Friday, October 15, 2021

मिलुञ्जेल ‘लिभिङ टुगेदर’, नमिलेपछि ‘बलात्कार’ ? - अरुण बराल

 १४ कात्तिक २०७८, काठमाडौं । भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्व विद्यालयका एक विद्यार्थीले नेपालकी एक माओवादी युवतीसँग प्रेम गरे । केही वर्ष चलेको उनीहरुको दोहोरो प्रेमसम्बन्ध शारीरिक सम्बन्धमा रुपान्तरित भयो । जब उनीहरुको प्रेममा खटपटी आयो, यतिबेला ती भारतीय नागरिकका लागि आफूले गरेको प्रेम अत्यन्तै महंगो सावित भएको छ ।

दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)बाट समाजशास्त्रमा पीएचडी गरेका पवन पटेल नेपाली माओवादी महिलासँगको प्रेमकै कारण दिल्लीको तिहाड जेलमा बलात्कारको अभियोगमा थुनिए । उनीविरुद्ध लागेको मुद्दाको छिनोफानो हुन अझै केही वर्ष लाग्नेछ । पवनका पिताले आफूसँग रहेको जमीन बेचेर केटीपक्षलाई ६ लाख भारतीय रुपैयाँ बुझाएको पवनले बताएका छन् ।

नेपाली माओवादी केटीसँग प्रेममा फसेका पवन जेएनयुका तिनै विद्यार्थी हुन्, जसले आफ्नो पीएचडीको थेसिस नेपालको माओवादी आन्दोलनका विषयमा गरेका छन् । पवनले पीएचडी थेसिसका लागि रोल्पाको थवाङमा धेरै समय बिताएका छन् । नेपालका अन्य भूभागमा पनि डुलेका छन् ।

यी भारतीय शोधार्थीलाई नेपालका धेरै माओवादी नेताहरुलेसमेत चिन्छन् । नेपाली माओवादी कवयत्रीसँग उनको चक्करबारे मात्रिका यादव, मणि थापा, कुमार शाहलगायतका माओवादी नेताहरुलाई राम्रोसँग थाहा छ । नेपाल आउँदा पवनलाई एमाओवादी नेता कृष्णबहादुर महराले १० हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेका छन् ।

माओवादी युवतीसँगको यौन सम्बन्धकै कारण ती भारतीय नागरिकले दिल्लीको तिहाड जेलमा समेत दिन बिताउनु परेको छ ।

PABAN PATEL
पवन पटेल, नयाँदिल्ली

प्रेम टुटेपछि बलात्कारको आरोपमा जेल पसेका र हालसम्म मुद्दा खेपिरहेका यी भारतीय युवक पवन पटेलले आफ्नो प्रेम र वियोगबारे २९ पृष्ठ लामो विवरण लेखेका छन् । अनलाइनखबरलाई प्राप्त उक्त वियोगान्त कहानीको सारसंक्षेप यस्तो छ :
नेपाली र भारतीयको असफल प्रेम कहानी
उषा ठकुरी (वास्तविक नाम गोप्य राखिएको ) सँग पहिलोपटक भेट हुनुभन्दा पहिले उनका बारेमा मैले धेरैचोटि सुनेको थिएँ कि उनी एक माओवादी वुद्धिजीवी एवं पत्रकार हुन्, जो नेपालको राणा, शाह, राजाको खान्दानसँग पारिवारिक नाता राख्छिन् । उनी नेपालको  प्रगतिशील धाराकी चर्चित कवि हुन् । माओवादी भएका कारण उनले जेल यातना पनि भोगेकी छिन् । मैले उनका धेरै कविताहरु जनादेश साप्ताहिकमा पढेको थिएँ । उनी सन् २००२ मा दिल्लीस्थित मण्डीहाउसबाट माओवादी नेताहरुका साथ पक्राउ परेकी थिइन् र नेपाल सरकारलाई बुझाइएकी थिइन् । पछि दोस्रो वार्ताकालमा अन्य माओवादीबन्दीसँगै उनी जेलबाट छुटिन् ।

उषासँग मेरो पहिलो भेट सन् २००९ मा काठमाडौंमा माओवादीले आयोजना गरेको एक सांस्कृतिक कार्यक्रममा भयो, जहाँ म पीएचडी फिल्डवर्कको सिलसिलामा दिल्लीबाट एकसाता अघि आएको थिएँ । मैले पीएचडी थेसिसको फिल्डवर्कका लागि माओवादीको उदगमस्थल रोल्पा जिल्लाको थवाङलाई रोजेको थिएँ ।

काठमाडौंमा माओवादी पार्टीको कार्यक्रमका सिलसिलामा सन् २०१० मे महिनामा उषासँग मेरो दोस्रोपटक भेट भयो । म मेको सुरुमा थवाङ गएँ र महिनाको अन्त्यमा काठमाडौं फर्किएँ । मेरो सोचाइ केही दिन काठमाडौं बसेर दिल्ली र्फकने थियो । केही दिन रिसर्चको सामाग्री  जुटाउन काठमाडौंको लाइब्रेरीमा बिताउन चाहन्थें ।

 रोल्पाबाट फर्केपछि मैले एक हप्ताजति एमाओवादीका एक नेताको परिवारका साथ बिताएँ । बस्ने स्थानको असुविधा भएकाले म उपयुक्त स्थान खोजिरहेको थिएँ ।

यही सिलसिलामा म जागरण बुक हाउसमा गणेशजीलाई भेट्न गएँ । त्यहीँ दोस्रोपटक उषा ठकुरीसँग भेट भयो । उनले हरिसिद्धीमा आफ्नो एउटा फ्याट खाली रहेको र त्यहीँ बस्न प्रस्ताव गरिन् । मेरो समस्या हल भयो । त्यहाँबाट म बिहान ८ बजे निस्कन्थे र मार्टिन चौतारीको लाइब्रेरीमा जान्थें । म त्यसरी हरिसिद्धीको फ्ल्याटमा १२ दिन बसेर दिल्ली फर्किएँ ।
हरिसिद्धीमा रहँदा मलाई उषाले दिनहुँजसो फोन गर्न थालिन् । प्रायः राति उनको फोन आउँथ्यो । मैले खाना खाएँ कि खाइँन, दिक्क त लागेको छैन ? आदि आदि । दिनहुँको फोनपछि मलाई उनीप्रति एकप्रकारको लगाव महसुस हुन थाल्यो ।
म दिल्ली फर्कने अघिल्लो दिन साँझमा उषाले मलाई महाराजगञ्जको एक आफन्तको महलमा खाना खान निम्तो गरिन् । त्यहाँ मैले उनले परिवारजनकै साथमा चुरोट खाएको देखें । हरिसिद्धीमा रहँदा उनी आइनन् । मार्टिन चौतारीमै मलाई भेट्न आउँथिन् ।

म दिल्ली गएपछि पनि उनले ३०-३५ मीनेटसम्म फोन गर्न थालिन् । थवाङमा रहँदा पनि उनी मलाई फोन गर्थिन् । कविता सुनाउँथिन् । उनी उच्च ठकुरी जातकी, म तल्लो जातको, गाउँमा बस्ने गरिब परिवारमा जन्मेको । उनी उमेरमा पनि मभन्दा जेठी थिइन् । उनी किन मसँग नजिकइरहेकी छिन् ? के यसको कारण म जेएनयुमा रहनु नै थियो ? यसबारेमा मैले भारतमा वललवन्त यादव र नेपालका एक माओवादी नेतासँग पनि कुरा गरें ।

सन् २०१० अगस्तको सुरुवातमा मैले युजीसी स्कलरसीप पाएँ । पैसा ऋणपान खोजेर १६ अगस्तमा गोरखुरको रेल पक्डेर सुनौली भैरहवा हुँदै काठमाडौं गएँ । उनी कलंकीमै मलाई लिन आइन् । त्यसदिन प्रतापबाबु पाठककहाँ बस्यौं । भोलिपल्ट माइक्रो चढ्दा भीडमा मेरो २२ हजार नेपाली रुपैयाँ र एसबीआइ बैंकको एटीएम कार्डसहितको ब्याग हरायो । यसले गर्दा मेरो रोल्पा जाने प्लान चौपट भयो ।

Paban in Rolpa
रोल्पालीसँग पटेल

मेरो सारा योजना चौपट भए । १२/१३ दिन यताउता माओवादी नेताहरु बाबुराम, गौरब, किरण, हरिभक्त कँडेल, सुरेश आले, बसन्त, ईश्वरचन्द्र ज्ञवाली, लेखनाथ न्यौपाने आदिलाई सम्पर्क गर्दैमा बित्यो । गौरबले भने कि मलाई पैसा दिने प्रस्ताव पार्टीमा पारित गराउनका लागि करिब एक महिना पर्खनुपर्छ । उनले भने कि यो प्रस्ताव पास गर्न महासचिव बादलले निर्णय गर्नुपर्छ ।

यसैक्रममा नयाँ बानेश्वरमा उषासँग अचानक भेट भयो । उनले यतिका दिनसम्म मलाई किन फोन नगरेको भन्दै रिसाइन् । मैले भनें, म समस्यामा परेको छु । उनले भोलिपल्ट पुतलीसडकमा लञ्च खान बोलाइन् । १ हजारभन्दा माथिको बिल आयो । त्यसपछि पार्कतिर घुम्दा उनले पत्रिकामा छापिएको सामाग्री देखाउँदै उनले मेरो विचार बुझ्न खोजिन् कि लिभिङ टुगेदर या विवाहपूर्वको सेक्सका बारेमा तपाईको धारणा के छ ? मैले भनें कि म यसलाई पुँजीवादी उपभोक्तावादी सोचाइ ठान्छु ।

गाडी खाली थियो । हामी एउटै सीटमा बस्यौं । उनको बडी ल्याङ्वेजबाट मलाई एकाएक महसुस भयो कि उनी मसँग सम्बन्ध राख्न चाहन्छिन् । उनले मेरो हातमा हात राखेर भनिन्, अबदेखि फोन उठाउनू ।

उषाले मलाई एसएसमएस पठाउन थालिन् । उनी मसँग प्रेम गर्छिन् या सेक्सुअल सम्बन्ध मात्र राँख चाहन्छिन् ? हो, मलाई पनि उनी मन पर्न थाल्यो ।

यसैक्रममा एक दिन उनले गोदावरी घुमाउन लगिन् । यसक्रममा उनले कोठामा खसीको मासु र भात पाइन् । साथमा सुशीला पनि थिइन् । उनले यसक्रममा भनिन्, हामी एकसाथ बसौं लिभिङ टुगेदरमा । म कम्युनिष्ट हुँ र विवाह नामको संस्थासँग मलाई विश्वास छैन । उनले भनिन् कि उनकी आदर्श पम्फा भुषाल हुन् । एङगेल्सले पनि विवाह नगरेको उनले बताइन् । मैले उनलाई भनें कि म उनलाई मन पराउँछु तर विवाहविनाको यौन सम्बन्धलाई नैतिक मान्दिँन ।

हामी राति हरिसिद्धिको फ्याटमै सुत्यौं । उनले मलाई बिहान साढे ३ बजे नै उठाइन् । बिहान हुनुअगावै यहाँबाट हिँडौं? नत्र अरुले थाहा पाउँछन् र मेरो बेइज्यत हुन्छ भन्दै उनले त्यहाँबाट हिँडाइन् । मलाई असाध्यै नराम्रो लाग्यो, जस्तो कि म पुरुष वेश्या हुँ । तर, मैले केही भन्न सकिँन ।

साँझ उषाले मलाई एसएमएस गरिन् कि उनी मलाई प्यार गर्छिन् । यो घटनापछि मलाई ज्वरो आयो । म पाँचदिनसम्म बाहिर निस्कन सकिँन । यसवीच मलाई कृष्णबहादुर महराले १० हजार रुपैयाँको प्रवन्ध गरिदिए । ६ दिनपछि म प्रचण्डको सुरक्षामा तैनाथ भैसकेका माओवादी सेनाका साथमा गाउँ जाने भएँ । गाउँ जानुअघि उषाले एसएमएस गरेर दरबार हाइस्कुल अगाडि बोलाइन्, उनी र मैले उनको साथीको कोठामा त्यो रात बितायौं ।

म अगस्तको सप्ताह अन्त्यमा थबाङ गएँ । थबाङ हाइस्कुलका शिक्षकका साथ कम्युन होटलमा डेरा जमाएँ । मौसम ज्यादै चिसो थियो । मलाई खोकी लाग्न थाल्यो । त्यहाँ मैले धेरैजनाको अन्तरवार्ता लिएँ । गाउँ घुमें । उषाको एसएमएसले डिस्टर्ब गरेपछि फोन अफ गरें । नुहाउन पाइएन । कपाल लामो भइसकेको थियो । दाह्री बढेको थियो ।

खोकी निको नभएको अवस्थामा म डिसेम्बरको दोस्रो साता काठमाडौं आएँ । उषाले डेरा सारिछन् । उनले काठमाडौंमा सँगै बस्ने प्रस्ताव गरिन् । उनले फ्याटमा बोलाइन् । राति म त्यहीँ बसें । तर, मैले सेक्स गर्न सकिँन । उनले भनिन् कि खोकीको दबाइले असर गरेको हुन सक्छ, पछि ठीक हुन्छ ।

सन् २०११ जनवरी २ मा म दिल्ली हिँडे । दिल्ली आएर पीएचडी रजिष्ट्रेसन लिएँ ।

सफदरगञ्ज हस्पिटलमा स्वाथ्यजाँच गराउँदा मलाई टीबी रोग लागेको पत्तो लाग्यो ।  ६ महिनासम्म दबाइ खानुपर्ने र आराम गर्नुपर्ने डाक्टरले सल्लाह दिए । यो अवधिमा यौनसम्बन्ध नराख्न डाक्टरले भने । मैले जेएनयुमा ६ महिना छुट्टि लिएँ । यसले गर्दा मेरो स्करलसीप रोकियो । मसित पैसाको ठूलो समस्या पर्‍यो । परिवारबाट मद्दत मिल्ने सम्भावना कमै थियो । बुबा प्राइमरी स्कुलको जागिरबाट रिटायर्ड हुनुहुन्छ ।

यसवीच नेपालबाट उषाको लगातार फोन आयो । यसअवधिमा मैले उनका केही कविता हिन्दीमा अनुवाद गरें । मैले यसवीचमा हाम्रो सम्बन्ध र विवाहबारे आमाबुबालाई राजी गराउनु थियो ।

सन् २०१२ मार्चमा उषा मलाई भेट्न काठमाडौंबाट जेएनयु आइन् । मैले महिला होस्टलमा उनलाई बस्ने व्यवस्था मिलाएँ । उनी १६ दिन बसिन् । यसवीच हामीवीच मेरै कोठामा शारीरिक सम्बन्ध रह्यो । ममा कुनै समस्या देखिएन । मैले उनीबाट लिएको ८ हजार रुपैयाँ फिर्ता गरें । उनले आनन्दस्वररुप बर्मा, लक्ष्मण पन्त, डा. अर्पणा आदिसँग भेट गरिन् । उनीहरुसँग मेरो सम्बन्ध लगभग दुईवर्षदेखि टुटेको थियो । मैले नेपालका माओवादी नेताले गरेको भ्रष्टाचारको विरोध गरेको थिएँ, लक्ष्मण पन्त नेपाली माओवादीका दिल्ली प्रतिनिधि थिए ।

मैले २०१२ डिसेम्बरमा काठमाडौं जाँदा २३ हजार भारतीय रुपैयाँमा उषालाई तोसिबा कम्पनीको ल्यापटप र रेकर्डर उपहार लगिदिएँ । थवाङ जाँदा उषालाई पनि लान चाहन्थें, तर उनी गइनन् । एकमहिना पश्चिम नेपालका केही जिल्लाहरुमा भ्रमण गरेर म काठमाडौं हुँदै दिल्ली फर्किएँ  र थेसिस पूरा गर्नतिर लागें ।

PABAN with his father
परिवारजनसँग पवन

मैले हुँदैन भनेर लाख बिन्ती गर्दागर्दै उषा जेएनयु आइन् । मैले उनको कवितावाचन कार्यक्रम मिलाएँ । त्यसपछि उनी काठमाडौं फर्किलिन भन्ने थाठेको थिएँ, तर उनले कपडा किन्न बजार जाने प्रस्ताव गरिन् ।

मैले बुबासँग नेपाली केटीसँग विहे गर्ने प्रस्ताव राखें । उहाँले केटीका बुबाआमासँग पहिले भेट गराउन भन्नुभयो । उषाका बुबा आमालाई इलाहावाद आउन र महाकुम्भ मेलामा सहभागी हुन र चिनजान गर्न उषालाई भनें । उनले बुबा आमा बिरामी भएकाले आउन नसक्ने भनिन् । म काठमाडौं आएँ । बुबाआमा सही सलामत थिए ।

उषाले मलाई नेपालकै अदालतमा कोर्ट म्यारिज गर्ने र नेपालमै जागिर खोजेर बस्ने प्रस्ताव राखिन् । मैले आमाबुबाको अनुपस्थितिमा नेपालमा कोर्ट म्यारिज गर्न नसक्ने बताएँ । फेरि म इण्डियन केटो, नेपालको अदालतमा । उनले जागिरको चिन्ता छैन, बाबुराम भट्टराईलाई भनेर तुरुन्त मिलाइदिन्छु भनिन् ।

म अजीव किसिमको उल्झनमा परें । एक दिन म बाथरुममा पसेका बेला उषाका पिताले भनिरहेको सुनें, म उनकी छोरीका साथ विनाविवाह खुलेआम सँगै बसिरहेको छु । त्यसैले मैले कि त तत्काल विहे गर्नुपर्छ, कि तत्काल घर जानुपर्छ ।

म बेरोजगार थिएँ । ममाथि उषाको विवाहको दबाव परिरहेको थियो । मेरो र मेरा पितावीचको सम्बन्ध पनि बिगि्रएको थियो । मैले निश्चित गरें कि म दिल्ली फर्किऊँ । दिल्लीमा आएर मैले कामको खोजी गर्न थालें । र, एउटा एनजीओमा अनुवादको काम गर्न थालें । आफ्नो परिवार र इण्डियालाई छाडेर नेपालमा नोकरी गर्ने मेरो कुनै इरादा थिएन ।

मलाई उषाले फाने गरेर नेपाल आइस् भने पुलिस लगाएर पिटाउँछु र मुद्दा हाल्छु भनेर धम्की दिइन् । उनको धम्की लगातार बढ्दै जान थाल्यो । उनले भनि्न कि जेएनयु आएर उनले मेरो बाजा बजाइदिनेछिन् ।

मे ९ को साँझ अर्कैको नम्बरबाट फोन गरेर उषाले भनिन् म अहिले जेएनयुमा छु । मैले केही सम्झन सकिँन । एउटी केटीकोमा उसको बस्ने बन्दोबस्त मिलाएँ । राति खानाखाएपछि पीएस सकमा घुम्न गयौं । त्यहीँ एउटा भत्किएको घरमा सेक्सुअल इन्टरकोर्समा गयौं ।

मैले उनलाई पाठकको घरमा लिएर गएँ । उनले एक वर्ष पीएचडी पूरा गर्न सुझाव दिए । तर, उषाले आफ्नो जिद्दी छाडिनन् । मैले म अगस्तमा काठमाडौं आउँला भनें, तर उनले यो पनि मानिन् । तिम्रो जीवनमा अर्कै केटी आई, म बुढी भएँ, मेरो बच्चा पाउने उमेर पनि गयो इत्यादि भन्न थालिन् । अहिल्यै मसँग बिहे गर हैन भने सम्बन्ध तोड्छु भन्न थालिन् ।

मे १५ को बिहान उनले मलाई फोन गरेर केसी बजारमा बोलाइन् । उनले भनिन् दिउँसो तीसहजारी कोर्टमा गएर  बिबाह दर्ता गरौं नत्र अहिल्यै बसन्त बिहार थानामा गएर बलात्कारको मुद्दा हाल्छु ।

मैले सौरभको कोठाबाट डकुमेन्ट लिएँ र जेएनयुका साथीहरुलाई भनें कि धम्कीका वीच आज म उषासँग विवाह गर्न गइरहेको छु ।

उनले वकिल उनकै मान्छे प्रेम क्षेत्रीलाई राख्नुपर्ने बताइन् । गाडीमा हामी चुप्पी साँधेर बसेका थियौं । उषाले मलाई नेपालीमा भनिन्, पवन, किन दिक्क मान्छौ ? मलाई सब बिहे दर्ता गरिदेऊ, त्यसपछि तिमिी जति केटीसँग सुत्न चाहन्छौ, सुत । तिमी दिल्लीमै बस, नोकरी खोज, म काठमाडौंमै रहन्छु ।

मैले भनें, म तिमीसँग यसरी बिहे गर्दिन । म कोर्टमै भनिदिन्छु कि यसले मलाई बिहे गर्न धम्की दिई । तिम्रो माओवाद र नारीवाद यही हो ? म तिमीसँग बिहे गर्न इन्कार गर्छु ।

मैले अटो (गाडी)लाई फर्काउन भनें । र, जेएनयु पुगेर उषालाई गंगा होस्टलमा ड्रप गरें । मैले यो कुरा माओवादी नेता मणि थापा र मात्रिका यादवलाई सुनाएँ । उषा तीनदिनपछि काठमाडौं गई । म टिकट काटेर बैंगलोर गएँ ।

एक साँझ दिल्लीमा नेपाली माओवादी नेता लक्षमण पन्त, अञ्जनीकुमार, आनन्दस्वरुपसँग दुईपक्षीय छलफल भयो, नोयडास्थित बर्माको घरमा । उषाले मलाई काठमाडौंमा अर्की महिलासँग सम्बन्ध रहेको र दिल्लीमा बेश्यासँग सुत्ने गरेको आरोप लगाइन् । उनीहरुले मेरो स्करलसीपको ५० प्रतिशत उषालाई दिनुपर्ने सुनाए । त्यो भारु ३ लाखजति हुन्थ्यो ।

मैले भनें, मेरो सहमतिविना यस्तो निर्णय सुनाउने को हौ ? उषाले मेरो जे उखाड्न सक्छे उखाडोस् । तिमीहरु कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य हैनौ, न म कम्युनिष्ट पार्टीको सदस्य हुँ, जसका कारण तिमीहरुको निर्देशन मानौं ।

एकदिन विद्यार्थी संगठनबाट फोन आयो कि म उषासँग सम्झौताका लागि इच्छुक छु या छैन ? मैले यो मामिलामा केही इन्ट्रेस्ट छैन भनेर फोन काटिदिएँ । भोलिपल्ट भीसी अफिसबाट फोन आयो । मलाई उषाले बलात्कारको मुद्दा हालिछन् । मलाई प्रहरीले समात्यो र ३७६ अन्तरगत बारेन्ट जारी गरी एक महिनाका लागि तिहाड जेलमा हालियो ।

PABAN with HER MOTHER
आमासँग पवन

वकिल प्रेम क्षेत्रीमार्फत भनियो कि ३५ लाख भारु दिने हो भने पटियाला कोर्टमा न्यायधीशका सामु उनीहरु जमानतका लागि तयार छन् । अन्यथा म ६ महिना जेल पर्छ र त्यसपछि जमानत मिल्न सक्दैन ।

वकिलले मेरा पितासँग सम्पर्क गरे । १३ दिनपछि उषालाई १० लाख र वहिललाई २ लाख दिने सहमति भयो । सम्झौता अनुसार पहिले ६ लाख दिएपछि उषाले कोर्टमा जमानत दिनेछिन् । पैसा लिएपछि उषा बुबा बिरामी भएको बाहाना बनाएर काठमाडौं गइन् । उनी दिल्ली फर्केर आइनन् । तीन महिनापछि उनले फोनमा भनिन् कि मैले एक करोड भारु उनलाई दिनुपर्छ, अन्यथा उनी पहिलेको सम्झौता मान्दिनन् ।

अहिले म यो मुद्दा लडिरहेको छु । वकीलका अनुसार अझै ४/५ वर्ष लाग्न सक्छ । मेरो पीएचडी अवार्ड भए पनि यसवीचमा मैले अध्यापन गर्न पाउँदिन ।

अन्त्यमा म सोध्न चाहन्छु कि बिहेको पहिले या बिहेपछि स्त्री र पुरुषको सम्बन्ध टुट्दैन ? के यो सबै घटनामा महिलाले पुरुषलाई बलात्कारको मुद्दा हाल्न मिल्छ ? र, बुर्जुवा चलनमा जस्तै माओवादीको स्टायलमा पनि मुद्दाको समाप्तिका लागि पैसा असुली गर्न मिल्छ ? जतिबेला म तिहाड जेलमा थिएँ, त्यतिबेला उषाले मेरो बुबासँग झूठो बलात्कारको केसमा पैसा असुलीरहेकी थिइन् । उनलाई ६ लाख दिनका लागि बुबाले आफ्नो जमीन बेच्नुभयो ।

जहाँ वैचारिक गडबडीका कारण प्रेम सम्बन्ध टुट्छ, तब माओवादी/जनकविले आफ्नो पूर्वप्रेमीमाथि बलात्कारको झूठो अभियोग लगाएर पैसा असुल्न कुन माओवादले भनेको छ ?

www.onlinekhabar.com बाट साभार 

No comments:

Post a Comment