Wednesday, October 21, 2020

झण्डा जलाउन कुनै मंगोल अर्गनाइजेशनको कार्यकर्ता भइरहँनुपर्दैन- कवि भुपाल राई

 


मंगोलन नेशनल अर्गनाइजेशनका कार्यकर्ताहरुले नेपालको झण्डा जलाएको दृश्यसहितको भिडियो सार्वजनिक गरेपछि झण्डाबारे चर्किएको बहसमा वरिष्ठ कवि भुपाल राईले समेत सामेल भएका छन् ।

उनले नेपालको झण्डाले कुनै एउटा नश्ल र जातिको मात्र प्रतिनिधित्व गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘एक मिटर रातो कपडा, केही रंग र केही सापेक्षित नश्लको टोटेमहरु उनेर जब बनाइन्छ कुनै झण्डा र जब बनाइन्छ त्यसलाई कुनै आस्थाको कथित ‘राष्ट्रिय झण्डा’ तब त्यो निरपेक्ष रहँदैन । निरपेक्ष नरहेपछि यो स्वभाविक छ कि त्यहाँ कसैकसैले आफ्नाे अनुहार भेट्दैनन्, आफूलाई बिम्बित पाउँदैनन् । आफूलाई नपाएपछि झण्डा च्यातिनु/जल्नुलाई स्वभाविक मान्नुपर्छ ।’

उनले आफ्नाे अनुहार नदेखिएपछि अनुहार खोजी गर्ने प्रक्रिया सामान्य भएको बताएका छन् ।

‘यो क्रिया आफ्नाे खोजको सामान्य प्रतिक्रिया हो,’ उनले लेखेका छन्, ‘इतिहासमा यसरी धेरै पटक धेरै ठाउँमा झण्डा जलेका छन् । र यो कुरा पनि बुझ्न जरुरी छ कि नेपालको राष्ट्रिय झण्डा जलाउन कुनै मंगोलन अर्गनाइजेशनको कार्यकर्ता भइरहनुपर्दैन ।’



उनले नेपालको झण्डाबारे ५/६ वर्षअघि लेखेको कविता समेत फेसबुकबाट सार्वजनिक गरेका छन् ।

उनकाे कविताः

झण्डाको विपर्यास यात्रा
त्यागेर आफ्नो सनातन गद्दी
राज्य हाँक्न निस्किएको
कुनै मध्ययुगिन राजकुमार जस्तै
अचानक
निस्किएको छ यात्रामा
एउटा त्रिकोण झण्डा
थाहा छैन
कुन राज्य हाँक्नु छ झण्डालाई ?
अथवा टेक्नु छ
निरपेक्ष दुवोहरुको पहिचान !
र निस्किएको छ यसरी
निषेधको यात्रामा
घुमाउँदै चन्द्र सुर्यको
सुदर्शन चक्र
अटलसिं इतिहासको गर्धनमा
किन फहराइरहेछ गोरखा दरबारको धङधङी ?
काट्दै पहिचानको सयौँ लाख टाउको
किन उत्रिरहेछ धर्मयुद्धमा
राष्ट्रीय झण्डा ?
कहाँ पुग्ला यो
यसरी मान्छेको स्वायत्त हावामा
काटेर मान्छेकै पखेटा ?
कहाँ पुग्ला
दस लाख दुवोहरुको गिँडमाथि
चलाएर बिसे नगर्चीकालिन तरवार ?
कहाँ पुग्ला
साढे सत्र लाख कमैया ढाडमाथि
उभिएर अखण्ड अञ्चल ?
र कहाँ पुग्ला
तराईको तलुवामाथि
टेकेर पहाडको बुटजुत्ता ?
मध्ययुगिन राजकुमार जस्तै
जो मात्र एकतर्फी यात्राको लागि
गर्छ यात्रा
के त्यही हो राष्ट्रिय झण्डा ?
झोसेर वंशज-आगोको वृक्ष
नानिहरुको खाली दिमागमा
जो हुर्किरहेछ हरेक पुस्ता
नानिहरुकै गिदि चाटेर
खै कहाँ छ त्यो चन्द्रवंशको स्थुल जरा
नानिहरुको माटोमा ?
कहाँ छ सुर्यवंशको इतिहास
तिनीहरुको माटोको किताबमा
र किन उत्रिन्छ
फेरि तिनीहरुकै विरुद्ध
वंशावली लेखिएको
एक मिटर रङ्गिन कपडा ?
के त्यही हो राष्ट्रिय झण्डा ?
अखण्डताको हावा हम्किदै
जो उभिन्छ
पर…पर कुनै रातो चिज
र फहराउँछ
नानिहरुकै पहिचान विरुद्ध
के त्यही हो राष्ट्रिय झण्डा ?
ओ ! सुरक्षा निकाय
प्रशासन
अदालत
र अखण्ड अञ्चलाधिसहरु
ठिक उल्टो यात्रामा छ
यतिखेर राष्ट्रिय झण्डा
जो क्रमश फर्किरहेको छ
पृथ्वी राजमार्ग हुँदै
गोरखा दरबारको अतिततिर
कृपया, रोक त्यहिँनिर झण्डालाई
र आशिन गराऊ
त्यही सनातन गद्दिमा
नत्र छुट्टिने छन्
यति लामो अन्तरालपछि
`मान्छे र झण्डा´
र उठ्नेछन केही स्वभाबिक प्रश्नहरु –
`कि रोकेर त्यही बिन्दुबाट
विभेदको उल्टो यात्रा
किन हुन सक्दैन राष्ट्रिय झण्डाजस्तो
राष्ट्रिय झण्डा ?
किन बिचाराधिन छ
यतिखेर राष्ट्रिय झण्डा ?

www.sarbajanik.com बाट साभार 

No comments:

Post a Comment