्पन्न भयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सन्दर्भमा केही समयअघि म जब माथि संकेत गरेका केही अप्रिय अनुभवबाट गुज्रिन बाध्य भएको थिएँ, तब मैले मनमनै आइन्दा नेपाल प्रज्ञा प्रतिष्ठानको अस्तित्वलाई मनसा, वचसा र कर्मणा पूरै नकार्ने अठोट गरेको थिएँ । त्यो अठोटमा अरू कुराका अतिरिक्त त्यस संस्थाका विषयमा एक शब्द पनि नलेख्ने प्रण पनि सामेल थियो ।
मेरो त्यो स्वान्त सुखायः निर्णय कसैको नजरमा अतिवादी पनि ठहरिन सक्थ्यो । तर, त्यो थियो एउटा थकित र पराजित मानिसले आफैँसँग गरेको एक प्रकारको कठोर तर एउटा नितान्त निरापद प्रतिज्ञा । त्यसलाई जमिनबाट धेरै माथि झुन्डिएको अंगुरको झुप्पा टिप्न नसकेको स्यालले ‘त्यो खानै नसकिने किसिमले धेरै अमिलो छ’ भनेर तिरस्कार गरेको कथाजस्तो पनि ठान्न सक्थे मानिसहरूले । मैले मेरो त्यो अठोटलाई सबैबाट जोगाएर मनमै राखेको थिएँ । कसैलाई सुनाएको भए उसको प्रतिक्रिया सायद अंगुर अमिलो छ भन्ने खालको नै हुन्थ्यो होला ।
कुनै एक सनकी व्यक्तिले गरेजस्तो लाग्ने मेरो त्यो निजी स्तरको प्रणको पालना गर्न भने मलाई अलिकति पनि गाह्रो थिएन । आफ्नो त्यस निर्णयको पहिलो बुँदामा टिकिरहन मैले पत्रपत्रिकाका लागि लेख रचना तयार गर्दा विषयका रूपमा प्रज्ञा प्रतिष्ठानको ‘प्र’ पनि उच्चारण नगरे पुगिहाल्थ्यो । त्यसै पनि पत्रपत्रिकाका लागि आलोचनात्मक चेतका साथ टिप्पणी र लेखहरू लेख्न विषयको कुनै अभाव थिएन ।
नेपालमा राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय भई सार्वजनिक जीवन बाँचिरहेकामध्ये कुनै एक व्यक्तिको प्रशंसा गरेर लेख्नुप-यो भनेचाहिँ त्यस्तो पात्र नै नभेटेर सकस पर्न सक्थ्यो । प्रज्ञा प्रतिष्ठानको छायाबाट समेत तर्किने भन्ने मेरो प्रतिज्ञाको जुन दोस्रो र सर्वाधिक महत्वको बुँदा छ, त्यसको पालना गर्न पनि खासै गाह्रो थिएन । त्यसका लागि मैले धेरै केही गर्नु पर्दैनथ्यो, फगत् कमलादीतिरको बाटो नै नहिँड्दा भइहाल्थ्यो । मेरा निम्ति मोटर चल्ने फराकिला सडक उपलब्ध नभए पनि काठमाडाैंका चिसा गल्लीहरू स्वागतमा हर्दम तत्पर थिए ।
प्रज्ञा प्रतिष्ठानसँग सम्बन्ध–विच्छेद गर्ने मेरो मौन प्रणबाट अर्को पक्षको सोच र कार्यशैलीमाथि कुनै फरक पर्ने त झन् कुरै भएन । भन्नका लागि सरस्वतीको मन्दिर भनिने तर यथार्थमा भ्रष्टाचारीकी प्रेयसी लक्ष्मीका काइते उपासकको दोकान बन्न पुगेको प्रज्ञा प्रतिष्ठानमाथि अहिले ज–जसले कब्जा जमाएका छन्, उनीहरूका नजरमा मेरो प्रतिज्ञाको कुनै मूल्य छैन ।
उनीहरूले न मलाई एउटा विवेकशील नागरिकका रूपमा चिन्छन्, न त दशकौँदेखि अविच्छिन्न साधना गरिरहेको एउटा साहित्यकारको मेरो जुन छवि बनेको छ, त्यससँग परिचित भएको कुरा नै मान्न तयार छन् उनीहरू ।
उनीहरू र उनीहरूका मालिकले त अथक साधना, श्रेष्ठ सिर्जनकर्म, कलात्मक उत्कृष्टता, गुणात्मक योगदान र लेखकीय स्वाभिमानजस्ता प्रसाद गुणहरूको अर्थ नै फेरिदिएका छन् । यस्तो परिस्थितिमा मजस्तो आफ्नो कुराको डङ्का पिट्नबाट संकोचीर ठूलो स्वरमा कराएर आफ्नो महत्व प्रमाणित गर्ने कुरामा विश्वास नगर्ने कमजोर प्राणीले गरेको प्रज्ञा प्रतिष्ठानको प्रतीकात्मक बहिष्कार गणतन्त्रका भाट चारणहरूको नोटिसमा नै नआउनु बिल्कुलै स्वाभाविक हो । 
यहाँ मैले ‘म’ भनेर आफूलाई उद्धृत गरेको भए पनि मेरो यो ‘म’ भित्र ती सबै स्रष्टा समाहित छन्, जसले आफ्ना लगन, साधना र सिर्जनकर्ममार्फत राष्ट्रिय 
वाङ्मयको श्रीवृद्धिमा उल्लेख्य योगदान गरेका छन्, जसले साहित्य र कलाको क्षेत्रमा दिएको अवदानका कारण नै राष्ट्रको पहिचान बनेको छ र जसले आजका प्रबुद्ध जनताद्वारा सामूहिक रूपमा बोध गरिएको राष्ट्रिय चेतनाको वास्तविक प्रतिनिधित्व गर्छन् । साथै मेरो यो ‘म’भित्र ती स्रष्टा पनि समावेश छन्, जसले आफ्ना विचार र कर्मका माध्यमबाट राष्ट्रको सांस्कृतिक पहिचानको निर्माण गरेका छन् ।
नेपालको सन्दर्भमा अत्यन्त अपशोचको विषय के भएको छ भने मैले मेरो ‘म’भित्र समेट्न खोजेका माथि लेखिएका सबै प्रकारका योग्य स्रष्टामध्ये धेरैजसो देशको राजनीतिमाथि कब्जा जमाउन सफल विवेकहीन स्वार्थी समूहले गरेको अन्यायको सिकार हुँदै आएका छन् । विडम्बनाको कुरो, अन्यायको यो सिलसिला देशमा निरंकुश दलविहीन प्रणालीको अन्त्य भई लोकतन्त्रको पुनस्र्थापना भएपछि धेरै गुना बढेको छ । 
नेपालको लोकतान्त्रिक मात्र होइन, गणतान्त्रिक पद्धतिका सञ्चालकहरूले समेत साहित्य, कला, संगीत अथवा समग्र वाङ्मयका क्षेत्रसँग सम्बन्धित अत्यन्त संवेदनशील विषयलाई हेर्न, बुझ्न र व्यवहार गर्न बेग्लै प्रकारको विशिष्ट दृष्टिकोण आवश्यक हुन्छ भन्ने कुराको अलिकति पनि हेक्का नराखेको प्रस्ट देखिन्छ । हरेक विषयमा दलीय स्वार्थ र तात्कालिक लाभ–हानिको आधारमा निर्णय गर्दा सम्बन्धित विषयको विशिष्ट चरित्रमाथि आघात हुन्छ र त्यसले त्यस्ता संस्थाहरूको परिकल्पना गर्नेहरूले राखेको उद्देश्य नै धरापमा पर्न सक्छ भन्ने सामान्य व्यवहार गणितको समेत बेवास्ता गरिएका अनेक घटना हाम्रा आँखाअगाडि नै भएका छन् ।
कतिपय ठाउँ यस्ता हुन्छन्, त्यहाँ पठाउन खोजेको व्यक्ति दल वा नेताप्रति पूर्ण बफादार भएर मात्र पुग्दैन, वास्तवमा भन्ने हो भने कतिपय ठाउँमा त्यस्तो योग्यताको कुनै मूल्य नै हुँदैन भन्ने गुह्य कुरो बिर्सेर गरिएका नियुक्तिको थाक लागेको छ, हाम्रो देशका अनेक विशिष्ट प्रकृतिका संस्थाहरूमा । यस्ता किसिमका झुर नियुक्तिहरूको दृष्टान्त दिन साह्रै सजिलो पारेका छन् प्रज्ञा प्रतिष्ठानमा लोकतन्त्रको बहाली भएदेखि यता गरिँदै आएका नियुक्तिले ।
राजकाजमा पार्टीको प्रभुत्व हुनुपर्छ भन्ने कुरामा विश्वास गर्ने कम्युनिस्टहरूको सत्तामाथि अलि बढी नियन्त्रण भएपछि पार्टी प्रमुखको खल्तीको मानिसलाई उपरीमाथि थुपरी गर्ने चलन थप व्यापक भएको मात्र हो । 
प्रज्ञा प्रतिष्ठान एउटै हुँदा होस् कि तीनवटा बनाउन थालेपछि, ती संस्थाहरूमा गरिएका अधिकांश नियुक्ति विवादमा परेका छन् । योग्य व्यक्तिलाई उपयुक्त ठाउँमा राख्नु भन्ने आधुनिक व्यवस्थापन पद्धतिको सिद्धान्तको त कसले वास्ता गरोस् ! यहाँ त साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने प्रज्ञा प्रतिष्ठानको कुलपतिले एउटा–दुइटा मात्रै भए पनि सिर्जनात्मक कृति प्रकाशनमा ल्याएको हुनु आवश्यक हुन्छ भन्ने कुराको समेत अवहेलना गरियो ।
आफ्नो जिल्लाका बासिन्दा र जातपात मिल्ने मात्र होइन, कुनै वेला पार्टीको झोलासमेत बोकेर हिँडेका र पछिल्लो समय मित्रराष्ट्र चीनको प्रचार संयन्त्रका कारिन्दाको काम गर्ने व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्ति गर्ने ढिट अडान पूरा गर्ने धुनमा कुलपतिको पदमा नियुक्त हुनका लागि आवश्यक पर्ने योग्यताको मापदण्ड नै फेरिदिएका छन्, प्रधानमन्त्री केपी ओलीले । 
ओलीले प्राज्ञिक क्षेत्रमाथि गरेको हस्तक्षेपको सिकार भएको छ नेपाल प्रज्ञा प्रतिष्ठान । त्यसको प्राज्ञिक छवि ध्वस्त भएको छ र प्रतिष्ठा धुलिसात् । चीन अध्ययन केन्द्रको महासचिव हुनु नै सबैभन्दा ठूलो योग्यता भएका कुलपतिले आफ्नो कार्यकारी टिमको छनोट आफूजस्तै मानिसबाट गर्नु स्वाभाविक नै हुने भयो, उनले गरे पनि त्यसै । नेपाल प्रज्ञा प्रतिष्ठान मुख्यतः कलेजका विद्यार्थीका निम्ति गाइड तयार गर्ने क्षुद्र वामपन्थी मास्टरहरूको रेस्ट हाउसमा परिणत भएको छ । 
मेरा निकटका मित्र ख्यातनामा लेखक नारायण ढकालले ‘झन् नयाँ’मा प्रकाशित आफ्नो लेखमा प्रज्ञा प्रतिष्ठानसँग गाँसिएका घटना र सन्दर्भमा आधारित धेरैखाले नमीठा घटना उप्काएपछि मेरो मनमा पनि अतीततिर फरक्क फर्केर आफूले एकपटक सकसका साथ पार गरेको त्यो पीडादायक अनुभवपथमा फेरि यात्रा गर्ने र आफ्ना पाठकलाई पनि आफूसँगसँगै हिँडाउने एक प्रकारको आवेगमय हुटहुटी उत्पन्न भयो ।
अलिकति मानिसको मनमा उठ्ने सामाजिक प्रतिष्ठाप्रतिको स्वाभाविक लालसा, अलिकति आफूले साहित्यको क्षेत्रमा गरेको कामले पैदा गरेको भरोसा र अलिकति आफ्ना राजनीतिक अगुवाप्रतिको विश्वासका फेरमा परेर मैले पनि दुईपटक प्रज्ञा प्रतिष्ठानमा नियुक्त हुने प्रयत्न गरेको थिएँ । अहिले फर्केर हेर्दा आफूले गरेको त्यो मूर्खताप्रति गहिरो लज्जाबोध त हुन्छ नै मानिसहरू सामान्यतः आफ्नो योग्यता र क्षमताले नभ्याउने ठुल्ठूला पद सजिलै कसरी प्राप्त गर्छन् भन्ने कुराको भेउ नपाएर छक्क पनि पर्छु ।
त्यसभन्दा पनि बढी आश्चर्य त कथित लोकतन्त्रवादी नेताहरूले गरेको हुकुमी शासनमा पनि नसुहाउने किसिमका निर्णयलाई सम्झँदा लाग्छ । पञ्चहरूले जस्तै आफन्तहरूलाई लाभका अवसरहरू बाँड्ने अथवा आफ्नै भेगका मानिसलाई काखी च्याप्ने हो भने लोकतन्त्रका लागि संघर्ष नै किन गरिरहनुपथ्र्यो र भन्ने प्रश्नसँग पनि अल्झिन्छु म कहिलेकाहीँ । 
मसँग निकै राम्रो हिमचिम भएका एकजना मानिस संस्कृतिमन्त्री भएका थिए र पदबहाल गर्नेबित्तिकै मलाई बोलाएर एकेडेमीको कुलपतिका लागि अन्तिम तीनमा परेकाहरूमध्ये सबैभन्दा उपयुक्त कुनचाहिँ हुनसक्लान् भनेर सोधेका थिए । कुलपतिको पदका लागि सिफारिस भएका तीनमध्ये मेलै आफ्नो विवेकले देखेको सबैभन्दा उपयुक्त नाम केही जस्टिफिकेसनसमेत राखी सुझाएको थिएँ । उनले अरूहरूबाट पनि सुझाब लिएका हुँदा हुन्, मैले सुझाएको नाम मिलेछ क्यारे, उनैलाई नियुक्त गरे । त्यहीबीचमा मैले आफ्नो योग्यता र अनुभवको बेलिविस्तार लगाउँदै यसपटक मलाई एकेडेमीको सम्भव भए सदस्य–सचिव, होइन भने प्राज्ञ परिषद्मा नियुक्त गर्न अनुरोध गरेँ । 
‘हरि सरको एकेडेमीमा जान उमेर पुग्छ र ?’ उनले सोधेका थिए । ‘अशेष मल्ल मभन्दा कान्छा हुन्, उनी ५० सालमै एकेडेमीका सदस्य भइसकेका थिए । उमेर पुग्छ कि पुग्दैन आफैँ विचार गर्नुहोस्,’ मैले अलि तीखो स्वरमा भनेको थिएँ । त्यसपछि मन्त्रीलाई चित्त बुझेकोजस्तो लागेको थियो । मेरो बायोडाटा हेरेपछि त पूरै प्रभावित भएझैँ देखिएका उनले ‘म यति त गरिहाल्छु नि’ भनेका थिए ।
अझ ढुक्क हुन मभन्दा पनि ती मन्त्रीका अझ नजिक रहेका भाइ अच्युत वाग्लेलाई छिनोफानो गर्न लगाएको थिएँ । मन्त्रीले ‘ढुक्क भए हुन्छ’ भनेका थिए अच्युतसँग पनि । तर, अन्त्यमा त्यसपटकको एकेडेमीको कुनै पदमा पनि मेरो नियुक्ति भएन । सदस्य–सचिवमा गीता केशरीको नियुक्ति भयो । त्यस घटनाको केही महिनापछि मन्त्री पदबाट हटेका ती मित्र मात्र होइन, म पनि धेरै दिनसम्म झ्वाम्म भेट भइहाल्ला भनेर डराउँदै एक–अर्काबाट भागेर हिँडिरह्यौँ । आखिर साथी नै थियौँ एउटै डुंगामा सवार, भेट त हुनु नै थियो, भयो । त्यो प्रकरणलाई दुवैले सधैँका लागि बिर्सिएझैँ ग-यौँ र पुनः घनिष्ट भयौँ । 
एकपटक विश्वास नै नलाग्ने किसिमले जिल्लिइसकेको मैले फेरि एकेडेमीमा जाने कुरा उठाउँदै नउठाउने विचार गरेको थिएँ । सुशील कोइरालाका पालामा पनि एकेडेमीको पुनर्गठन गर्ने वेला भएको थियो । मेरो इच्छाको विपरीत त्यसपटक मलाई त्यस अजङको घरमा जागिर खुवाउन केही साथीहरू कम्मर कसेर लागे ।
धरानबाट आनन्द आचार्य आउने हुनुभयो लबिङ गर्न । आरजू देउवाले शेरबहादुर देउवालाई भेट्नका लागि समय मिलाइदिइन् । म देउवासँग भेट्दिनँ भनेर बसेको मानिस बुढानीलकण्ठसम्म जानेमा परेँ । देउवासँग भेट त भयो नै, अलि चिसो भएको सम्बन्ध पनि न्यानो भएर आयो । 
साथीहरूकै करबलमा मैले प्रधानमन्त्री सुशील कोइरालासँग पनि भेटेँ । सुशीलले उही चिरपरिचित शैलीमा भेटे र एकपटक नरहरि आचार्यलाई पनि 
भेट्नोस् न भनेँ । नरहरिसँग पनि भेट भयो । शारदाजीले मेरै अगाडि बलियोसँग सिफारिस गर्नुभयो । धरानदेखि आउनुभएका आनन्द आचार्यले जबर्जस्ती तानेर लिएर गई मन्त्री महेश आचार्यसँग पनि भेट गराउनुभयो । भेट भएजति सबैले मेरो योग्यताको प्रशंसा गरे र ‘यसपटक तपाईंको नियुक्ति हुन्छ’ भने ।
धेरैले ‘उपकुलपतिमा हुँदै छ’ भनेर पनि सुनाए । तर, अन्त्यमा त्यसपटक पनि मेरो कुनै पदमा पनि नियुक्ति भएन । त्यसपटक मेरो नियुक्ति सुशीलको विश्वासप्राप्त सञ्चारमन्त्री मीनेन्द्र रिजालले पूरा जोरबल लगाएर रोकेको भनेर सुनाउँदै थिए केही साथीहरूले । मैले भने वास्तै गरिनँ । हो, त्यसपछि एकेडेमीको नामसम्म पनि नलिने अठोट भने मनमनै गरेको हुँ मैले । अहिलेको प्राज्ञ परिषद्को अनुहार हेर्दा ठीकै निर्णय गरेछुजस्तो लागेको छ । 
www.jhannaya.nayapatrikadaily.com  बाट साभार 

No comments:

Post a Comment